जापानी लेखन र साहित्यमा कहीँ न कतै मृत्यु , आत्महत्या, जवानीको जोश र आक्रोश अनि यौनिक-प्रेमिल आकर्षणका कुरा आएको अनुभूति हुन्छ । हारुकी मुराकामी, अकुतागवा, ओसमु दाजाइ, सायका मुराता, मिको कवाकामी, नात्सुमे सोसेकी, बनाना योशिमितो, हिरोमी कवाकामी आदिका कृति तिनै विषयमाथि घुम्ने हुनाले ती मजेदार लाग्छन् ।

यीबाहेक अन्य लेखकका किताब हाम्रातिर कमै उपलब्ध हुने गर्छ । तर जे जति पनि उपलब्धित पुस्तकहरू अध्ययन गरियो, तिनले माथिका कुरा टड्कारो रूपमा अनुभूत गराउने गर्छन् ।

विश्व साहित्यमा नामचीन पुस्तकहरू हाम्रातिर कमै उपलब्ध हुन्छन् । उपलब्ध रहेका जापानी साहित्य अध्ययन गर्दा महसुस हुने गर्दछ कि वास्तवमा विश्व साहित्यका जति किताब अध्ययन गरिन्छ त्यति नै थप फरक भूगोल, प्रकृति र प्रवृत्तिका बारेमा जानकार भइन्छ ।

स्कुल र विश्वविद्यालयभन्दा साहित्यका विश्वविद्यालय झनै विराट, अनुपम अनि रोचक हुने रहेछन् मजस्तो किताबको किरोलाई त !

युकिओ मिसिमालाई मैले फर्लिलिटी अफ सी (The fertility of Sea) उपन्यास शृङ्खलाबाट चिनेको हुँ । साहित्य साधनाबाहेक मिसिमाको दक्षता उनका कविता, नाटक र सामाजिक – राजनीतिक गतिविधिमा पनि देखिन्छ।

सन् १९२५ जनवरी १४ मा जापानको टोक्योमा रहेको नागाजुमी-चो (हालको योत्सुया, शिन्जुकु-कु) मा जन्मेका मिसिमाको वास्तविक नाम किमिताके हिराओका हो भने मिसिमा कलमकार रहँदाको नाम हो । जापानी साहित्यमा उनलाई जति आदरका साथ नाम लिइन्छ, त्यति नै विवादित राजनीतिक व्यक्तिका रूपमा हेरिन्छ । जापानका उच्च निजामती कर्मचारी (आजुसा हिराओका) का पुत्र भए तापनि यिनले दोस्रो विश्वयुद्धताका जापानी सेनामा भर्ती हुन खोजेको बेला शारीरिक परीक्षामा असफलता पाएको र पछि टोक्योकै कुनै कारखानामा काम गरेको बताइन्छ।

युद्ध समाप्तिपछि यिनले टोक्यो कै युनुभर्सिटी अफ टोक्योमा कानुन अध्ययन गरेको रेकर्ड छ। सानैदेखि उनमा साहित्य र कलममा रुचि थियो, साथमा उनको आर्मी अनुशासन पनि उत्तिकै थियो । इन्टरनेटमा उपलब्ध उनका तस्बिरहरू हेर्यो भने थाहा हुन्छ, उनमा कति लडाकू स्वाभाव छ ।

साहित्यमा उनको स्त्री चरित्र देखिन्छ — कन्फेसन अफ मास्क ( confession of mask) पढ्दा। उनलाई तेस्रो लिङ्गीका साहित्यकार मानिन्छ; तर मृत्यु अगाडिको जापानी समाजमा आफ्नो लैङ्गिक पहिचान त्यति प्रस्तुत गरेका थिएनन्।

