कवि भूपाल राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले नेपाल भाषा एकेडेमी (नेपाल प्रज्ञा प्रतिष्ठान) को कुलपतिमा नियुक्त गरेको खबर तात्तातै छ । त्यस्तै, संगीत तथा नाट्य एकेडेमीको उपकुलपतिमा शम्भु राई र ललितकला एकेडेमीको कुलपतिमा नारदमणि हार्तम्छाली नियुक्त भएका छन् । जसमध्ये संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा निशा शर्माले नियुक्ति पाएकी छन् । संगीत तथा नाट्य, ललितकला एवं नेपाल प्रज्ञा प्रतिष्ठानको गठनमा मन्त्री सुदन किराँतीले १३ जना राईहरूलाई नियुक्ति दिइएकोमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्चालमा उग्र आलोचना भइरहेको छ ।

नियुक्तिलाई हेर्दा तीनवटै प्रतिष्ठानका ८३ जना प्राज्ञहरूमा १३ जना राईहरू परेको देखिन्छ । यसलाई कतिपयले ‘प्रज्ञा प्रतिष्ठान राईकरण गरिएको’ आरोपसमेत लगाइरहेका छन् । यस रिपोर्टमा मुख्यतः नेपाल प्रज्ञा प्रतिष्ठान तथा यसमा नियुक्ति पाएका प्राज्ञहरूका बारेमा कुरा गरिनेछ ।

कुलपति भूपाल राई

नेपाल प्रज्ञा प्रतिष्ठानको कुरा गर्दा नियामवलीअनुसार ११ जना प्रज्ञा परिषद् गठन भएको छ, जुन ३५ जनाको प्रज्ञासभाबाट गठन भएको हो । जसमा भूपाल राई कुलपति, विमलकृष्ण श्रेष्ठ उपकुलपति र डा. धनप्रसाद सुवेदी सदस्य सचिव रहेका छन् । त्यस्तै, परिषद् सदस्यमा मधुसुदर गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने र त्रैलोक्यमान बनेपाली रहेका छन् । यसरी हेर्दा, ११ सदस्यीय प्रज्ञा परिषद्मा कुलपतिसहित जम्मा दुई जना राई रहेका छन् भने ३५ सदस्यीय प्राज्ञसभामा जम्मा ४ जना राई प्राज्ञ रहेका छन् ।

गणतन्त्र स्थापनाको अढाई दशक बितिसक्दा बल्ल प्रज्ञा–प्रतिष्ठानले नयाँ बुनोटको अनुहार देख्न पाएको छ । प्रज्ञा प्रतिष्ठान नेपालकै स्थापनाको कुरा गर्दा बैरागी काइँलापछिका एकमात्र मङ्गोल अनुहारका कुलपति बनेका छन् कवि भूपाल राई ।

१३ राईहरूलाई मन्त्री किराँतीले प्राज्ञ नियुक्त गरेको विषयमा हामीले नवनियुक्त कुलपति भूपाल राईलाई उनको स्पष्ट धारणा सोधेका थियौं । पहिले उनकै धारणा हेरौं –

सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नेहरूका बारेमा मलाई भन्नु केही छैन । बरु म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु – जो सिद्धान्ततः पत्रकारिता गर्नुहुन्छ, उहाँहरूले वास्तविक कुरा लेखिदिए हुन्छ । किनभने, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भइसकेपछि फेसबुकमा वक्तव्यबाजी गरिरहनु मिल्दैन मैले । एकेडेमीहरू कसरी गठन हुन्छ, गठन भएको एकेडेमीबाट कतिजना प्रज्ञासभामा पुग्छन्, प्रज्ञासभाबाट परिषद् सदस्य कसरी गठन हुन्छन्, त्यहाँ कतिजना हुन्छन् ? लगायत प्राथमिक कुराहरू नबुझीकनै जसरी सञ्जालमा विवाद भइरहेको छ, यसलाई चाहिँ तपाईंहरूले बुझाइदिनु प-यो । एकेडेमी गठनको प्रक्रिया मात्र बुझियो भने प्रस्ट भइहाल्छ – कति राई छन्, कति को छन् ।

तपाईंलाई म एउटा उदाहरण दिन्छु । अहिले यो मैले नेतृत्व गरिरहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा ३५ जना प्राज्ञसभाका सदस्यहरू हुनुहुन्छ । त्यसमा बीस जनाचाहिँ मलाई जसले आक्षेप लगाइरहेका छन्, त्यही समुदायको हुनुहुन्छ । अर्थात्, हामी खस बाहुन–क्षेत्र भन्छौं, त्यो समुदायबाट २० जना हुनुहुन्छ । राई ४ जना मात्र छन् ।

३५ जनाको प्राज्ञसभाबाटै छानिएर बनेको ११ जनाको प्रज्ञा परिषद्मा दुई जनामात्रै राई छौं, बाँकी ९ जना अरु नै समुदायको हुनुहुन्छ । भनेपछि यो कसरी राईकरण भयो ? यो त मान्छेहरुले नबुझेर भइरहेको छ ।

उहिलेदेखि अहिलेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानलाई हेर्ने जुन किसिमको दृष्टिकोण छ, त्यो यथावत् रहेको पाइयो । एकेडेमीको नेतृत्वलाई लिएर बिहान सुत्दादेखि बेलुका उठ्दासम्म भित्तामा टाँसिएको कुनै तस्बिर जस्तो चित्र आम जनमानसमा टाँसिएको थियो । त्यो तस्बिर परिवर्तन हुँदा स्वीकार्यता सहज नभएको हो । भाषा, साहित्य र संस्कृतिको नेतृत्व गर्ने प्रज्ञा प्रतिष्ठानमा अहिले म भूपाल राई छु नि, यो नाम सजिलै पचाउन सकिने नाम होइन क्या !

