२०२२,३० जुलाइको दिन हो क्यारे, मैले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हेटौडामा भेटेको। त्यही दिन एक घण्टा जति उहाँकै अफिसमा बसेर कुराकानी गर्यौं र सँगै कफी पियौँ । त्यसपछि हामी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा पुग्यौँ। बन्दै गरेको भव्य कार्यालय भवनको अनुगमन गरेपछि हामी छुट्टिएका थियौँ। (https://www.ghatanarabichar.com/257582?)

उहाँसँग भएको गफमा उहाँले आफू युरोप आएर युरोपका नेपालीहरुको संघर्षको कथा लेख्न चाहेको कुरा राख्नु भएको थियो। त्यो बेला उहाँले आफ्नो किताब लेखनमा विषयगत र पूर्वाधार निर्माणको लागि सहयोग गरिदिन विशेष अनुरोध पनि गर्नु भएको थियो ।

म बेल्जियम आएपछि पनि बेला बेलामा नेपाली डायस्पोरा र विशेष गरी युरोपमा नेपाली डायस्पोराको सुरुवाती अवस्था,व्यवस्थित हुनको लागि गरिएका अनवरत सङ्घर्षहरु र वर्तमान अवस्थाको बारेमा मोटामोटी कुरा हुन्थ्यो। अर्थात यी बहुआयामिक सङ्घर्षका कथाहरुलाई कसरी सबैको प्रतिनिधित्व हुने गरी लेख्न सकिन्छ ? उहाँको मुख्य चासो त्यसैमा हुन्थ्यो।

त्यसमा प्रवासीहरुका सङ्घर्षका देखिने र नदेखिने धेरै कथाहरु छन्। त्यसको फिचर लेखन कसरी सम्भव होला ? अझ त्यसमा नयाँ पिँढी समेत जोडिएको छ, उनीहरुका सांस्कृतिक अन्तर्घुलनका समस्याहरुले कतिपय अवस्थामा जटिल मनोवैज्ञानिक विरोधाभाषलाई झेलेका छन् । ती मनोदशालाई कृतिमा ठाउँ दिनु अपरिहार्य हुन्छ । तर त्यसलाई कसरी लेखनको मूल प्रवाहमा मिलाउने ? मेरो मनमा पत्रकार मणिराजजीको विषयगत जिम्मेवारी हस्तान्तरणले खेलाएका कुराहरु हुन् । त्यसबारेमा मैले आफ्नोतर्फबाट सके जति अध्ययन गरिरहेको छु साथै सुझाव संकलन गर्ने प्रयत्न पनि गरिरहेको छु ।

यही फेब्रवरी ३ तारिक मणिराज सर किताब लेख्ने भनेर बेल्जियम आइपुग्नुभएको छ । मलाई बताएअनुसार उहाँको एक मात्र लक्ष युरोप स्थित नेपालीहरुको संघर्षको कथाहरु समेटेर वृति वृतान्तको संकलन गर्नु हो । मलाई थाहा छैन,त्यो पुस्तक कहिलेसम्म लेखिन्छ र कहिले पुरा हुने हो । त्यसको जिम्मा उहाँकै हो।

उहाँ हिजो ३ फेब्रवरी दिउँसो ३ बजेतिर बेल्जियमको राजधानी ब्रुसेल्सको अन्तर्राष्ट्रिय विमान मैदानमा उहाँका दाजु सहदेव गौतम, पंतिकार र ओम शर्माले संयुक्त रुपमा उहाँको स्वागत गर्यौं । हामीले नेपाल पत्रकार महासंघ एक शाखा अध्यक्षको रुपमा स्वागत गरेका हौँ । एउटा सहकर्मीले अग्रिम सूचना दिएर आउँदा हामीले गर्ने पहिलो कुरा स्वागत र दोश्रो सहयोग हो ।

सहदेवजीको गाडीमार्फत बेल्जियम शाखा अध्यक्ष ओम शर्माजीको कोठामा पुगियो । सम्पर्क गर्नु पर्ने र आवश्यक मित्रहरुलाई उहाँले सूचना नपठाउने कुरै भएन । पत्रकार मित्र केजिन सर, लेखक तथा स्तम्भकार दिल निसानी मगर, व्यवशायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासजी, बेनेलक्सका सचिव मदन दवाडी, एनआरएनएका संस्थापक उपाध्यक्ष राम प्रताप थापा लगायतसँग मणिजी आफैँले कुरा गर्नुभयो ।