मिसिमाले आफ्नो साहित्यमा अङ्ग्रेजी र शुद्ध जापानी संस्कार, संस्कृति र मनोवैज्ञानिक परिवेश मिलाएर लेखेका हुन्छन्। उनका साहित्यमा पात्रका मनमा उब्जने र चल्ने विरोधाभास र विविध मनोवैज्ञानिक- सामाजिक क्रान्ति र संघर्ष पाइन्छ। उनले आफ्नै आत्म-रक्षक मिलिसिया (self defense militia) खडा गरेर क्रान्तिको बिगुल फुक्ने प्रयास पनि गरेको पाइन्छ। उक्त मिलिसियाबाट आफ्नो लक्ष्य साकार नहुने देखेपछि उनले आफ्नै शिल्ड सोसाइटी मिलिसिया स्थापना गरेको बताइन्छ । Sea of fertility को अन्तिम कपी बुझाएपछि यिनले आफ्नो मिलिसियामार्फत् सैन्यु कुको प्रयास गरेका थिए । तर उक्त कु सफल नभएकोले उनले सेपुक्कु (आत्महत्या) रोजेका थिए ४५ वर्षे आयुमा।

नेपाली पाठकहरूले बेलाबेलामा युकिओ मिसिमाको यसै किताबका बारेमा पहिले पनि चर्चा गर्ने गर्छन् । मलाई भने किताबको शीर्षकले भन्दा यसको आवरणले पढ्न उत्सुकता जगाएको थियो। किताब पढिसक्दासम्म कति बेला सकिने थाहै नहुने बनायो ।

यस उपन्यासको कथानक सरल छ- २३ वर्षे ठिटो (रिकिओ मिजुनो) फिल्ममा (फिल्म नोयर, ग्याङस्टर थिम बोकेका) काम गर्दैछ । रिकिओका धेरै फ्यान छन् । तर ऊ तरूनीहरूभन्दा पनि आफूभन्दा बढी उमेरकी सहायक महिला (कायो फुतोडा) सँग प्रेम सम्बन्धमा छ।

प्रशंसकहरूले आफ्नो मन परेको फिल्मी नायकका बारेमा राख्ने उत्सुकता र गोपनीयता नै भङ्ग गर्न सक्ने र अद्यावधिक जानकारी दिनुपर्ने चलनको कस्तो छ, त्यसको तस्बिर यस उपन्यासमा छ ।

अझ फिल्ममा काम गर्न हत्ते गर्नेहरूले के कस्ता उधुम चर्तिकला देखाउन सक्छन् भन्ने पनि मज्जाले बिम्बित भएको छ। थोरै शब्द र पेजमा समाहित भए तापनि कथानकमा फिल्म क्षेत्रमा हुने गरेका गतिविधि र प्रक्रियाबारे राम्रो चित्र प्रस्तुत गरिएको छ ।

फिल्मकर्मीहरूका निजी र व्यक्तिगत जीवन कसरी एकापसमा कहिलेकाहीँ मिल्न सक्छन्; र कसरी फ्यानहरू (अनि समीक्षक) का आशा अपेक्षाले थप भार/व्यय हुन सक्छ भन्ने पनि उपन्यासले देखाएको छ।

आफ्नो उमेरमा गर्ने सबै काम लगभग सकेको र उत्साह ओराली लाग्दै गरेको उसको दिमागमा केवल मृत्यु चिन्तन छ पुरापुर। प्रसिद्धिका कारण हुने मनोवैज्ञानिक दबाब, आफ्नो शाख र इज्जत जोगाउन पर्ने र प्रशंसकहरूलाई खुशी पार्नै पर्ने प्रवृत्तिको जुन चित्रण छ, त्यसले लोकप्रियता कति क्रूर हुन्छ भन्ने पनि प्रस्ट्याएको छ । मान्छे जतिसुकै धनी होस्, प्रशंसक जम्मा गरोस्, सामाजिक जीवनमा कुनै उच्च रोबपूर्ण स्थान राखोस् तर उसको मनै खुशी छैन भने त्यसको कुनै तुक हुन्न भन्ने उपन्यासले बुझाएको छ ।

कथानकमा फिल्म सुटिङका दृश्यहरू आउँदा आफूलाई त्यसै दृश्यमा पाएँ । हिरोले निभाउने नायकत्व र एक्सन देखाउँदा मज्जा आइरहयो । एउटा फिल्म बन्न के कस्तो कार्य, भूमिका र जिम्मेवारीहरू बोध हुन्छ, सुटिङको टेस्ट गर्ने र फाइनल सुट गर्ने अनि कति कडा परिश्रम चाहिन्छ भनेर यस उपन्यासमा देखाइएको छ ।

