चौबीस वर्ष भएछ यो सुकुम्बासी टोलको टहरोमा बसेको पनि । बसाई सहरको हो, तर वस्तुस्थिति बिल्कुलै भिन्न छ बस्तीको । टीनले छाएका सा-साना टहराहरू छन् वरिपरि । साँघुरो गल्लीमा हिँडिरहँदा कसका भान्छामा के पाकेको छ, सजिलै थाहा हुन्छ । कसैको घरमा रुवाबासी छ भने पनि वल्लोकुना पल्लोकुना सबै थाहा हुन्छ, र भीड जम्मा भैहाल्छ ।

म यता आउँदा सोह्र वर्षको थिएँ होला । माइक्रोबसको खलाँसी गरेका ती दिनदेखि नै म यहाँको बासिन्दा हुँ । नेपालभर कतै मेरो नाममा एक आना जग्गा छैन । पुर्ख्यौली सम्पत्तीका नाममा मैले मेरा बाबाट पाएको यही गरीबी मात्र हो । बाले उहिल्यै छाडेर गैहाले । उनले सायद मैले भन्दा धेरै गरीबी भोगेका कारण मलाई चाँडै नै छाडेर गएको हुनुपर्छ । आमाको त म मुहारसम्म पनि सम्झन्नं ।

शुक्र अस्तः

बा बितेको ११ दिनमा आफू जन्मेको पश्चिम नेपाललाई छाडेर सहर छिरेको हुँ । भरियाको साथ लागेर पोखरासम्म आएपछि ट्रक चढेर काठमाडौं छिरेको थिएँ झिसमिसेमा । भोकले आन्द्रा झुत्ति खेलिरहेका बेला कलंकीमा एउटी चिया पसले आइमाईले चिया र बिस्कुट खान दिएकी थिइन्, जुन म कहिले पनि बिर्सन्नं ।

झुत्रे लुगा र मैलो अनुहार लिएर कलंकीतिर दिनभरि भोकै भौंतारिएको थिएँ । उस्तै लुगा लगाएका एकनासे स्कुले बच्चाहरू देखेर धेरैबेर टोलाएको थिएँ । अहिले ती सबै सामान्य लाग्छन, तर त्यतिबेला निकै अनौठो लागेको थियो ।

बिस्तारै घाम ढल्दै गए, ती आमैले दिएको चिया र बिस्कुटले पहिले नै धर्म छाडिसकेको थियो । पानी पिउनका लागि धेरै ठाउँ घुमेको थिएँ, तर गाउँमा जस्तो मैले बाँसका झाँगमुनि पलाएको पानीको मुहान कतै भेटिनँ । धेरैपल्ट, पानी पनि पिउन नपाउने कस्तो ठाउँमा आएछु भनेर आफैँलाई धिक्कारेको थिएँ । फेरि पनि तिनै आमैले पानी पिलाएर मलाई अर्को गुन लगाएकी थिइन् ।

दिन त बित्यो, गाडी गुडेको रमाइलो हेर्दै । जब रात पर्न लाग्यो तब मनमा चिन्ता शुरु भयो; कहाँ जाने ? के खाने ?

खल्तीमा पैसा थिएन । झमक्क साँझ परेपछि म दिशाहीन बरालिइरहेको थिएँ । रात अलि छिप्पिएपछि भने मनमा डर पनि लाग्न थालेको थियो ।

सडका गुडेका गाडीको बत्तीको उज्यालोमा आफूलाई दिशाहीन घिसार्दै थिएँ । मसँग कुनै अन्य विकल्प थिएन । केहीपर पुगेपछि सडक किनारामा रोकिराखेको सानो गाडी देखें । यसो वरिपरि घुमेर हेरें, भित्र कोही रहेनछ । हल्का प्रयासले नै ढोका खुल्यो । मेरो रात काट्ने समस्या समाधान भयो । तर पेट भने भोकले दोब्रिसकेको थियो । यताउता हेरें, केही छ कि भनेर, तर केही भेटिनँ र उसै पल्टिएँ अलिक लामो सीट छानेर ।

