
‘जे बोल्न पनि एउटा विरोधी ते-स्याउँछन्,’ एकजना गुरुले विश्वविद्यालय हाताभित्रै भने । प्रसङ्ग कुनै मन्तव्यको थियो, जसमा मन्तव्य कम, र काल्पनिक विरोधीको खोइरो बढी थियो । सत्तोसराप ।
एकछिन सोचेँ— होइन । फेरि सोचेँ— हो कि क्या हो ! यसै हो भन्न सकिनँ । हजार जिब्राको कल्पना मात्रै गरेर घर फर्किएँ । एउटै जिब्रोले त कहाँसम्म ग-यो । हजार भएका भए के हुन्थ्यो ? पहिलो कुरो त— कहाँ थन्क्याउनु त्यत्तिका जिब्रा ? डेराको घर, किताब थन्क्याउने ठाउँ नै पुगेको छैन ।
एकजना साथीले भने— ‘लाइब्रेरीलाई दिँदा भइहाल्छ नि किताब !’ मानौँ, देशका लाइब्रेरी हाम्रा नअटेका किताब थन्क्याउने गोदाम हुन् ।
सिद्धान्तमा त उहिल्यैदेखि वास्तविक–काल्पनिक विरोधी हुन्थे नै । धेरैजसो दर्शन र सिद्धान्त ‘प्रतिक्रिया’ मा आएका हुन् ।
— सोफिस्टहरूमै टेकेर सुकरात आए ।
— सुकरातकै ढाडमा टेकेर प्लेटो आए ।
— प्लेटोकै निधारमा टेकेर अरस्तु आए ।
— अरस्तुकै कानमा टेकेर आयो एउटा ठूलो जुलुस । कानमा ?
— अरस्तुलाई त कतिले टेके टेके ! गनेर साध्यै छैन । सूची बनाम छ— लोन्जाइनस, कान्त, देकार्त, डेबिड ह्युम, महिलावादीहरूको सम्पूर्ण बिरादरी । नाटकतिर पनि स्ट्रिनबर्ग र इब्सेनको नयाँ यथार्थवाद् तथा आर्थर मिलरको नयाँ दुखान्त नाटकको बुनोट अरस्तुको छातीमा टेकेरै उभिएको हो । अब त हाडाछाला मात्रै बाँकी होला, तै पनि रणमैदान छ नै । ऐया भनेको सुन्नुहुन्न ? एकछिन कान तिखारेर सुनौँ त ?
धर्मतिर हेरौँ न अलिकति, चुस्स ।
— ‘एनिमिष्ट’ भनिने जीववादी तथा पान्थेइस्ट भनिने अनिश्वरवादीहरूकै शिरमा टेकेर येशू आए ।
— यस्तै यस्तै बिरादरीमा टेकेर मोहम्मद आए ।
— मूर्तिपूजक र जातप्रथाका हिमायती हिन्दूहरूका करङमा टेकेर बुद्ध आए । नानक वा महावीर पनि आए ।
— अध्यात्मवादीहरूको कन्पारो टेकेर चार्बाक उभिए । ऋणै काडेर घिउ त मैले पनि खाएकै हुँ ।
— यस्तै चार्बाकका झड्केला पश्चिमतिर पनि भेटिए । हेडोनिस्ट आए । रमाइलो गर, मजा गर । मरेपछि त फलानै राजा ।
हैन, निरपेक्ष दर्शन वा सिद्धान्त त्यति छैनन् कि क्या हो दुनियाँमा ?
निरपेक्ष भनिएका धर्म, दर्शन र सिद्धान्त पनि कसैको विरोधमा नभए पनि कुनै काल्पनिक प्रतिशक्तिको सापेक्षतामा आएको बुझिन्छ । जस्तो कि, पापका विरुद्ध पुण्य । दानवका विरुद्ध देवता । नर्कका विरुद्ध स्वर्गको कल्पना । असतका विरुद्ध सत् । तमसोमा ज्योतिर्गमय ।
कुरो द्विचरको मात्रै गर्न खोजेको होइन । यहाँसम्म आइसकेको कुरालाई पुनः ठेल्दा ठेल्दा ठेल्दा ठेल्दा संरचनावादीहरूको भत्केको दरबारको छेउमा पु-याउन चाहेको पनि होइन । फर्डिनान्ड सुसुरको आत्मालाई पुनः जगाउन खोजेको पनि होइन ।
त्यसो भए खोजेको चैँ के त ? निहुँ ?