यत्तिका दुःख, अप्ठेराका बाबजुद पनि सर्वसाधारणाले कसरी अरुका दु:ख, दर्द र अप्ठ्यारो स्थितिलाई गिज्याउने, हावामा उडाउने गर्छन् अनि कसरी आफैँलाई मनोरञ्जन दिलाउँछन् भन्ने पनि यस उपन्यासमा देखाइएको छ ।

हामी आफ्नो दु:खमा आत्तिने, तनाव लिने र गम्भीरता दिने गर्छौं तर अर्काको दु:खलाई असल दु:खभन्दा केवल नाटक मान्छौँ भन्ने ऐना उपन्यासकारले देखाएका छन् ।

रुपरङ, उमेर, भाषा, बाहिरी आवरण ( सुन्दरता- कुरुपता) हेरेर प्रेम हुँदैन, यो त कहाँ – कति बेला – कसरी अनि कुन रुप र वृत्तमा आफूलाई प्रकट गर्छ — अत्तोपत्तो हुँदैन । कथानकमा डुब्दै जाँदा अर्को कुरो मैले बुझेको कसरी हामी फरक फरक व्यक्तिसँग फरक फरक आवरण र मुकुट पहिरिएर आफूलाई प्रस्तुत गर्छौं, देखाउँछौँ – व्यवहार गर्छौँ भन्ने हो। मान्छेको मन अनेक भावना, सोच र विचारहरूको ओहोरदोहोर हुने चौतारी हो; र हाम्रो जीवनमा एक जना त हुन्छ नै जोसँग हामी बेफिक्री भएर मनका कुरा व्यक्त अभिव्यक्त गर्न सक्छौँ (चाहे त्यो व्यक्तिसँग रगतको साइनो होस् कि नहोस् !)।

फिल्म क्षेत्रमा काम गर्नेहरूको व्यक्तिगत र रुचिगत आवरण त अनावरण गर्छ नै कथानकले; साथमा यस क्षेत्रका उजेला र अँध्यारा पक्ष पनि बताउँछ। बाहिरफेर प्रकट हुँदा हरपल हाँसिरहनेका मनमा कति अन्धकार हुन्छ र कति काला सोचविचार आउँदा रहेछन् भन्ने पनि यसले बुझाउँछ ।

एउटा काम राम्रो गरेर सफल हुँदै धेरैको मन जितेपछि, फ्यान बढाएपछि त्यो कायम गर्न के कस्ता चुनौती भोग्नुपर्छ भन्ने पनि यस उपन्यासले देखाउने प्रयास गरेको छ । मैले त (उदाहरणका लागि दयाहाङ राईका फिल्म कबड्डी सिरिज हिट भएपछिका, बुद्धिसागरको एक्लो कर्णाली … जबरदस्त चलेपछि…. आदि कुराहरू झल्झली यो उपन्यास पढ्दै गर्दा महसुस गरेँ ।)। कथाका पात्रहरू प्रेममा परेपछि एक अर्कासित हुने रमाइलो, खिचातानी र घर व्यवहार अनि अन्य गफगाफको सिलसिला पनि यो उपन्यासका रमाइला पक्ष हुन् ।

गज्जप लाग्यो किताब यो ! सानो — छोटो तर सुन्दर अनि सत्यताको नजिक । बस्, गुनासो चैँ यत्ति थियो कि अझ पेज थपेर फिल्मको प्रदर्शन भएपछिको दृश्य राख्देको भए हुने थियो ।

किताबको क्लाइमेक्सले भने एउटा पाठकका रूपमा मलाई भने खुशी नै बनायो । कथामा डुब्दै गएपछि कलाकार र पारखी प्रशंसकहरुबीचको तालमेलबारे पनि मिठो चित्रण दिमागमा बसाउँछ यसले ।