नौलीको स्वर सुनेर लक्ष्मीले आँखा उघारिन् । सुभद्रालाई आफ्ना सिरानमा बसेको देखेर सुस्तरी लर्बराएको स्वरले भनिन्, “दिदी, तपाईंको दर्शनलाई एक मुठी सास मुस्किलले झुन्डिरहेको छ ।”
घरमा चच्चला श्री भईकन पनि देवीरमणका सन्तान थिएनन् । सन्तान होस् भन्नका निमित्त हरेक उपाय गरे, चौतारो चिने, बाटो खने, पशुपतिमा महादीप बाले, गए साल हरिवंश पुराण बरियात देव लगाए, तैपनि सुभद्राको कोख सफल हुन सकेन । जोरीपारीसँग ठोकाबाजी पर्दा धन, बल, बुद्धि देवीरमणले सबै कुरामा देवीरमणको जित हुन्थ्यो तर “अपूतो” भनेको सुन्नेबित्तिकै उनको अभिमान धूलो दङगो पनि हुन्थ्यो, आत्मग्लानिले पानी हुन्थे । पुराना विचारका मानिस थिए, सन्तानबिना आफ्नो वैभवलाई तुच्छ सम्झन्थे । बिचरी सुभद्रा पनि खिन्न थिइन् । छिमेकका आइमाईले छोरा-छोरी खेलाएको देखेर उनलाई रहन लाग्थ्यो, सन्तानका आशाले सरल नारीस्वभाववश धामी-झाँक्रीको बुटी-जन्तर बाँधिन्, देवीदेवताको भाकल गरिन्, तीर्थ, व्रत, पूजापाठ पनि गरिन् तर दैवले नसुनिदिएपछि कसको के लाग्दो रहेछ र ? ज्योतिषहरू देवीरमणलाई अर्को विवाह गर्न सल्लाह दिन्थे। परन्तु सुभद्राको आदेशबिना उनी अर्को विवाह गर्न सक्तैनथे। सुभद्रा बहुत पति-परायणा रमणी थिइन्। आजसम्म कहिल्यै उनले देवीरमणको चित्त दुखाइनन्, मनको कुरा जानेर सेवा गर्थिन् । सुभद्रा दुलही भएर आउँदाको बखतको भयङ्कर दुःख अहिलेसम्म पनि देवीरमणको आँखाका सामु नाचिरहेको थियो । ऊ अवस्था सम्झँदा गहभरि आँसु हुन्थ्यो । सुख-दुःखकी साथी भएर कङ्गाल देवीरमणलाई सुभद्राले धनवान बनाइन् । अहिले सन्तानका निम्ति सौता हालिदिएर कसरी कृतघ्न बनून ?
फागुन महिनाको बिहानपखको सिरेटो मुटु छेड्ला भनेजस्तो गर्थ्यो । देवीरमण मण्डलमा बसेका थिए। नयाँ दुलही पनि एकै आसनमा थिइन् । ब्राम्हणहरू ऋचा पढ्दै अग्निमा आहुति दिइरहेका थिए। प्रारब्धले यो उमेरमा उनलाई फेरि दुलाहा बनायो । एक दिन यस्तै रीतसँग उनले समुद्राको पाणिग्रहण गरेथे सुभद्राको आदेश पाई हो वा नपाई हो, आज उनले अधिकै कृत्यलाई फेरि दोहोऱ्याए । यसबाट उनको भलो कुभलो के हुने हो, यस कुराको उनैलाई पनि केही ज्ञान थिएन । बाह वर्षकी अबोध बालिकालाई ल्याएर उनी शून्य आकाशमा कल्पनातीत मनोमन्दिर निर्माण गर्न खोज्दथे । शायद ब्रम्हवादीहरू त्यसैलाई आशा-पाश या मृगतृष्णा भन्छन् क्यारे ?
