नीलञ्जना रोय

नीलञ्जना रोय

पछिल्लो समय अमेरिकामा क्लासिक साहित्यहरूमा भएका गल्ती कमजोरी औँल्याउँदै तिनको प्रकाशन रोकिनुपर्ने माग बढ्न थालेको छ । खासगरी कुनै विशेष समुदाय वा विशेष कथा अहिलेको समयअनुकूल नरहेको आरोप लगाउँदै ती सिर्जना प्रतिबन्ध लगाउनुपर्ने माग जोडदार रूपमा उठ्दै गरेका छन् । यस्तो माग प्रख्यात बाल साहित्यकार रोअल्ड डालको सानो पुस्तकहरूमा समेत उठेका छन् ।

पेइन्गुइन रेन्डम हाउसले पछिल्लो समय डालको पुस्तकमा केही अभियन्ताहरूले आपत्ति जनाएपछि पुस्तक प्रकाशन नगर्ने सहमति गरेको थियो तर पछि साहित्यकारहरूको ठूलो जमातले अभियन्ताहरूको नियतमाथि प्रश्न उठाउन थालेपछि भने दुवै समूहलाई चित्त बुझ्ने गरी निर्णय गरेको छ । जसअनुसार, डालको पुस्तकको जुन ओरिजनल कन्टेन्ट हो, त्यसलाई पनि प्रकाशन गर्ने र सो कथामा कहाँनेर समस्या छ भनेर टिप्पणीयुक्त संस्करण पनि प्रकाशन गर्ने प्रकाशकले जनाएको छ ।

प्रकाशक पेइन्गुइनको बाल साहित्य विभाग पफिन बुक्सले यो पुस्तक प्रकाशन गर्दै आइरहेको थियो । पछिल्लो समय पुस्तकहरू सम्पादन गरेर आपत्तिजनक मानिएका शब्दावली, पदावली तथा वाक्यांशहरू नै हटाइन थालिएको थियो ।

‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ र ‘जेम्स एन्ड द जायन्ट पिच’ बाल उपन्यासहरूमा लिङ्गभेद, मोटोपन तथा मानसिक स्वास्थ्यको खिल्ली उडाइएका प्रसंगहरू रहेकोमा केही अभियन्ताहरूले आपत्ति जनाएका थिए ।

‘हामीले साहित्यलाई समयसान्दर्भिक बनाउने उद्देश्यले कतिपय कुरालाई ध्यानमा राखेका छौँ,’ पेइन्गुइन रेन्डम हाउसका बाल साहित्यतर्फकी प्रबन्ध निर्देशक फ्रान्सेस्का डाउले भनेकी छन् ।

यस्तो समय सान्दर्भिकता बनाउने कुराको भने साहित्यकार सल्मान रूस्दीले आपत्तिजनक मानेका छन् । ‘द सटानिक भर्सेस’ उपन्यासबाट चर्चामा आएर मुस्लिमहरूको क्रोधको घानमा परेका यी साहित्यकारले यसरी अनौठो सेन्सरसीप लाद्नु साहित्यमाथि ठूलो आघात पुर्याउनु भनी टिप्पणी गरेका छन् । उनले ट्वीटरमा पफिन बुक्स र डाल इस्टेटले यस कार्यका लागि लज्जा महसुस गर्नुपर्ने टिप्पणी गरेका छन् ।

डालको पुस्तक पढ्ने कि नपढ्ने, उनी समय सान्दर्भिक हुन् कि होइनन् भन्ने निर्णय पाठकलाई गर्न दिइनुपर्नेमा व्यापारीहरूले यसको निर्णय गरेकामा उनले तिखो टिप्पणी गरेका हुन् ।

डाल २० औँ शताब्दीका ज्यादै लोकप्रिय बाल साहित्यकारका रूपमा परिचित छन् । उनी जीवित छँदै उनका पुस्तकहरू २५० मिलियन भन्दा बढी बिक्री भएका थिए । यति धेरै रूचाइएका लेखकका सिर्जनामा टिप्पणी गर्दै पुस्तक प्रकाशन गर्नु वा सम्पादित संस्करण निकाल्नु आपत्तिजनक रहेको डालका परिवारजनले समेत बताएका छन् ।

उता प्रकाशक पफिन बुक्सले भने पछिल्लो समयमा लिइएको निर्णयमा डालका पुस्तकहरू सम्पादन नगरिएको बरू थोरै शब्द हेरफेर गरिएको भन्दै आफ्नो कार्यको बचाउ गरेको छ ।

