
भाषा, साहित्य र कला जीवित रहेसम्म मात्र देश तथा मानव सभ्यता जीवित रहन्छ । यो एक्काइसौँ शताब्दीमा पनि ढुङ्गेयुगको जस्तो विचार बोकेर बाँच्नु दुर्भाग्यपूर्ण कुरा हो ।
साहित्य राष्ट्रको बौद्धिक सम्पत्ति र जीवनको व्यापक सार हो
– विलियम शेक्सपियर
हामीले १०४ वर्षे जहानियाँ राणा शासन फाल्यौँ । २४० वर्षे निरंकुश राजतन्त्रको जग उखेल्यौं । अहिले हामी संघीय गणतन्त्रको काखमा स्वतन्त्र रमाइरहेका छौं । परिवर्तन र विकासको शिखर चुम्ने प्रयत्नमा छौं । हामीसँग हजारौंहजार सपना छन् । तर ती सपना पूरा गर्ने आधार भने कति छन् त ? के सपना देख्नु मात्रै ठूलो कुरा हो ? सपना पूरा गर्ने माध्यम पनि त चाहिएला नि ? ती नयाँ सपना पूरा गर्न हाम्रो साहित्य र स्वअध्ययन कस्तो छ ?
नेपाल त विश्वको सबैभन्दा भाग्यमानी राष्ट्र हैन र ? न त कसैको गुलाम भयो, न त कसैले आक्रमण गरी कब्जामा लियो नै । आफ्नै सान र स्वभिमानले शिर ठाडो गरी आजसम्म निर्विवाद बाँचेको राष्ट्र पो हो त । तर दुर्भाग्य ! हामीभन्दा कति हो कति पिछडिएका राष्ट्रहरूले आज विश्व आफ्नो कब्जामा लिइसके, हामी भने अझै पनि घरझगडामा नै सीमित हुन बाध्य छौँ । हरे !
हामी जति भाग्यमानी थियौँ त्यति नै अभागी पनि । मुख्यतः १०४ वर्षे राणा शासन र २४० वर्षे निरंकुश राजतन्त्रको कब्जामा परेर देश एक हजार वर्षले पछि पर्यो । भाषा, साहित्य र वैज्ञानिक आविष्कारको धरातलमा अडिन नपाएर देश लङ्गडो भयो । यता राणा शासनले देश कब्जामा लिँदै गर्दा पश्चिमेली तथा केही पूर्वीय राष्ट्रहरू धमाधम भाषा, साहित्य र वैज्ञानिक आविष्कारको खोजीमा तन, मन र ध्यानले लागि परेका थिए । इतिहास साक्षी छ – जुन राष्ट्रको भाषा, साहित्य ज्यादै मजबुत थियो, त्यसै राष्ट्रले विश्वमा आफ्नो हैकम जमाउँदै आयो । जस्तो कि सुरुवात कालमा बेलायत । ब्रिटिश शासनको उपनिवेशबाट मुक्त भएपछि अमेरिकाले बेलायतको बाटो पछ्यायो । अनि पुनः अमेरिका विश्वको अगुवा भयो ।
अमेरिका पछि चीनले पनि भाषा, साहित्यलाई प्राथमिकता दिँदै आयो । अहिले चीनले विश्वको अगुवा हुन गरिरहेको प्रयास त हामीले देखिरहेका छौँ ।
नेपालको शिक्षा नीतिचाहिँ वैज्ञानिक अवधारणामा सीमित हुन नसकेर परम्परावादीमा सीमित हुन या खुम्चिन पुग्यो । जस्तो हामी कुनै विद्यार्थीलाई सोधौँ न, “तिमी किन स्कूल जान्छौ या पढ्छौ ?” उसले जवाफ दिन्छ “मलाई जागिर खानु छ । ठूलो मान्छे बन्नु छ । मलाई बाबाले भन्नुभएको छ कि राम्रो पढ्यो भने राम्रो जागिर पाइन्छ । सुख पाइन्छ ।” यस्तै यस्तै । उसले यस बारेमा आफ्नो सिङ्गो पुस्ताको कथा भन्न सक्छ ।
उच्च शिक्षा हासिल गर्नु मात्रै ठूलो कुरा हैन । उच्च शिक्षा त एउटा बाघको बच्चाले पनि लिन्छ । सिकार कसरी खोज्ने ? शत्रुलाई कसरी आक्रमण गर्ने ? कुन ठाउँ र समयमा गर्ने ? कस्तो शत्रुलाई कस्तो प्रकारको आक्रमण गर्ने ? आफूभन्दा ठूलो र डरलाग्दो शत्रुबाट कसरी बच्ने ? यस्तै यस्तै । प्रकृतिका प्रत्येक प्राणीहरूले धरतीमा पाइला राखेपछि आफ्नो आवश्यकताअनुसारको शिक्षा अवश्य लिन्छन् । अनि हामी नेपाली भनाउँदा र पशु प्राणीको शिक्षामा के फरक पर्यो ? नाथे आफ्नो ज्यान पाल्नका लागि उच्च शिक्षा !