अस्तु, करले होस् वा आन्तरिक प्रेरणाले होस, उनले विवाहविधि समाप्त गरे । दुलही अन्माउने बेलामा कन्यापक्षका मानिसले रुदै दुलहीलाई डोलीमा हालिदिए । दुलही पनि डोलीभित्र रुन लागिन् । त्यसबखत देवीरमणलाई साह्रै नरमाइलो लाग्यो । बाटामा वरियातहरू परस्पर ग्रामीण ठट्टा गरोर खित्का छोडी हाँस्थे, परन्तु देवीरमणका कपालमा अर्को विचारको द्वन्द्र हुन लागेको थियो । मनमनले भने, “के सुभद्राले साँचो मनले सल्लाह दिएकी हो ? सम्मति विंदा किन अर्कोपट्टि फर्केर ‘हुन्छ’ मनेकी त ? मेरो ज्यादा आग्रह देखेर ‘हुन्छ’ भनेकी त होइन ? अहो । मानिसहरू आफ्नो तीव्र इच्छामा अरूको सम्मतिलाई कसरी जबरजस्ती तान्छन् । छिः । सुभद्राको आजीवन सेवाको पुरस्कार यही हो ? म के गरुँ, मलाई के दोष ? सन्तानबिना स्वर्गको बाटो छेकिन्छ भन्ने हिन्दू धर्म जानोस् । भोगको लालसाले होइन, धर्मका आज्ञाले विवाह गरेको हुँ ।” यस्तै तर्क गरेर चित्त बुझाउने कोसिस गर्दथे ।
बरियात देवीरमणका घरनेर पुग्यो । गाउँले छिमेकीहरू चौतारामा रमिता हेरिहेका रहेछन् । देवीरमणले एक-एक गरी नियालेर हेरे, त्यो हूलमा सुभद्रालाई देखेनन् । बल्ल उनको छातीबाट ढुङ्गो पन्छियो । आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो जो पहिलो दिनको पाठ बिर्सेर अवेला गुरुकहाँ पुग्दछ अथवा त्यस अपराधीको जस्तो थियो जो परिचित मानिसलाई देखेर लुक्न खोज्दछ ।
छिमेकीसँग कुरा गर्नाको बहानाले उनी केही पछि भए, जाँदा दुलही भित्र्याइसकी सुभद्रा दमाई डोलेहरूलाई ज्याला बाँड्न लागेकी रहिछन् । देवीरमणको हृदय गदगद भयो, मनमनले भने, “सुभद्रा स्वर्गकी देवी हो, व्यर्थे किन शङ्का गरे ? छिः । मानिसहरू आफ्नो कामले कसरी आफै तर्सन्छन् ।”
पाहुना पासासँग कुराकानी गरेर देवीरमण अवेला कोठामा सुत्न गए। पानसमा कडुवा तेलको बत्ती बलिरहेको थियो । नयाँ दुलही खाटमुनि ओछ्यानमा सुतेकी थिइन् । देवीरमण खाटमा पल्टे, उस ठाउँमा सुभद्राको ओछ्यान देखेनन् । अघि सुभद्राको ओछ्यान देवीरमणका खाटमुनि हुन्थ्यो । आज उस ठाउँमा नदेख्दा बीसौं वर्षदेखि सुतिरहेको कोठा पनि देवीरमणलाई नौलोजस्तो लाग्यो । एक छिनपछि गृह-कृत्य समाप्त गरेर सुभद्रा कोठामा पसिन्, देवीरमणको गोडा मिच्न लागिन् । यो उनको दैनिक काम थियो । सुभद्रा यसमा त्रुटि हुन दिन्न थिइन् । देवीरमणले भने, “सानु, तिम्रो ओछ्यान खोई नि ?”
“पल्लो कोठामा छ ।”
“किन पल्लो कोठामा सारेको ?”
