वि.सं. २०२६ सालतिरको कुरो हो । यो पंक्तिकारको दिमागमा त्यतिबेलाको धमिलो दृश्य सलबलाइरहेको हुन्छ । यदाकदा घुमिरहन्छ । विद्यालयको आँगनमा दुईवटा पंक्तिबद्ध लाइन उभिएका थिए । एउटा पंक्तिमा केही अग्ला विद्यार्थीहरू थिए भने अर्काको साना अनि होचा । दुवै पंक्ति आमने–सामने थिए । होचा विद्यार्थीहरूले आफ्नो हातमा फूलको माला लिएका थिए । उनीहरूले पालैपालो आफ्नो सामुन्ने उभिएका अग्ला विद्यार्थीहरूलाई लगाइदिए । वरिपरि उभिएका शिक्षक र विद्यार्थीले सकुञ्जेल ताली बजाए । आँगनको छेउमा उभिएको यो पंक्तिकारले पनि सकुञ्जेल ताली बजायो तर थाहा छैन किन बजायो ।
त्यसको तीन–चार महिनापछि स्कूलमा अर्को खैलाबैला भयो । हाहाकार मच्चियो । स्कूल नजिकै छात्रावास थियो, छात्रावासमा झन् चर्काचर्की पर्यो । कोही झ्यालबाट कराउन थाले, कोही छात्रावासबाट कराउँदै विद्यालयको आँगनसम्म आए । उफ्रन थाले । तर यो पंक्तिकारलाई थाहा छैन, यिनीहरू किन उफ्रिए । त्यही दिन दिउँसो विद्यालयका हेडमास्टरले आफ्नो रेडियो स्कूलमा ल्याए, अनि बजाए । रेडियोले दिउँसोको समाचार भनेको मात्र थियो, तत्काल विद्यार्थीहरू उफ्रन थाले । सबै शिक्षक खुशी भए । कहिल्यै नहाँस्ने हेडमास्टरको अनुहार पनि उज्यालो देखियो । उनी मुसुक्क हाँसे । तर शिशु–कक्षामा पढ्ने यो पंक्तिकारलाई थाहा भएन, विद्यार्थी किन उफ्रिए । हेडमास्टर किन मुस्कुराएँ । साँझ स्कूल बिदा भएर यो पंक्तिकार घर आयो । तर पंक्तिकार सधैंको भन्दा निकै खुसी थियो । किनकि आज उसले स्कूलमा रेडियो देख्यो, बजेको सुन्यो । यही खुशी दाइहरूलाई सुनायो, दिदीहरूलाई सुनायो । अनि सासै नफेरी आमा–बुबालाई पनि भन्यो । तर कोही पनि आश्चर्य मानेनन् । कसैले पनि चासो देखाएनन् । किनकि त्यतिबेला पूरै गाउँ–बस्ती नै अर्को खुशीमा सामेल भइसकेको थियो । त्यो दिन बाबुराम २०२६ सालको एस.एल.सी. मा बोर्ड फष्ट भएका थिए ।
स्कूलको छेउमा उभिएर ताली बजाउने यो पंक्तिकार आज नगेन्द्र न्यौपाने भएको छ भने माला लगाएर घरतिर जाने विद्यार्थीमध्येका एउक विद्यार्थी डा. बाबुराम भट्टराई भएका छन् । मलाई पछि थाहा भयो । नौ कक्षाका विद्यार्थीले दश कक्षाका विद्यार्थीलाई बिदा गरिएको दृश्य थियो त्यो । तर मैले त्यतिबेला बुझेर हो वा नबुझेर बेस्सरी ताली बजाएँ । रेडियो नेपालबाट बाबुरामको नाम सुन्दो पनि ताली बजाएँ । तर मलाई अहिले पछुतो लाग्छ । किन मैले उफ्री–उफ्री ताली बजाएँ । किन मैले मेरा कलिला हातलाई आफैँले पिटेँ । किनकि जुन दिन स्कूलमा ताली बज्न शुरु भयो, अनि जुनबेला रेडियोले बाबुरामको नाम सुनायो, त्यो दिनदेखि लुइँटेल स्कूलवरिपरिका सालका रुखहरू ढल्न थाले । त्यहाँ अलक्षण पस्यो ।
