बेलायतको चर्चित साहित्य पुरस्कार वुमन्स प्राइज फर फिक्सनले गैरआख्यानका लागि अर्को विधा पनि थप्ने जनाएको छ । २८ वर्ष अघि महिलाका लागि मात्र यो पुरस्कार स्थापना गरिएको थियो ।

पछिल्लो समय एक अध्ययनले गैरआख्यानमा कलम चलाउने महिलाहरूले निकै कम अखबारमा ठाउँ पाउने निष्कर्ष निकालेपछि तिनका लागि एउटा बेग्लै विधामा पुरस्कार स्थापनाको पहल थालिएको हो ।

कुनै पुरस्कार पाएपछि महिलाहरूले तीन गुणा बढी अखबार तथा मिडियामा स्थान पाउने गरेको समेत अध्ययनले देखाएको छ ।

चर्चित अभिनेत्री केट मसले महिलाहरूको आख्यानमा सहभागिता बढाउन, उनीहरूलाई चर्चित बनाउन तथा साहित्य क्षेत्रमा महिला लेखनको प्रशंसक बढाउन यो पुरस्कारको स्थापना गरेकी थिइन् । पछिल्लो समय गरिएको अध्ययनमा महिलाद्वारा लेखिएका गैरआख्यानात्मक कृतिको समीक्षामा निकै कम ठाउँ अखबार वा मिडियाहरूले दिएको पाएपछि पुरस्कृत कृतिमाथि बाध्य भएर चर्चा हुने भएकाले यो पुरस्कार स्थापना गर्न लागिएको बताइएको हो ।

आख्यानका लागि यही पुरस्कार स्थापना गर्नुअघि गरिएको एक सर्भेमा प्रख्यात पुरस्कारका लागि छनोटमा परेका कृतिहरूमा महिलाहरूका कृतिलाई निकै कम ठाउँ दिने गरिएको थियो । बेलायतमा ६० प्रतिशत कृतिहरू महिलाका हुने गरेका छन् । यस्तै पुस्तक किन्नेमा महिलाहरू नै अगाडि छन् । बेलायतका ७५ प्रतिशत महिलाहरू पुस्तक किन्ने गर्छन् ।

गत एक दशकमा १० मध्ये सात पुरस्कृत लेखकमा पुरूष छन् । जबकि छोटो सूचीमा महिला नै बढी हुने गरेका छन् ।

साहित्य भनेपछि हुरूक्क हुने अभिनेत्री केट मस भन्छिन्, ‘किताब किनेर पढ्नेमा महिला बढी छन् । महिलाका किताब बढी बिक्री हुन्छन् । प्रायः महिलाहरूले पुरूष तथा महिला दुवैको बराबर पुस्तक किन्ने गर्छन् जबकि पुरूषहरूले महिलाका पुस्तक प्रायः किन्न रूचाउँदैनन् । यसका बाबजुद पनि महिलाहरूले लेखिरहेका छन् । तर उनीहरूको क्षमताको कदर भने भएको छैन ।’

पछिल्लो सर्भेअनुसार १९ प्रतिशत पुरूषहरूले मात्र महिलाद्वारा लेखिएका पुस्तक खरिद गर्ने गरेका छन् ।

अभिनेत्री मसको प्रयासबाट आउँदा तीन वर्षका लागि गैरआख्यान कृतिका लागि हरेक वर्ष ३० हजार पाउन्डको पुरस्कार रकम सहयोग गर्न चार्लोटी अटकेन ट्रस्ट तयार भएको छ । यो पुरस्कार अंग्रेजी भाषामा महिला लेखकले बेलायतमा प्रकाशन गरेका पुस्तकहरूमध्येबाट पुरस्कारको दाबी गरेका पुस्तकका लागि मात्र दिइनेछ ।

विमेन्स प्राइज ट्रस्टले गराएको सो अध्ययनले गैरआख्यानात्मक विधामा दिइने सात प्रख्यात पुरस्कारहरूमध्ये एक दशकमा ६२ जना पुरस्कृत भएका छन् । तीमध्ये महिलाको प्रतिशत जम्मा ३५.५ रहेको छ ।