“भोलि एकादशी हो, सबेरै गण्डकी नुहाउन जान्छु।”
“म पनि उहीँ सुत्छु।”
“उस् । यहीँ सुत्नुभए पनि हुन्छ ।“
थाकेर आएका देवीरमणलाई चाँडै निद्रा पर्यो । आफ्नो दोलाई सौतालाई खापेर सुभद्रा पल्लो कोठामा गइन्। मधुरो बत्तीको धमिलो उज्यालोमा नौली घर्तिनी पात गाँसिरहेकी थिई । नौली देवीरमणकी पुरानो चाकर्ती हो। नौलीको उमेर भन्डैझन्डै सुभद्रासँग मिल्थ्यो । ६२ सालमा स्वर्गवासी महाराजा चन्द्रशमशेर जङ्गबहादुरका करुणाले दास जीवनबाट मुक्त भएकी थिई । घरकी पुरानी नोकर्नी हुनाले देवीरमणले नौलीको मोल लिएनन्, आफूखुशी भए पनि नौलीले घर छोडिन । नौली सुभद्राको बालककालदेखि सुखदुःखकी साथी थिई । विधाताले सुभद्राको निमित्त नौलीरूपी एउटा दुःख पोख्ने भाँडो दिएका थिए । दुवैमा घनिष्ठ प्रेम थियो । नौलीले भनी, “बजे आज त साह्रै नरमाइलो लाग्यो होला ?”
“किन नौली, किन त्यसो भनिस् ? नरमाइलो लाग्नुपर्ने कुरा के छ र ?”
“तैपनि सौता भनेको मुटुको वह हो, आजै ओच्छ्यान छोड्नुपर्यो। भोलि घरै छाड्नुपर्छ कि, के जानिसक्नु छ र ।”
“छोड्नुपरे छोडिदिउँला, कुन दौलयको चैन गरेकी छु र ? एक पेट खग्नो-मसिनु खाएर, दिन-रात बुहार्तन सहेकी छु । जुठो-चूल्हो गरिदिए जसले पनि एक गाँस खान दिन्छ । तर सोफ़ीजस्ती छ पस्नेवित्तिकै ढोगिदिई ।”
“सिकाएको हुँदो हो बजै । कुनै दिन नौलीले भनिथी भन्नुहोला । सोझो बाङ्गिन केही बेर लाग्दैन, अलि दिनपछि बाजेको टुपी समाउनेछिन् ।”
“जोसुकै होस्, ईश्वरले बीसासय आयु गरिदिऊन्, फलेफुलेको देख्न पाइयोस्, सन्तान भए करले पनि एक अँजुली पानी देला, यिनका हात-काखमा सास जाओस्, सबभन्दा ठूलो सन्तोष यही हो ।”
तीन-चार वर्षपछिको कुरा हो। एक दिनमा घाममा बसेर सुभद्रा छोरालाई भात खुवाइरहेकी थिइन् । सुशीलचाहिँ आँगनमा चरिरहेका परेवालाई पकने कोसिसमा थियो, सुभद्रा हातमा भातको गाँस लिएर “को खाई, को खाई” भन्थिन्। सुशील मुख बाउँदै दौडेर आउँथ्यो । सुभद्रा गाँस मुखमा हालिदिन्थिन्, बालक फेरि दौडेर परेवातिर जान्थ्यो। ती मूक पक्षीहरू पनि बालकसँग आनन्दपूर्वक खेलिरहेका थिए । सुशील गई समाउन खोज्थ्यो । परेवा अलि पर गई बस्थे, सुशील फेरि उहीं पुग्थ्यो, परेवा फेरि उडेर अलि पर भई चर्न लाग्थे । सुभद्राको “को खाई” को आवाज सुनेर सुशील बिचबिचमा एक-दुई गाँस भात पनि खाएर जान्थ्यो ।
