
एउटा अपरिचित मान्छे
अनवरत यात्रा गरिरहेछ मभित्र
आजसम्म मैले उसलाई
चिन्न सकेको छैन
मैले नै हो उसलाई मभित्र
यात्रा गर्ने अधिकार दिएको
मेरो ओठमा फक्रेको गुराँस
आँखामा तैरिरहेका यी सपना
र
मेरो अनुहारको प्रदिप्त आभा
उसैले मलाई मुफ्तमा दिएको हो
म भित्रका
ढोँग
कुण्ठा
र
छट्पटी
सबै उसैले दिएको हो
बदलामा उसले लिएको छ मबाट
एक टुक्रा जिन्दगी
र भागिरहेछ मदेखि टाढा…टाढा
कहिले भविष्यतिर दौडिन्छ
रहर र सपनाहरू बोकेर
कहिले अतीततिर फर्किन्छ
पछ्याएर स्मृतिका करिडोर
जाँदा छुटेका ढुकढुकीहरू स्पर्श गर्दै
हराएका आत्माका टुक्राहरू बटुल्दै
ऊ कतै पुग्ने धुनमा
आफैं कतै छुटिरहेछ
केही किम्ती चिजको खोजीमा
आफैंलाई बिर्सिरहेछ
उसलाई लगाम लागाउन असमर्थ छु म
कुनै दिन सिङ्गो जिन्दगी नै लिएर
हरायो भने ऊ
मभित्र उसको छायाँबाहेक अरु
केही बाँकी रहने छैन
अब त उसलाई चिन्नु छ, बुझ्नु छ
र सदाको लागि बिदा गर्नुछ ।
ठूलीभेरी न.पा. ०७ जुफाल, डोल्पा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
