रुखले
मुठ्ठी कस्दाकस्दै
झारी पठाउछ पात

पात नभएको रुख
आत्मा नभएको प्राणी
रहँदैनन् पृथ्वीमा भन्छ

म सोच्छु
घरआँगन सफा नरहे
छिमेकीले पाइला राख्दैनन्
आँगनमा

त्यसैले
एउटा म मात्रै हुँ
एउटा झाडु हल्लाउँदै
आँगन छेउछाउ झरेका पात
प्रत्येक बिहान देखेर
त्यो अबोला बूढो रुखलाई
केही न केही भनिरहेकै हुन्छु

जस्तो कि
बिहान जुरुक्क उठेर
निस्कनु नसक्दा घरबाहिर
जताततै खकार फ्याँकिरहने
वृद्ध हजुरबा
र यो बूढो रुखको गुण एउटै लाग्छ
एउटै लाग्छ
हजुरबाको अनावश्यक गनगन

बतास ठोक्किन्दा त्यो हाँगाबाट
बजिरहने हुइँहुइँ

जति जति बूढो हुँदै जान्छ
त्यति नै पात खसालिरहन्छ
फ्याँकिरहन्छ खकार
म वैश्क छु
र म बढारिरहन्छु आँगन
म पुछिरहन्छु खकार
नत्र !.छिमेकीलाई घिन लागे
टेक्दैनन् पाइला
घर आँगनमा
त्यही चिन्ता लाग्छ

त्यसरी नै
एक दिन त्यो बूढो रुखले
यसरी नै बाटो छेक्दाछेक्दै
ढली पठाउँछ
सन्तोष दिन्छ
पृथ्वीको आङलाई
ढुक्क मान्छौँ हामी
किनकि !..हाम्रो जीवनचक्र पनि
त्यसरी नै घुम्छ ।