अश्नीर ग्रोभरको नाउँ मैले पहिलो पटक फोर्ब्स इन्डिया पत्रिकाको अनलाइनमा देखे / पढेको थिएँ तर उनका बारेमा गहिराईमा जानेको थिइनँ ।

सोनी टेलिभिजनमा ‘सार्क ट्याङ्क इन्डिया’ नामक कार्यक्रम आइवरी हिट भइसक्दा पनि मलाई ‘सार्क ट्याङ्क इन्डिया’का बारेमा थाहा थिएन किनभने टेलिभिजनै नहेर्नेलाई के सार्क, के ट्याङ्क ! बिबिसीको ‘ड्रागन डेन’ र ‘सार्क ट्याङ्क युएस’ कार्यक्रमका बारेमा सुनेको थिएँ तर मतलब थिएन ।

यसपछि गत तीन महिनादेखि फेसबुकको रिल र टिकटकमा साना क्लिपहरूको बाढी आयो, ‘सार्क ट्याङ्क इन्डिया’को । जहाँ अश्नीर ग्रोभरको आक्रामक टिप्पणी हुने गर्थे । ती टिप्पणी बेहुदा, असभ्य र कम्पनीका सञ्चालकप्रति गरिनुपर्ने व्यवहार बाहिरको लाग्थ्यो ।

कुनै व्यवसायीले केही व्यवसाय गरिरहेको छ । उसले थोरबहुत कमाई पनि गरिरहेको छ । तर अब उसलाई पूरै मुलुकभरि र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो व्यवसाय, उत्पादन वा ब्रान्ड फैलाउनु छ भने ठूलो लगानीकर्ता वा साझेदार चाहिन सक्छ । त्यस्तो साझेदार यस्तो होस् कि जसको प्रभाव, अनुभव र पैसाको बलसँग यो नयाँ व्यवसायीको मिहिनेत मिसिएपछि केही वर्षभित्रै उसको सपना साकार होस् र देशमा उदाएको नयाँ व्यवसायीको अनुहार बन्न पाइयोस् । अर्बपति व्यापारी हुन पाइयोस्, देश र जनताको भलो गर्न सकियोस्, सर्वसाधारणका समस्या सुल्झ्याउन सकियोस् भन्ने केही लोभ, केही लक्ष्य र केही सपनाका कारण सार्क ट्याङ्क इन्डियामा सहभागी हुने गरेको देखियो । र, त्यहीँ अश्नीर ग्रोभरले सहभागी भएका व्यवसायी, कुनै नयाँ आइडियाका संस्थापकहरूलाई नमज्जाले गाली गर्थे ।

उनी भन्थेः

तँ यो काम गरी खाँदैनस्
यसको साटो अरू नै जागीर खा, तेरो कल्याण होला
तैंलेभन्दा बरू गल्लावालाले राम्रो गरिरहेको छ
यस्तो वाहियात सोच लिएर हाम्रो समय किन बर्बाद गरिरहेको ? गइहाल् !

यस्ता टिप्पणी सुनेपछि उनका निर्णायक साथीहरूले पनि उनलाई नरम बनाउने प्रयास गरे तर सकेनन् । उनको भनाइ थियोः सत्य तीतो हुन्छ । सबैले ऐना हेर्दैनन्, कहिलेकाहीँ तिनलाई देखाउनु पर्छ ।

मैले यी तीन महिनामा अश्नीरका प्रायः सबै प्राप्त भिडियोहरू हेरेँ । उनको सिधासिधा बोल्ने, घुमाएर जवाफ नदिने कारणले उनको यति धेरै ट्रोल बनेका रहेछन् कि अरू कोही भए डिप्रेसनमै जान्थ्यो होला ।

सार्क ट्याङ्क इन्डियाका साना साना क्लिपहरू फेसबुक या टिकटकमा हेरिसकेपछि दिमागमा आउँथ्यो- यो मान्छे यति तिक्तता बोकेर किन निर्णय गर्दो हो ? त्यसको जवाफ ‘दोग्लापन’ किताबमा सविस्तार वर्णन गरेका छन् । आफैँले स्थापना गरेका दुई कम्पनीबाट उनी निकालिनु, कम्पनीभित्र हुने तानातान र राजनीतिका बीच उनी सार्क ट्याङ्कमा निर्णायक बनेर पुगेका रहेछन् । त्यो भित्री कथा थाहा नहुनेले उनको त्यो तिक्तता बुझ्न सक्दैनन् ।

किताबको अन्त्यतिर उनले आफ्नो अवस्थालाई उबर कम्पनीका संस्थापक ट्राभिस कलानिकसँग तुलना गरेका छन्, जो आफ्नै कम्पनीबाट निकालिएका थिए र आफूले सबैभन्दा बढी विश्वास गरेका व्यक्तिहरूले आफूलाई सबैभन्दा बढी चाहिने बेला घात गरे भन्ने गुनासो गरेका थिए । त्यसका लागि अश्नीरले उबर कम्पनीमाथि बनाइएको टेलिभिजन शृंखला ‘सुपर पम्प्ड’को क्लाइमेक्स बताएर आफ्नो हालत प्रस्ट्याउने प्रयत्न गरेका छन् ।