देवीरमण फलैचामा बसेर यो अनुपम आनन्दप्रद बालक्रीडा हेरिरहेका थिए । उनलाई स्वर्गका डिलबाट पितृहरू पनि यस कुलावलम्बको बाललीला हेरिरहेका होलान् भन्ने भान हुन्थ्यो । उनी यो शिशु-सन्तानका आडमा एक महान् बलिष्ठ शक्ति लुकिरहेको देख्दथे । सन्तानेच्छुक देवीरमणले आज यो दिन देख्न पाए । परिवर्तनशील संसारको गति विचित्र छ । परमेश्वर हाँस्नेलाई रुवाउँछन्, रुनेलाई हँसाउँछन् ।
एक दिन सुशील तुलसीको मठनेर खेलिरहेको थियो । पिँडीबाट एकातिर लक्ष्मी र एकातिर सुभद्राले हात थापेर “नानी कता कता, कता” भने । सुशील एक क्षणपछि दगुर्दै गई सुभद्राको छातीमा टाँसियो, सुभद्राको हृदय पवित्र पुत्रवात्सल्यले परिपूर्ण भयो, “मेरो राजा” भनेर म्वाई खाइन् ।
सुशीललाई लक्ष्मीले जन्म मात्र दिइन्, केवल सुभद्राले हुर्काइन् । सुभद्रालाई एकछिन छोड्दैनथ्यो । सुभद्रालाई “आमा” भन्थ्यो, आफ्नी आमालाई ‘दुलही’ भन्थ्यो, किनकि लक्ष्मीलाई घरमा सबैजना “दुलही बज्यै” भन्थे ।
माघ महिना थियो । किसानहरू बालीनाली थन्क्याई तीर्थ जाने फिक्रीमा थिए । देवीरमणलाई पनि तीर्थ गर्ने इच्छा थियो, मनमनले भने, “पग चल्दै तीर्थ-वर्त नगरे कहिले गरुँला ? मानिस सम्पत्ति पाएर अन्धा बन्छन्, विवेक बुढिलाई खोपामा राखेर दिन-रात पैसाका निमित्त हाहाकार मच्चाइरहन्छन् । ती गोठाहरूको सम्पत्ति एक दिन अग्नि या चोरका निमित्त हुन्छ । अघि गरेको हुँदो हुँ, अहिले एक मानाको सन्तोष छ । अहिले फेरि गर्न सके सन्तानका जरामा मल पर्ला, परन्तु गाउँका कैयन् बूढाबूढी, विधवा स्वास्नीमानिसहरू पनि तयार भए। देख्दादेख्दै देवीरमणको विशाल आँगन तीर्थयात्रीका कम्ले फौजले भरियो । गाउँका धेरै आइमाई जान लागेको देखी लक्ष्मी पनि जान्छु भनेर जिद्दी गर्न लागिन् । सुशीलचाहिँ देवीरमणको दौरा समातेर रुन लाग्यो । यो बलिष्ठ बालहठलाई देवीरमणले उपेक्षा गर्न सकेनन् । आखिर लक्ष्मी र सुशीललाई पनि साथमा लिए। एक क्षणपछि त्यो तीर्थयात्रीको समूह, रानुको पछि माहुरीझैँ देवीरमणको पछि लाग्यो । किन्तु सुभद्रालाई ‘जान्छ्यौ कि ?’ भनेर कसैले एक वचनसम्म पनि सोधेन ।
सुभद्राले मनमनले भनिन, “तीर्थबर्त गर्न त मलाई पो लैजानुपर्थ् यो। मेरो को छ र, छोरा न छोरी । उसको उमेर थियो, जाँदै गर्दी हो । ऊ छोरो पाएकी स्वास्नी भई, वचन हार्न सक्नुभएन । म टेक्ने समाउने केही नभएकी अनाथ, मेरो केको खोजी थियो । मानिस बलेको आगो ताप्छन् । जसलाई परमेश्वरले ठगेको छ, उलाई नै मानिस पनि हेला गर्छन् । ओहो ! संसार कति मतलबी छ ।” यस्तै तर्क गर्दै सुभद्रा धेरै बेरसम्म एक्लै रोइरहिन् ।
