नेपाली साहित्य क्षेत्रमा कथासङ्ग्रह ‘कथाकी पात्र’बाट प्रवेश गरेका हुन् सुबिन । तर उनलाई व्यापक बनाउने मात्र नभएर ‘सेलिब्रिटी’ लेखक बनाउने काम भने उपन्यास ‘समर लभ’ले गर्यो । यही उपन्यासले पाठकका बीच सुबिनको स्टारडम निर्माण गरिदियो ।
‘समर लभ’सँगको दश वर्षे यात्रा तीन चौथाई मात्रमा सुखद् भएको बताउँछन् सुबिन भट्टराई । उपन्यास प्रकाशनमा आउनुअघि सुबिनलाई चिन्ने मान्छे हातका औंलामा सीमित थिए । आएपश्चात भने क्रमिक रुपमा लेखकका रुपमा उनी व्यापक बन्दै गए । यो उपन्यासले उनलाई स्थापित मात्र बनाएन, पूर्णकालीन लेखक बन्ने बाटोमा अग्रसर पनि गरायो । सम्भवत, पुस्तककै रोयल्टीबाट गाडी चढ्ने उनी पहिलो नेपाली लेखक हुन् । सुबिन भन्छन्, ‘‘समर लभका बारेमा प्रश्न सोध्ने तथा जिज्ञासा राख्ने पाठकहरू अहिले पनि हुनुहुन्छ । यो दश वर्षमा समर लभका बारेमा सोधखोज गरेर मेसेज वा मेल नआएको कुनै दिन नै छैन ।’’
सुबिन र समर लभ
भन्नकै लागि त सुबिनका पुस्तकहरूलाई ‘सडक साहित्य’को उपनाम दिनेहरू प्रशस्तै छन् । साहित्यको केन्द्रमा उनलाई ‘साहित्यकार’ मान्नेहरू कमै छन् । उनका कृतिहरूलाई साहित्य नै नमान्नेहरूको भीडका बारेमा त केही भन्नै परेन । सुन्दर कुरा के छ भने – यी सबै साहित्यिक प्रवृत्तिहरूसँग जानकार छन् सुबिन । उनी विस्मृतिमा पुगेर सम्झन्छन्, ‘‘मैले समर लभसँगको दश वर्षे यात्रामा जे–जे पाएँ त्यसका अगाडि अरु कुराहरू झिनामसिना हुन् । मलाई सम्झना छ, समर लभ आएको बेला आफूलाई समीक्षक ठान्नेहरूले केही वर्षमै पाठकले यो उपन्यासलाई बिर्सने तर्क गर्नुभएको थियो । ५० वर्षअघिका किताबहरूको नाम लिएर ‘साहित्य भनेको यस्तो हुनुपर्छ’ भन्नुभएको थिए, जुन खासमा आवश्यक थिएन ।’’
सुबिन नाम लिन नचाहेरै एक समीक्षकलाई सम्झिन्छन् । एउटा कार्यक्रममा ती समीक्षकले भनेका थिए – आज म ‘समर लभ’को रिभ्यू गर्दिनँ, अबको पाँच वर्षपछि मात्र गर्छु । उनको भनाइको सिधा अर्थ थियो – पाँच वर्षपछि यो उपन्यास खोजिने छैन । तर दश थान वर्षहरू बितिगए । समर लभको बिक्री सेलाएको छैन । पाठकले खोजिरहेकै छन् । दशौं वर्षमा सुबिनको पछिल्लो उपन्यास ‘इजोरिया’सँगै ‘समर लभ’को बिक्रीको पनि उच्च थियो ।
पुस्तक सफल हुनुको सम्पूर्ण मानक बिक्री कदापि होइन, तर सम्पूर्णताभित्रको एउटा मानक भने पक्का हो । बिक्रीभन्दा पनि पाठकसम्मको पहुँच (रिच) लाई पुस्तकको सफलता ठान्छन् सुबिन । उनलाई लाग्छ – पुस्तक बिक्रीको सङ्ख्याले भन्दा पनि ‘एउटै पुस्तक कति जनाले पढे’ भन्ने कुराले पुस्तकको सफलता मापन गर्छ । हो पनि, कुनै पुस्तक पाँच हजार बिक्री भए पनि बीस हजार पाठसम्म पुगेको हुनुसक्छ । यो समय ‘फोर्स सेलिङ’को पनि हो । फोर्स सेलिङमार्फत् २० हजारको सङ्ख्यामा बिक्री भएको पुस्तक पाँच हजारले समेत नपढेका