कसैले जोडले बोलाएको आवाजले म बिउझिएँ । बिहान भैसकेको रहेछ । एकजना हेर्दै डरलाग्दो मान्छेले मलाई बोलाउँदै थियो | मेरो मनमा डर भरिएर आयो । म डराउँदै उठें । उसले मेरो बारेमा सोध्यो, मैले सबै कुरा डराई-डराई भनें । मेरो कुरा सुनेर मलाई उसैले त्यही गाडीमा खलासीको काम दियो । टन्न खान पाइने अनि हातभरि पैसा बोकेर बिन्दास जिउन पाइने हुनाले मलाई त्यो काममा एकदम रमाइलो लाग्दै गयो, र धेरै समय मैले त्यही काममा बिताएँ ।

दश वर्षसम्म मैले उसैको गाडीमा काम गरेँ ।

मैले काम गर्ने गाडी कलंकीदेखि कोटेश्वरसम्म गएर त्यही बाटो फर्कन्थ्यो । हप्तामा दुई दिन हाम्रो गाडीको पहिलो रुटको समय एउटै पर्थ्यो । त्यतिबेला भने यात्रुहरू प्रायः दोहोरिन्थे । यसै क्रममा मेरो भेट एउटी केटीसँग भयो । हरेक सोमबार र शुक्रबार म उसलाई मेरो गाडीमा बानेश्वरदेखि कलंकीसम्मको यात्रामा पाउँथे । पहिलो केही दिन त अरू सामान्य यात्रीलाई झैं उसलाई पनि व्यवहार गरें । तर एक महिना जतिपछि भने ऊ मसँग बोल्न थाली । उसको नाम रमा रहेछ । मैले पनि घर छाडेदेखि पहिलोपल्ट कसैलाई आफ्नो नाम बताएको थिएँ- पुरन भट्ट । गाडी साहूले जहिले पनि कान्छा भनेर बोलाउँथ्यो, आफ्नो नाम बिर्सिसकेको थिएँ ।

बोलचाल हुन थालेको दुई वर्षपछि मलाई रमाले उसको घरमा लिएर गई । शंखमुल सुकुम्बासी बस्तीमा उसको १ कोठाको घर थियो टीनले छाएको । घरमा बूढी आमा र रमा मात्र बस्थे । आमा बिरामी भएर काम गर्न नसक्ने भएपछि नौ कक्षाको पढाइ छाडेर रमाले असनको कुनै लुगा पसलमा चार हजार महिनामा काम गर्न शुरु गरेकी थिई । त्यो दिन अबेला साँझसम्म म रमाको घरमा बसेर फर्कें । हामी यसरी बेला बेला भेट्दै गर्थ्यौं । नियमित भेटले हामीलाई नजिक बनाइसकेको थियो ।

दिनहरू बित्दै थिए । धेरै दिन रमालाई मैले भेटिनँ । मेरो गाडीको रुट परेका बेला पनि ऊ मेरो गाडीमा आएको थिइन् । कामको व्यस्तताका कारण म उसको घर जान पनि सकेको थिइनँ । मेरो मनमा बेचैनी बढिरहेको थियो । तर म काम छाडेर जानसक्ने अवस्थामा पनि थिइनँ ।

त्यस्तै दश बाह्र दिनपछि मैले मलिनो अनुहारमा रमालाई देखें । काममा जान मेरै गाडीमा आएकी थिई । ऊ गाडीमा रहुन्जेल मैले उसलाई नै हेरिरहें । उसका अधरहरू केही बोल्न खोज्दै थिए तर मान्छेका अगाडि उसको हिम्मत जुटिरहेको थिएन । उनको मुहारको बेचैनी मैले राम्रैसँग पढ्न सकेको थिएँ । सुन्धारामा गाडी रोकिएपछि सबै उत्रिए । म रामलाई आशातित भएर हेर्दै थिएँ केही भन्छे कि भनेर । म अरू यात्रुसँग पैसा उठाउँदै थिएँ, अकस्मात रमा मलाई अंगाल्न आइपुगी । म अक्कबक्क भएँ । के भएको मैले ठम्याउन नपाउँदै रमाका आखाँबाट बलिन्द्रधारा आँशु झर्दैथिए । अरू यात्रुहरू हामीलाई अचम्म मानेर हेर्दै थिए ।

