तपाईंले कहिल्यै सोच्नु भएको छ, भाषा हुन्थेन भने संवाद कसरी हुन्थ्यो होला ? भाषा हुन्थेन भने चित्र वा संकेतबाट हामीले संवाद गर्थ्यौं किनभने पहिले मानवले भाषा विकास गर्नुअघि संकेतको विकास गरेको थियो ।

अक्षरहरू पहिले कहाँ बने होला ? तपाईंले कहिलेकाहीँ सोच्नु भएको होला तर यसको कतै कुनै केही प्रमाण पाइँदैन । बरू इतिहासमा अहिलेसम्म सुरक्षित रूपमा देखिएको भाषाको विकासको प्रमाण चीनमा पाइन्छ । ईशापूर्व १४०० मा गोरूको जुरोमा कसैले अक्षर लेखेको हुनसक्ने अनुमान गरिन्छ । त्यसयता चीनमा ५० हजारभन्दा बढी अक्षर आविष्कार गरिएको छ । तीमध्ये साढे तीन हजार अक्षर सिकियो भने कुनै पनि लेखनीको ९८ प्रतिशत अंश पढ्न सकिन्छ । बालबालिकाहरूले चिनियाँ भाषा पूरै सिक्न कयौँ वर्ष लाग्छ ।

यसैगरी दक्षिणी फ्रान्सको लास्कु गुफामा २० हजार वर्ष पहिले कोरिएका २ हजार चित्र फेला परेको थियो । ढुंगामा उकेरिएका ती चित्र जनावर तथा मानवजस्ता थिएनन् । विशेषज्ञहरूले भने तिनलाई अक्षरहरूको शुरूवातका रूपमा मान्छन् । ती अक्षरहरू पाषाण कालका मानिसहरूको जीवनशैली अभिव्यक्त गरेकोका रूपमा विज्ञहरूले लिएका छन् ।

पहिलो अक्षर खोज्नेमा इराकीहरू पर्छन् । हालको इराकस्थित जन्मिएको मेसोपोटेमिया सभ्यता ईशापूर्व ३३ सय वर्ष पहिले तिखो ढुंगाको सहयोगबाट अक्षरहरू बनाउँथे ।

यसपछि मिश्रबासीहरूले अक्षर बनाउ । उनीहरूले आफ्नो लिपिलाई मेदू नेत्जेर नाम राखेका थिए । यसको अर्थ हो, ईश्वरका शब्द । प्राचीन मिश्रबासीहरूमध्ये पाँच प्रतिशतसम्म लेख्न जान्दथे । जो अक्षर लेख्न जान्दथ्यो, ऊ समाजको प्रतिष्ठित कहलिन्थ्यो ।

प्रायः सभ्यताले भाषा र अक्षर जन्माउँछन् । मायान सभ्यतामा पनि भाषासँगै अक्षरको उन्नत विकास भएको थियो तर सन् १५६२ ताका धर्मगुरू विसप डिएगो डे लान्दाले कयौँ पूजास्थल, तस्बिर तथा लेखिएका दस्तावेजहरू नष्ट गरिदिए । नामेट पारिएकामध्येमा जम्मा चार पाण्डुलिपिहरू मात्र बचेका थिए र त्यसमा बचेका चिजबिजहरूमध्ये जम्मा ८०० अक्षरहरू मात्र बुझ्न सकिएको छ ।

ग्रिक लिपिबाट विकसित भएको रोमनको ल्याटिन भाषा रोमन सभ्यता र साम्राज्य बढ्दै जाँदा लोकप्रियता पनि बढ्दै जान थाल्यो । मानिसहरूले आफ्नो आवश्यकताका हिसाबले भाषा र लिपि विकसित गरे । अहिले हामीले पढ्ने एबिसिडीका २६ अक्षरहरू मध्यकालमा जन्मिएको हो । ल्याटिनी अक्षरहरू संसारमा सबैभन्दा बढी प्रयोग गरिन्छ ।

प्रिन्टिङ प्रेसले क्रान्तिकारी काम गर्यो । भाषा र अक्षरलाई स्थायी रूप दियो । योहानेस गुटेनबर्गले जब प्रिन्टिङ प्रेसलाई व्यापक बनाए, उनले शुरूमा बाइबल छाप्ने काम पाए । दुई वर्षमा जम्मा २०० प्रति छाप्न सकेका थिए ।

रोचक कुरा तपाईंलाई थाहा छ ? अमेरिकाको हवाई राज्यको हवाई भाषामा जम्मा १२ अक्षर हुन्छन् र एउटा चिह्न हुन्छ । यत्ति जानेपछि उनीहरूले बोल्ने भाषा सिकिन्छ ।

तर दुःखको कुरा अहिले पनि संसारमा यस्ता कयौँ व्यक्ति छन्, जो साक्षर छैनन् । संसारभरिका ७७ करोड ४० लाख मानिसहरू लेखपढ गर्न सक्दैनन् । नेपाल, भारत, अफ्रिकाजस्ता मुलुकमा अझै पनि साक्षरता अभियान चलाइरहनु परेको छ । यही कुरालाई महसुस गर्दै र संसारलाई साक्षर बनाउन भनेर ८ सेप्टेम्बरका दिन विश्व साक्षरता दिवस मनाउने गरिन्छ ।