अलिकति अनौपचारिकताः

मेरो हातमा यतिबेला विक्रम भक्त जोशीको ‘चोभार ब्लुज’ छ । ब्लुज शब्दले मलाई सिधै गाउँतिर पुर्याउँछ । म नजानिँदो पाराले नोस्टाल्जिक बन्छु । पुराना यादहरू ताजा भइदिन्छन् । त्यसो त रोशन शेरचनको ‘चम्पारण ब्लुज’ र बुद्धिसागर चपाइँको ‘कर्नाली ब्लुज’ ह्याङ्ग ओभर हुनुपर्छ मेरो दिमागमा । हुन्छन् नि कतिपय नामहरू सुन्दै प्रिय लाग्ने खालका, त्यस्तै हो शब्दको शक्ति भनेको ।

सानैदेखि पढ्नु मेरो प्यासन थियो, अहिले पनि छ, मलाई लाग्छ यो जीवनपर्यन्त रहने नै छ । यही सिलसिलामा मैले ‘चोभार ब्लुज’को जीवनयात्रालाई लिएको छु । जीवन यात्रा नै हो । हामी हिँडिरहनु छ । हिँड्दै जाँदा विभिन्न खालका अनुभवले हामीलाई साथ दिन्छ । त्यो अनुभव एउटा लेखकका लागि त बरदान नै सावित हुन पुग्छ । सायद यस्तै भएको हुनुपर्छ विक्रम भक्त जोशीको जीवनमा पनि । मैले ‘चोभार ब्लुज’ पढेपछि लगाएको अनुमान हो यो । सबै अनुमान मिल्नै पर्छ भन्ने छ र ?

साहित्यपोष्ट र चोभार ब्लुजको प्रसङ्गः

‘साहित्यपोष्ट’ नामक साहित्यिक पोर्टल सार्वजनिक भएदेखि नै मैले त्यसका गतिविधिलाई नियालिरहेको छु । प्रकारान्तले त्यससँग जोडिएको पनि छु म । नयाँ लेखकका लागि त्यो राम्रो प्लेटफर्म हो । साहित्यपोष्टले कृति प्रकाशित नगरेका तर विभिन्न पत्रपत्रिकामा रचना छापिएका नयाँ लेखक विक्रम भक्त जोशीलाई कृतिकारका रूपमा उभ्यायो । आम पाठकले उनलाई कृतिगत रुपमा एकै ठाउँमा पढ्न पाए । यस मानेमा साहित्यपोष्टको यो राम्रो काम हो भन्ने ठहर हो मेरो ।

प्रकाश सायमी र विक्रम भक्त जोशीः

म एम्.ए. पढ्ने सिलसिलामा वि.सं. २०५५ मा कीर्तिपुरतिर लागेको थिएँ । त्यतिबेला सगरमाथा एफ्. एम्.मा प्रकाश सायमीले गीत र गजलका कार्यक्रमहरु चलाउँथे । उनले त्यसमा नयाँ लेखकलाई पनि स्थान दिने गर्थे । त्यस्तैमा साहित्यकार मित्र दीपक कथितका माध्यमबाट म पनि एउटा कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित भएको थिएँ ।

त्यसपछि हालसम्म उनीसँग निरन्तर संवादमा छु म । उनी कालिका एफ्.एम्. चितवनमा रहँदा उनीसँग बाक्लै भेटघाट भएको थियो भने अझै पनि उनी चितवन आउँदा उनलाई भेट्ने अवसर जुटिरहेको छ । उनको पठन बानी र स्मरण क्षमता अघ्घोरै मन पर्छ मलाई ।

माघको पहिलो साता उनले टेलिफोन गरेर चितवनमा विक्रम भक्त जोशीको ‘चोभार ब्लुज’माथि अन्तक्रिया गरिदिन प्रेमपूर्वक आग्रह गरे । त्यति मात्र होइन, जोशीको टेलिफोन नम्बर पनि उपलब्ध गराए । अक्षर समूह, चितवन केही नयाँ काम गर्ने ध्येय राखेर वि.सं. २०६२ मा स्थापित संस्थालाई त्यो आग्रह थियो । प्रकारान्तले यतिबेला त्यो संस्थाको बागडोर मेरो हातमा भएकाले साथीहरुसँग सल्लाह गरेर त्यो कार्यक्रम गर्ने निधो भयो । त्यसै कार्यक्रमका दौरान विक्रम भक्त जोशीसँग साक्षात्कार पनि भयो ।

विक्रमभक्त जोशीसँग साक्षात्कारः

यसअघि विभिन्न परिचय बनाइसकेका विक्रमभक्त जोशीको यतिबेलाको नयाँ पहिचान भनेको उदीयमान कथाकार हो । उनी कथामा नवीन सोचका साथ आएका छन् । दाजु प्रकाश सायमीबाट पहिलोचोटि टेलिफोनमार्फत् साक्षात्कार भएका विक्रमभक्त जोशीसँग सशरीर भेटघाट भने २०७९ माघ १६ गते सम्पूर्ण किताब, नारायणगण भयो । उनीसँग साहित्यका बारेमा व्यापक कुराकानी भयो । उनको प्रस्तुति राम्रो लाग्यो । अझ हरेक कथामा यात्रालाई मिसाएर ‘निकथा’ बनाउने उनको शैली मलाई मन पर्यो । एउटा पाठकले लेखकलाई मन पराउन थुप्रो कृति चहिँदैन रहेछ भन्ने कुराको प्रमाण मलाई विक्रम भक्त जोशी हुन् भन्ने लाग्यो । उनीसँगको यो भेटको शृङ्खला अब निरन्तर रहने छ भन्ने विश्वास छ मेरो ।

के छ चोभार ब्लुजमा ?