एकेडेमीमा रमिता छ | साहित्यपोस्ट (sahityapost.com)

एकेडेमीमा बेथिति र नीतिगत भ्रष्टाचार पहाड छन् । त्यही पहाडमा रही एकेडेमीलाई नेतृत्व गर्न बहुभाषी तथा पहिचानको मुद्दा बोल्ने र लेख्ने कवि भूपाल राई आइपुगेका छन् । यस अवस्थामा जम्मा चार वर्षे कार्यकालमा राईसँग धेरै अपेक्षा राख्नु वान्छनीय हुँदैन । उनी अहिले जुन पहाडमा छन्, त्यसैलाई सम्याउन सके भने उनलाई सफल कुलपतिको सूचीमा थप्दा हुन्छ ।

भाषा एकेडेमीको अघिल्लो कार्यसमितिले निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकाल सकिँदै गर्दा आजीवन सदस्यमा सिफारिस गरेको थियो, जुन अत्यन्तै आलोचित भयो । त्यसपछि एकेडेमीका अन्य २० आजीवन सदस्यलाई लिएर अनेक प्रश्नहरू खडा भए । वार्षिक डेढ करोड रुपियाँ आजीवन सदस्यलाई जाँदै गर्दा एकेडेमीलाई आर्थिक भार मात्र परेको छैन, एकेडेमी आफ्नो मुख्य काम र कर्तव्यबाटै विमुख भएको देखिन्छ । यस विषयलाई लिएर घनेन्द्र ओझाले मुद्दा नै दर्ता गराए । जुन मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

एकेडेमीमा राज्यले विनियोजन गर्ने बजेटको ९० प्रतिशतभन्दा बढी रकम कर्मचारीको तलबभत्ता र प्राज्ञहरुको सेवा–सुविधामै खर्च हुने गरेको साहित्यपोस्टकै रिपोर्टहरूले देखाएका छन् । वरिष्ठ पत्रकार राजकुमार बानियाँले गरेको अनुसन्धानहरूमार्फत् साहित्यपोस्टले यी सबै बेथितिहरूलाई प्रमाणका आधारमा बाहिर ल्याएको पाठक वर्गमा अवगतै छ । प्राज्ञहरूका योजनाहरू ठूल्ठूला र महत्त्वाकांक्षी हुने गरेका छन् । ती योजनालाई पूरा गर्न बाँकी रहेको १० प्रतिशतभन्दा कम बजेटबाट सम्भव छैन । यसर्थ, सर्वप्रथम नेपाल प्रज्ञा प्रतिष्ठानलाई तमाम बेथितिलाई सुधार गर्ने तथा नीतिगत छिद्रहरू टाल्ने चुनौती कुलपति भूपाल राई समक्ष छन् । यसका सम्बन्धमा के भन्छन् भूपाल राई ?

यसका सम्बन्धमा गम्भीर भएर म अध्ययन–अनुसन्धान नै गर्दैछु । दोहोरो सेवासुविधाको जुन कुरा उठाउनुभएको छ, तत्कालै मैले यसै गर्छु भनिहाल्न सक्दिनँ । तर यसलाई हेर्ने तपाईंहरूको जुन सोच छ, तपाईंको कुराको जुन आशय छ त्योसँग म सहमत छु । र, यसमा म गम्भीर ढङ्गले नै लाग्छु । तपाईंहरूको आशयअनुसार, नियम–कानुनअनुसार गर्नुपर्ने ठाउँमा गर्छु नै ।

म पनि यो एकेडेमीमा नितान्त जागिर खान आएको होइन । जागिरै हुन्थ्यो भने योभन्दा राम्रो अरु नै ठाउँमा पाउँछु मैले । तर यहीँ चाहिँ किन आएको भने म भाषा–साहित्यको सेवक परेँ । अहिलेसम्म एकेडेमीले एकल भाषा, साहित्यको सेवा गरिरहेको छ । मेरो एक प्रमुख लक्ष्य भने एकेडेमीलाई सबै भाषाभाषीको साझा थलो बनाउने हो ।

===

जगमान गुरुङले अन्तिम बैठकमा के-के गरेर गए ? | साहित्यपोस्ट (sahityapost.com)

अतः अघिल्ला एकेडेमीको गठनको स्वरुप हेर्दा तुलनात्मक रुपमा राईहरुको संख्या बढी भएको साँचो हो । तर मुख्य मुद्दा राई, लिम्बु वा क्षेत्री–बाहुनको होइन । भाषा, साहित्य र संस्कृतिको हो । यसको श्रीवृद्धि र विकासको हो । प्रज्ञा प्रतिष्ठानहरुमा रहेको तमाम बेथिति र दोहनको हो । तर हाम्रो ध्यान त्यतातिर गएको देखिँदैन । बस् ! हामी जातमा अल्झिएका छौं । हालसम्म एकल जातीय विचारधाराबाट निर्देशित नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा दुई–चार राई (जनजाति) हरू पुग्दा आत्तिएका त होइनौं ? यदि हो भने, यो एकदमै घातक कुरो हो ।

राज्यको दोहोरो सुविधा खाने ‘बेइमान’ प्राज्ञहरूलाई चिनौं | साहित्यपोस्ट (sahityapost.com)

 

अन्त्यमा, सामाजिक सञ्चालमा लेखिएका सुझाव र अपेक्षासहितका केही प्रतिक्रियाहरू पनि पढौं न त, हुन्न ?