गिफोर्ड प्राइज फर ननफिक्सनमा त गत आठ वर्षयता जम्मा दुई जना महिला, क्याथरिन रन्डेल र हेली रूबेनहोल्ड मात्र पुरस्कृत भएका छन् ।

गत वर्षको अक्टोबर र डिसेम्बर महिनामा १२ वटा प्रख्यात बेलायती अखबारहरू खङ्गाल्दा २६.५ प्रतिशत गैरआख्यानात्मक समीक्षा मात्र महिलाहरूको छापिएको थियो ।

२०२२ का उत्कृष्ट गैरआख्यानात्मक कृतिका लागि सिफारिस गरिँदा ३४ प्रतिशत पुस्तकहरू मात्र महिलाद्वारा लेखिएका परेका थिए ।

यिनै वस्तुस्थिति हेर्दै ट्रस्टले घोषणा गरेको गैरआख्यान पुरस्कारको स्वागतमा महिला लेखकहरूले ट्रस्टलाई धन्यवाद दिएका छन् । इतिहासकार जेनिना रामिरेज भन्छिन्, महिलाका लागि आख्यान पुरस्कार घोषणा गरेपछि परिस्थिति धेरै परिवर्तन भएको छ । यो पुरस्कारको स्थापनापछि गैरआख्यानमा पनि यस्तै प्रभाव पर्ला त ? यसमा म निश्चित छैन । तर के पक्का छ भने महिला लेखकले धाँसु काम गरेका छन् र निकै राम्रा गैरआख्यान पुस्तक लेखेका छन् । तिनलाई चिनाउन यो पुरस्कारले भूमिका खेल्ने कुरामा भने म पक्का छु ।’

राम्रा गैरआख्यान पुस्तक लेखिएका भए पनि पुस्तक पसलमा तिनको राम्रो प्रदर्शन नहुनेजस्ता साना साना कुराले पनि पुरस्कारमा भूमिका खेल्ने भएकाले यस्ता साना कुरामा पनि पुस्तक पसलेहरूले ध्यान दिनुपर्ने समेत सामाजिक इतिहासकार रूबेनहोल्ड बताउँछिन् । यस्तै उनको अध्ययनमा विज्ञान, इतिहास र अन्य ठूला, राम्रा र महत्वपूर्ण विषयमाथि पुरूषहरूलाई लेख्न हौस्याइने तर महिलाहरूलाई प्रोत्साहनको अभावसमेत देखिएको छ । महिलाहरूलाई चाहिँ साना विषय, कम खोजिने विषय दिइने गरेको समेत उनको गुनासो छ ।

अभिनेत्री केट मस भन्छिन्, ‘यो वर्षका लागि १६ वटा विभिन्न पुस्तकको छोटो सूची जारी गरिनेछ । यो पुरस्कारले ओझेलमा पर्ने गरेका लेखिकाहरूलाई प्रकाशित तुल्याउने छ र यो पुरस्कारपछि लेखिकाहरूको पारिश्रमिक र ठूला, राम्रा र महत्त्वपूर्ण विषयमा लेख्न लगाइनेमा म विश्वस्त छु ।’

‘यो पुरस्कारले राम्रा पुस्तकलाई व्यापक चर्चा दिलाउनेछ र पाठकहरूले नसुनिएका लेखक तथा तिनका पुस्तकहरूबारे जानकार गराउनेछ । केही मौखिक प्रचार र केही पुरस्कारका कारण राम्रा पुस्तकहरू सर्वसाधारणका दिमागमा अंकित गर्ने विश्वास छ,’ उनको भनाइ छ ।

‘सञ्चार माध्यमहरूमा लेखिकाका गैरआख्यान कृतिहरूको समीक्षा दर बढाउन मैले केही गर्न सक्दिनँ,’ उनले भनिन्, ‘तर गज्जबका किताबहरूलाई हामीले पुरस्कृत गर्न चाहिँ सक्छौँ भन्ने यो पुरस्कारको उद्देश्य हो ।’

के लेखिकाका पुस्तक समीक्षा नै हुँदैनन् त ?