यसको उत्तर त दिन्थेँ कि, तर मौसम अलि ठीक छैन । अहिले दिन्नँ ।
सौन्दर्यजस्तो ‘निर्दोष’ चीजको कुरा गरौँ न ! निर्दोष ? कसरी निर्दोष ? सौन्दर्यकै निहुँमा काटाकाट…
सौन्दर्यमा मने, सौन्दर्यको परखको कुरा गरेको ।
लोन्जाइनसको ढोड्याङ भाँचेर कान्त आए ।
तिनलाई लडाउँदै डेभिड ह्युम आए ।
तिनलाई औँलो ठड्याएर एडमण्ड बर्क आए ।
तिनको खोइरो खनेर पियरे बर्डु आए ।
केके भने त यिनले ?
भो, सिद्धान्ततिर नलागौँ । कसैले पढ्दैन । ‘पढ्छुमु पढ्छुम्’ भन्छन्, तर पढ्दैनन् । हामी नै पढ्दैम् । गफै गरौँ ।
नढाँटी भन्दा मलाई पनि आउँदैन । उम्कन खोजेको मात्रै हुँ ।
तर यिनीहरू खूब लडे । निचोड चैँ के ? निचोड चैँ— जेरुसलेम कसको— इजराइलको कि प्यालेस्टाइनको ? कुरो त्यस्तै मात्रै हो ।
विज्ञानकै कुरा पनि काटिँदै, जोडिँदै, तोडिँदै, थपिँदै, संशोधन हुँदै आएको हो । जगत हावाले बनेको छ, आगोले बनेको छ, पानीले बनेको छ, चेप्टो छ, गोलो छ, केन्द्रमा छ भन्दै आजको थान्कोमा आएको हो । अज कहाँ कहाँ पुग्ने हो भोलि, के थाहा ?
अरू गाह्रै होला, ‘सोफिज वर्ल्ड’ चैँ पढौँ न एकबाजी । सजिऽऽऽऽऽलो छ । चुइगम चबाएजस्तो । दाँतै नुहँदा पनि, गिजैले पनि चबाइन्छ । अँ, फुकुन्डो बनाउन अलि गाह्रो होला !
होइन जेको पनि विरोधी हुन्छ त ?
कुरा बिजुलीजस्तै हो त ? पोजिटिभ र नेगेभिज चार्ज नभई नदौडने ? नबल्ने ?
कुरो चुम्बकजस्तै हो त ? दुई ध्रुव हुनैपर्ने ?
यो ‘पोस्टमोडर्न’ भन्ने कुरो बुझेको भए मरिजानु तर यसमा मैले एउटा कुरा चैँ बुझेँ । गोज्याङ्ग्राले बुझ्यो भने त फेरि मज्जैले पो बुझ्छ त ! कुरो के चैँ बुझेँ भने, हाम्रो देशमा, विशेष गरी राजनीतिमा ‘सहमति, सहमति, सहमति, सहमति, सहमति’ भनेको सुनिन्छ । वास्तवमा, १७६ तिर फर्केका दिमाग, कसरी सहमतिमा आए ? पोस्टमोडर्न चिन्तनमा सहमति भन्ने नै हुँदैन । त्यो कुरो विविध मान्छेका विविध मन र मस्तिष्कको स्वभावमै हुँदैन । ‘लौ न त, मान्दिम्’ भनेर, खुम्चेर मान्देका हुन् ।
विरोधी नै नभने पनि कुरो नमिल्ने जहाँ पनि हुन्छन् । त्यसैले सहमति भनेको सम्झौता होला । अलिकति यताकाले छोड्ने, खुम्चेरै भए पनि । अलिकति उताकाले छोड्ने, दबेरै भए पनि ।
‘सहमति’ भित्रको चिरो, पाँच–छ महिनाभित्र त ठूलो धाँजो बनेरै निस्कन्छ । निस्केकै छ त ? नत्र बाह्र भाइले छापेका समाचार हेरम् न !