सूचना संवाद सकिएपछि हामी उहाँको लक्ष्यसँग जोडिएको विषयवस्तुमा प्रवेश गर्यौं । अर्थात,सामान्य गफपछि हामीले फिचर लेखनबारे एक खालको छलफल गर्यौं। त्यसका आधारभूत कुराको लागि मणिजीलाई वातावरण बनाउने काममा लाग्ने कुरा भयो । डायस्पोराको फिचर लेख्नु चानचुने कुरा हैन। त्यसको लागि पत्रकार मणि सरलाई सबैको सहयोग चाहिन्छ । उहाँको अपेक्षा पनि सोही अनुरुप छ।

२०२२ जुलाई ३० माझैँ अझ मिहिन रुपले उहाँले पंतिकारसँग र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मासँग फिचर कथा लेखनको लागि सहयोग माग्नु भएको छ । उहाँले युरोपका सबै अग्रजहरुसँग लेखनसँग सम्बन्धित कुरामा सहयोगको ठुलो अपेक्षा पनि गर्नु भएको छ । औकात र क्षमता अनुसारको सहयोग हामी सबैले गर्छौं नै । खुलेरै भन्नु पर्दा, ममा फिचर कथाको किताब नै लेख्ने औकात र सामर्थ्य दुवै छैन । औकात नभएको विषयमा जाँगर पनि पल्याटी मारेर बस्छ। अब त्यो भनेर पनि भएन फरक ठाउँ र परिवेशमा साथीलाई सघाउने जाँगर पलाउन दिनुपर्छ । त्यसैले साथीलाई जाने जत्ति लेखनको प्रारम्भिक तयारीलाई सहज बनाउने कोसिस चाहिँ गरेको छु । उहाँ पनि लेखन कलामा विज्ञ भएकोले यो लेखलाई साथीले सदासयताका रुपमा ग्रहण गरिदिनु हुने आशा राखेको छु ।

उहाँ अहिले नाम र सम्पर्क फोन नम्बर संकलन गर्दै हुनुहुन्छ । उहाँको फिचर राइटिंग र वार्तालापपूर्ण बहु-आयामिक वृत्त लेखनले सिङ्गो युरोपको प्रतिनिधित्व गरोस् भनेर पंतिकारले आफ्नो औकातअनुसारका केही टिप्स दिनको लागि मात्र यो लेख लेखेको हो । मलाई आशा छ,यसले केही न केही रुपमा वृत्त कथा बनाउने चाहना भएका अन्य पत्रकार वा लेखकहरुलाई पनि केही मद्दत अवश्य पुर्याउने छ ।

फिचर कथा पुस्तक लेखनका आधारभूत कुराहरु :

अब खासमा योजना बनाउने र पुस्तकको स्वादलाई लक्ष्य प्रदान गर्ने समय लगभग सकिएको छ । मनको आकारले पुस्तक धेरै पृष्ठको हुनुभन्दा पनि यो पुस्तकले नेपालीहरुको मन मस्तिष्कलाई छुन्छ कि छुन्न ? यसले नेपाली डायस्पोराको प्रतिक्षित वृत्तकथामा नसोचिएका कुराहरुबाट अरुका लागि प्रेरणा दिन्छ कि दिन्न ? वा पुस्तकले नयाँ पुस्तालाई आफ्ना अग्रजहरुको सङ्घर्षको सम्मानमा अविस्मरणीय छाप छोड्न सक्छ कि सक्दैन ?

यो विषयमा केही प्रतिनिधि पात्रहरुको चयन गर्नु जरुरी हुन्छ । त्यो पात्र जसले युरोपमा आफू स्थापित हुने सङ्घर्षमार्फत धेरैलाई जोडेको होस् । को को होलान् ती पात्रहरु ? यो प्रश्नको उत्तरलाई प्राप्त गर्न तिनै सङ्घर्षका सुरुवाती चरणहरुलाई पात्र विशेषसँग साक्षात्कार गरेरै केलाउनु पर्ने हुन्छ । अर्थात फिचर अन्तर्वार्तामा मात्र निर्भर भएर लेखिनुभन्दा पनि उनीहरुको अनौपचारिक गफको टिपोट गर्दै औपचारिक गफको फिड ब्याकमा उभ्याएर लेखिनु पर्छ ।

औपचारिक वार्ता बनावटी र सीमित हुन्छ तर अनौपचारिक गफले उसको मनोवैज्ञानिक असर सहित उसले गरेको संघर्षलाई सतहमा ल्याइदिन्छ। यदि त्यसरी लेखियो भने फिचर कथा औपचारिकताबाट यथार्थमा गएर तथ्यगत भोगाइमा बुनिन्छ र एउटा अनुसन्धानमूलक, प्रेरणादायी, आकर्षक सत्य कथा बनेर निस्कन्छ । एउटा फिचर लेख समाचार कथा भन्दा फरक स्वादको हुन्छ किनकि यसले पाठकहरूलाई कुनै विशेष विषय, घटना वा स्थानमा गहन दृष्टिकोण प्रदान गर्दछ । एउटा राम्रो फिचर कथाले पाठकको ध्यान अन्त्यसम्म खिच्न सक्ने हुनुपर्छ वा वृत्त लेखनले एक प्रेरणादायी कथा सहित पाठकमा स्थायी छाप सिर्जना गर्ने हुनु पर्छ ।