एकातिर स्कूल बढाउने नाममा सालको बोटहरू काटिनु अर्कोतिर सबै विद्यार्थीलाई बाबुराम बनाउने भुत पस्नु– स्थानीय विद्यार्थी सखापै हुन थाले । गोरखा जिल्ला अन्तर्गत यो गाउँमा लुइँटेलहरूको बाक्लो आवादी भएकोले यो गाउँको नाम नै लुइँटेल गाउँ रहन गयो । त्यस्तै कागजमा नाम जे लेखे पनि स्कूलको नाम पनि लुइँटेल स्कूलबाट चिनिन थाल्यो । यो स्कूलको अलिकति माथितिर अर्चले भन्ने अर्को गाउँ छ, यहाँ श्रेष्ठहरूको बाक्लो बस्ती छ । श्रेष्ठ गाउँभन्दा माथि परियारको गाउँ, परियारको गाउँभन्दा माथि विश्वकर्माको, अनि फेरि श्रेष्ठको । उनीहरू आपसमा मिलेर नै बसेका छन् । श्रेष्ठको घरमा टाढा–टाढाका विद्यार्थीहरू विशेषतः बाहुन क्षेत्रीहरू डेरा लिएर बस्ने गर्थे । डेरा लिएर बस्ने विद्यार्थी साथै डेरा दिने घरवाला मात्र होइन, पूरै बस्तीको एउटै उद्देश्य थियो– ‘सबै विद्यार्थीलाई बाबुराम बनाउनु साथै आफ्नो गौरव बढाउनु ।’, त्यसैले स्थानीय अभिभावक न आफू पढ्न स्कूल गए न आफ्ना छोरा–छोरीलाई स्कूल जानुपर्छ भन्ने ज्ञान नै दिए– उनीहरूले केवल दिए– “तिमीहरू पढ्न कमजोर छौ, तिमीहरू बाबुराम बन्न सक्दैनौ । यो स्कूल तेजिलो विद्यार्थीले मात्र पढ्ने हो, तिमीहरूले पढ्ने होइन ।”
कठैबरा ! आफ्ना आमा–बाबुले नै आशा मारेपछि कलिलो दिमागले स्कूललाई राक्षसले बास गर्ने ठाउँ सम्झन थाल्यो । तर उनीहरूले हरेस खाएनन् । घिस्रिँदै भए पनि स्कूल गइरहे । तर स्कूलमा शिक्षक र हेडमास्टरकै अपमान र हिनताबोध थपिन थालेपछि उनीहरूको स्कूलको ढोका सदाको लागि बन्द भयो । स्कूलका हेडमास्टरदेखि पिउनसम्मकै शक्ति नै सबै विद्यार्थीलाई बाबुराम बनाउन कँसिएपछि मध्यमस्तरका विद्यार्थीले आँट नै गरेनन् । हिम्मत हरायो । उनीहरू एउटै विकल्प दिनभरि पाखा–पखेरामा चहार्ने, कि त माछा मार्ने अनि साँझतिर घरतिर फर्कने ।
जसरी आफ्ना छोराछोरीको दिनचर्यामा परिवर्तन भएको थियो स्वतः अभिभावकको दिनचर्यामा पनि परिवर्तन आयो । उनीहरूले आफ्नो घरमा डेरा गरेर बस्ने सबै विद्यार्थीलाई इन्जिनियर, डाक्टर बनाउन कँसिए । तर आफ्नो छोरा–छोरीले हलो र कोदालो समात्न थालेको पत्तै भएनन् । बिहान उठ्नासाथ पानी लिन जानु, भात पकाउनु अनि जुठाभाँडा माज्नु उनीहरूको दैनिकी बन्यो । तर आफ्ना छोराछोरीहरू बरालिँदै हिँडेको ख्याल नै गरेनन् ।
लुइँटेल स्कूलको उत्तरपट्टि नेपालको इतिहास बोकेको लिगलिगकोट दरबार छ, जहाँबाट नै नेपाल बन्यो । त्यस्तै दक्षिणपट्टि बाइसे राजाहरूमध्ये मगर राजाको दरबार छ– देउकोट दरबार । अनि पश्चिमतिर विशाल पालुङ्गटारको मैदान छ भने अलिपर रागीनासकोट दरबार । रागीनासकोट दरबारमा नै राजा नरहरि शाह र द्रव्य शाह जन्मेका थिए । कठैबरा ! यो ऐतिहासिक धरोहर बोकेको भूमि, वर्षेनी सालका रुखहरू ढलेको देख्दा कति दिक्कलाग्दो होला ! तर ती रुखहरू ढलिरहे, किनकि त्यहाँ त्यो प्रथा बसिसकेको थियो । हरेक विद्यार्थीलाई बाबुराम बनाउने निउँमा कतिको भविष्य भताभुङ्ग भयो । बाबुराम बन्ने नाममा धेरैले चुटाइ खाए । धेरैको हातमा सुम्ला परे । धेरैले स्कूल नै छाडे । हेडमास्टरको छायाले समेत तर्साउन थाल्यो । विद्यार्थीहरू सपनामा बरबराउन थाले ।