हुन सक्छन् । सुबिन भन्छन्, ‘‘तपाईंले महसुस गर्नुभएको छ कि छैन, समर लभको चाहिँ एउटा पुस्तक पूरै कक्षाले पढेको छ । धेरैपटक, धेरै जनाले कच्याककुचुक् भएको कभरसहितको समर लभ मैले हातले सुम्सुम्याएको छु । पुस्तकका पानाहरू पनि जीर्ण अवस्थामा पुगेका थिए जब कि त्यतिबेला उपन्यास आएको दुई वर्ष पनि भएको थिएन । यसैबेला मैले महसुस गरें – समर लभको बिक्री र रिच भिन्न छ । एकै पुस्तक धेरैवटा हातहरूले सुम्सुम्याएको छ ।’’
युट्युबमा सबैभन्दा पहिले, सबैभन्दा धेरै कुनै उपन्यास सुनियो भने त्यो समर लभ नै हो । अच्युत घिमिरेको आवाजमा कार्यक्रम ‘श्रुति संवेग’मा वाचन भएको ‘समर लभ’ले सुबिनलाई दूरदराजका पाठकसम्म मात्र पुर्याएन, सँगै अक्षरहरू खुट्याउन नसक्ने स्रोताहरूको मनमा पनि बसायो । कतिसम्म भने, सायाको वाचनको समयमा उज्यालो नेटवर्क नै जाम भएको अनुभव सुनाउँछन् सुबिन । साँच्ची ! युट्युबमा कतिले सुने त समर लभ र साया ? यतिको बखान गरिसकेपछि चासो लाग्छ नि ! युट्युबमै हेर्नुहोस् न ल !
समर लभ सुबिनको आफ्नै कथा हो ?
समर लभ आफ्नै कथा भएको कुरा पूर्णरुपमा नकार्न सक्दैनन् सुबिन । र, सकार्न पनि । भन्छन् – ५०/५० हो । कलेजमा बिताएका क्षणहरू, बदमासीहरू, सरमिसहरूसँगको सम्बन्ध, साथी–साथीबीचको प्रेम, ईर्ष्या, निकटता तथा वैमनष्यता सबै सुबिनकै हो । शैक्षिक भ्रमण, थेसिसका लागि फिल्ट भिजिटमा जाँदाका कुरालगायत पनि उनकै हुन् । तर उन्यासमा जुन प्रेम छ, त्योचाहिँ ठ्याक्कै आफ्नो नभएको बताउँछन् । भन्छन्, “त्यो लेबलको प्रेम मेरो कहिल्यै भएन । साना–साना घटना–परिघटना टिपेर कथा बुन्ने काम गरेको हुँ । एक लेखकको रुपमा, समर लभमा जुन प्रेम छ त्यसको आत्मा भने मेरो हो ।”
केन्द्रले किनाराकृत गरिरहँदा पाठकको निरन्तर साथ
राजनीतिमा मात्र होइन, साहित्यमा पनि केन्द्रको विशेषाधिकार हुन्छ । सुबिनलाई साहित्यको केन्द्रले केन्द्रमा कहिल्यै राखेन । राख्न चाहेन । अझ भनौं, साहित्यकार नै मानेन । तर ठीक विपरीत, पाठकको सत्ताले सुबिनलाई कहिल्यै निराश बनाएन । दुःखी बन्न दिएन । केन्द्रबाटै किनाराकृत रहँदै पाठकका बीचमा समर लभले १० वर्षको सफल यात्रा गर्न सफल भयो ।
सुबिनलाई अनौपचारिक कुरा गर्न मर्न पर्छ । भन्छन्, ‘‘कुनै कवि–लेखक आयो, राम्रो लेख्यो, विश्वभरि नै फैलियो र आमपाठकका बीचमा मजबुत पहुँच बनायो भने ‘लेखकै होइन’ भन्दिने, कोही कलकार आएर अरुले गरिरहेको भन्दा फरक गरी ठूलो रेन्जमा फैलियो भने कलाकारै नमान्ने प्रवृत्ति हामीकहाँ हावी छ । यो कुण्ठाबाहेक केही होइन । ‘के साहित्य हो, के होइन ?’ भन्ने छुट्याउने काम आमपाठकको हो । समयको हो ।’’