एउटा विरोधीको कल्पना गर्नु मान्छेको स्वभावमै छ ।
यसको मनोवैज्ञानिक पक्ष पनि छ, जसले लेखनलाई सायद बढी प्रभावित पा-यो ।
जोसेफ क्यम्पबेल र नोर्थोप फ्राइले बाँदरलाई लिस्नो लाइदिए । नित्सेले ठेलेर लिस्नो चढाए बाँदरलाई । बाँदरको हालीमुहाली भयो घरको छतमा । मान्छेले लुगा सुकाउन जानै सकेनन् । भिजेकै लुगा लगाएर हिँडेको युगौँ भइसक्यो ।
कसरी ?
फ्राइ र क्याम्पबेलहरूले कुनै पनि सिर्जना, विशेष गरी कथा वा आख्यानका आद्यप्रारूप खोतले । भनौँ न, कथा लेखनको पुरानो कुनै फर्मुला । तिनमा एउटा भयो ‘गुड भर्सेस इभिल’ । यानि, राम्रो र नराम्रोबीचको द्वन्द्व । यो कुरा त शास्त्रमा देखियो नि ! देउता र दैत्य । सत् र असत् । सत्य र असत्य ।
अर्को झ्याउ नित्सेले छोडेर गए । कुरो ग्रिसेली मिथकबाट उठाए । एपोलो, यानि राम्रा देउताको कुरा ल्याए । डायोनिसिस यानि अलि उद्दण्ड देउताको कुरा ल्याए । तिनी दुवैका सास मान्छेभित्र छ भन्दिए । यानि सत् पनि असत् पनि । तिनको घर्षण सिर्जनाको स्रोत हो भन्दिए । दुखान्त नाटकका सम्बन्धमा त ठोकुवा नै गरे ।
उनी बितगए । परिणाम भोगिरहका दुःखी आत्मा हामी नै हौँ । व्याख्या नि !
नकाम लियो टोल्स्टोयले गरे । एउटा कथा ‘द इम्प एण्ड द पिजेन्ट्स ब्रेड’ मा कस्तो तर्क गरेभन्दा नि, यो रक्सीको जातै बैगुनी ! पहिलो गिलासले खासै केही गरेन रे ! दोस्रोले मान्छेभित्रको स्याल जगायो रे ! तेस्रोले ब्वाँसो, चौथोले सुँगुर जगाइदियो रे ! चौथोले…
भो, आत्मवृत्तान्त लेखेको हो र ?
पूर्वमा होस् कि पश्चिममा । उत्तरमा होस् कि दक्षिणमा । यस तर्कले सिर्जनामा के लेख्न सिकायो भने राम्रो पात्र आउनुपर्छ, र ऊ आएसँगै नराम्रो पनि अनिवार्य आउनै पर्छ । एउटा जमाना थियो, फिल्ममा हिरोको कल्पना गरेपछि भिलेनको कल्पना अनिवार्य । ‘फलानो फिल्म लागेको छ’ भनेपछि प्रश्न आइहाल्थ्यो — को हिरो ? को भिलेन ?
‘ब्याड’ भन्ने चलन थियो हाम्रातिर । ‘अमरीश पुरीले खाली ब्याड खेल्छ’ भन्ने । अथवा सुनिल थापालाई त्यो बिल्ला भिराउने । हिरो र भिलेनबिनाको फिल्म सोच्नै नसिकने । हिरो आएपछि हिरोइन पनि आइहाल्ने । अनि भिलेनले हिराइनमाथि आँखा गाड्ने अनि ढिसुम ढिसुम ।
यो हिरोबिना, भिलेनबिना र ढिसुम ढिसुमबिना फिल्मको कल्पनै भएन वर्षौंसम्म । आज पनि यसको अवशेष छ, तर धेरै हदसम्म हट्दै गएको छ ।
लेख्य–साहित्यमा अलि पहिल्यै मक्किएको हो कि ?
अलिकति काम–नकाम त फ्रायडले पनि गरेकै हुन् । भन्दिए— मान्छेभित्र उत्तम, मध्यम र अधम गुणहरूको घर्षण छ । जुनले जित्छ, त्यही हावी । फेरि भने— सिर्जना भनेको मान्छेभित्रैको कुण्ठा, दमित इच्छा वा घर्षणको प्रकटीकरण हो । त्यसो हो भने त हिरो र भिलेन आउने नै भए नि?