मैले बिस्तारै रमालाई आफूबाट अलग्याएर सडक पेटीमा लगेँ र सोधें- के भयो ।

उसले यी दिनहरूमा आफूले पाएको दुःखको बारेमा मलाई बताई । आमा बित्नुभएछ । एकपटक मात्र भेटेको भए पनि मलाई आमालाई सम्झेर नरमाइलो लागेर आयो । अब के गर्ने भन्ने हाम्रो कुरा हुँदै थियो । गाडी साहूले हाम्रो कुरा सुनिरहेको रहेछ । उसले मलाई पाँच सय दिएर छुट्टी बस्न भन्यो । मैले पैसा लिएर टाउको हल्लाएँ ।

रमालाई एउटा चिया पसलमा लगेँ । सबै कुरा सुने राम्रोसँग । मलाई पनि रुन मन लाग्यो तर म रुन सकिन । रमालाई भने आफ्नो काँधमा टाउको राखेर आँखा रित्तिउन्जेल रुन दिएँ । दश मिनेट जति पछि उसको रुवाई कम भयो । उसले बिस्तारै मलाई उसको घर जान भनी । हामी चियाको पैसा तिरेर बानेश्वरतिर लाग्यौं ।

उसको घरमा पुगेपछि हामीले अब के गर्ने भन्ने सल्लाह गर्‍यौं । हामीले बिहे गर्ने निर्णय गर्‍यौं । दुवै तर्फ आफन्त नभएकाले हामीले बगलामुखी मन्दिर गएर सामान्य बिहे गर्‍यौं । रिती अनुसार मैले उसलाई मेरो घर लिएर आउनु पर्ने थियो तर मेरे घर भनेपनि अफिस भने पनि त्यही गाडी थियो । म उसलाई त्यहाँ लिएर जान सक्दिन थिएँ । मैले उसलाई त्यो कुरा भनें उसले सहज उपाय दिई र मलाई उसले उसको घरमा भित्र्याई ।

साहूले दिएको पैसाले कति नै पुग्ने थियो र ! भोलिपल्टदेखि नै हामी दुवै जना आफ्नो काममा जान थाल्यौं । उसले बनाएको रोटी र अचार बोकेर म बिहानै निस्कन्थें । कान्छीको भात पसलमा खाएको मासु र भातभन्दा रमाको हातले बनाएका सुख्खा रोटी नै मेरा लागि प्रिय थिए । बिहे गरेको थाहा पाएर साहूले एक हजार तलब पनि बढाइदियो । होटेलमा खान नपरेपछि खानाबापत पाउने भत्ता पनि बचत गर्न थालें ।

दिनचर्या सामान्य बितेकै थियो । हाम्रो बिहे भएको तीन महिनापछि मैले काम गर्ने गाडीको बानेश्वर चोकमा ठूलो दुर्घटना भयो । मलाई त खासै ठूलो चोटपटक लागेन, तर गाडी साहूको भने निधन भयो । मलाई यस घटनाले ज्यादै मर्माहत बनायो । मेरो आफ्नै बाले छाडेर जाँदा पनि म त्यति टुकेको थिइनँ तर गाडी साहूको निधनले मलाई पूर्ण रूपमा टुटायो ।

अब के गर्ने भन्ने भविष्यको चिन्ताले सताउन थाल्यो । रमा एक जनाको कमाईले हामीलाई ज्यान पाल्न धौधौ नै पर्थ्यो । पैसा बचाउनका लागि भनेर रमा घरदेखि काम गर्ने पसलसम्म पैदल नै जानथाली । म घरमा दिनभरि सुतेर बस्थें । मनमा राम्रो त लागेको थिएन, तर हातमा अन्य सीप नभकाले मैले काम पाउन सकेको थिइनँ ।

एक दुई गाडी साहूसँग कुरा पनि गरेर हेरें, तर केहो जुगाड हुन सकेन ।

एकदिन बस्तीकै एकजना दिदीले, ‘बाटो बनाउने काममा ज्यामी चाहिएको छ जाने भए आऊ’, भनेर उतै लगिन् । दिनभरि सुख्खा काम गर्दा चारसय पाइने रहेछ । रमासँग सल्लाह गरेर त्यही काम थालें ।