‘कुनै पनि प्रकाशकले नयाँ संस्करण निकाल्दा थोरै परिवर्तन गर्ने कार्य नयाँ होइन,’ पफिन बुक्सले भनेको छ, ‘हाम्रो सीमामा रहेर हामीले गरेका परिवर्तनले पाठकलाई फाइदा नै पुर्याउने हिसाबले गरिएको काम हो । छ वर्ष वा त्योभन्दा कम उमेरका बालबालकालिकाहरूले पढ्ने साहित्यमा कतिपय कुरा नियन्त्रित हुनुपर्ने हाम्रो विश्वास छ ।’

कतिपय परिवर्तन डाल ज्यूँदै छँदा गरिएको निर्णय भएको प्रकाशकको भनाइ छ । चार्ली एन्ड द चकलेट फ्याक्ट्री उपन्यासमा ऊम्पा लूम्पस चरित्र पहिला अफ्रिकी दास थियो, त्यसलाई हटाइएको थियो । क्लासिक संस्करणमा भने यसलाई हटाइएको छैन ।

डालको जीवनी लेखक म्याथ्यु डेनिसनले पनि प्रकाशकको मनोमानी बढेको आफूले पाएको जनाएका छन् ।

यस कार्यको विरोधमा फाइनान्सियल टाइम्समा निलन्जना रोय लेख्छिन्ः के हामीले पुस्तकलाई पनि स्यानिटाइज गर्ने हो त ? लेखकप्रति इमान्दार, उसको शैली र शिल्प अनि चेतप्रति सही भएरै त्यसलाई पुनर्लेखन गर्न सकिएला त ? ऐतिहासिक साहित्य र खासगरी बाल साहित्यलाई यतिबेला आएर रेट्रोफिट गर्न सकिएला ?

गत साता द डेली टेलिग्राफ पत्रिकाले रोआल्ड डालका ज्यादै लोकप्रिय केही साहित्यलाई पफिन बुक्सले ‘सयौँ परिवर्तन’ गरेको समाचार प्रकाशित गरेयता धेरै लेखक तथा साहित्यकारहरूलाई चिढ्याएको छ ।

यो पुनर्लेखन नयाँ भने होइन । यसअघि पनि २०१० मा ह्याचेट बुक्सले एनिड ब्लाइटनको क्लासिक बाल साहित्यलाई गम्भीर शब्दावलीहरूलाई रिभिजन गरेको बताएको थियो । पछि यति विरोध भयो कि २०१६ मा त्यो निर्णयलाई फिर्ता गरिनुपर्यो ।

सन् १९१६ मा जन्मिएका र १९९० मा देहान्त भएका डालको व्यक्तित्व उति राम्रो भने मानिदैनथ्यो । उनका साहित्यमा बालबालिकाहरूलाई घोचपेच गरिएको, महिलाप्रति दुर्भावना व्यक्त गरिएको, खुला रूपमा यहुदीहरूप्रति गलत प्रस्तुति दिइएको भन्दै निकै आलोचना समेत हुने गरेको थियो ।

पछिल्लो समय पफिन बुक्सले द विचेज (१९८३) पुस्तकमा क्विर शब्दलाई स्ट्रेन्ज बनाइएको छ, माटिल्डा (१९८८)मा मदर्स एन्ड फादर्सलाई प्यारेन्ट्स बनाइएको छ । त्यस्तै जेम्स एन्ड द जायन्ट पिच (१९६१) मा क्लाउड मेनलाई क्लाउड पिपुल बनाइएको छ । केही अन्य परिवर्तन भने अलि ठूलै भएको देखिन्छ । ती ठूलै परिवर्तनमा केही साहित्यकारहरूको चर्को आलोचना भएको छ । र, यो संसारभरबाट आएको छ ।

सोसाइटी अफ अथर्सकी अध्यक्ष जोआने ह्यारिसले भने यस किसिमको कार्य तिनीहरूको नियमित कार्यव्यापार भएको प्रतिक्रिया दिएकी छन् । तर उनको यो कुरालाई धेरैले प्रतिरोध गरेका छन् ।

सल्मान रूस्दीले ट्वीटरमा लेखेका छन्, ‘डाल कुनै देवदूत होइनन् तर यस किसिमको सेन्सरसीप अनौठै हो । यसका लागि प्रकाशक र डाल इस्टेट दुवैलाई लज्जा महसुस हुनुपर्ने हो । यस्तै अर्का भारतीय लेखक इन्द्रप्रमित दास यसरी कुनै साहित्यकारको सिर्जनालाई सम्पादन गर्दै पुस्तक निकाल्नु भनेको तिनको व्यापार गर्ने तौरतरिका सकिएको टिप्पणी गरेका छन् ।