भन्न पो मिल्दैन, तर सधैँ हावी त अधमै त हुन्छ नि मान्छेभित्र । हरियो मकैको खेतको छेउमा ‘नखा है’ भने छोड्दिएको गोरुको जस्तो मन । ‘हुन्छ, खान्नँ’ पनि भन्ला गोरुले तर थाहा छ…
गोरुको कुरो ल्याएर अलिकति जोगाइयो है…। कुरो खुस्काइएन भनौँ न !
बुद्धलाई कत्रो कसरत परेको थियो ‘मार’ लाई मार्नलाई ? बाबुले गणिका खन्याइदिँदा पनि हल्लिन चाहिँ हल्लिएनन् है उनी । त्यो कुरा चैँ मान्नैपर्छ हामीले ।
यो विरोधी सोच, व्यक्ति, ग्रन्थि वा गुणको लामो कथाले संरचनावादीहरूलाई अधिकांश कुरामा दुई ध्रुव वा दुई कोणबाट सोच्ने बाटो दियो । धेरै दशक हामीले यो कुरो ध्रुवसत्य हो भनेर पत्यायौँ । हुन त कात्तिकमा सर्पलाई सर्प भन्यो भने पाप लाग्छ, लामकीरो भन्नुपर्छ भन्ने कुरो पत्याएर आएका हामी । यो किन नपत्याउनु ? क्राँक्राको चिचिलोलाई चोर औँलाले देखायो भने कुहिन्छ, कान्छी औँलाले देखाउनुपर्छ भन्दै आएको हामी । आबुई, हामीले यत्तिको कुरो नपत्याउनु, त्यो हुन सक्छ ? नहीं ये हो नही सकता…कि तेरी…।
उक्केरा परम्पराले पनि नलाएको होइन ।
होली आउँछ । झरफुस, लत्ता कपडा, पुराना बाँस, केके हो केके भेला परेर होलिका बनाउने, जलाउने । ताली मार्ने पररर ।
तिहार आउँछ । बिचरा निर्दोष ओक्खरले मार खान्छ, ‘जेमराज’ हुनुको नाममा ।
चौथी हानेको पोल नखोलौँ । ढुङ्गानी आमैको केराघारी सखाप पारेको ऐलेजस्तो लाग्छ बाबै !
हजमा जान्छन् साथीहरू । मक्कामा अल्लाहलाई अटेर गर्ने प्रवृत्तिका प्रतीक तीन दिवारहरूमा ढुङ्गा हान्छन् ।
प्रतीक नै सही, दुश्मन चाहिने । राक्षस चाहिने । विरोधी चाहिने ।
एउटा रोग बनेर आयो । रोग ।
सिर्जनात्मक लेखनमा यस रोगको प्रकोप ज्याद्रो छ । यसको भासमा फसेका हामी धेरै लेखकसँग
निरपेक्ष तर्क छैन । सापेक्षित कुरो मात्रै छ । आफ्नै कुरो छैन । अरूको कुराप्रतिको प्रतिक्रिया छ । नयाँ ढाँचा छैन । पुरानो ‘सत् भर्सस असत्’ को प्रारूप छ, त्यसमा आफ्नो सिर्जनालाई ठ्याक्क फिट गर्नुपर्ने बाध्यता छ । बालसाहित्यतिर त नि, बिजोकै पो छ त ! अधिकांश साहित्यमा कुनै न कुनै रूपमा राम–रावण घर्षणको बाक्लो लेप छ ।
— शास्त्र लेख्नेले घुमाइफिराई पाप भर्सेस पुण्य लेखे । अध्यात्मवाद भर्सेस भौतिकतावाद लेखे ।
— पुरुषले पुरुषको कुरा लेख्दा, पुरुषी कुरा वास्तविक वा काल्पनिक महिलाको सापेक्षता लेखे ।
— महिलाले महिला हुनुका विशिष्ट अनुभव वा अनुभूति लेख्ने नामामा पुरुषको खोइरो लेखे ।
— अश्वेतले आफ्नो सौन्दर्य र दर्शन लेख्दा कुइरेको मोच नमारी अगाडि बढ्नै सकेनन् ।
— उत्तरउपनिवेशी साहित्यको ९० प्रतिशत काम साम्राज्यको खोइलो उतार्नमै गयो । धेरै पछि हो भित्री कुरा लेख्न थालेको तिनले । ९० चैँ नापेरै भनेको होइन, अनुमान मात्र ।
— मार्क्सवादी साहित्यको त प्राण नै वास्तविक वा काल्पनिक ‘सामन्त’ वा ‘शासक’ को अस्तित्वमा उभिएको छ ।
— फरक क्षमताको अध्ययन, लैङ्गिकताको अध्ययन, सबाल्टर्न अध्ययन….सबै सबैमा एउटा जारसन्ध त जसरी पनि उपस्थित छ । अनिवार्य !
