पछिल्लो समूह भारतको प्रख्यात व्यावसायिक घराना अडानी समूह विवादमा परेको छ । यही विवादकै बीचमा भारतको प्रख्यात पत्रिकाले उसको प्रायोजनमा दिने पुरस्कार अस्वीकार गरेर एक दलित कवि अझ बढी चर्चामा आएकी छन् ।

तमिल कवि सुकिरथरिणीले न्यु इन्डियन एक्सप्रेस समूहले आफ्नो क्षेत्रमा अग्रणी १२ महिलाहरूलाई दिने गरेको देवी पुरस्कारलाई अस्वीकार गरेकी छन् ।

सुकीरथरिणीले भनेकी छन्, ‘अडानी समूहले प्रायोजन गरेको कार्यक्रममा म हिस्सा बन्न सक्दिनँ । यो मेरो लेखन र सिद्धान्तविरूद्धको कुरा हो ।’

द टेलिग्राफ पत्रिकासँग कुरा गर्दै उनले सो कार्यक्रमको हिस्सा हुनु आफ्नो सिद्धान्त, लेखन, दर्शनकै विरूद्ध हुने र उनले आफैँलाई धोका दिन नसक्ने बताएकी छन् ।

गएको फरवरी ४ मा नै उनले आफ्नो फेसबुक पेजमा पुरस्कार स्वीकार गर्न नसक्ने बताएकी थिइन् । द न्युज मिनेटका अनुसार, उनले तमिल भाषामा लेखेको पोस्टमा भनेकी छन्, ‘न्यु इन्डियन एक्सप्रेस समूहले १२ जना महिलाहरूलाई देवी पुरस्कार दिने गर्छ । उनीहरूले सम्बन्धित क्षेत्रमा तिनको योगदानका लागि देशभरबाट छानिने गरेको छ । यो पुरस्कार मलाई दलित साहित्यमा मैले गरेको योगदानका लागि दिन लागिएको हो । म यसका लागि न्यु इन्डियन एक्सप्रेसलाई धन्यवाद दिन्छु ।’

उनले लेखेकी छन्, ‘मलाई हिजै मात्र यस पुरस्कार आयोजनको मुख्य प्रायोजक अडानी समूह हो भन्ने थाहा भयो । म जुन राजनीतिका बारेमा बोल्छु, जुन विचारधारामा विश्वास गर्छु, त्यसका लागि अडानी समूहजस्तो समूहले दिएको आर्थिक सहयोग गरेको रकमबाट पुरस्कार पाउनुमा खुसी लाग्दैन । म देवी पुरस्कारलाई ग्रहण गर्न सक्दिनँ ।’

गत साता भएको कार्यक्रममा उनी सहभागी भइनन् । फेब्रुअरी ८ मा कार्यक्रम सम्पन्न हुँदा उनी थिइनन् तर अन्य देवीहरूको उपस्थिति देखिन्थ्यो । वैज्ञानिक गगनदीप कांग, भरतनाट्यम नृत्यांगना प्रियदर्शिनी गोविन्द, समाजसेवी राधिका संथानकृष्णा र स्क्वास खेालडी जोशना चिनप्पा लगायतका थिए ।

सुकीर्तरानीले लेख्ने साहित्यले विशेषगरी तमिलनाडु क्षेत्रका दलित महिलाको जीवन र तिनका समस्यामाथि चित्रण गर्ने गरेको छ ।

सन् २०१७ मा दिएको एउटा अन्तरवार्तामा उनले भनेकी छन्, मेरा लागि जातिगत पहिचान र महिलाहरूको देह आपसमा जोडिएका छन् । दलित महिलाहरूा समस्या अन्य जातिका महिलाभन्दा फरक छन् भन्ने मलाई लाग्छ । मेरा सबै लेखन मेरो आफ्ना अनुभव मात्र होइनन्, अरू महिलाका वा अन्य दलित महिलाका अनुभव पनि हुन् । हामी सबै जातभातको साङ्लोमा जकडिएका छौँ । दलित महिलाहरूको शरीर विशेष रूपमा नियमित हिंसाको शिकार हुने गरेको छ ।

उनले भनेकी छन्, उच्च जातिका महिलाहरूले जुन पीडा भोग्नुपर्छ, त्यसको तुलनामा दलित महिलाको अवस्था त अझ नरक नै छ । हामीले आफ्नै वर्गका पुरूषहरूसँग आन्तरिक संघर्ष गर्छौं, उच्च जातिका पुरूषहरूबाट अर्को चुनौती पनि बेहोर्ने कुरा पनि छँदैछ । किनभने उनीहरूलाई आफ्नो शक्ति दलित स्त्रीहरूमाथि देखाउने अधिकार छ भन्ने लाग्छ ।

शिक्षण पेशामा रहेकी लेखिका उनीका छ वटा कविता सङ्ग्रह आएका छन् । उनका कयौँ कविता तमिलनाडुका कलेजहरूमा पढाइन्छ र कयौँ भाषामा अनुवाद गरिएका छन् ।

सन् २०२१ मा दिल्ली विश्वविद्यालयले उनको लेखनलाई पाठ्यक्रमबाट हटाउने निर्णयको व्यापक आलोचना भएको थियो ।

उनले त्यो बेला प्रतिक्रियास्वरूप भनेकी थिइन्, यसरी कुनै महिलाको शरीरलाई शक्तिहरूले जानाजान नदेखेझैँ गरेर ध्वस्त पार्ने गरेका छन् । यसरी कविता हटाइँदा मलाई खासै आश्चर्य लागेको छैन । केन्द्र सरकारले सतातनमा विश्वास गर्छ र उसका लागि मैले लेख्ने कुराले तनाव दिन्छ नै । शक्तिशाली दलित आवाजलाई सधैँ ध्वस्त पारिन्छ । उनीहरूले हाम्रा सत्यता सामना गर्न सक्दैनन्, यसरी नै रोक्ने प्रयास गरिन्छ । तर हाम्रा कामले आफैँ बोल्ने गर्छन्, जति दबायो, त्यो उति नै मुखर हुन्छ ।