साहित्यपोस्ट विद्यूतीय पत्रिकाले गत सातादेखि सञ्चालन गरेको मुक्तक प्रतियोगितामा मीना, मिलन र रोहित प्रथम भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले काभ्रे पाँचखालकी मीना चौलागाईँ, कर्दिखोला स्याङ्जाका मिलन समीर र रामेछापका रोहित सैजुलाई प्रथम घोषणा गरेको हो ।
डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरुमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका थिए । चार जना निर्णायकहरुको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।

‘तोकिएको नियममा रहेर २३ मुक्तक प्राप्त भएका थिए । तर नियम बिपरित झण्डै सय मुक्तक प्राप्त हुँदा हामीलाई उत्कृष्ट मुक्तक छान्न ठूलो सकस प¥यो ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘धेरैजसो मुक्तक इमेल र साहित्यपोस्टको फेसबुक पेजमा आएका थिए । ती असाध्यै राम्रा भए पनि नियम विपरित भएकाले प्रतिस्पर्धामा परेनन् । जसले हामीलाई असहज पनि बनायो ।’

गएको सातादेखि सुरु भएको मुक्तकका विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नु पर्ने नियम बनाइएको छ । सुस्त इन्टरनेट सेवा र नियम बुझाउन नसकेका कारण पनि मुक्तकहरु इमेल र फेसबुकमा आएको हुनसक्ने आँकलन गरिएको छ ।
गएको साता तीनवटा विषय दिएर मुक्तककारहरुलाई मुक्तक आह्वान गरिएको थियो । पहिलो नम्बरमा सीमा विवाद, दोस्रोमा कोरोना महामारी र तेस्रोमा अहिलेको बिग्रदो आर्थिक अवस्थालाई आधार बनाएर विषय दिइएको थियो । जसमा केन्द्रित रहेर झण्डै सय जना कविहरुका रचना प्राप्त भएका थिए ।

‘नियम संगत रहेर आएका रचना मध्येबाट हामीले उत्कृष्ट चयन गरेका हौँ ।’ साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसीले भनिन्, ‘पहिलो अंकको प्रतिस्पर्धाले हामीलाई हौसला दिएको छ । निकै राम्रा मुक्तक प्राप्त भएका छन् ।’
५० साता चल्ने यो प्रतियोगिताबाट प्रथम हुने मुक्तकहरुलाई समेटेर वर्षका उत्कृष्ट मुक्तक संग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरु मध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरु छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।

अर्को साताको मुक्तक प्रतियोगिता शुक्रबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि शुक्रबार समाचारसँगै घोषणा गरिनेछ ।
अहिलेलाई पढ्नुस् पहिलो साता पहिलो हुने उत्कृष्ट तीन मुक्तकहरु…

muktak praiyogita samir

 

muktak praiyogita rohit