— अचेल सक्रिय ‘पहिचान समूह’ लाई आफ्नो पहिचानको कुरा गर्न एउटा दृश्य–अदृश्य दुश्मन चाहिन्छ ।
— कवितातिर हेर्छु । एउटा ‘महाशय’, ‘महोदय’ वा ‘तिमी’ ले यसरी उपनिवेश गरेको छ, कि छोडेरै जाँदैन । यस्तो कामको उपनिवेशक छ, कि उः नभई कवितै हुँदैन । सारमा कुरा यस्ता आउँछन्— तिमी अनैतिक, म नैतिक । तिमी भ्रष्टाचारी, म सदाचारी । तिमी देशद्रोही, म देशभक्त । झण्डैझण्डै चार सालका शहीदजत्तिका भनौँ न । तिमी धोकेबाज, म सँचो प्रेमी । तिमी आततायी, म करुणानिदान । तिमी फोहोरी, म दिलमै पवित्र गङ्गा बगाएर हिँडेको मान्छे । गीततिर हेर्छु— धोकेबाजको जुलुस छ । निठुरी त कति कति ! प्रभू, मलाई भेडो बनाऊ । अगाढि बढ्न सकिनँ ।
जहाँ कथाले द्विचर माग्छ, त्यो माग्छ । उपाय छैन ।
तर, जहाँ कथाले द्विचर माग्दैन, त्यहाँ पनि जबर्जस्ती द्विचरहरूको सृष्टि लेखकीय स्वास्थ्यका लागि त्यति स्वस्थ हुँदैन । द्विचरको ट्युमर बढ्दै जाँदा भँडास, आक्रोश, श्लाघा र घमण्डको क्यान्सर बढ्दै जाने खतरा हुन्छ । लेखक कुनै पनि व्यथितिमा लागि आफू कदापि होइन, अर्को कुनै वास्तविक वा काल्पनिक दुश्मनलाई जिम्मेवार बनाउन पुग्दछ । त्यसो हुँदा इमानदार लेखन आउँदैन । लेखकले सधैँ एउटा काल्पनिक भिलेन खडा गरिदिएर आफू भाग्ने मौका पाइहाल्छ । अनि सबै लेखक भगवान् बन्न पुग्छन् ।
भएकै छ नि—
- यो देशको व्यथितिमा मेरो पनि हात छ भनेर कतिजना कविले भन्न सके ? भन्नै परेन । उहाँ — महाशय, महोदय, दक्षिणको छिमेकी, उत्तरको छिमेकी, दालाल, भ्रष्ट, समान्त…यो सूची लामो छ । देश तिनले बिगारेको भनेपछि कवि कञ्चन । लगभग लगभग मानसरोबरकै पानीजत्तिकको । कविले गल्ती गर्न सक्छ र ?
- महिला पीडित, पुरुष दोषी । पुरुष कुण्ठित, महिला दोषी ।
- परिवार पीडित, छिमेकी दोषी । छिमेकी आयो कि हैट, मार्नै आएजस्तो चित्रण पनि पढेँ कतै, पछिल्लो समयका कतिपय सिर्जनामा । छिमेकी मने दुश्मन । तर यो एउटा पक्ष, र धेरै पूर्वाग्रही पक्ष हो । गाउँटोलमा छिमेकी भन्नु सास हो । प्राणवायु हो । अँ, प्राणवायुमा अलि अलि प्रदूषण जहाँ पनि हुन्छ । धुवाँ वा खार भनौँ न ।
- जाति, जनजातिका कुरा । भिलेन उः पर छ— दरबारमा, संसदमा, मठमन्दिरमा, इतिहासमा, संस्कारमा । छ नै ।
- प्रेमी पीडित प्रेमिका दोषी । प्रेमिका पीडित प्रेमी दोषी । यो फेब्रुवरीको दोस्रो साता, अलि बिस्तारै बोलुम कि ?