सुबिन आफ्नो पहिलो कृति कथाकी पात्रसम्म पुग्छन् । आफ्नै लगानीमा एक हजार प्रति छपाएका थिए । आफैं झोलामा किताब हालेर हिँड्थे । हरेकजसो पुस्तक विमोचनमा पुग्थे । उनलाई लाग्थ्यो – कसैले पढिदिए हुन्थ्यो, लेखिदिए हुन्थ्यो । फेसबुक भर्खर–भर्खर खुलेको थियो जहाँ अर्को कुनै लेखकको वा किताबको बढी चर्चा हुँदा उनलाई रिस उठ्थ्यो । लाग्थ्यो – त्यसले जतिको त मैले पनि लेखेको छु नि ! अहिले अरुलाई पनि त्यस्तै भएको अनुमान गर्छन् उनी ।
कथाकी पात्रमा त्यसबेलाका घघडान समीक्षकहरुले तारिफ गरेको सम्झन्छन् । नयाँ लेखक आयो, अब यसले केही गर्छ, हेर त के के वाद पनि हालेको छ – समीक्षकहरूका तारिफका शब्द यस्तै थिए । तर सुबिनलाई त्यतिले मात्र पुगेन । उनलाई आमपाठकसम्म पुग्नुपर्छ भन्ने लाग्छ । र, समर लभ लेखे । समर लभले नै उनलाई “मास”को लेखक बनायो । तर साहित्यको केन्द्रमा भने उनलाई सर्वाधिक आलोचनाको पात्र बनाइदियो ।
स्तम्भकारलाई कहिलेकहीँ लाग्ने गर्छ – यदि सुबिनका उपन्यासहरू पाठकमाझ लोकप्रिय नभएका भए वा ५–१० हजारमात्र बिक्री भएका भए आफ्ना उपन्यासलाई लिएर उनी यतिका आलोचित हुन्थे ? पक्कै हुँदैन थिए । सुबिन पनि सहमत छन् ।
समर लभलाई “प्रेम वा यौन उपन्यास” भनेर हियाउनु सुबिनका लागि आफ्नो मात्र होइन, प्रेमकै अपमान गर्नुजस्तो हो । उनको तुलना अक्सर प्रकाश कोविदसँग हुने गर्छ । तर उनले कोविदलाई पढेका छैनन् । भन्छन्, “यो भनिरहँदा मलाई लाज छैन तर यो भनिरहँदा म कोविद, युधीर थापालगायत सबैलाई सम्मान गर्छु । प्रकाश कोविद लुकीलुकी पढेको संस्मरण स्मरण गर्नेहरू नै उनैलाई गाली गरिरहेका हुन्छन् ।” सुबिन प्रश्न गर्छन्, “नर्सरी पास गरेर गएपछि नर्सरीमा पढाउने शिक्षिकालाई गाली गरेर हुन्छ ?”
प्रेमलाई लिएको आपत्ति हुनेहरूका लागि “प्रिय सुफी”, र “इजोरिया” लेखेको बताउँछन् सुबिन तर पछिल्ला उपन्यासै नपढी समर लभ वा सायाकै आधारमा आलोचना गर्नेहरूलाई भने सुबिन भट्टराईमै आपत्ति रहेको हुनसक्ने अनुमान गर्छन् । भन्छन्, “सुबिनमै आपत्ति हुनेले चाहिँ जे लेखे पनि आलोचनै गर्ने हुन् । मानौं, विश्वेश्वरप्रसार कोइरालाको कुनै अप्रकाशित पाण्डुलिपि होला रे ! त्यसमा लेखकको नामचाहिँ सुबिन भट्टराई नै राखेर छापे पनि आलोचनै हुन्छ ।”
पछिल्ला कृतिहरूले अर्को मीठो अनुभव पनि दिलाएको छ सुबिनलाई । कतिपय समीक्षक तथा स्थापित लेखकहरूले फोन गरेर इजोरिया राम्रो लेखेको बताएका छन् । तर त्यही कुरा सामाजिक सञ्जालमा लेख्न भने डराउँछन् । सञ्जालमा लेखिसक्दा उनीहरूलाई पनि चारवटा गाली आइहाल्ने सुबिनको ठम्याइ छ । भन्छन्, “एप्रिसिएसन भन्ने कुरा पनि मान्छेले रातका रात युटर्न भएर गरिहाल्न सक्दैन रहेछ । कसैलाई गाली गर्नभन्दा ठूलो हिम्मत कसैको प्रशंसा गर्न चाहिँदोरहेछ ।”
उपन्यास लेखेरै गाडी चढ्ने लेखक
सम्भवतः सुबिन एकमात्र लेखक हुन्, जसले लेखेरै कार चढे । पुस्तक लेखेबापत प्राप्त लेखस्वले नै उनलाई गाडी चढायो ।