कूल २२७ पृष्ठको आयाममा फैलिएको ‘चोभार ब्लुज’ कथासङ्ग्रहमा १९ वटा फुटकर कथाहरु समेटिएका छन् । अन्तिमको ‘बाली बैजनी’ कथालाई छाड्ने हो भने बाँकी १८ वटा कथा काठमाडौँ वरिपरिका कथा हुन् । हरेक कथाभित्र एउटा कथयिता छ, जो कथासँगै यात्रा गर्छ । ऊ आफूले त्यो कथालाई महसुस गर्छ अनि कथयिताका रुपमा पाठकलाई सुनाउने काम गर्छ ।

यसमा कतै संस्मरण, कतै निबन्ध, कतै चिठी, कतै यात्रा विवरण र कतै संवादहरुको संयोजन छ । यसरी विविधतालाई समेटेर तयार पारिएको यो कृतिलाई लेखकले कथासङ्ग्रह मात्र नभनेर निकथासङ्ग्रह भनेका छन् । त्यसो त शङ्कर लामिछानेका निबन्धमा कथा र कथामा निबन्ध मिसिएर तीसको दशकमा आइसकेका हुन् । तिनलाई न उनी आफैँले निकथा भने, न कुनै समालोचकले त्यो नामकरण गरे । शङ्कर लामिछानेको यो पथमा नवीनताका साथमा उदाएका छन् विक्रम भक्त जोशी ।

‘चोभार ब्लुज’ आजका नेपालीको भोगाइको कथा हो । यसभित्रका कथामा बुढ्यौलीका दुःख, अपाङ्गताका पीडा, प्रेमका नाममा हुने गरेका धोका, प्रेमका नाममा गरिने त्याग, गरिबी र अभावका कथा, बढ्दो सहरीकरणका कारण सडकमा बास बस्नु परेको यथार्थ, प्राकृतिक प्रकोपका कारण जीवन तहसनहस भएका पीडाजन्य प्रस्तुति, नेवारी सभ्यतामा हुने ख्याकजस्ता पीडितहरुका कथाजस्ता विविध पीडाजन्य प्रस्तुति आएका छन् ।

ब्लुज शब्दले पीडा वा अवसादको चित्रण भन्ने अर्थ बहन गर्छ । यो कृतिभित्रका अधिकांश कथामा अवसाद वा ब्लुज छ । यसर्थ यो आजका मान्छेको भोगाइको चित्रण हो । यसमा यथार्थ चित्रण मात्र नभएर कतै कतै अतियथार्थवादी स्वैरकाल्पनिक प्रस्तुति पनि गरिएको छ । यसर्थ सरलताभित्र नजानिँदो जटिलता यो कृतिको विशेषता बनेर आएको छ ।

विक्रम भक्तको अबको मार्ग के होला ?

साहित्य यस्तो मिठो दलदल हो, जसमा एक चोटि फसेपछि न त निस्कन मन लाग्छ, न त निस्कन सकिन्छ । यस्तै दलदलमा जानीजानी फस्न आएका हुन् विक्रमभक्त जोशी । उनका कथाहरु नेपाली पाठकले मन पराएका छन् । करिब तीन वर्षको फुटकर लेखनपछि कृतिगत रुपमा समेटिएका उनलाई अब नलेखी बस्न छुट छैन । अब उनको अर्को कृति छिट्टै प्रकाशित होस् । उनी अब कथाबाट उपन्यासतर्फ पनि यात्रा गरुन् भन्ने कामना छ मेरो ।

थोरै टुङ्ग्याउनीका कुरा

यो समाजमा यति धेरै कथाहरु छरिएर रहेका छन् । तिनलाई टिप्न मात्र जान्नुपर्छ । यहाँको कथा कतै हराएको छैन । त्यसो त हामी कथाजस्तो जीवन बाँचिरहेका छौँ । बस् त्यसलाई भन्नसक्ने कथयिताको जरुरत छ यहाँ । त्यस्तो नयाँ खालको नयाँ कथयिता बनेकोमा कथाकार विक्रमभक्त जोशीलाई टन्नै बधाई छ ।

कथा खोजेर भेटिने कुरा होइन । त्यो त जोडेर बन्ने कुरा हो । जसरी घर बनाउन विभिन्न निर्माण सामग्री चाहिन्छ, त्यसरी नै कथा बनाउन पनि विभिन्न अङ्ग–उपाङ्ग जोड्न सक्नुपर्छ । यस मामलामा विक्रमजी विल्कुल नवीनताका साथ देखापरेका छन् । उनी कथालाई निकथा बनाउन लागि परेका छन् । उनको यो यात्रा जारी रहोस्, अबका उनका कथामा पनि कथा र यात्रा सँगसँगै जोडिएर आऊन् । उनको निरन्तर यात्राको कामना गर्दै उनको लेखनीलाई हार्दिक बधाई छ ।