- गाउँ पीडित सहर दोषी । सहर पीडित पूँजीवाद दोषी । पूँजीवाद पीडित साम्यवाद दोषी । साम्यवाद पीडित विसर्जनवाद दोषी । सारसङ्ग्रवादतिर चाहिँ गइनँ । शब्दै कति लामो !
- पश्चिम पीडित पूर्वले । पूर्व पीडित पश्चिमले । उत्तर–दक्षिण झालेमाले । चरी अयो कोकले ।
थपौँ है यो सूचीमा ! आफूलाई यत्ति नै आयो । यति पनि आयो भनौँ न !
परिणति के भयो त ?
लेखनमा ‘जेन’ यानि स्रष्टाको निजी चिन्तनको उज्यालो नित नित कमजोर हुँदै गएको अनुभव गरिएको छ । ‘इपिफेनी’ यानि कुनै रहस्यको अनपेक्षित तर रोमाञ्चक उदघाटन । छैन अचेल । सबै नक्सा कोरेर बनाइएका घरजस्ता । कुनै विशेष अवस्था, लिङ्ग, जात वा वर्गको नितान्त मौलिक चिन्तन, अनुभव, दर्शन वा दृष्टिको लेप, अचेलको साहित्यमा पातलो बनेर आएको छ । सेतो सेतो त छ, तर न दूध हो चिया बाउनलाई, न त चौलानी हो गुन्द्रुकमा झोल बनाउनलाई । के हो के, बहुत पातलो !
पानीकै झोलले चलाउनुपरेको छ गृहस्थी । पानीको झोल नहुने त होइन है, फेरि ।
‘सामाजिक’ भनिएका आख्यानतिर हेर्छु ।
— सहरले झटकारेका गाउँले पात्रको बिजोग ।
— परम्पराले सेकेका महिला पात्रको बिजोग ।
— जमिन्दारीले बसाइँ सर्न बाध्य पारेका आदिवासीको क्याराभान । निकै लामो पो छ त !
— जातप्रथाले झट्कारेर नाङ्गेझार पारेका पात्रहरूको सङ्घर्ष कथा ।
— धर्मले डामेका पात्रहरूको सम्मेलन ।
— बजारले । सत्ताले । विकासले । अविकासले । सस्तिएको जीवनले । महँगिएका साधनले ।
यी कुरा लेख्न क्यामेरा, टेप रेकर्डर र एउटा मोबाइल भए पुग्छ । त्यति सिर्जनशीलता वा चिन्तन चाहिँदैन । अध्ययन त कति पनि चाहिँदैन ! भाषा अर्काले मिलाइदिइहाल्छ पैसा तिरेपछि । कुरा मिले नमिलेको रुजु गर्न अखबार हेरे भैगयो !
प्रश्नः जमानै समाज लेखनको आयो । यो नलेखे के लेख्नु ? अष्टावक्र गीता ?
होइन । यो सबै आवश्यक छ । कथामा पनि कवितामा पनि ।
तर, यही मात्रै आइरहेको छ ।
कविता धेरैजसो ‘प्रोटेस्ट पोइट्री’ भइरहेको छ ।
आख्यान धेरैजसो द्वन्द्व–दर्पण बनिरहेको छ ।
त्यसैले, धेरैजसो सिर्जना आक्रोशको विरेचन, घाउको प्रदर्शन, भिक्टिम कार्डको खेलो, र सबैका लागि एउटा आदर्शवादी तथा तिलस्मी समाधानको दस्तावेज बनिरहेको छ । जीवनको अर्को उज्यालो खोज्न अचेल पाठक सिर्जनात्मक साहित्य होइन ‘मोटिभेसनल’ पुस्तक खोज्न थालेका छन् । नपत्याए कुनै ठूलो पुस्तक पसलमा बसेर दुई घण्टा हेरौँ । अथवा पसलेलाई सोधौँ । स्वेट मार्डेन फेमस । शिव खेडा फेमस । रबिन शर्मा फेमस । दीपक चोपडा फेमस । सन्दिप महेश्वरीको युट्युब, सदगुरुको र केही हदसम्म विकासानन्दको फेमस। सौनक भट्टको किताब आएको छैन र मात्रै…कि आइसक्यो ? सम्झौता पो भइसक्यो कि ?