एकदिन बिहानै टोलमा निक्कै हल्ला भयो । के रहेछ भनेर बाहिर निस्केँ । एउटा ठूलो डोजर आँ मुख बाएर हाम्रो बस्ती भत्काउन भनेर आउँदैरहेछ । सबै डराएर हल्ला गर्दै रहेछन् । पुलिसको पनि बाक्लै उपस्थिति थियो । हेर्दाहेर्दै हाम्रो लाइनको बस्तीका टहरा भत्काउन शुरु गर्‍यो । हामीलाई आफ्नो सामान झिक्नो मौका पनि दिइएन । रमा पानी थाप्न स्कूलको धारमा गएकी थिई । रमा पानी थापेर घर आउँदासम्म हाम्रो घरको अवशेष मात्र बाँकी थियो । म आवाजबिहीन भएर हेरिरहेको थिएँ । रमाको हातबाट पानी भरिएको गाग्रो भुइँमा झर्‍यो र ऊ त्यहीँ लडी । मलाई रमालाई उठाउन जाने होश पनि आएन । अकस्मात एउटा इँटाको टुक्रा उठाएर हावामा हुत्याएँ । डोजरको चालकको टाउकोमा गएर इँटा बज्र्यो । डोजर रोकियो तर त्यहाँ उपस्थित सबै पुलिसहरू मतिर हुत्तिएर आए । मलाई कर्‍यापकुरूप पारेर समाए । लात्ती र लौरो बर्साए । सक्ने अवस्थासम्म म प्रतिवाद गरिरहेँ । बस्तीका अरू आइमाई केटाकेटीहरू पनि ढुंगा लिएर पुलिसतिर आइलागे । मलाई छाडेर उनीहरू उता लागे । रमा म भए ठाउँ आई ।

केहीबेर दोहोरो भीडन्त कायम रह्यो । पुलिसका अरू गाडी आए र आइमाई केटाकेटी बाहेक हामी सबैलाई समातेर ट्रकमा कोचियो । छेउका पन्ध्र घर भत्किएका थिए । त्यति हुलदंगा भएपछि बाँकी घरहरू बचे ।

हामीलाई चौकीमा राखियो । खाने व्यवस्था पनि थिएन । सानो कोठामा पैंतालिस जनालाई राखिएको थियो । दुईदिन पछि कुन्नि कुन हो संस्थाले हामीलाई पानीजस्तो पातलो दाल र आधा पाकेको मोटादानाको चामलको भात दियो । सकी नकसी त्यो सबैले खाए । बाँच्नु थियो जसरी पनि मैले रमाका लागि र अरूले आफ्ना परिवारका लागि । छ दिनपछि पुलिस चौकी अगाडि कसैले नाराबाजी गरेको सुनियो । हाम्रो पक्षमा बोल्ने कोही त रहेछन् भनेर हामी थुनामा बस्दा खुशी भएका थियौं । पछि ती बाहिर कराउनेलाई पुलिसले समातेरभित्र ल्याएपछि पो थाहा भो, ती त हाम्रै परिवार पो रहेछन् ।

पुलिसले धरपकड गर्न छाडेन । बस्तीवालाहरूले पनि चौकीअगाडि धर्ना दिन छाडेनन् । पैंतालीस दिनको दोहोरीपश्चाट बल्ल हामीलाई कागज गरेर छाडियो, साँझपख ।

घर पुगें । टुक्रिएर छरिएका इँटा र जुटका बोरा बारेर घरलाई पुनः ठड्याइएको रहेछ । रमाको हिम्मत देखेर खुशी पनि लाग्यो । चौकीको खान्की र अनिद्राले गलेको शरीर रमाको काखमा ढलेको कतिबेरमा निदाएँ थाहै भएन ।

भोलिपल्टदेखि फेरि उही हातमुख जोर्ने समस्या अगाडि छँदै थियो । पुरानो ठेकेदारसँग काम माग्न गएँ, तर उसले काम दिएन । मलाई मात्र हैन, सुकुम्बासी बस्तीका कसैलाई पनि उसले काम दिएन । पापी पेटको सवाल थियो, हामीले बिद्रोह गर्न पनि सकेनौं । निराश भएर फर्कनुभन्दा अरू उपाय हाम्रो केही रहेन ।