सुभद्राले बाह्र वर्षको उमेरदेखि देवीरमणको दैलो पोत्न लागिथिन् । यो घर सुभद्रालाई संसारमा सबैभन्दा प्यारो वस्तु थियो । यी वस्तुभाउ यिनैको लालन-पालनमा बढेर तरुण भएका थिए । घर, यी वस्तुभाउ, यी रूख वृक्ष सबै यिनै सन्तानहीन रमणीका साथी थिए । यिनीहरूसँगको वियोग सुभद्रा एकछिन पनि सहन सक्तिनथिन् जान ता सुभद्रा जान्थिन् कि जान्नथिन, एक वचन सोधेकोसम्म भए उनको आँसु पुछिने थियो । एक वचन सोधिसम्म दिनाले बखतमा कत्रो काम हुन्छ, त्यो कुरा मनोविज्ञान नजानेका देवीरमणलाई थाहा भएन ।
मनोमालिन्यको एउटा सानो बीज चाहिन्छ जो समयमा बढेर आफसेआफ भयङ्कर रूप धारण गर्दछ । त्यस्तै लक्ष्मी तथा सुभद्राका जीवनमा पनि यो तीर्थयात्रा मनोमालिन्यको एउटा बीज हुन गयो ।
तीर्थबाट फर्केदेखि दुवैमा बहुधा झगडा हुन लाग्यो। सुभद्राले कुनै प्रश्न गर्दा लक्ष्मी छेड हानेर उत्तर दिन्थिन् । बस, कुरैकुरामा हानथापबाट ठूलो कलह खडा हुन्थ्यो । देवीरमण चुपचाप भएर सुनिरहन्थे । लक्ष्मीलाई ताडना गरून् भने पुत्रवती पत्नी, सुभद्रालाई ताडना गरून् भने धर्म तथा विवेकको हत्या के गरून्, सांसारिक सुखलिप्साको टर्रो आनन्दको अनुभव गरिरहेका थिए । त्यसबखतमा उनको त्यो प्रबल वाक्शक्ति हावा हुन्थ्यो । मानिसको पाण्डित्य अरूलाई उपदेश गर्नमा काम लाग्दछ, नकि आफूलाई परिआउँदा ।
यो प्रतिदिनको गृह कलहले सुभद्राको कोमल हृदय-कुसुम एकदम ओइलायो। कारागारकी दुःखी बन्दीकै भाग्ने मौका खोज्न लागिन् ।
कालो अन्धकारमाथि पख पर्खी कराउने हुचील पक्षीको बिरसिलो हुकहक शब्द थपिंदा रात्री भन् भयङ्कर प्रतीत हुन्थ्यो । पल्लो गाउँमा कुकुर भुकिरहेको थियो । पृथ्वीमा मानवजातिको दुःखमय अवस्था देखेर अनन्त आकाशमा तारागण पिलपिल गरी रोइरहेका थिए । सुभद्राले आँगनमा आएर हेरिन्। एक छिनपछि त्यो विशाल नभस्थलबाट एउटा लामो ज्योति सल्ल बगेर तलतिर खस्यो। किन्तु यो कालो पृथ्वीमा भर्न नपाउँदै बीचमा लुप्त भयो । अघि शैशवकालमा एकपटक यस्तै दृश्य देखेकी थिइन् । उस वखत आमासँग सोढा “आकाशका देवगण हुन्, पुण्य सिद्धिनाले स्वर्गबाट पतन भएका भन्ने जवाफ मिलेथ्यो। आज उही कुरा सम्फिन्, मनमनले भनिन्, “हो । यो आकाशमा बसेर केही दिन पुण्यभोग गर्ने देवताका म पनि आज सल्ल बगे । यिनीहरू पुण्य समाप्त भएपछि स्वर्गबाट चिप्लेर बस्छन्, हामी भोक, प्यास, दुःख-पीरले निस्तेज तथा दलमल भएर पृथ्वीको पृथ्वीमै खस्छौँ । हामी खसिसकेपछिको बीभत्स रूप अरू शेष भोका, प्यासा, दुःखीहरूले देख्छन्। देवताहरूचाहिँ पुण्यभोगी हुनाले यो पापपूर्ण जगत्मा खस्नुपर्ला भनेर बिचैमा अलप हुन्छन्, मानिसहरूमा र देवतामा केवल यति अन्तर छ ।”
सुभद्राले काखीमुनि एउटा पोको च्यापेकी थिइन्। यस्तो अन्धकार रात्रीमा पनि कसैले देख्छ कि भनेर ओढ्नेले छोपेकी थिइन् । यसबखत उनको जीवनधारा त्यही सानो पोको हुन आयो । अहो । कुनै बखत यो विशाल अशालता कसरी एउटा ठाउँमा सीमित भएर बस्तछ । परमेश्वर मनुष्यलाई किन आशामा झुन्ड्यायौ ? प्रभु आशाको बदला सन्तोष दिएको भए यी अनाथ प्राणीहरू सुखको कति नजिकै पुगिसक्थे ।
केही बेरपछि अश्रुपूर्ण नयनले प्यारो गृहलाई सदैवका निमित्त नमस्कार गरेर अनायिनी सुभद्रा त्यो कालो अन्धकारमा विलीन भइन् । यो करुणाजनक दृश्य सधैँ जागा मइरहने विश्वको चतुर चौकीदारवाहेक अरू कसैले देखेन ।
पशुपतिनाथको मन्दिर वरिपरि तिल राख्ने ठाउँ थिएन । “सबीउ छर्ने जात्रहरूको छिचोली नसक्नु घुइँचो थियो । यस्तैमा पश्चिम ढोकानेर अकस्मात् सुभद्रालाई देखेर मौलीले गहभरि आँसु पारेर भनी, “ओहो बजै । हेर, कति दुब्ली, चिन्नै नसक्ने हुनुभएछ । अलिबेरसम्म त ठम्याउनै सकिनँ । कहाँ बस्नुभएको छ हँ ?”
“खर्च बर्च नलिईकन आधा रातमा हिँड्नुभएछ थाहा पनि पाइनँ यतिका दिनसम्म के खाएर गुजरा गर्नुभो ?”
“फुपूलाई सरकारबाट एउटा हण्डी बक्सेको रहेछ, त्यसबाट दुई जनाले गुजारा चलाएका छौँ ।
घरको हाल कस्तो छ, नौली ?”
“बजे, घरको हाल के भनूँ, सम्झँदा पनि आँसु आउँछ । छ महिना भो दुलही बजै बिरामी हुनुहुन्छ ।”
“के हुन्छ ?” सुभद्राले साह्रै उत्सुकतासाथ सोधिन् ।
“तपनी जरो छ, ‘छाती दुख्छ’ भन्नुहुन्छ । रातभर खोकिरहनुहुन्छ । गोरखा मूलका डाक्टर सुविदारलाई देखाउँदा ‘चाइसी’ भने कि ‘खाक्सी’ भने अहिले सम्झन सकिनँ, साह्रै नराम्रो रोग हो अरे, सुकेर हाडछाला मात्र छ । बोकेर बाहिरभित्र गराउनुपर्छ ।”
“सानो बाबु कस्तो छ नि ?
“कस्तो हुन्थे, जीउभरि खटिरा छन् । तेल लाउन हुँदैन, ‘आमा कहिले आउनुहुन्छ भनेर बराबर तपाईंलाई सम्झिरहन्छन् ।
“भात को पकाउँछ नि ?”
