पछिल्लो समय पुस्तक बिक्रीको हिसाबमा सुबिन भट्टराईको छेउछाउमा अर्को लेखक छैन । उनको उपन्यास इजोरिया प्रकाशनमा आएको चार महिनामै ५० हजारभन्दा बढी संख्यामा बिक्री भइसकेको रिपोर्टले देखाउँछ । केही बिक्रेता तथा लेखक स्वयं भने ६० हजार प्रति बिक्री भइसकेको दाबी गर्छन् । तर हाम्रा सञ्चार माध्यम तथा लेखकसमीक्षकहरुको ध्यान त्यता परेको छैन । अझ मुख्यगरी नेपाली भाषामा निस्किरहेका माध्यमहरूले ठूलो सङ्ख्याका नेपाली पाठकको ध्यान खिच्दा पनि यसलाई उपलब्धि मानेका छैनन् ।
अर्कोतर्फ, सुबिनको पहिलो उपन्यास समर लभले १० वर्षे यात्रा पार गरिसकेको छ । यो उपन्यास अहिले पनि सदाबहार बिक्री हुने पुस्तकमध्येको एक हो । १० वर्षे यात्रामा समर लभ १ लाख प्रतिको हाराहारीमा बिक्री भएको अनुमान छ । तर यसले पनि हाम्रा सञ्चार माध्यमहरूलाई तानेको छैन । काठमाडौंमै रहेका लेखक सुबिनसम्म पुग्न हाम्रा सञ्चार माध्यमलाई केले रोकेको छ ?
अब कुरा गरौं एक्लोको ।
बुद्धिसागरको पछिल्लो समय प्रकाशनमा आएको कृति हो, एक्लो । जसले पाठकको माया सँगसँगै आलोचना पनि बेहोरिरहेको छ । समीक्षाहरू आएका छन्, जसले पुस्तकलाई बुद्धिसागरको ब्राण्डसँग तुलना गरी कमजोर बताइरहेका छन् ।
सुबिन र बुद्धिसागरमा के समानता छ भने, सञ्चारमाध्यमहरूको चासो यी दुवै लेखकहरूमा छैनन् । आलोचनात्मक समीक्षाहरू छापिएका छन्, तर लेखकलाई आफ्नो कुरा राख्न दिने कुरामा हाम्रा सञ्चार माध्यमहरू कन्जुस देखिन्छन् । यस मामिलामा साहित्यपोस्ट आफैं पनि सामेल भएको सत्य भने नकार्न मिल्दैन ।
त्यति मात्र होइन, प्रकाशनमा आएका अन्य उत्कृष्ट कृतिहरूमा पनि मिडियाहरुको ध्यान पुगेको देखिँदैन । उदाहरणका लागि भगवान् कोइरालाको आत्मकथा हृदय, खिमलाल गौतमको पन्ध्रौं चुली लगायतलाई लिन सकिन्छ ।
पछिल्लो समयमा प्रकाशनमा आएको उपन्यास ‘समभोक’ भने अपवादको नमूना बनेको छ । स्मरण रहोस्, यसका लेखक अमेरिकावासी हुन् ।
समभोकप्रति मिडियाहरुको चासो देख्दा यस्तो लाग्छ, मानौं यो पुस्तकमा वर्तमान समयमा प्रकाशनमा आएका माथि उल्लिखित पुस्तकहरूभन्दा अब्बल छ ।
अब पछिल्लो एक महिनामा समभोकका लेखक शिव प्रकाशले पाएको मिडिया–स्पेसलाई नियालौं ।
१. भोकाहरूको संसार तर भोक फरक छ (माघ ७, एपी टक टाइम, एपीवान एचडी, मोहनराज शर्मा),
साथमा पुस्तक सार्वजनिकीकरणको लाइभ पनि
२. समभोकमा भोकदेखि भोग, सम्भोग, त्याग र समपर्णका कथा छ (माघ १४, अन्तर्वार्ता, सेतोमाटोका लागि जनक कार्की)
३. शिव प्रकाश किन विद्रोहको बाटो बोल्दैछन् ? (माघ १४, अन्तर्वार्ता, शुभ बिहानी, अर्थ न्युज एचडी)
४. A Philosophical Journey To Sex (माघ १३, समीक्षा, मोदनाथ ढकाल, द राइजिङ नेपाल)
५. समभोकः भोक, भोग र सम्भोगको त्रिवेणी (माघ १३, समीक्षा, विराट अनुपम, नेपालप्रेस)
६. संसारमा तीन कुरा अजम्बरी छन्ः भोक, भोग र सम्भोग (पौष २९, भिडियो स्टोरी, देशसञ्चार)
७. समभोकको संदर्शन (पौष ३०, अन्नपूर्ण पोस्ट, अन्तर्वार्ता)
८. भगवान् पनि मानिसकै भोकबाट जन्मिएको हो (पौष २९, अन्तर्वार्ता, मेरो न्यूज)
