नयाँ प्राज्ञ चयन भइसकेका छन् । अबका प्राज्ञले आफ्नो क्षेत्रको उत्थान र उन्नयनप्रति संवेदनशील भएर काम गर्न सक्छन कि सक्दैनन् ? यही मुख्य प्रश्न उभिएको छ । नयाँ प्राज्ञले राष्ट्रभरि छरिरहेका कलाकारका आवाजलाई मुखरित गर्न सक्छन् कि सक्दैनन् ? नेपाली कलालाई जनमुखी बनाउँदै नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने हैसियत राख्न सक्छन कि सक्दैनन् ? त्यो हेर्न बाँकी नै छ । नेपाली कला क्षेत्रमा थुप्रै चुनौती, बेथिति र असन्तुष्टिहरू असरल्ल बिस्कुन सरी छरिएका छन् । तिनलाई काम र व्यवहारबाट समाधानको विन्दुमा पुर्‍याउनु छ उनीहरूले । त्यो आगामी चार वर्षभित्रको अवधिले देखाउने छ । लोकतन्त्रको आगमन र आन्दोलित कलाकारको सहादतको प्रतिफलका बाबजुद नै ललितकलाकर्मीले सरकारबाट स्वायत्त प्रज्ञाप्रतिष्ठान पाएका हुन् ।
विगतका थुप्रै प्राज्ञहरूको कार्यविधि र नियत भोगिसकेका र देखिसकेका कलाकारले आफ्नो क्षेत्रको हितका निम्ति अबको प्राज्ञ कलाप्रति संवेदनशील हुनुपर्छ भन्ने भाव जन्मनु कलाकार र कलाका शुभचिन्तकहरूको नैसर्गिक अधिकार हो ।

प्रज्ञाप्रतिष्ठानको लालित्यलाई अधिराज्यभरिका सम्पूर्ण कलाकार र जनसमुदाय समक्ष पुर्‍याएर जनमुखी बनाउनु आजको आवश्यकता हो । तर विगतको कार्यशैली र रबैयाले प्रज्ञाप्रतिष्ठानले उचाई छुन सकेको देखिदैन । कलाकार र कलाको मर्म र भावनालाई बुझ्ने कोसिस गर्न नसक्नु, प्रज्ञाप्रतिष्ठामार्फत एकमाथि अर्को गर्दै झारा टार्ने कार्यहरू मात्रै गर्दै जानुले प्रज्ञाप्रतिष्ठानप्रति कलाक्षेत्रमा नकारात्मक भावना र सञ्चार प्रवाह भएको कुरा कलाकार माझ सर्वविदितै छ । यस्तै विविध कारणले कलाको विकास, विस्तार, सम्वर्द्धन, प्रवर्द्धन र कलामार्फत अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको पहिचान गराउन एवं कलाकारको हितनिम्ति स्थापित गरिएको प्रतिष्ठानको गरिमा आज क्रमशः दिन प्रतिदिन खस्कदै र ह्रास हुँदै गएको कुरा पनि सर्वविदितै छ ।