विडम्बना ! उच्च शिक्षा हासिल गरेका अधिकांश शिक्षकहरूले नै खासमा यहाँ शिक्षाको हत्या गरिरहेका छन् । उनीहरूले जति भाषा, साहित्य र साहित्यप्रेमीहरुको हत्या अरु कसैले गरेका छैनन् । उनीहरू विद्यार्थी शिक्षित होस् र नयाँभन्दा नयाँ कुरा जानोस् भनेर हैन कि आफूले पढाइरहेको या रटाइरहेको विषयमा उत्कृष्ट नम्बर ल्याओस् र शिक्षकको इज्जत राखोस् भन्ने चाहन्छन् । यस्तो स्वार्थले न शिक्षामा क्रान्ति आवोस्, न भाषा साहित्य फस्टावस् । बाँदरको पुच्छर लौरो न हतियार भनेजस्तो ।
“ए ! मेरो कुरा ध्यान दिएर सुन्, अहिले नै यस्ता कथाकविता पढ्ने हैन । यस्तो नानाभाँती पढ्दा मान्छे बौलाउँछ। यो त टाइमपासको लागि पढ्ने हो । यो पढेर केही फाइदा छैन। यो त एसएलसी सकिएपछि तीन महिने बिदामा पढ्ने हो। यस्ता किताब पढेर न ज्ञान पाइन्छ न भविष्य बन्छ । बरु आफ्नो कोर्षको किताब पढ्यो भने जाँचमा राम्रो नम्बर ल्याउन त सघाउँछ । जाँचमा राम्रो नम्बर आएपछि भविष्य उज्ज्वल हुन कति नै समय लाग्छ र ?”, समाज र राष्ट्र निर्माणका अगुवा भनाउँदाहरूको बुद्धि !
अझ अचम्मको कुरा, साहित्यलाई घृणा गर्ने शिक्षकले राष्ट्रभक्ति सिकाउँदै हिँड्छन् । प्रेम र करुणाको कुरा गर्छन् । बिना शिक्षक कयौं बालबच्चा अन्धकारमा डुब्ने फुस्रे तर्क गर्छन् । यिनलाई गुरु भन्ने कि अरू नै केही । राम राम ! भो अब चुप लागौँ ।
“मैले त्यत्रो पैसा खर्च गरेको यस्तै यस्तै वाइयात किताब पढ्नलाई हो ? के यी किताबले तँलाई खाना लाउन दिन्छ ? जाँचमा पास गराउँछ ? आफ्नो किताब नपढेर बेकारमा ! यी किताब त पछि जागिर खाएपछि पढ्ने हो । अझै पनि उमेर छँदैछ क्यारे । पछि रातभरि नसुती पढे भैगयो नि !” हाम्रो पहिलो विश्वविद्यालयका महान् शिक्षकहरू । बाफ्रे !