बेलायती अखबार टाइम्समा रबी मिलेनले पुस्तक समीक्षा गर्ने गरेका छन् । यो खबर छापिएपछि उनले टिप्पणीमा लेखेका छन्, विमेन्स प्राइज ट्रस्टले गरेको सर्भे र प्रकाशित नतिजाले द टाइम्स पत्रिकामा कम छापिने महिला लेखकको दोषी आफू वा समीक्षकहरू नरहेको प्रस्ट पारेका छन् । टिप्पणीमा उनले भनेका छन्, लेखिकाका पुस्तकमाथि कम टिप्पणी वा समीक्षा लेखिनु आफू महिलाप्रति अनुदार भएर नभएको उनको प्रस्टोक्ति छ ।

प्रकाशकले जे छाप्छन्, तीमध्येबाट समीक्षा छापिने भएकाले तुलनात्मक महिलाका पुस्तक कमै प्रकाशन हुनेतर्फ अनुसन्धानले आँखा चिम्लिएको उनको आरोप छ ।

टाइम्स पत्रिकाले टाइम्स लिटररी रिभ्यु नामक साप्ताहिक पत्रिका निकाल्छ । जसमा यही फेब्रुअरी महिनाभरि २७ पुस्तकमध्ये जम्मा आठ पुस्तक महिलाले लेखेको र तिनको समीक्षा छापिएको उनको भनाइ छ । प्रतिशतका आधारमा यो १९ प्रतिशत हुन्छ । रिभ्युकी सम्पादक नान्सी स्लाडेकले लामो समयसम्म सेवा गर्दा पक्कै पनि महिलालाई स्थान नदिने वा महिलाप्रति विद्वेष राख्ने काम पक्कै नगरेको रबीको टिप्पणी छ । स्वयं महिलाद्वारा लिखित गैरआख्यानात्मक कृतिहरू प्रकाशकले कम छाप्नु नै अखबारमा कम ठाउँ पाउनु मुख्य कारण रहेको उनको जिकीर छ ।

यो महिलाप्रति द्वेष होइन किनभने प्रकाशन संस्थामा ५५ प्रतिशत महिलाहरू उच्च पदमा कार्यरत छन् । बरू महिलाहरूमा कल्पनाशीलताको अभाव नै पो हो कि ? अहिलेसम्म गैरआख्यान पुरूषहरूकै काम भनेर महिलाहरूले कम ध्यान दिएको हो कि ?

रबी भन्छन्, ‘मेरो विचारमा परिवर्तन विस्तारै आउँछ । विज्ञानका प्रयोगशालाहरू, इतिहासका विभागहरूमा बिस्तारै नयाँ पुस्ता छिर्दैछ । त्यहाँ पहिला पुरूषहरू हावि थिए, अहिले त्यो तोडिएको छ । पछिल्लो समय मैले पढेका सुन्दर पुस्तकहरू महिलाद्वारा लेखिएका छन् । उदाहरणका लागिः एना किएको द रेस्टलेस रिपब्लिक, जेसी चाइल्डको द सिज अफ लोयल्टी हाउस, क्याथरिन रन्डेलको सुपर-इन्फिनिटः अ बायोग्राफी अफ जोन डन रहेका छन् ।’

यो पुरस्कारको घोषणासँगै पुराना मान्यता क्रमशः भत्किने र नयाँ कुरा अस्तित्वमा आउन सक्छ । महिलाहरूको आकर्षण अब गैरआख्यानमा बढ्न सक्ने रबीको धारणा छ । उनी भन्छन्, ‘सन् २००० को एक दशकमा एक हजार बेस्टसेलर पुस्तकमध्ये ६२९ वटा पुस्तक महिलाद्वारा लेखिएका छन् । यो बढोत्तरी ७५ प्रतिशतले हो । अब यस्तै ताल हो भने मेन प्राइज फर फिक्सन राख्नुपर्ने दिन नआउला भन्न सकिन्न ।’