यसको मूल कारणमा अध्ययनशील, बौद्धिक र आफ्नो क्षेत्रबाट राष्ट्रमा योगदान पुर्‍याएका विज्ञ कलाकारहरू प्राज्ञसभामा पुग्न नसक्नु नै हो । सरसर्ती हेर्दा विज्ञता र बौद्धिकताको बलबाट भन्दा पनि राजनीतिक र पार्टीको बलबाट पदाधिकारीहरू चयन हुने विकृत प्रचलनले गर्दा पनि प्रज्ञा-प्रतिष्ठानको साख र गरिमा धराशायी हुँदै गएको र यसप्रति कलाकारहरूको भरोसा र विश्वास घट्दै गएको हो । नवगठित अबका प्राज्ञहरू विकासको दृष्टिकोणबाट खरो उत्रन नसके, भिजनलेस देखिए, यिनीहरू पनि ढुकुटीको दोहन गर्ने उपमा भिर्ने छन् । त्यसैले अबको गठित प्राज्ञहरू सही र राम्रो नेतृत्वदायी बन्न आवश्यक छ । यो आजको समयकालको माग पनि हो । र, कलाक्षेत्रलाई सुव्यवस्थित किसिमले विकास गर्न सकिने भरपर्दो आधार पनि हो । हिजोका दिनमा ललितकला प्रज्ञाप्रतिष्ठानमा थुप्रै कमी-कमजोरी र गल्तीहरू भएका छन्, जुन कारणले कलाकार र कलाक्षेत्रले इच्छाएजस्तो नेपालमा कलाको समूल विकास, विस्तार, सम्वर्धन र प्रवर्धन हुन सकेन ।
बरु एकमाथि अर्को विसंगतिहरू थपिँदै जाँदा सुविधा भोग्ने, तलब खाने र अनावश्यक कर्मचारीहरू पाल्ने कामहरू मात्र भए । जसले गर्दा प्रतिष्ठानको पहुँचलाई रुग्ण सावित गरिदियो, जुन प्रवृत्ति गलत हो । अबको दिनमा प्रज्ञाप्रतिष्ठानलाई सुधार्न आवश्यक छ । यहाँनेर नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका हिजोका दिनका अक्षमता र कमीकमजोरीहरूलाई केलाइरहँदा विगतको दुई-तीन कार्यकालमा कामै भएनन् भन्ने पनि होइन । कलाकारका असन्तुष्टिका बावजुद पनि केही कामहरू भएका देखिन्छन् जसलाई नजर अन्दाज गर्न मिल्दैन ।
केही कार्यहरू राम्रा भए गरेका उदाहरणहरू पनि छन् । यद्यपि कलाकारको आँखामा ती नगन्य साबित भए । किनकि ती कार्यहरुले आजको दिनसम्म कुनै बृहत्तम लय लिन सकेको देखिएन । प्रज्ञाप्रतिष्ठान स्थापना भएको यत्तिका वर्षसम्म प्रज्ञाप्रतिष्ठान उदाहरणीय बन्न नसक्नु नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको र सम्पूर्ण कलाकर्मीहरूको दुर्भाग्य नै हो भन्नुपर्छ ।