आफ्नो सन्तानलाई २०, २५ हजारको मोबाइल किनिदिन सक्ने हाम्रा बाआमाले जाबो दुईतीन सयको एउटा किताब किनिदिन सक्दैनन् । महँगो मोबाइल चलाउँदा नबिग्रिएका तपाईंहाम्रा महान् छोराछोरी जाबो सस्तो मूल्यको किताब पढ्दा कसरी बिग्रन्छन् ? तपाईँहामीले आँखा चिम्लिएर किनिदिएको त्यो मोबाइलमा हरेक क्षण पोर्नफिल्म हेरेर नबिग्रिएका सन्तान, दुनियाँकै शक्तिशाली किताब पढ्दा कसरी बिग्रन्छन् ? मोबाइलमा नानाभाँती हेरेर त हाम्रा सन्तान बिग्रिएका छैनन् भने, किताब पढेर बिग्रेको केकस्तो प्रमाण दिन सक्नुहुन्छ ? नाच्न नजान्ने आँगन टेढो ।
पुस्तक पढ्नु भनेको समय बर्बाद नगरेर समयलाई प्रेम गर्नुचाहिँ हो । विविध विधाको पुस्तक पढ्नु भनेको आफूले विविध विषयमा केही ज्ञान तथा आइडियाहरुको उत्पादन तथा विकास गर्नु हो । संवाद, भाषा, साहित्य र वैज्ञानिक आविष्कारको कारण आजसम्म मानवसभ्यता जीवित छ । यदि संवाद, भाषा, साहित्य र वैज्ञानिक आविष्कार हुन्थेन भने आज धरतीमा हामीले “म फलानो हुँ” भनेर फुर्ती लगाउन सायदै पाउने थियौँ ।
मान्छे परिपक्क हुने भनेकै संवाद, भाषा, साहित्य र वैज्ञानिक आविष्कारको माध्यमले हो । दालभात हाम्रो पेटको खजना हुन् भने संवाद, भाषा र साहित्य मस्तिष्कको खजना हुन् । अनि यही साहित्यिक कृति पढ्यो भने मान्छे खुस्किन्छ भन्ने शिक्षक र अभिभावक कुन दुनियाँका सिद्धपुरुष हुन् ? सुन्दा पनि …
नेपालजस्तो पिछडिएको देशमा शिक्षक तथा अभिभावकहरुले कसरी हुन्छ आफ्नो विद्यालय तथा घरमा पठनसंस्कृतिको विकास गराउन अति नै जरुरी छ । अहिले प्रत्येकको घर तथा हातमा स्मार्ट फोन छ । तर एउटा थोत्रो त के च्यातिएको सानो कागजको टुक्रासम्म भने कसैको घरमा छैन । बाआमाले पुस्तक पढ्ने बानी बसाल्न सके त सन्तानले कत्ति पनि ढिला नगरी पुस्तक पढ्ने बानी बसाल्छन् । बालबच्चाले गर्ने भनेकै ठूलाबडाको सिको न हो । तर हामीलाई यस्ता कुरा कहाँ पच्छन् र ?
हामी हाम्रो सन्तानलाई अरूको कुरा काट्न सिकाउँछौँ । बदला लिन सिकाउँछौं । सानो तिनो कुरालाई बेवास्ता गर्न सिकाउँछौँ । अरूको पीडामा हाँस्न सिकाउँछौं । अनावश्यक झुट बोल्न सिकाउँछौं । नकारात्मक कुराको ईख बोक्न सिकाउँछौँ । मात्र सम्पत्ति कमाउन जोडबल गर्छौँ ।
यस्तै यस्तै…।
अनि यस्तो शिक्षाले कसरी व्यक्ति, समाज र राष्ट्रको विकास हुन सकोस् ?
त्यही राष्ट्र सबैभन्दा शक्तिशाली हुन्छ जहाँ भाषा, साहित्य र कलालाई प्रेम गरिन्छ । त्यही परिवार सबैभन्दा सुखी हुन्छ, जुन परिवार भाषा, साहित्य र कलाप्रेमी हुन्छन् । त्यही व्यक्तिले इतिहास रच्छ । जो भाषा, साहित्य र कलाप्रेमी परिवारमा हुर्केबढेको हुन्छ । अर्थात् भाषा, साहित्य र कलालाई अथाहा प्रेम गर्छ । केही विश्वविख्यात व्यक्तित्वहरू नै यसका उदाहरण हैनन् र ?
वास्तवमा, भाषण र राजनीतिले देश बच्ने र बन्ने हैन । देश बचाउन र बनाउनलाई भाषा, साहित्य र कलालाई बचाउनु पर्छ । भाषा, साहित्य र कला जीवित रहेसम्म मात्र देश तथा मानव सभ्यता जीवित रहन्छ । यो एक्काइसौँ शताब्दीमा पनि ढुङ्गेयुगको जस्तो विचार बोकेर बाँच्नु दुर्भाग्यपूर्ण कुरा हो । सिङ्गो विश्व परिवर्तन हुँदा जाबो हाम्रो बुद्धि र दृष्टिकोण परिवर्तन हुन सक्दैन !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

