त्यो घर

यो घरको खुलापन पनि
मलाई अचेल
अँध्यारो लागिरहेछ
छानो चुहिएर पनि म
लुच्छ्रुप्प भिजेको जस्तो लाग्दैन
आमा भन्दै थिइन्
बुवा उता सुनाउँदै हुनुहुन्थ्यो
उता पल्लाघरेको ऋण बढेर
बाढीजस्तै
घर खेत बगाउने भयो
अर्थात् अब
एक सालमा नतिरिए
यो झुपडी उभिएको घुरेनबारी
त्यही साउको ऋणले पखाल्ने छ

समय पढिएन
अक्षरसित साक्षात्कार गरिएन
बुझे पनि बोलेको कसैले सुनिदिँदैन

सायद यसको फाइदा
कयौं मजस्तै गरिबहरूले भोगिरहेछन्
र पल्लाघरे साउ
मधेश हिमाल
शहरभरि घर र जग्गाहरू जोडिरहेछन्

दुई वा तीन
श्रीमतीको चाकरी पाएर
ऊ मख्ख छ
धनाढ्य महाजन भइरहेछ
म मेरैजस्तो अनुहार देख्थेँ
ऋण दिने लिने बेलासम्म

भाका नाघेको पहिलो बिहानसँगै
म उसकै चाकरीमा भासिइरहेछु
र चराइरहेछु उस्कै गोठ भरिने
बस्तुको चरण

अब के हुन्छ भन ए छोरा
मैले त तमासुकमा दुई हजार मात्र
कबोल गरेको हुँ
तिमी जन्मिँदाको खर्च
अहिले त २० लाख कटेछ

भन अब च्यात्ने कि
फ्याल्ने साउको जरोकिलो उखलेर ?

 

 

सपना

ए होई
मान्छेले नि
सपना सुतेर देख्छन्
तर म सपनामा निदाइरहेको हुन्छु
यसरी नै ज्यानलाई निदाउन दिन्नँ

झुटो रटान हैन
विश्वास लाग्दैन भने
एकपटक मेरो स्वास्नी भएर छाम
मेरो मुटु कलेजो फोक्सोले
कसरी क्रान्ति प्रेम फैलाउँदैछन्

अङ्गहरू बचाउन
मात्र एकजोडा नयन
सपनाको निम्ति निदहरू पालेर
आराम गर्छन्
जब खुल्ला हुन्छन्
ऊ सपनाहरूलाई निदाउन लगाउँछ
र सपनाहरूमा निदाएको फाइदा
नयनमार्फत उतारेर
नाङ्गो ब्यारेकभित्र परेड खेल्छ
अनि वैवाहिक जीवन
सन्तानहरूको चाहना
या समग्र परिवारको आकाङ्क्षाहरू
सङ्गालेर व्यावहारिक बाटो खोल्छ

त्यो सपनाभित्रको निद थिएन भने
ऊ टाट पल्टने थियो
निद्राहरूको कामुक प्रदर्शनीबाट
र विपनाहरूको तख्ताबाट पल्टिएर
चीर सपनामा डुब्थ्यो
एक्लो मानिस
र फेरि सपनामा ब्युँझदै
बेलाबेलामा
समाज, देश, र जगत बाँकी रहन्थ्यो
क्रान्तिको चोइटो
मेरा अङ्गहरूले भनिरहेछन् ।

अनि त म
निदाउन पाउँदिन
निदाए पनि सपनामा
प्रेम या क्रान्तिको लाभासित
गाइरहेको हुनेछु
सायद सपनामा निदाउनु भनेको
यस्तै हस्तलिपि
जन्मिन खातिर होलान्
र खोज्नु थियो लाग्छ नभेटिएको धुन ?

धुन पनि
निदाइरहने हो भने
सपना कसरी मिठास बन्छ ?