सुबिनले इन्भारोमेन्टल साइन्स मास्टर डिग्री सकिसकेका थिए । डिस्टिङ्सनको नम्बर थियो तर जागिर पाएका थिएनन् । लेखनमै करिअर बनाउँछु, र भौतिक रुपमै पनि सन्तुष्ट जीवन बिताउँछु भन्ने त कल्पनै थिएन । उनकै शब्दमा भन्दा त्यस समयमा उनको कतै कुनै करिअर नै थिएन । रुमल्लिरहेको मान्छे । सबैका कुराका बाबजुद उनमा आफ्नो नाम प्रिन्ट भएको एउटा किताब निकाल्ने सपना थियो । त्यही सपना पूर्तिका लागि मात्र कथाकी पात्र प्रकाशनमा ल्याएको बताउँछन् सुबिन ।
कथाकी पात्र झोलामा बोकेर हिँडिरहँदा लेखेरै गाडी चढ्ने हैसियतमा पुग्दै भन्ने कल्पनासमेत गरेका थिएनन् । अग्रज साहित्यकारहरुका बीच विभिन्न लेखकले पाएको रोयल्टीका कुराहरु चल्थे । ६७–६८ सालमा उनलाई त्यस समयमा कसैले १० हजार रोयल्टी पाएको सुन्दा धेरै लाग्थ्यो ।
समर लभ प्रकाशनमा आउँदा पनि सुबिन जागिरकै खोजीमा थिए । लेखेरै जीवन चलाउँछु भन्ने विश्वास आइसकेको थिएन तर जब समर लभकै दोस्रो भाग साया प्रकाशनमा आयो तब सुबिनले ठाने – अब भने अरु केही गर्दिनँ, लेखनमै भविष्य बनाउँछु । भन्छन्, “पूर्णकालीन लेखनमै लाग्ने आँट सायापछि आएको हो, समर लभले मात्र दिएको होइन । काम नपाउनु मेरो दुर्भाग्य हो । पाएको भए कामतिरै जान्थेँ । समर लभ आइसकेपछि पनि कसैले अफर गरेको भए म जागिर खान्थें । विदेश जाने रहर लागेन । बाआमा लोकसेवा लड्न भन्नु हुन्थ्यो, तर त्यहाँ पनि मेरो इच्छा थिएन ।”
‘लेखेरै मलाई पुग्छ’ भन्ने आर्थिक सुरक्षाचाहिँ ‘साया’ले दिलाएको बताउँछन् सुबिन, जसलाई उनी समर लभकै देन मान्दछन् ।
अँ, समर लभले सुबिनलाई ‘मास’को लेखक बनायो । सायाले पूर्णकालीन लेखक बन्ने आत्मविश्वास दियो । र, तेस्रो उपन्यास मनसुनपछि आफ्नै गाडी चढ्ने बनायो ।
अन्त्यमा, साया जरुरी थियो ?
सुबिनले समर लभपछि साया नलेख्नु पर्थ्यो भन्ने पाठकहरूको भीड ठूलै छ । जुन भीडमा एक म पनि छु । लाग्छ – सायाले पाठकको कल्पनाशीलतामाथि कुठाराघात गर्यो । पाठकको मन–मस्तिष्कमा आ–आफ्नै तरिकाले सयौं–हजारौं सायाहरू लेखिएका थिए । तर सुबिनले एउटा साया ल्याएर पाठकले लेखेका तमाम सायाहरूलाई नाजायज करार गरिदिए ।
मेरो जस्तै धेरैका धारणाहरू सुबिनसम्म पुगेका छन् । उनी भन्छन्, “समय बित्दै जाँदा मान्छेले सिक्ने कुराहरू धेरै हुँदा रहेछ । सिक्ने क्रममा तपाईं कहिले लड्नु हुन्छ, कहिले उठ्नु हुन्छ, कहिले दौडनु पनि हुन्छ । तपाईं कहिले सफलताको शिखरमा पुग्नुहुन्छ, कहिले पछारिनु पनि हुन्छ । एक वर्षअघि समर लभ लेखेको भए, र आजको दिनमा साया लेख्न दबाब परेको भए पनि म लेख्दिनँ थिएँ । यो सिकाइ हो । अहिले पनि इजोरिया दुई कहिले आउँछ भन्ने प्रश्नहरू आइसके । लेख्दा ठाउँ पनि छ तर अब म दोस्रो भाग लेख्दिनँ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।