९. मान्छेभन्दा बढी भोक बाँचेको देखेँ (पौष २७, अन्तर्वार्ता, किताबका कुरामा मिलन राईसँग)
१०. शिव प्रकाशको समभोक शनिबार विमोचन हुने, के छ यसमा ? (पौष २१, सेतोपाटी, फिचर स्टोरी)
११. नयाँ पुस्तकबारे शिव प्रकाश भन्छन् : भोक र भोगभन्दा माथि सम्भोग हो (पौष २२, रातोपाटी, भिडियो स्टोरी)
१२. अमेरिका भोकको दौड हो (पौष २०, अन्तर्वार्ता, साहित्यपोस्ट)
यी त भए लेखक र पुस्तकबारे छापिएका सामग्री । अनि समाचार ? भो त्यताको त कुरै नगरौं ।
सम्भवतः समभोकलाई लिएर पहिलो सामग्री यही पत्रिकामा प्रकाशन भएको थियो – अमेरिका भोकको दौड हो । गज्जबका कुरोचाहिँ उक्त अन्तर्वार्ता स्तम्भकार स्वयंले लिएको थियो । तर त्यतिबेला लेखकका कुरा सुन्दा लागेको थिएन कि ‘समभोक’ वर्तमान समयमा लेखिएको वास्तवमै उत्कृष्ट किताब हो । जब एकपछि अर्को गर्दै सञ्चारमाध्यमहरू समभोकमय बने तब भने स्तम्भकारलाई विश्वास गर्न करै लाग्यो ।
अब लेखक शिव प्रकाशले अन्तर्वार्ताहरुमा बोलेको केही आकर्षक उत्तरहरु हेरौं –
१.
प्रश्न – आधारभूत आवश्यकताको भोकलाई भोग गरिसकेपछि मात्र अन्य शौखिन भोकको जन्म हुन्छन् । भोकको यात्रा कहिले समाप्त हुने हो ?
उत्तर – हामी भोक केलाई मान्छौं ? समभोकले त्यसको उत्तर खोज्ने प्रयास गरेको छ । किताब पढ्न सुझाउँछु । (सेतोमाटो, जनक कार्की)
२.
प्रश्न – किन लेख्नु भो समभोक ?
उत्तर – केही नयाँ विषयमा लेखौं भन्ने लागेको थियो । ‘करेन्टनेस’ पनि होस् । ‘केन्टेन्ट’ पनि होस् । जुन ‘युनिभर्सल’ पनि होस् । (अन्नपूर्ण पोस्ट)
३.
– दर्शनका आँखा खोलेर हेर्ने पयत्न मैले गरेको छु । पाठकले पनि पुस्तक पढ्दै जाँदा त्यो कुरा पाउनुहुन्छ । यी विषयहरुलाई हामीले जसरी बुझेका छौं, त्यो फरक ढङ्गले पनि बुझ्न सकिँदो रहेछ, यिनको अर्थ फरक पनि रहेछ भन्ने कुरा पाठकले पाउनुहुन्छ । (देश सञ्चार)
४.
प्रश्न – यो उपन्यासलाई लिएर तपाईंको अपेक्षा के छ ?
उत्तर – त्यस्तो केही छैन । मेरो के छ भने, म कम लेख्छु । लेखेपछि भरसक केही नयाँ लेख्छु, तर कुनै अपेक्षा राखेर लेख्दिनँ । यसमा पनि, यसपछि अर्को उपन्यास म सायदै लेख्छु । त्यस कारणले, कुनै पनि अपेक्षा राखेर लेखिएको उपन्यास होइन । माथि नै पनि भने, लेख्नका लागि जरुरी लागेर लेखेको हुँ । (साहित्यपोस्ट)
…
अब केही समय अगाडि फर्कौं । लामो समय साहित्यक पत्रकारिता गरेका तथा गोरखापत्रका प्रधानसम्पादक समेत रहिसकेका श्रीओम श्रेष्ठका बारेमा स्तम्भकारले ‘सामूहिक रोदन’ शीर्षकमा व्यक्ति–चित्र लेखेको थियो । त्यसै समयमा उनले आफ्नो अनुभवसहित कसरी युरोप–अमेरिकाजस्ता विकसित मुलुकबाट आएका लेखकहरूलाई नेपाली सञ्चारमाध्यमले आँखा चिम्लेर विश्वास गर्छ भन्नेबारे आफ्नो अनुभव सुनाएका थिए । पढौं, पहिले उनकै कुरा –