छोटकरीमा भन्दा लेखिएको फिचर लेखले गहिरो विश्लेषण प्रदान गर्नुपर्छ । फिचरले घटना, ऐतिहासिक पूर्ववर्ती वा भविष्यका प्रभावहरू वरिपरि फराकिलो सन्दर्भमा विचरण गरिरहेको हुनुपर्छ ।

फेसन,मनोरञ्जन,प्रविधि,जीवनशैली,रुचि,ज्ञान र व्यक्तिको भविष्यप्रतिको दृष्टिकोणबारे फिचर कथाहरुले उनीहरुकै पृष्ठभूमिको भूमिकाभित्र रहेर उत्तरहरुको अपेक्षा गर्दछ । सम्बन्धित विषयबारे रुचिपूर्वक चिरफार गर्छ र सफलता तथा असफलताका आयामहरूबारे बहसको पृष्ठभूमि तयार गर्दछ । मेरो विचारमा, युरोपमा नेपालीहरुको संघर्ष र सफलताको कथामा खासगरी कस्ता कस्ता प्रवृत्ति हुन सक्लान् आफैँले अनुमान गरेर योजना बनाउनु पर्छ कि।

खासगरी, एउटा उत्कृष्ट फिचर लेखनको लागि केही गृहकार्य वा पूर्वाधार निर्माणका कार्य गर्नु जरुरी छ । युरोपमा नेपालीको अन्तर्मन पगालेर आँसु र खुसी उन्ने कला नभई उत्कृष्ट फिचर बन्दैन । त्यसको लागि लेखकले समय छुट्ट्याएर चुनिएको प्रतिनिधि पात्रसँग केही समय बिताउनु पर्छ । जसलाई फिचर लेखकहरुले उत्खनन समय भनेका छन् । फिचर लेखनमा औपचारिक वार्तालाप केवल ४० प्रतिशत हो भने ६० प्रतिशत अनौपचारिक उत्खनन वार्ता संगत हो । त्यसपछि उसको सम्पर्कका सहयोगीबाट पनि प्रतिनिधि पात्रले गरेका विशेष सङ्घर्षका अरु रोचक कुराहरु लिन सक्छन्, जसले फिचर निर्माणलाई रसिलो र चोटिलो बनाउन मद्दत पुर्याउँछ ।

यी कुरा त भए फिचर लेखनको पूर्वाधार र यससँग सम्बन्धित तयारीका कुरा । अब आफ्नो तयारीपछि मणिजी फिचर लेखनका लागि प्रतिनिधि पात्रसँग वार्तालाप गर्न जाँदै हुनुहुन्छ । त्यसको लागि पात्र कुन क्षेत्रको हो, उसको संघर्षले कति र कुन पक्षको प्रतिनिधित्व गरेको छ र उक्त पात्र विशेषको बारेमा लेखेको फिचरका उत्तम विषयहरू के हुन सक्लान् ? यो विषयगत ज्ञाता वा लेखकले आफैँ वा सहयोगीहरुमार्फत निर्धारण गर्नुपर्छ । योजनाको प्रमुख कुरा उसले गरेको तयारीले निर्धारण गर्दछ । पंतिकारको विचारमा सिंगो युरोप एक किताबमा अटाउनको लागि विविध क्षेत्रका विज्ञहरुको सल्लाह पनि महत्त्वपूर्ण हुन्छ। त्यसको लागि हरेक क्षेत्रका प्रमुख पात्रहरु निम्नानुसार चयन गर्न सकिन्छ । जस्तै :

युरोपका नेपालीहरुको सिङ्गो प्रवृतिलाई प्रतिनिधित्व गर्ने गरेर कुटनैतिक निकायबाट,अनुभवी लेखक वा साहित्यकारबाट, पत्रकारबाट, यातायात क्षेत्रबाट, खेल क्षेत्रबाट, व्यावसायिकबाट, स्वास्थ्यकर्मीबाट, प्राध्यापक वा वैज्ञानिकबाट, कलाकारबाट, शिक्षक वा विद्यार्थीबाट र एनआरएन अभियन्ताबाट प्रतिनिधि पात्रहरु चयन गर्दा क्षेत्र समेटिन सक्छ ।

