मेरा सयौँ पुर्खा र पुस्तापछि

आज म बदनाम छु

मैले सोचेको थिएन

कठघरामा उभिनु पर्छ भनेर

 

श्रीमान् मलाई फँसाइएको हो

मित्थ्या आरोप

नखाएको विष लगाइएको हो

 

आमाको सुर्के थैलीको आविस्कारदेखि

इतिहासका भिन्नभिन्न पुराना पत्रहरुमा

मानदेवको मानाङ्कदेखि

छाला, कागज र सिक्कासम्मको समय

कागज जस्तो थियो कागज

पैसा जस्तो पैसा

हलुङ्गो बाकस थिएँ म

र गह्रुँगो थियो विश्वास

 

समयसँगै स्वभाव बदलिएको घामले

मेरै रङ कहिलेसम्म उडाइरहोस् ?

श्रीमान् कठघरामा त ती हुनु पर्ने

जसले सुरक्षित भनेर बैङ्क बनाए

वचतजस्तै हो भने ब्याज

अहिले त्यसैको पासो देखाएर

सोध्दै छन् अन्तिम इच्छा

 

गरिबलाई उध्रिएको आकाश

भोकोलाई मार्सी र बासमतीको बासना

प्यासीलाई गाग्रीभरि पेट्रोल

बिरामीलाई निराशाको स्लाइन चढाउनेहरू पो

हुनुपर्ने प्रतिवादी ।

 

तिम्रो पसिनाले

सिमसार बनेको मरुभूमिमा भेटिन्छ

घरको सानो काठको बाकसमा नअटेर

उब्रेका सपना

भन्नेहरूको विश्वासले

आशैआशले

आर्यघाटमा एउटा चिता

एक अँगालो दाउरा र

एक घण्टाको समय अर्डर गरेर

अभाव छल्न आएका

अभागीसँगै फर्किनु

मेरो दोष हो र श्रीमान् ?

 

दोषी त ती हुनुपर्ने

जसले हावाभन्दा

गह्रुँगो कागज बनाए

रहरभन्दा महँगो

रेमिट्यान्स बनाए

विस्थापित गरेर बाकस

कफीन बनाए

म आर्यघाटको चिता होइन

बाकस बनेर फर्किन चाहन्छु ।

 

 

 

 

कोहलपुर