समयलाई कसले रोक्न सक्छ र ? विश्व परिवर्तनलाई कसले नियन्त्रण गर्न सक्छ र ? अब लुइँटेल स्कूलबाट सबैलाई बाबुराम बनाउने रोग निर्मूल भयो । त्यहाँको राक्षसरूपी चिन्तन हरायो । वरिपरिका सालका बोटहरू हुर्कन पनि पाए । वातावरण हराभरा भयो । स्थानीय बालक–बालिकाहरू झोला बोकेर हिँडेको देखिन थाल्यो । सबैले लामो सास फेरे– “यस्तो पो लुइँटेलको रमणीय दृश्य ।”
तर विडम्बना ! सालका रुखहरू फेरि ढल्न थाले । पहिला बाबुरामको नाममा ढल्थे, सबै विद्यार्थीलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउने निउँमा काटिन्थे, अब बाबुराम आफैँले रुख काट्न थाले । नेपाललाई नयाँ नेपाल बनाउने निहुँमा कलिला बोट निमोठिन थालियो । जनयुद्धको नाममा विद्यार्थीको भविष्य अँन्धकार बनाइयो । उनीहरूको काँधमा बन्दुक भिराइयो । कठैबरा ! एकपछि अर्को गर्दै लुइँटेल गाउँको विनाश हुँदै गयो, तर निरीह लुइँटेलवासीले प्रतिकार गर्न सकेनन् । उनीहरूको अवस्थामा सुधार आएन ।
सयौं कुखुराको मासु खुवाएर एउटा स्याललाई चिडियाखानामा पाल्नु कुनै औचित्य हुँदैन । यस धर्तीमा सबै जनावरको आफ्नो–आफ्नो अस्तित्व हुन्छ, आ–आफ्नो तरिकाले जिउन पाउनुपर्छ । यसको मतलब मैले बाबुराम दाइलाई स्याल पक्कै भनेको होइन । तर मैले के चाहिं भनेको हुँ भने तपाईंको लागि कलिला बालकले किन बलिदान दिनुपर्ने ! निहत्था विद्यार्थीको भविष्य अँन्धकार किन बनाइनुपर्ने ! त्यसकारण तपाईं स्कूलको मात्र होइन, पूरै लुइँटेल बस्तीको ऋणी हुनुहुन्छ । तपाईंले ऋण चुक्ता गर्न पर्छ । तर तपाईंले सक्नुभएन ! तपाईं असफल हुनुभयो ।
स्कूलको आँगनमा उभिएर ताली बजाएको मलाई अस्ति भर्खरजस्तो लाग्छ, तर त्यतिबेला शिशु कक्षामा पढ्ने कलिलो बालक म– अहिले मेरो कपाल फुलेर सेतै भएको छ, म जागिरबाट अवकाश लिने तरखर गर्दैछु । तपाईंभन्दा तीन कक्षा तल पढ्ने मेरो दाज्यू महेन्द्र न्यौपानेले डाक्टर पेशाबाट अवकाश लिएको धेरै वर्ष भयो । साठी वर्ष पार गरेको कुनै पनि व्यक्तिको शरीरका नसाहरू कमजोर हुन्छन् । उनीहरूको कार्य सम्पादन गतिलो हुँदैन । यो भनाइ मेरो होइन । नेपाल सरकारको पनि होइन । यो विश्वमान्य सत्यता हो । त्यसकारण तपाईंले अवकाश लिनुपर्ने पहिल्यै हो । तर अझै ढिला भएको छैन । बरु तपाईंलाई मेरो के अनुुरोध छ भने तपाईंका अन्य सहकर्मीलाई पनि उत्प्रेरणा दिनुहोस्– उहाँहरूलाई पनि अवकाश लिने सल्लाह गर्नुहोस् । आराम गरेर बस्नुहोस् । समाज भड्काउने र जनतालाई बिथोल्ने बेला होइन यो । नेपालमा नै तपाईंभन्दा धेरै बुद्धिजीवी र जोशिला व्यक्तिहरू उत्पादन भइसकेका छन् ।
तर दूर्भाग्य ! हालसालै तपाईंले आफ्नो थर नै फेर्न लाग्नुभएको भन्ने कुराले म स्तब्ध भएँ । थर फेर्न त्यति सजिलो छैन– जति माइकको अगाडि बोल्न र समाज बिथोल्न । थर फेर्ने काम नगर्नुहोस्, बरु तपाईं आफ्नो सोच बदल्नुहोस् । दलित वर्गलाई दलित नबनाउनुहोस् । उनीहरूको इज्जत गर्न सिक्नुहोस् । उनीहरूको आर्थिकस्तर उकास्नतिर लाग्नुहोस् । किनकि तपाईं एउटा व्यक्ति दलित बन्दैमा सम्पूर्ण दलित वर्गको समुन्नति हुँदैन । (दलित शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।