माथिका अनुसन्धान, सेवागत वा पेशागत क्षेत्र उदाहरण मात्र हुन् किनकि यस्ता सयौं अन्य क्षेत्रहरुमा पनि नेपालीका पीडा र प्रेरणा भरिएका कथाहरु हुन् सक्छन् । त्यसलाई प्रार्थमिकता राख्ने नराख्ने कुरा लेखकले उपादेयताको आधारमा आफैँ निर्धारण गर्ने कुरा हुन् । मेरो विचारमा सबै क्षेत्रसँग मेल खाने र विषयगत उत्खननमा सहायक प्रश्नहरु मैले निम्नानुसार राखेको छु :

हजुरको विद्यार्थीकालको आकांक्षा के थियो ?

युरोपमा तपाईंको आगमनबारे भन्न मिल्छ कि मिल्दैन ? भन्न मिल्ने भए …।

तपाईंको सेवा वा पेशागत अनुभव बताउनुस् ।

अहिले तपाईं सफल, असफल कहाँनेर हुनुहुन्छ ?

सफलताको प्रेरणा के कसरी मिल्यो ?

के कस्ता पुस्तक पढ्नु भएको छ ? नाम बताउन सक्नुहुन्छ ?

प्रेरणादायी पुस्तक त त्यसबाट पाएको प्रेरणाबारे छोटो भनाइ,

तपाईंका बच्चाले नेपाली लेखपढ गर्न जानेका छन् ?

पत्रकार विशेषको लागि : पत्रकारिता खासगरी डायस्पोरामा भइरहेको नेपाली पत्रकारिता कसरी भइरहेको छ र के गर्दा अझ राम्रो हुन्थ्यो ? पब्लिक बनेर सुझाव दिँदा के भनेर पत्रकारहरुलाई सुझाव दिनुहुन्छ ?

नेपाली डायस्पोरामा राम्रो साहित्यकारको नाम, राम्रो पत्रकारको नाम, राम्रो सामाजसेवी, उत्कृष्ट व्यवसायिकको नाम क्रमशः एक एक वटा ।

तपाईंको दिमागमा सबैभन्दा बढी के घुमिरहन्छ ? छोटो भनाइ राखिदिनुहोस् ।

तपाईंको जीवनको निरास र आशा पलाएको एक एक क्षण सम्झनुस् र भन्न मिल्छ भने भन्नुहोस् ।

प्रवासबाट नेपाल, नेपाली परिवार र नेपालीहरुलाई के भनेर आश्वस्त पार्नुहुन्छ ?

नेपाल जाँदा र फर्किने बेलालाई सोच्नुस्। ती दुवै क्षणको अनुभूतिबारे बताइदिनुहोस् ।

के तपाईं नेपाल फर्किनुहुने सोचमा हुनुहुन्छ ? फर्कनुहुन्छ भने कहिले, कुन अवस्थामा र फर्कनुहुन्न भने किन ? फर्कने चाहना र अवस्था नभए किन सक्नुहुन्न ? बताइदिनुहोस् ।

के गर्दा बढी आनन्दित हुनुहुन्छ ?

अन्तिम अवस्थामा तपाईंले कमाएको सम्पति के गर्नुहुन्छ ?

परिवारबाहेक अरुको लागि के गर्नु भएको छ ?

नेपाली समुदायबाट तपाईंको अपेक्षा के हुन सक्ला ?

मृत्युपछि तपाईंको काम लाग्ने अङ्गले अरु बाँचून् भन्ने चाहनुहुन्छ ?

जीवनको अन्तिम अवस्थाबारे के सोचिरहनु भएको छ ?

जीवनमा धेरै सोच्नु पर्ने कुरा के हो जस्तो लाग्छ ?

तपाईंको अहिलेसम्मकै मन पर्ने तस्बिर मलाई दिन सक्नुहुन्छ ?

अन्तमा, फिचर लेखनको क्रममा उत्खनन गर्दै जाँदा अन्य प्रश्नहरु स्वतः थपिँदै जान्छन् । सबैलाई रेकर्ड गरिन्छ र सम्पादनको क्रममा दोहोरिएका, कम उपयोगी,पत्रकारिता वा लेखकीय विधामा बर्जित शब्दहरु हटाइन्छ। सबैको शिलशिला मिलाएपछि मात्र एक उत्कृष्ट फिचर तयार हुन्छ । जसको लागि पंतिकार आफैँले लेखेको एक फिचर यहाँ(https://www.ghatanarabichar.com/47404?) राखेको छ । यो उत्कृष्ट वा मध्यम कस्तो छ त्यो त स्वयं पाठकहरुले लिएको स्वाद र प्रेरणामा निर्भर रहने कुरा हो ।