रोबर्ट कियोस्कीको ‘रिच ड्याड पुअर ड्याड’ को त रेकर्डतोड बिक्री !
एकचोटि त मैले पनि झण्डै…तर आफैँ पनि प्रेरित नहुने मेरो भाषणले के नै पो….।
लेखकका युट्युब यसो हेर्छु । साढे तेह्रजति भ्यु आएको पाउँछु ।
प्रेरक पुस्तकको माग निरन्तर बढ्नुले एउटा सङ्केत जरुर गरेको छ । सो के भने, मानिसहरूमा निराशा व्याप्त छ, र उनीहरू उज्यालो खोजिरहेका छन् । जीवनको पारिलो पाटो खोजिरहेका छन् । उत्साह र प्रेरणा चाहिएको छ । तर, साहित्यतिर त्यो, दुःखका साथ भन्नुपर्छ, त्यति छैन । यता बढी प्रोटेस्ट छ, विभिन्न नाममा । र यता वास्तविक र काल्पनिक भिलेनको सम्मेलन छ । बैठक अँध्यारैमा बढी हुन्छ । उज्यालोसँग डराउँछ कि क्या हो समकालीन साहित्य ? अँध्यारोमा केके केके सम्भव छ, घरमा ढाँटेरै भए पनि । प्लेटोको ‘एलेगोरी अफ अ केभ’ पढौँ न एकचोटि । अहिले पनि अर्थपूर्ण । र सायद भोलि पनि ।
जीवन सुधार्ने ध्येय नै हो लेखकहरूको । त्यो बुझिन्छ । तर किन किन आजको साहित्यबाट जीवन निरन्तर भागिरहेको छ । भागेको भागेकै भागेको भागेकै…सिमानासम्मै पुगिसकेको छ । अझै एक धक्का दिने हो भने बङ्गालको खाडीमा नपुग्ला भन्न सकिन्न ।
धेरै कुरा अखबारको जिम्मा लाइदिएर थोरै उज्यालोतिर आउन मिल्दैन ? सबै कुरा कुनै ज्ञात–अज्ञात दुश्मन वा विरोधीकै सापेक्षतामा उम्रन्छ भन्ने पनि होइन । दुश्मन छ र नै जीवन सुन्दर छ भन्ने पनि तर्क नआएको होइन । तर त्यो जीवन हेर्ने एउटा पक्ष हो । मनु मञ्जिल वा मिलन समीर दुवैलाई पक्का थाहा छ, दुश्मनको बिगबिगी बढ्यो भने बोर हुन्छ । एउटासम्मलाई चाहिँ, एउटा दूरीमा बसेर माया गरिरहन सकिएला । करेसाबारीमा गुँडुल्किएको सर्पलाई अलि परैबाट हेर्नुको मज्जाजस्तो । त्यो सर्प हामी सुत्ने कोठैमा पसोस् त, कवितासविता भविता भइदिन्छ । ‘डाइनामिक सब्लाइम’ एउटा सम्मानजनक दूरीको सिद्धान्त हो । काखैको सिद्धान्त चैँ होइन । काखमा दुश्मन त्यति सुहाउँदो देखिँदैन । काखमा त शिशुले खेलेको नै सुन्दर देखिन्छ सायद ।
बरू यात्रीप्रकाश पाण्डेले ‘सइन’ मा गजब गरे । दुश्मनीका पर्खाललाई खरानीको पर्खाल हुन् भने । फु गरेर लडाइदिए उनका पात्रले । एकअर्कालाई मार्न उठेका हातले अँगालो मारे । आदर्श नै सही, यो उज्यालो आदर्श हो ।
अलिकति उज्यालो आयो आख्यानको धरतीमा ।
काल्पनिक दुश्मनचाहिँ लेखकहरूका लागि गलासम्म भरिएको विष ओकल्ने ठाउँ भइदियो ।
बरू त्यो झुलो र चकमक भएको भए हुन्थ्यो कि ?
अथवा, समकालीन साहित्यमा झुलो र चकमकबिना पनि उज्यालोको झिल्को बाल्ने माध्यम कतै भेटिन सक्छ कि ?
त्यो खोजी जारी छ ।
मुसाको सिङको खोजी हुने खतरा पनि नभएको चाहिँ होइन है !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