 

 

विलियन क्याक्टस

“एउटा अचेत परिस्थिति जन्माएर
पागल मुढो लडिरहेछ
शिरिषको फूल पढेर”

अनिदो पहाड ब्युँझेर
पारिजातको विपना कोरलिरहेछ
अविछिन्न फुलेर !

अनि गाइरहेछ गीत
शरदमा फूल्ने फूलहरूको जीत
लेखेर !

अनि तर्सिन्छ वासिङ्टन
इरानको मिलियनबाट !

जब म बाटोहरू पछ्याउँछु
ऊ शरदमा गुम्सिएको च्याउका
बेर्ना भएर जिस्क्याउँछन्
जब म न्यानो न्याय पाल्न खोज्छु
तब विलियन क्याक्टसका
तिखा काँडाहरूले दागा धर्छन्

अनि नवीनता जब निदाएको देख्छु
हजारौं ट्रम्प महोदय ब्युँझेर
रातलाई दिन भनिरहेको भेट्छु
किनकि मेरो देशले उदाएको पूर्वी किरण
पश्चिम तथा त्यसपछि अस्ताइदिन्छ

 

बेटुङ्गो

मैले भनेँ उस्लाई
र उस्लाई भनिदिएँ
मैले असमर्थताको
कुनो कोट्याउनु छैन
र सम्याउनु छैन
समानताको शिखर
चुम्ने पाइलाहरू भत्काएर

अनि पसिनाको आलीलाई
कुनै लातहरूले
कुल्चनु छैन

सायद यस्मै रहरको मनसायहरू
हाँस्न सक्दा हुन्
र फुल्दा हुन्
त्यो साझा आकाङ्क्षाको
खडेरीहरू मेटिदिएर

फरक यत्ति हो
न ऊ त्यो प्रतिकूलताको घानबाट
अछुतो भइदिन्छ
उपियाँहरू उफ्रन्छन्
र जुम्राहरू पिसिएझैँ
मुर्छाहरूमा मुर्दा बन्न बाध्य हुन्छन्

र हरेक जितको इतिहास
हारमा फेरिएको भएर
खेर गइरहेछ
उसको महान् जीत
र स्खलित बनिरहेछ
वसन्तको आगमन ।

पसिनाको आवाज

पसिना पनि बोल्छ र ?
पसिनाले झन् लेख्छ
पसिनाले अझ देख्छ
पसिनाले हार्छ
जित्छ पनि
र मानिस पसिनाले नै उभिन्छ

जो उभिएका छन्
मानिस हुन पनि खप्पिस भएका छन्
मानिस, मानिस मात्रै भएर पुग्दैन
ऊ ममतामय
उमङ्गमय
सुखमय
करुणामय
आदिइत्यादिको प्रतापमा बाँच्न सिक्नुपर्छ

पसिनाले जित्न थाल्यो भने
पसिनाले लेख्न थाल्यो
पसिनाले उभिन खोज्यो भने
पसिनाले बोल्न शुरुआत गर्यो भने
पसिनाले हेर्न खोज्यो भने

उही मानक खिल्ली उडाउँछ
जस्तै बेकारको जीत भन्छ
पानीको फोका थानी दिन्छ
खुट्टा तानेर लडाइदिन्छ
हेर्ने कसुरलाई अन्धा भनी प्रचार गरिदिन्छ
के यो सही जवाफ हो ?

यसर्थ पृथ्वी आफ्नो कक्ष छोड्दैमा
गति रोकिएको हुन्न
वाफहरूले हावामा मिसिदैमा
पानी, वर्षात बन्न छोड्दैन
अन्धकार मेट्न प्रकाश अनिवार्य हुन्छ
केले छेक्छ उस्को परिवर्तित आयाम

खुद मानिस मानिस नभएको बखत
खुद मानिसको खुला मस्तिष्क
नमस्किएको बखत
थाङ्ने कुराहरूबाट
अघि बढ्दैन

यस्तै थाङ्ने कुराहरूले
क्रान्ति परिवर्तन रोकिँदैन
हो, पसिनाले यही अठोट जन्माइरहन्छ ।