डालका फ्रान्सेली प्रकाशकले भने आफूले कुनै सर्जकका सिर्जना यसरी जथाभावी सम्पादन गर्ने कुनै अधिकार नरहेको र त्यस्तो गर्ने कुनै इच्छा पनि नरहेको बताएको छ ।

नयाँ जमातका पाठकहरूलाई नबिझाउने गरी सम्पादन गर्नका लागि २०२० ताका कार्य शुरू भएको थियो । यसका लागि रोआल्ड डालका सिर्जनाको अधिकार बोकेको कम्पनी द रोआल्ड डाल स्टोरी कम्पनीसँग नेटफ्लिक्सले सन् २०२१ मा फिल्म तथा शृंखला बनाउने तयारी गर्यो । यसका लागि उसले कम्पनीलाई ५०० मिलियन डलर पनि तिर्यो । यति धेरै रकम तिरेपछि डालका साहित्यमा भएका केही अप्ठेरा शब्दावली, बिझाउने सांस्कृतिक कुराहरूलाई सम्पादन गर्न सकिन्छ कि भनी विज्ञहरूसँग राय सुझाव लिन थाल्यो ।

यही कुरा प्रकाशकले पनि खोज्न थाले । ताकि किताब उत्तिकै मजेदार होस् तर नयाँ पुस्ताका पाठकलाई तिनका पुराना शब्दावलीले घोचपेच पनि नगरोस् ।

अब कुरा कहाँनेर बिग्रियो भने मरेका लेखकहरूका सिर्जना गर्ने अधिकार कम्पनीहरू, प्रकाशक र अन्य सम्पादकहरूसँग छ कि छैन ? यो एउटा नैतिक प्रश्न बनेर उभियो । मरिसकेका लेखकसँग परिवर्तनका लागि स्वीकृति लिन सकिँदैन भने किन परिवर्तन गर्ने ? अथवा, व्यापारकै लागि प्रकाशक र अधिकार बोकेका कम्पनीको स्वार्थका लागि त्यो मान्न जरूरी छ कि छैन ? यसो गर्दा भोलिका दिन सेन्सर गर्ने संस्कारै पो बस्ला कि ?

त्यसै पनि कतिपय मुलुकमा सरकारविरूद्ध लेखिएका सिर्जनाहरूमा लगाइने वक्र दृष्टिले लेखक स्वयंले नै लेख्दैखेरी सेन्सर गर्ने परिपाटी शुरू भइसकेको छ । कुनै समुदायलाई चित्त दुख्ने भनेर गहिराईमा पुगेर लेख्ने चलन कम हुँदै जान थालिसक्यो । यो मन्दविष यस्ता घटनापछि अझ बढ्ने आशंका केहीको छ ।

यदि यसरी सम्पादन गर्ने क्रम एउटा सामान्य कार्यमा परिणत हुँदै जान थाल्यो भने किताबको ऐतिहासिकता बिलाउँदै जाने पक्का छ ।

कतिपय साहित्य पुनर्लेखनको उद्देश्य ज्यादै पवित्र भए पनि त्यसको गम्भीरतामा ध्यान दिनुपर्ने देखिन्छ । विलियम सेक्सपियरका नाटक तथा सोनेटहरू थोमस वोल्डर (१७५४‑१८२५) ले पुनर्लेखन नगरेका भए हाम्रा लागि सेक्सपियर अन्जान नै हुने थिए ।

कतिपय साहित्य सान्दर्भिक नभए समयक्रमसँगै ती हराउँदै जान्छन् । लिटिल लर्ड फन्टलेरोय (१८८६) एक ताका निकै लोकप्रिय कृति थियो र यसका सर्जक फ्रान्सेस हज्सन बर्नेट लोकप्रिय थिए तर अहिले उनको साहित्य कसैले खोज्दैन ।

ज्यादै आपत्तिजनक कुराहरू भए तिनलाई किताबको पुछारमा टिप्पणी लेख्न सकिन्छ । अन्तिम पृष्ठतिर ती शब्दावलीको गम्भीरता बुझाउन सकिन्छ तर किताबै सम्पादन गर्नु चाहिँ साहित्यकारकै अपमान हुन जान्छ । प्रत्येक लेखकको आफ्नो समय हुन्छ तर यसको निर्णय पाठकले गर्छन् । त्यसैले डालको सान्दर्भिकता प्रकाशकले भन्दा पनि पाठकले गरून् ।