खासगरी पछिल्लो समयका साहित्यकारहरू राम्रो लेख्नेमा भन्दा पनि राम्रो प्रचार र चर्चा गर्ने अभियानमा लागेको अनुभव मैले गरेको छु । त्यसमा पनि, देशमा बसेका भन्दा विदेशमा बस्नेहरू यो मामिलामा अघि छन् । उनीहरू बिदा मनाउन, छोराछोरीलाई घुमाउन तथा आफन्त–परिवारसँग भेटघाटका लागि नेपाल आउँछन् । उनीहरू उपहार तथा विभिन्न खानेकुराहरू लिएर आउँछन् । उनीहरूको पैसा पनि हाम्रो भन्दा धेरै महँगो हुन्छ ।
खास गरी, अमेरिका, क्यानडा तथा युरोपबाट आउनेहरू नेपाल आउनुलाई उपलब्धिमूलक बनाउन चाहन्छन् । घरमा बाउआमा भेटेको भन्दा पनि आत्मप्रशंसाका लागि किताब निकाल्ने, कार्यक्रमहरू गराउने, पुरस्कारहरू छाप्ने र दुनियाँलाई भोज खुवाएर त्यसको प्रचारप्रसार गराउने गरेको मेरो अनुभव छ ।
मिडिया तथा पत्रकारहरू पहिल्यैबाट यसै प्रवृत्तिको पछि कुद्ने गरेका छन् । अहिले परिभाषा अलिक फरक बनेको छ बरु, पहिले त ‘जहाँ पत्रकार त्यहाँ रक्सीको खोलो’जस्ता उखानै बनेको थियो । पत्रकार महासंघदेखि विभिन्न मिडियाहरुको कार्यक्रमहरुमा अझ पनि त्यस्तै नै भइरहेको छ । ठुला भनिएका अखबार तथा अनलाइनहरु हेर्नुहोस्, एउटा कुनै विषयमा एक संस्थाको विरोध गर्छ, गर्छ, गर्छ । अनि ठ्याप्पै बन्द गर्छ । यो भनेको बार्गेनिङ होइन ? पत्रकारिताको काम बेथितिहरुको विरुद्धमा लेख्ने हो, तर सबैभन्दा धेरै बेथिति पनि यहीभित्र देखिएको छ । होइन र !
ठूला भनेका मिडियाहरूले चोरलाई साधु र साधुलाई चोर बनाउने काम गरिरहेका नै छन् । समयमा तलब नपाउने साना–साना पत्रकार तथा रिपोटरहरु कतिपय अवस्थामा मिडियाकै बफदार बनिरहेका हुन्छ । सबै त होइन, तर अलिकति बोतल खान पाएपछि, पार्टी खान पाएपछि, सानो उपहार ल्याइदिएपछि नूनको सोझो गर्दै कलम तिर्खानेहरु पनि प्रशस्तै छन् ।
नेपालभित्रकै कुरा गर्दा पनि नितान्त साधना गरेको लेखकको भन्दा उद्योगी–व्यवसायी लेखकहरुको प्रचारप्रसार बढी छ । यसर्थ, हामीकहाँ लेखनको मूल्यांकन कमै भएका छन् । हुँदै आएका छन् ।
…
एक लेखकका रुपमा धेरै मिडियामा आउन चाहनु, आफ्नो पुस्तकको बृहतर प्रचार चाहनु नराम्रो कुरो होइन । अझ, समभोक जत्तिको कृतिले यतिको ठाउँ पाउनु पनि गलत होइन । तर, ‘समभोक’हरूले मिडियामा प्रशस्त ठाउँ पाइरहँदा सन्थाल समुदायलाई केन्द्रमा राखिएर लेखिएको उपन्यास ‘आतोओडा’जस्ता थुप्रै पुस्तकले भने कुनै स्पेस नपाउनु दुःखको कुरा हो ।
यो एउटा ‘केस स्टडी’ हो । शिव प्रकाश ‘नमूना लेखक’ हुन् । अहिले बजारमा समभोककै चौतर्फी चर्चा–परिचर्चा चलिरहँदा ‘केस स्टडी’को केन्द्रमा समभोक पर्नु अनौठो भएन । तर अबको प्रश्न हाम्रा सञ्चारमाध्यमहरुलाई हो । पत्रकारहरुलाई हो । म आफैंलाई पनि हो । हामी कहिलेसम्म शक्ति र स्वार्थको पछि मात्र कुदिरहने ? यसको उत्तर पनि हामीले नै दिने हो ।
अँ, अन्त्यमा केस स्टडीमा परेको यस उपन्यासभित्रकै कुरा पढौं न त !
‘‘भोका छन् टीभी च्यानल पनि । ‘लाइभ र ब्रेकिङ्’को भोक सबैलाई छ । न्यूज पोर्टलहरु न्यूज खोज्दैनन् । न्यूज उत्पादन गर्छन् । कारखाना हुन् जे बिक्छ त्यही ल्याउँछन् । जनतालाई बजार सम्झन्छन् । समाचारको ब्राण्ड लगाएर उत्पादन बेच्छन् । सूचनाका नाउँमा असूचनाको बाढी बगाउँछन् ।’’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।