एक हप्तापछि एकजना बस्तीकै भाइले फोहोर उठाउने काम दिलायो । मसँग काम रोज्ने न योग्यता थियो न शक्ति नै । जे काम पाए पनि गर्न म बाध्य थिएँ । काम शुरु गरें । फेरि हाम्रो जीवन पटरीमा फर्क्यो । बिहानै रिक्सा लिएर सिठी बजाउँदै घर घर गएर फोहोर संकलन गरिन्थ्यो, अनि छाँटेर बेच्न मिल्ने चिज कवाडीवालालाई बेचिन्थ्यो । कामको स्तर जस्तो भए पनि कमाईप्रति म सन्तुष्ट नै थिएँ ।

जीवनको रथ घस्रदैं थियो । यही क्रममा रमा दोजिया भई । अब मैले उसलाई काममा जान रोकें । मेरो कमाई अब हाम्रा लागि पर्याप्त नै थियो । जीवनमा अर्को खुशी थपियो, रमाले प्रसुति गृह अस्पतालमा छोरीलाई जन्म दिई । हाम्रो खुशीको सीमा रहेन । अस्पतालबाट फर्केपछि गच्छेअनुसार हामीले बस्तीका सबैलाई भोज खुवायौं । सबैले छोरीको नाम ‘पूर्णिमा’ राखे, हामीलाई पनि स्वीकार्य भयो ।

छोरी छ महिनाकी भइन्, रमा उनलाई लिएर नै काममा जान थाली, म आफ्नै काममा लागें । रमाइलोसँग हाम्रो जीवन बित्दै थियो । देशमा भने के के घटना बेला बेला भइरहेको थियो । के के कारणले देशमा आन्दोलन शुरु भयो । यी सबै कुरा बुझ्ने मसँग क्षमता पनि थिएन, न त समय नै ।

एकदिन दिउँसो अकस्मात सहरका यत्ति धेरै मान्छे आए कि मैले कहिले पनि त्यति धेरै मान्छे देखेकै थिइनँ । रमा काममा गएकी थिई, अब के हुने हो भनेर मलाई चिन्ता लाग्यो । दिउँसो खासै मेरो काम नहुने हुनाले म घरै थिएँ । रेडियोमा खबर सुनेपछि म रमालाई लिन भनेर उसको काम गर्ने पसलतिर लागें । म बानेश्वरबाट भीड छिचोलेर असनसम्म पुग्नै सकिनं । मसँग अरू कुनै उपाय थिएन, रमा र छोरीलाई जसरी नि मैले भेट्नै पर्ने थियो । तर मैले दिनको उज्यालोमा भेट्न सकिनं । साँझपख त्रिपुरेश्वरमा गोली चल्यो, भागाभाग भयो, त्यसमा म पनि परें । भाग्ने क्रममा मेरो खुट्टामा चोट लाग्यो । जसरी-तसरी घस्रेर अँध्यारो भएपछि मात्र म निराश भएर घर पुगें । घरमा रमा र छोरीलाई सकुशल देखेर मेरो दुखाइ आधा कम भयो ।

मनमा त दुखाइ थिएन तर खुट्टाका घाउ दुखेर रातभर सुत्नै सकिनं । रमाले खै के घरेलु औषधि लागाइदिई र खान पनि दिई । केहीबेरमा हल्का कम भएको महसुश भयो, र निदाएँ पनि ।

केहीदिन काम बन्द भयो । देशमा ठूलो उथलपुथल भयो, राजालाई हटाए रे ! भन्ने खबर आयो | तर हामीलाई त्यसले केही फरक पार्दैनथ्यो । काम गरे खाना पुग्ने, नत्र भोकै रहनुपर्ने हाम्रो परिवारलाई देशको कुनै राजनैतिक परिवर्तनले कहिले छोएन र छुँदैन पनि ।

पन्ध्र-सोह्र दिनपछि फेरि हाम्रो दैनिक जीवन सामान्य भयो । देशमा जे भए पनि हामीलाई केही असर परेन । काममा दुवै जना जान थाल्यौं । यसरी नै जीवन चल्दैथियो ।

समय बित्दै गयो । छोरी ठूली भइन् । दुःख-सुख हामीले नजिकैको सरकारी स्कूलमा उनलाई पढ्न पठायौं । हामी आफूले पढ्न नपाए पनि छोरीलाई पढाउन पाएकोमा खुशी थियौं ।

