आजबाट हामी हरेक शनिबार एउटा सिनेमा हाम्रा पाठकहरूलाई पेश गर्नेछौँ ।

आजको सिनेमा दक्षिण भारतमा बनेको तर एउटा पञ्जाबी नाटकमा आधारित ‘घातक रात’ हेर्न सुझाव दिन गइरहेका छौँ ।

खासमा यो फिल्म एउटा रूसी कथा ‘द रिटर्न अफ द सोल्जर’मा आधारित हो । यो कथा यति रोचक थियो कि पछि रूपर्ट ब्रुकले अंग्रेजीमा कथालाई नाटकमा परिणत गरे । नाटकको नाम थियो, ‘लिथुआनिया’ । पछि यो नाटकलाई विभिन्न भाषामा अनुवाद पनि गरियो । जस्तो कि पञ्जाबी भाषामा यसलाई ‘आधि रात दा सुरज’का नाममा मञ्चन गरिएको थियो भने कन्नड भाषामा मोहन हब्बुले ‘आ कालारा रात्रि’ नाममा नै लेखेका थिए ।

यसलाई सन् २०१८ मा रिलिज गरिएको थियो । फिल्मलाई दयाल पद्मनाभनले निर्देशन गरेका छन् ।

यसमा कार्तिक जयरामले मुख्य भूमिका निभाएका छन् । कार्तिक जयराम कन्नड फिल्मका उम्दा कलाकार तथा नायकका रूपमा परिचित छन् । उनी यस फिल्ममा सहायक कलाकारका रूपमा साउथ इन्डियन इन्टरनेसनल मुभी अवार्डमा नामाङ्कित समेत भएका थिए । फिल्मले कर्नाटक राज्य फिल्म अवार्ड समेत हात पारेको थियो ।

यो फिल्मले यी चार वर्षमा निकै हलचल मच्चाइरहेको छ । सन् २०२० मा निर्देशकले तेलुगू भाषामा यही फिल्मलाई पुनः रिमेक गरेका थिए । फिल्मलाई चर्चित निर्माता अल्लु अरबिन्दले निर्माण गरेका थिए । तेलुगू भाषामा यसको नाम ‘अनागनाग ओ अथिधि’ राखिएको थियो भने सिधा ओटिटी प्लेटफर्म ‘आहा’मा रिलिज गरिएको थियो ।

यसको सफलता दर पनि राम्रो भएका कारण यसलाई तमिल भाषामा निर्माण गर्ने तयारी भइरहेको निर्देशक पद्मनाभनले हालै बताएका थिए । ‘कोन्डराल पाभम’ शीर्षकमा तमिल भाषामा यसलाई रिलिज गरिने बताइएको छ ।

यसको कथानक यस प्रकार रहेको छः

फायल फाेटाे

अचानक घरमा एउटा खाइलाग्दो युवा आइपुग्छ । घरमा बिहे हुन नसकेकी बुढी कन्या, जँड्याहा बाउ र मिहिनेती आमा छन् र उनीहरू घरमा यो जवान तन्नेरी आउँदा खुसी नै हुन्छन् किनभने ऊ घरमा बसेबापत र खाएबापत पैसा तिर्न राजी भएको छ। खाइलाग्दो केटो देखेर घरकी छोरी आकर्षित हुन्छे । छोरीले के पनि थाहा पाउँछे भने यो परदेशीले टन्न कमाएर आएको छ ।

एक साँझ, उसले आमासँग आफ्नो गरिबी हटाउन यो युवकलाई विष खुवाएर मार्ने र उसको गहना गुरिया लुट्ने योजना सुनाउँछे । आमा सहमत हुन्न तर ढिठ छोरीले येनकेन प्रकारेण सम्झाउँछे ।

तर जब खानेकुरामा विष हालिन्छ, नयाँ कुरा पत्तो लाग्छ । त्यतिञ्जेल यो परदेशीको मृत्यु भइसकेको हुन्छ । फिल्मको क्लाइमेक्स यसको ज्यान हो । फिल्म बनाउन कथा हुनुपर्छ भनिन्छ, त्यही कथाले यो फिल्मलाई अन्य फिल्मभन्दा फरक बनाउँछ ।

अर्को रोचक पक्ष चाहिँ, यो फिल्म शुरूमा केही सुस्त महसुस हुन्छ तर बिस्तारै यसले गति पक्डन्छ । सामान्य कथामा कसरी थ्रिल उत्पन्न हुन्छ वा गर्न सकिन्छ, यसले त्यो पनि सिकाउँछ ।

सटर्डे सिनेमामा आज हामी यही सिनेमा हेरेर मनोरञ्जन लिऊँ र सँगै केही सिकौँ पनि ।