अद्भूत सौन्दर्यकी धनी सुजाना उनको पति र छोरासहित आनन्दले जीवन बिताइरहेकी थिइन्। एक दिन सुजानाको गाउँमा न्यायालय चलाउनुपर्ने भयो र त्यसका लागि छिमेक गाउँबाट दुई जना न्यायाधीश आइपुगे। ती दुई जना न्यायाधीश सुजानाको सौन्दर्यबाट यति मुग्ध भए कि उनलाई दिनरात कसरी आफ्नी बनाउने भनेर घोत्लिन थाले।
ती दुई न्यायाधीश शक्तिशाली थिए। तिनको वचन भूइँमा पर्न नपाउँदै आदेश कार्यान्वयन हुन्थ्यो। यति शक्तिशाली भएकाले ती न्यायाधीश पनि मैमत्त थिए।
एक दिन तिनले देखे- सुजाना कुवामा एक्लै नुहाउँदैछिन्। यही मौकामा उनको सौन्दर्यको आश्वाद लिन उनीहरू कुवामा गए र सुजानासँग जबरजस्ती गर्न थाले। केही लोभ्याए, केही धम्की दिए। ती शक्तिशाली दुई जनाको कुरामा उनी लागिनन्। लाग्न पनि कसरी सक्थिन्? त्यसैले होहल्ला गरिन्। मानिसहरू भेला भए। उल्टै न्यायाधीशले सुजानामाथि आरोप लगाए- यो एउटा पुरूषसँग लहसिँदै थिई, हामीले देखेपछि उल्टै हामीमाथि जबरजस्ती गरिरहेको आरोप लगाउँदैछे।
सुजानाले आफू कुनै पुरूषसँग लठारिएको गलत हो भन्दै थिइन् तर कसैले सुनेन। बरू त्यसको साटो पुरूषसँग लठारिएको आरोपमा उनलाई दण्ड सजाय तोके न्यायाधीशले। उनका पतिले पनि ती न्यायाधीशको निर्णयलाई विरोध गर्न सकेनन्।
कथाले भन्छ, पछि एक जना ड्यानियल भन्ने व्यक्तिले सुजानाको ज्यान जोगाए।
यो कथा बाइबलको हो र कसरी सुजानाको ज्यान जोगियो र ड्यानियलले कुन उपाय लगाए भन्ने कथा अलि लामै छ। हामी त्यता नजाऔँ तर त्यस कथामाथि बनाइएका चित्रहरू हेर्दा म भने सिद्धहस्त हातप्रति नतमस्तक हुन्छु।
खासगरी यो चित्र मलाई अति मन पर्छ। कारण, यो चित्र बनाउने चित्रकार पनि महिला हुन्। उनले महिला मनोदशालाई यति मज्जाले उद्बोधित गरेकी छन् कि त्यो तहमा यही तस्बिरमा अरूले ल्याउन सकेका छैनन् भन्ने लाग्छ।
यो चित्रकी चित्रकार Artemisia Gentileschi हुन्। सन् १६१० मा उनले यो चित्र बनाएकी थिइन्। उनका बुबा पनि त्यस बखतका चर्चित चित्रकार थिए। उनको पेन्टिङ स्कुलमा अध्ययन गर्न त्यो बेला अनेकन् विद्यार्थीहरू आउँथे। त्यो बेला महिलालाई चित्रकारिता गर्ने छुट थिएन तर प्रभावशाली बुबाको स्नेहले उनले त्यो सुविधा मात्र उपयोग गरिनन्, एउटा कालजयी सिर्जना पनि छोडेर गइन्।
यो चित्रको सबैभन्दा ठूलो प्रभाव के भने यो कथालाई उनले पहिलो पटक चित्रमा उतारेकी थिइन्। हुन त बाइबलका कथालाई यसअघिका कयाैँ चित्रकारले महत्त्व दिएका थिए, चित्र बनाएका थिए, तर यो कथालाई यसरी उतारेका भने थिएनन्।
आर्टेमिसियाले पहिलो पटक यो कथालाई एउटा स्वरूप दिएकी थिइन्, स्त्री हिंसा र महिलामाथिको यौन शोषणलाई मज्जाले उकेरेकी थिइन्। त्यसैले यो चित्रको विशेष महत्त्व छ।
यो चित्र कति शक्तिशाली थियो भने यसपछिका कयाैँ चित्रकारहरूले यसलाई विविध संस्करणमा प्रस्तुत गरेका छन्। एउटा शक्तिशाली चित्रकाे प्रभाव पनि यही हो कि त्यसले अन्य सिर्जनाका लागि अन्य कलाकारलाई उक्साउँछ। आर्टेमिसियाको यो कृतिले पनि सयौँ वर्षसम्म पनि अन्य कलाकारलाई त्यस घटनामाथि चित्रण गर्न उक्साइरह्यो तर त्यो यति शक्तिशाली भने देखिएन। त्यो प्रभाव अन्य चित्रकारले दिन सकेनन्। एउटा कारण चाहिँ स्त्री नेत्रले जे देख्यो, सायद त्यो अन्य पुरूषहरूले देख्न सकेनन्। या यसो भनाैँ, पहिलो चित्र नै यति शसक्त थियो कि त्यसपछिका सिर्जना हामीलाई वा कला समीक्षकहरूलाई त्यो स्तरको प्रभाव छाड्न सकेन।
अथवा, त्यो मेरो भ्रम मात्र पनि हुनसक्छ। तपाईंहरूलाई अरू नै केही लागेको पनि हुनसक्छ। त्यसैले मैले सोही भावभूमिमा कोरिएका अन्य चित्रहरू यहाँ प्रस्तुत गरेको छु। यी तस्बिरमध्ये तपाईंलाई कुन मन पर्यो, तल कमेन्ट बक्समा लेख्नुस् है?
तपाईंहरूलाई यो कथाको पृष्ठभूमि के थियो भन्ने बुझ्न चाहनुहुन्छ भने तलको युट्युब भिडियोमा क्लिक गरी हेर्नुहोस्ः
यसपछि कसले कसरी सुजानाकाे जीवन रक्षा गर्यो त ? बुझ्नका लागि यहाँ यो भिडियो हेर्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।