समय बित्न केहीबेर नलाग्ने रहेछ । पूर्णिमा अब तेह्र वर्षकी भइसकिन् ।

आज फेरि देशमा फैलिएको कोरोना रोगका कारण छोरीको स्कूल बन्द छ । रमाको काम गर्ने पसल पनि बन्द छ | तर मेरो फोहोर उठाउने काम भने बन्द छैन । बिहानै घर-घरै गएर फोहोर उठाउने काम हामी गर्दैआएका छौं ।

अस्ति बिहान पनि म सदाझैं काममा गएको थिएँ । बिहानभरि काम गरेर घर फर्कंदा खाना पाकेको थिएन । रमा र पूर्णिमा ओछ्यान मै थिए । काम केही नभएकाले सुतेका होलान् भन्ने लाग्यो । आफैंले खाना बनाएँ । खाना पाकेपछि उठाएँ दुवैलाई । दुवैले खाना खान इन्कार गरे । उनीहरूलाई त ज्वरो आएको रहेछ ।

सामान्य ज्वरोमा झैं मैले घरमा भएको ट्याब्लेट खान दिएँ, आमा छोरी दुवैलाई । ट्याब्लेट खाएर दुवै फेरि सुते । मलाई पनि खाना खान मन लागेन, म पनि भुँइमा ढल्किएँ ।

बिहानभरि काम गरेकाले मलाई निन्द्रा लागेछ । बिउझिदा साँझ पर्न थालिसकेछ । उठेर आमा छोरी दुवैलाई उठाएँ, तर ज्वरो त झन् बढेको रहेछ । ट्याब्लेटले काम गरेनछ । अब जसोतसो अस्पताल लानुपर्ने भन्ने लाग्यो । बाहिर निस्कें गाडीको लागि, तर कुनै पनि गाडी नचलेको हुनाले केही पाइएन । बस्तीकै एकजना दिदीको सहयोग लिएर मैलै आफ्नै फोहोर बोक्ने रिक्शामा बोरा ओछ्याएर आमा छोरीलाई राखेर अस्पतालतिर लगें । नीजि अस्पतालमा लाने हैसियत थिएन, त्यसैले वीर अस्पतालतिर लागें ।

बाटोमा धेरैले सोधे, ज्वरो आएको भनेपछि नजिक पर्न चाहेनन् | किन हो ? मैले कुरो बुझिनं । माइतीघर पुग्दा पुलिसले रोक्यो । ज्वरो आएर अस्पताल लान लागेको भन्नेबित्तिकै पुलिसले सहयोग गर्‍यो । म रिक्शा लिएर पछि-पछि लागें, आमा, छोरी र छिमेकी दिदीलाई पुलिसले गाडीमा राखेर अस्पताल पुर्‍याइदियो । बस्तीमा पुलिसको कुटाइ खाएर चौकीमा थुनिन परेको दिनदेखि म पुलिससँग नजिक पनि भएको थिइनँ, तर त्यो दिन सहयोगी रूपमा पनि देखें ।

अस्पताल पुग्दा रात परिसकेको थियो । अस्पतालले बेड छैन भनेर बाहिरै राखिदियो । धेरै रात छिप्पिसक्दा पनि कोही हामीलाई सोधखोज गर्न नआएपछि गरीबको लागि सरकार रहेनछ भन्ने भावनाले मन कुँडियो ।

साथ आएकी दिदीसँग सल्लाह गरेर अर्को अस्पताल लाने निधो गर्‍यौं । भुइँमा लडिरहेका आमाछोरीलाई दुवै मिलेर फेरि रिक्शामा राखेर टिचिङ अस्पतालतिर लाग्यौं । पानीपोखरीको उकालोमा गाह्रो भयो, रिक्शा तान्न । दिदी तल ‍ओर्लेर पछाडिबाट धकेलिन, मैले बल्लबल्ल उकालो कटाएँ । राष्ट्रपति भवननेर पुगेपछि सेनाले रोकेर सोध्यो, बिरामी हो भनेर रिक्शा नरोकी कराउँदै कुदाएँ । सेनाले केही भनेन पनि । जवाफमा जाऊ भन्ने इशाराले हात हल्लायो मात्र ।