“कहिले बाजे आफैँ पकाउनुहुन्छ, कहिले चमेना खाएर सुत्नुहुन्छ । एक दिन बार्दलीमा बसेर एक्लै रोइरहनुभएको रहेछ बाफैले चिनेको चौतारो पापिनीले आफै भत्काएर गई भन्नुहुन्थ्यो । केके भनूँ बजे वस्तुमाउका हाडछाला मात्र छन् । खेतबारी अधियामा दिएको छ । आसामीबाट एक पैसा उठ्दैन, नौकर-चाकर चार दिन टिक्दैनन्, सबै भताभुङ्ग छ ।
नौलीको कुरा सुनेर सुभद्राको हृदय काटियो मनमनै भनिन्, “छि । ‘सौताको रिसले पोइको नाक काट्नु भनेको यही हो। उमेरदार थिई, के खाऊ के लाऊँ भन्ने बेला थियो । मीठो खाई राम्रो लाई भनेर मैले चित्त दुखाउन नहुने उसलाई लिएर तीर्थ जानुभयो त त्यसले के भयो र ? फर्कनुभएपछि अर्को साथी लिएर म जाँदी है । कहिलेकाहीँ अलि फर्केर बोल्पी लौ, अति कडङ्गे स्वभावकी थिई, स्वभावै त्यस्तो, एक ठाउँमा भएपछि कहिलकाही आमा-छोरीमा पनि त ठाकठुक हुन्छ। एकै घरमा बस्न नसके कटेरो बारेर बस्ती हूँ । मैले सारै बेबुकको काम गरेँ । जोरीपारीले के भन्दा हुन्, आफ्नो त्यत्रो दौलम छोडेर यहाँ एक छाक खाएर बसेकी छु । त्यसका जिउमा केही भइदियो भने त्यो चिचिलो बालखको के गति होला ? पितृले के भन्लान् ? चित्त दुखाए पनि आमाले दुखाई, त्यो बालकले के बिरायो ? अघि कहिलेकाहीं एकदुई छाक भात पकाउनुपर्दा दिक्क मान्नुहुन्थ्यो । आजकल दिनहुँ कसरी पकाउनुहुँदो हो ?” इत्यादि मनोवेदनाले सुभद्राको हृदय छियाछिया भयो, भनिन्, ‘नौली त्यस्ता बेलामा तैँल पनि छोडेर आइछेस् ।”
“बजै, जन्मभर अर्काकी दासी भएर बस्नुपर्यो, चारोटा अक्षता भए पनि छरेर आऊँ भनेर बाजेसँग बीसै दिनको बिदा मागेर आएकी ।”
“कोसँग आइस्”
“रातमाटे भंडारी पण्डितका जहानसँग ।
” कैले जान्छेस् ?”
“भोलि बिहानै, बजै । विन्ती छ, घर जाऔं तपाई नभए बाजेको जहाजै डुब्छ।”
मैलो विछ्याउनामा सुतेकी लक्ष्मी जीवनको शेष घडी गनिरहेकी थिइन् । देवीरमण रोगीका सिरानमा बसेर बखत बखतमा चम्चाले पानी ख्वाउँथे । बालक पुत्र सुशील नामानेर बसेर यो चिरमातृवियोग हेरिरहेको थियो । लक्ष्मी कहिलेकाहीँ सुशीलको मुखपट्टि हेरेर बरर आँसु मार्थिन् । मधुरो बत्तीको धमिलो प्रकाशमा रोगीको कोठा समसानजस्तो देखिन्थ्यो । त्यस्तै दैलो उघारेर नौलीले देवीरमणलाई ढोगिदिई । नौलीलाई देखेर देवीरमणको दुःखको लहरी केही शान्त भयो, भने, “नेपालबाट कहिले आइपुगिस् नौली ?”
“बाजे, आउँदै छु, दुलही बजैलाई कस्तो छ ?”
