आज म मलाई छोडेर जाने ज्ञानीका कुरा गर्दिनँ । न त आजभोलि च्याटमा आएर हरेक पल केके-केके गन्थन गरिरहने निक्कीका कुराहरु सुनाउँछु । मत आज चिया पसलमा बसेर सुनेका गफहरुको फेहरिस्त पनि यहाँ राख्दिनँ । पछिल्लो हप्ता बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले संसारलाई नै स्तब्ध बनाएको थियो । त्यसपछि देखिएको सामाजिक संजालका प्रतिक्रियाहरुले हामीलाई फेरि मानसिक स्वास्थ्यका कुराहरुमा सोच्न बाध्य बनायो । मलाई पनि आज यसैको बारेमा केही कुराहरु गर्न मन लाग्यो ।

जब-जब कुनै चर्चित सेलिब्रिटीले आत्महत्या गरेको खबर आउँछ तब मानिसहरु भावुक बन्न पुग्दछन् । सहानुभूतिका शब्दहरु, श्रद्धान्जलीका फूलहरु संजालभरि चढाइएका देख्न पाइन्छन् । आँशुका थोपाहरुले इन्स्टाग्राम र फेसबुक भिजेका पाइन्छन् । अर्काथरी मान्छे हुन्छन्, जो यसलाई केवल ढोंगका रुपमा हेर्दछन् र भन्छन्, “बाँचुन्जेल बाँच्न दिएनौ, कहाँ दुखेको छ सोध्ने चेष्टा गरेनौ, अहिले आएर गोहीका आँशु खसाल्छौ ?” केही मान्छेहरु त अझै भन्छन्, “यहाँ खान नपाएर कति मान्छे मरेका छन् । हाम्रै देशमा पनि आत्महत्या गरेर कति मान्छे मरेका छन्, तिनीहरुले चाहिँ तिमीले खसाल्ने आँशुहरुमध्ये दुईचार थोपा पनि डिजर्भ गर्दैनन् र ?”

[bs-quote quote=”हरेक मृत्युहरु उत्तिकै दुःखदायी हुन्छन् तर आफ्नो ठानेको मान्छेको मृत्यु ज्यादा अप्रत्यासित लाग्दो रहेछ । हामीले पर्दामा हेरिरहेको, हामीलाई अनेक कर्महरुबाट प्रेरणा दिँदै आएको मान्छे अस्ताउँदा अलि बढी नै दुख्दो रहेछ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

हो त, तिनीहरु पनि हाम्रा आँशुहरुका हकदार हुन् । तिनीहरुका समस्या पनि हाम्रा लागि सेलिब्रिटीहरुकाझैं चर्चायोग्य हुन् । तर जसरी कोही देखिरहेको आफ्नो मान्छे यो दुनियाँबाट अस्ताउँछ, जब आफूलाई हरतरहले प्रभाव पारेको मान्छे कहिल्यै नफर्किने लामो यात्रामा जान्छ, तब हामीलाई त्यस वियोगले ज्यादा पोल्दछ । हरेक मृत्युहरु उत्तिकै दुःखदायी हुन्छन् तर आफ्नो ठानेको मान्छेको मृत्यु ज्यादा अप्रत्यासित लाग्दो रहेछ । हामीले पर्दामा हेरिरहेको, हामीलाई अनेक कर्महरुबाट प्रेरणा दिँदै आएको मान्छे अस्ताउँदा अलि बढी नै दुख्दो रहेछ । मलाई सुशान्तको अन्त्यले यसकारण पनि झस्कायो कि उनको ‘सोनचिडिया’ भन्ने फिल्म मैले उनको मृत्युको दुई दिनअघि मात्र हेरेको थिएँ ।