अस्पतालको गेटमा पुग्दा गार्डले रोक्यो । ज्वरो आएको बिरामी भनेर भित्रै जान दिएन । बिरामीलाई त दिएन दिएन, म डाक्टरलाई भेटेर आउँछु भन्दा मलाई पनि जान दिएन । चार घण्टा अनुरोध गर्दा पनि गार्डले भित्र जान दिएन । कुनै उपायले भित्र जान पाएको भए डक्टरसँग कुरा गर्थें भन्ने लागिरह्यो, तर मेरो सीप लागेन ।

रमाले पानी मागेको आवाजले मलाई झस्कायो । मैले उसलाई पानी पिउन दिएँ । छोरी अचेत नै थिइन् । रिक्शा रोकेर सडकको पेटीमा बसेको थिएँ । कतिखेर झपक्क आँखा लागेछन् थाहा नै भएन ।

‘बाबू ! ए बाबू !’, भनेर कराएको आवाजले झस्किएँ । दिदी कराउँदै रहिछिन् । के भयो भनेर म हतार हतार उठेर रिक्शातिर हामफालें । दिदीले छोरी त शान्त भइछिन् भनेर देखाइन् । यसो निधारमा हात राखें, पूर्णिमालाई त ‍औंशीको कालो रातले छोपिसकेछ । कतिखेर हामीलाई छाडेर गइसकिछिन् । रमाको भने धुकधुकी बाँकी नै रहेछ । अब के गर्ने भन्ने कुरा हामीले सोच्न सकेनौं । त्यहाँ हाम्रो मद्दतको लागि कोही पनि थिएन । हाम्रो हँसिलो संसार कतिखेर उजाडियो थाहै भएन । दैव निष्ठुरी हुन्छ भन्थे हो रहेछ,  भन्ने लाग्यो ।

बज्रपात पर्‍यो जीवनमा । तीन जनाको रमाइलो संसार छिन्नभिन्न भयो । दुःखीका लागि भगवान् पनि नहुने रहेछ भन्ने पक्का भयो ।

शवलाई यसै राखिरहनु ठीक थिएन । संस्कार गर्नै पर्‍यो ।

रिक्शा पशुपतितिर मोडें । पशुपति आर्यघाट पुग्दा झिसमिसे उज्यालो भएको थियो । सकिनसकी रमालाई रिक्शाबाट भुइँमा बस्न लगायौं । उसको ज्वरो कम भएको रहेछ । छोरीको शव निकालेर जमिनमा राखियो । खल्तीमा सय रुपियाँको एक नोटभन्दा केही थिएन मसँग । सँगै आएकी दिदीको पनि त्यही हालत थियो । हामी तीन जनासँग गरेर जम्मा दुई सय पचास रहेछ ।

दाहसंस्कारका लागि जोहो गर्नतिर लागेँ, तर हामीसँग भएको पैसाले पुगेन । छोरीको शव जमिनमा राखेर कुरेर बस्नुभन्दा हामीसँग अब अर्को बिकल्प रहेन । बिहान बित्यो, दिउँसो बित्यो, रात पर्‍यो । तर पूर्णिमाको दाहसंस्कार गर्न सकिएन । शवलाई कुरेर बस्दै गर्दै दुईचार जनाले पाँच दश रुपियाँ दिएर पनि गए, तर त्यसले केही हुनेवाला थिएन ।

भोलिपल्ट दुईचार जना भाइहरू क्यामेरा लिएर आए । हाम्रा दुःखलाई क्यामरामा कैद गरेर गए । तर सहयोग केही गरेनन् । दुनियाँबाट मानवता मेरी छोरीसँगै मरेको भान भयो ।

साँझपख एकजना बाहुन बाजे आएर सबै कुरा सोधे । हामीले बतायौं फेरि पनि । एकैछिन हाम्रा कुरा सुनेर उनी गए । दुई घण्टापछि शवको दाहसंस्कारका लागि चाहिने सामग्री लिएर हामीतिरै आए । विधीपूर्वक उनले शवदहन गरे । पछिमात्र हामीलाई थाहा भयो, सरकारले हाम्रा लागि त्यो व्यवस्था गरेको रहेछ, सित्तैंमा । जे होस् हामी बेरोजगार भएर भोकै बस्दा वा बिरामी भएर अस्पताल जाँदा हाम्रा लागि सरकार नभए पनि मरेपछि लाश जलाउन भने हाम्रा साथमा सरकार थियो । अब मर्न असजिलो नहुने पक्का भएको पूर्ण आभाष भयो हामी गरिबलाई ।