मूलतः आजको परिवर्तित स्थितिमा प्रज्ञाप्रतिष्ठानको भावना र परिभाषालाई बुझ्नसक्ने विज्ञहरूको समूहबाट नै प्राज्ञहरू बनाइनुपर्ने रहेछ । किनकि राष्ट्रको कलाविकास गर्न सरकारी स्तरसँग साँखुको भूमिका निर्वाह गर्नुपर्ने मूलमन्त्र र दक्षता प्रज्ञाप्रतिष्ठानमा निहित रहेकाले पनि प्राज्ञ चयनको सन्दर्भमा सरकार पार्टीविहीन भएर आउनै पर्ने रहेछ । अबको दिनमा राजनैतिक पार्टीको घुम्टो ओडेर आएको भन्दा पनि काम र योगदानको बलबाट आएकालाई प्राथमिकताको श्रेणीमा राख्नु पर्दछ । मेरो विचारमा पार्टी वा राजनीतिक सिफारिसबाट आएका ऊर्जाहीन व्यक्तिलाई प्राज्ञ, पदाधिकारी जस्तो गरिमामय आभुषण सुम्पनु उचित हुँदैन् । किनकि त्यस्ता व्यक्तित्वहरूलाई पदमा पुर्‍याए प्रतिष्ठानको हविगत हिजोकैजस्तो पुनरावृत्ति हुनेछ भन्ने कुरामा दुई मत छैन । यसो भनिरहँदा विगतका सबै पदाधिकारी, प्राज्ञहरू दोषीका पात्रहरू हुन् र थिए भन्ने अर्थमा पनि नबुझौँ ।
उनीहरूको कार्यकालमा केही पनि कार्य भएनन् भन्ने पनि होइन । विगतमा प्रज्ञाप्रतिष्ठान गठन भएपश्चात केही राम्रा कामहरू पनि भए, गरेका छन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्रथम पूर्वकुलपति किरण मानन्धरलगायत कतिपय सदस्यहरूले आफ्नो कार्यकालको चार वर्षभित्र आवश्यकीय राम्रा कार्यहरू गरेका छन् ।
प्रतिष्ठानका सदस्यहरूबीचमै बारम्बार चलिरहने वैमनस्य र बेमेलका बाबजुद पनि भौतिक संरचनालाई चुस्तदुरूस्त पार्ने कार्यदेखि कानुन निर्माण गर्नेलगायतका महत्त्वपूर्ण कार्यहरू भएका छन् । जसलाई नजरअन्दाज गर्न सकिदैन । यस्ता कार्यलाई सकारात्मक रुपमा लिनुपर्छ ।
यद्यपि प्रतिष्ठानको प्रकृति यति नै काममा मात्रै सीमित हुने भन्ने होइन । मानन्धरपछि दोस्रो कार्यकालमा कलाकार रागिनी उपाध्याय कुलपति भइन् । यिनको कार्यकाल कलाकारहरूले सोचेको र एकेडेमीको आदर्श र मर्मले निर्देशित गरेकोजस्तो उपलब्धिमूलक बन्न सकेन । यो कार्यकाल एकेडेमीका लागि जटिलपूर्ण नै बन्यो । जटिल यस मानेमा कि उनको कार्यकालमा नेपालमा दोस्रो विनासकारी भूकम्प गयो, एकेडेमी बसेको ऐतिहासिक सीताभवन धरासायी भयो । कार्यालयका संरचनाहरू धुजाधुजा भए । पदाधिकारी र प्राज्ञबीच आन्तरिक झैँझगडा र बेमेलको वातावरण सृजना भयो । नाफाको स्वामित्वको भनेर भोगचलन गर्दै आएको जमीनको अधिकांश जमीन संगीत नाट्य प्रज्ञाप्रतिष्ठानको अधिनमा गयो । यसरी आफैँभित्र गिजोलिएको समस्याले रागिनी कार्यकालले कुनै उल्लेख्य र उपलब्धिमूलक कार्य गर्न सकेन ।
उपाध्यायपश्चात कान्छाकुमार कर्मचार्य कुलपति बने । यिनको पालामा केही टहरा किसिमका प्रदर्शनी कक्ष र हलहरू बने । भूकम्पका कारण चौरमा पाल टाँगेर प्रशासनिक कामकारवाही गर्दै आएका प्राज्ञपरिषदका सदस्यहरू नयाँ स-साना संरचनामा बस्न पाए । यिनको पालामा पुस्तक प्रकाशनले निकै गति लियो । यसलाई सकारात्मक नै मान्नुपर्छ । यद्यपि प्रकाशनको नाममा जोसुकैलाई लेख्न लगाएर पुस्तक प्रकाशनको गुणात्मक पक्षलाई भन्दा पनि संख्यात्मकता पक्षमा जोड दिएको कुराले गाँसमा ढुंगा लागेजस्तै बनायो ।

कलेजका विधार्थीहरूले थेसिसका निम्ति बनाएका समाग्रीहरू पनि पुस्तक बनेर प्रकाशित भएको देखियो । यस किसिमको मनपरीले समाजमा राम्रो सन्देश प्रभाव भएन ।

अन्त्यमा, हालै प्राज्ञसभा गठन भइसकेको परिप्रेक्षमा नव गठित प्राज्ञ पदाधिकारीहरूको काम हेर्न बाँकी नै छ यसको कार्यशैली नहेरी यसको कमलो संरचनामाथि औँलो ठड्याउन सकिएन् । यसमाथि औलो ठड्याउने दिन भोलि आउँछ । प्रज्ञाप्रतिष्ठानको सम्बन्ध अन्तर्राष्ट्रिय कला, समाज र निकायहरूसँग हुन्छ । जसले अन्तर्राष्ट्रियस्तरका कला विकासका गम्भीर बहसहरूमा सहभागीपूर्ण दायित्व निर्वाह गर्छ ।
राष्ट्रिय कला विकासका योजनाहरू तर्जुमा गर्दै विविध कला गतिविधिहरू (राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कला प्रदर्शनी, प्रकाशन, योजना तर्जुमा, अनुसन्धानलगायत कलाक्षेत्र र कलाकारलाई प्रत्यक्ष फाइदा पुग्ने खाल्का थुप्रै कला गतिविधि र कार्यहरू) गर्नु प्रज्ञाप्रतिष्ठानको दायित्वभित्र पर्छ । यस्ता कार्यहरू यसले आगामी दिनहरूमा गर्न सक्छ कि सक्दैन ? कि यो पनि तलबमुखी मात्र भएर दिन कटाउने छ, हेर्न बाँकी छ ।