आत्महत्त्या विश्वव्यापि रोग भएर बसेको छ तर हामी आत्महत्या गर्नेलाई कायर भनिरहेछौं । जिन्दगीको भागदौडबाट अत्तास्सिएर उम्किन खोज्ने काँतर भनिरहेछौं । के कहिल्यै सोध्यौं हामीले उसलाई, तिम्रो जिन्दगी किन हाम्रोभन्दा फरक छ भनेर ? हामीसँग माया गर्ने परिवार छ, खान लगाउन दुःख छैन, हाँस्न खेल्न बन्देज छैन । मनका कुरा सुनिदिने मान्छे छन् । हाम्रो वरिपरि भएर पीरहरु हिँड्नै मान्दैनन् । कष्टका बादलहरु कहिल्यै हाम्रा छतमाथिबाट मडारिँदैनन् । त्यसैले त हामीलाई सजिलो छ, फ्याट्ट जजमेन्टल भएर भनिदिन, “केही दुःख थियो भने त सुनाए भैहाल्थ्यो त परिवारलाई, झुण्डिनै पर्थ्यो र ?”

उसले मर्नुअघि बाँच्ने उपायहरुका बारेमा सोचेन होला र ? थाहा थिएन होला र उसलाई, यो जीवन कतिबिघ्न रमाइलो छ भनेर ? बाँचेको भए उसले पनि त हेर्ने थियो होला कोरोनापछि कस्तो होला यो संसार भनेर । हेर्ने थियो होला, आफ्ना सपनाहरु पुरा भएको क्षण । के उसलाई रहर थिएन होला र पुरा आयु बाँचेर आफ्ना सन्ततिहरुले डाँडाकाँडा ढाकेको हेर्ने ? जसरी मलाई विश्वकप फुटबलकै लागि भए पनि अर्को अनि अर्को, अनि फेरि अर्को गरेर चार-चार वर्षको किस्तामा बाँच्नुपर्छ जस्तो लाग्छ, के उसलाई पनि डार्क भन्ने नेटफ्लिक्स सिरिजको तेस्रो सिजन कस्तो आउला भन्ने कौतुहलता मनमै राखेर मर्ने मन थियो होला र ? कति सुन्दर कृतिहरु जन्मिनै बाँकी थियो दुनियाँमा । ती सबै सबैको रसस्वादन नगरी कसैलाई त्यस्सै कहाँ जाँगर चल्दो हो र गर्धनमा डोरीको माला पहिरिएर आफ्नै स्वासनली अँठ्याउन ?

मलाई हरेक पल मृत्युको भयले अत्याउँछ । बाटो काट्न लाग्दा हुत्तिएर आएको गाडीले अचारजस्तो पिसेर जान्छ कि भनेर डराउँछु । कतै अग्लो ठाउँमा पुगेँ भने लडेर मरिएला कि भन्ने डर लाग्छ । आजभोलि कोरोनाले मरिएला भनेर भिडभाडमा जान मन लाग्दैन, घर छोड्न मन लाग्दैन । त्यति मात्र कहाँ हो र, रातदिन स्यानिटाइजर दलेर बस्न मन लाग्छ, साबुनपानीले हात धोइरहन मन लाग्छ । यतिबिघ्न बाँच्ने अभिलाषा रहेको हुन्छ मान्छेमा । यसरी ठ्याक्कै मजस्तै गरी जिन्दगीलाई माया गर्ने मान्छे कसरी एकैपटक मृत्युलाई अँगाल्न पुग्छ होला ?

[bs-quote quote=”त्यो मनमा कुनै भिषण पहिरो नगई त पक्कै उसका सपनाहरु पुरिएनन् होला । मुटुको पिँधमा प्वाल नपरी त पक्कै उसका जिउँदा आकांक्षाहरु चुहिएनन् होला । नत्र त किराफट्यांग्रा समेत बाँचेको दुनियाँमा, चराहरु समेत शिकारीको फन्दामा पर्छु कि भनेर ज्यान जोगाउन लागिपरेको दुनियाँमा, एनिमल प्लानेटका डकुमेन्ट्रीमा झैं मृगहरु समेत बाँच्नकै खातिर चितुवासँग रेस जितेर कुदेको संसारमा, जीवनको मूल्य बुझेको चेतनशील मान्छेले चाहिँ कसरी घुटुक्क मेटासिड पिएर ढल्न सक्ला र ? कसरी सक्ला नदीको उर्लंदो भेलमा आफूलाई हेल्न ?” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