“तेल त अघि नै सिद्धिसकेको थियो, अब बत्ती निभ्न बाँकी छ । ‘बाजे, यस बखतमा ठूली बजे भए सबै कुराको सम्भार हुने थियो, के गरुँ जाऔँ भनेको मान्नुभएन ।”
“के तैँले भेटिस् र?”
“पशुपतिनाथको मन्दिरनेर भेटेथेँ।”
“कस्ती थिई ?”
“एकदम दुब्ली, मैला लुगा लगाएकी, मायालाग्दी ।
“कहाँ बसेकी रै’छ ?”
“गौरीघाट फुपूकहाँ बसेकी छु, फुपूलाई सरकारबाट एक हण्डी बकसेको छ, त्यसैबाट दुईजनाले गुजारा चलाएका छौँ, भन्नुहुन्थ्यो ।”
देवीरमणका दुवै आँखाबाट आँसुका धारा बगे । मनमनले भने, “यत्रो सम्पत्तिकी मालिक्नी भईकन सुभद्रा नेपालमा एक छाक खाएर बसेकी छ उसमा पनि दुब्ली, मैला लुगा लगाएकी, मायालाग्दी हरे, परमेश्वर । म पापी हूँ, मेरो जीवनलाई हजारबार धिक्कार छ । सुभद्रा मेरी गृहलक्ष्मी हो, ऊ गएदेखि विपत्तिको बादलले घेरिरहेछ । हामीलाई नभए पनि यो बालक सन्तानलाई सम्झनुपर्ने, सबैलाई चटक्क बिर्सी इत्यादि दुःख मनाउ गरेर आँसु झार्दै भने, “नौली । आइछेस् घरको सम्भार राखेस्। म भोलिबिहानै नेपाल जान्छु ।”
त्यस्तैमा सुमद्रा घरभित्र पसिन् । अत्यन्त दुस्ती, निदाउरी, मलिन, भुत्रा लुगा लगाएकी, मुखमण्डलमा असीम करुणा तथा संयम झल्किरहेको थियो । सुभद्राको शारीरिक अवस्था देखेर देवीरमणको हृदय टुक्राटुक्रा भयो । दुबै हातले मुख छोपेर रुन लागे ।
पतिलाई दण्डवत् गरेर सुभद्रा लक्ष्मीको सिरानमा बसिन् ।
नौलीले भनी- ‘ओहो । बजै आइपुग्नुभयो ।”
नौलीको स्वर सुनेर लक्ष्मीले आँखा उघारिन् । सुभद्रालाई आफ्ना सिरानमा बसेको देखेर सुस्तरी लर्बराएको स्वरले भनिन्, “दिदी, तपाईंको दर्शनलाई एक मुठी सास मुस्किलले झुन्डिरहेको छ ।”
लक्ष्मीको वचन सुनेर सुभद्राको हृदयको मैलो एकदम साफ भयो, भनिन्, “बाबु । मैले आफ्नो कर्तव्य बिर्सिन्छु ।”
लक्ष्मीले सुभद्राको छातीतिर देखाएर भनिन्, “त्यहाँ साह्रै कडा चोट लागेको छ ।”
सुभद्राले आँसु झार्दै भनिन्- “निको भो बा, अस्ति नै निको भइसक्यो, सानो तिलको दाना जति पनि बाँकी छैन ।”
त्यसपछि “दिदी, तपाईंको नासो ।” भनेर लक्ष्मीले सुशीलको हात सुभद्राका काखमा राखिदिइन् । छोरालाई काखमा लिएर सुभद्रा रुन लागिन् । यी सबै सुभद्राका निमित्त जिन्दगीभर सम्झँदै रूदै गर्ने खुड्काहरू थिए ।
निभ्ने बेलाको बत्तीमा लक्ष्मीको मुख एक क्षणका निमित्त तेजोमय भयो । अनि पछि अन्धकार लक्ष्मी दुःखमय संसारलाई छोडेर अनन्तमा पुगिन् । देवीरमण, नौलीहरू पनि रुन लागे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।