त्यो मनमा कुनै भिषण पहिरो नगई त पक्कै उसका सपनाहरु पुरिएनन् होला । मुटुको पिँधमा प्वाल नपरी त पक्कै उसका जिउँदा आकांक्षाहरु चुहिएनन् होला । नत्र त किराफट्यांग्रा समेत बाँचेको दुनियाँमा, चराहरु समेत शिकारीको फन्दामा पर्छु कि भनेर ज्यान जोगाउन लागिपरेको दुनियाँमा, एनिमल प्लानेटका डकुमेन्ट्रीमा झैं मृगहरु समेत बाँच्नकै खातिर चितुवासँग रेस जितेर कुदेको संसारमा, जीवनको मूल्य बुझेको चेतनशील मान्छेले चाहिँ कसरी घुटुक्क मेटासिड पिएर ढल्न सक्ला र ? कसरी सक्ला नदीको उर्लंदो भेलमा आफूलाई हेल्न ?

वैज्ञानिकहरुले ब्रह्माण्ड बुझे, धरती, आकाश, चन्द्रमा अनि ग्रहहरु बुझे तर बुझ्न अपरम्पार त मान्छेको मन पो रहेछ ! डाक्टरहरुले घाउको इलाज सिके, दुखाईको ओखती बनाए, निको पार्न नजानेको त मनको दुखाई पो रहेछ ! मान्छेको मन जत्तिको कमलो चीज संसारमा अरु हुन्न रहेछ । अनि मान्छेकै मन जत्तिको कडा वस्तु पनि अरु रहेनछ संसारमा । जब मन चाहिने भन्दा कमलो हुन जान्छ, तब मान्छे कम्जोर हुने रहेछ । जब मन चाहिनेभन्दा ज्यादा कडा हुन जान्छ, तब यसले अरुलाई दुखाउँदो रहेछ ।

यति कठोर पनि नबनूँ ताकि कसैको मन भाँच्नु परोस् । त्यति कोमल पनि नबनौं कि आफैँलाई सम्हाल्न नसकियोस् । मनलाई कलिलो मकैको घोगाजस्तै कोपर्नु पर्ने कोमल पनि नबनाऊँ, छिप्पेको मकैजस्तै टोक्नै नसक्ने पनि नबनाऊँ । मन त हरियो मकैजस्तै सुस्तरी छोडाएर आफ्नो नजिकको मान्छेसँग बाँडीबाँडी खान सकियोस् न ! मनका भावनाका दानाहरु कसैसँग बाँड्नु भनेको हृदयको घोगा निख्रिनु हो । मन खोयाजत्तिकै खाली हुनु हो । मनबाट कुण्ठा, रोष, पश्चातापहरु निख्रिएर आफू हलुङ्गो हुनु हो ।

कसैको मनलाई नदुखाउँ बरु भावना बुझिदिने चेष्टा गरौँ । शरीर त नश्वर हुन्छ । यो कुनै न कुनै दिन नाशिनु त छँदै छ । तर हरेक नश्वर शरीरभित्र ईश्वरजस्तो आत्मा बसेको हुन्छ । त्यस आत्मालाई कदापि नरुवाऊँ । रुँदै-रुँदै शरीर छोडेर हिँडेको आत्माले सधैँभरि गुनासोको कुम्लो बोकेर भड्किरहेको हुन्छ । त्यसैले सबैको भलो गरौँ ।

आजलाई यत्ति भनें । निक्कीका गन्थन अनि ज्ञानीका यादहरुको पोकोपुन्तुरो फेरिफेरि खोल्दै गरौँला नि । हुन्न ?