अश्नीरले एउटा गज्जबको टिप्पणी गरेका छन् किताबमा । उनी भन्छन्, ‘खासमा पारिवारिक व्यवसाय जत्तिको राम्रो कुरा केही होइन किनभने अप्ठेरो परेका बेला परिवार नै काम लाग्छ । जस्तोसुकै अप्ठेरोमा परिवार चट्टान बनेर उभिन्छन् र आफूमाथि गरेको त्यो विश्वास, भरोसा र भरेको आत्मविश्वासले मानिसलाई पुनः उभिन मद्दत गर्छ ।’

हुन त त्यो उनको निजी धारणा हो, सहमत हुनुपर्छ भन्ने छैन किनभने सबै व्यवसायी परिवार उनले भनेजस्तै चट्टानझैँ उभिन्छन् भन्ने छैन । अम्बानी दाजुभाइको तिक्तता, बिकानेर भुजियावालाको मुद्दामामिलाको कथा थाहा पाउनेले परिवारभित्रैका तानातान, षडयन्त्र र एकअर्कालाई सिध्याउन गरिएका मुद्दामामिलाका कथा पनि कम छैनन् भन्ने देखिएकै हो ।

हाँस्न तँ किन कञ्जुस छस् ? कुनै पडकास्टरले अश्नीरलाई सोधेका थिए । जवाफमा अश्नीर भन्छन्, ‘स्टुडियोमा घण्टौँ कुनै व्यवसायीका कुरा त्यसमा असहमतिका बाबजुद सुन्नु, आफ्नो महत्त्वपूर्ण समय प्रतिपल नराम्रोसँग खर्च भइरहेको थाहा पाउँदा म कसरी खुसी हुन सक्छु ?’ र, त्यही कारण उनी धेरै पटक ट्रोलको शिकार बनेका थिए ।

‘दोग्लापन’ उनले आफ्नो करियर ध्वस्त बनाउन साथीहरूले खेलेको कुरूप षडयन्त्र र त्यसलाई चिर्न आफूले गरेको जद्दोजहदको प्रयास हो । यो किताबमा एउटा मध्यमवर्गीय परिवारको पढ्न टाठो ठिटोले कसरी भारतकै उम्दा कलेजमा ठाउँ पाउँछ, त्यसलाई उसले कसरी सुन्दर तरिकाले सदुपयोग गर्छ भन्ने सविस्तार वर्णन गरिएको छ ।

अश्नीरले लेखेका केही प्रसंग मलाई यो पुस्तकमा ज्यादै मन परेको छ । पहिलो प्रसङ्ग, उनकी प्रेमिका माधुरीका बारेमा, जो पछि श्रीमती बनिन् । कसरी उनलाई देख्नेबित्तिकै आफूले उनैसँग बिहे गर्ने निश्चित गरे तर माधुरीको बनिया परिवारले आफूलाई कसरी ‘रेफ्युजी’ बिल्ला भिराएर अस्वीकार गरिरह्यो । सन् १९४७ मा जब भारत विभाजन भयो, पाकिस्तानको लाहोरमा बसिरहेको एउटा पञ्जाबी परिवारले सबथोक छाडेर दिल्लीमा शरणार्थी बन्नु पर्यो र कठोर संघर्षपछि आफूलाई स्थापित गर्नुका बाबजुद पनि रिफ्युजीको ठप्पा लागिरह्यो भन्ने मार्मिक प्रसंग उल्लेख गरेका छन् ।

दोस्रो चाहिँ, ‘सार्क ट्याङ्क’को सुटिङको पहिलो दिन जब अश्नीर, विनीत र अन्य केटाहरूलाई टेलिभिजनका ड्रेस डिजाइनर युवतीहरूले लुगा लगाइदिन थालेपछि उनकी पत्नीले टेलिभिजनका कार्यक्रम निर्देशकलाई भनेर ती सारा युवतीहरू भगाइदिइछन् । उनकी पत्नी माधुरीले भनिछन्, ‘ये तो दिल्ली के मिडिल क्लास लौंडे हैं, इन को इतना तजब्बो मत दो !’ (दिल्लीका मिडिल क्लास केटाहरूलाई धेरै महत्त्व नदिनू, केटीहरू यिनलाई देख्नै हुन्न !) भोलिपल्ट सुटिङमा जब सार्कहरू पुगे, केटीहरू पूरै गायब ! हुँदाहुँदा बस्ने गतिलो कुर्सी पनि गायब भएछ । आफ्नै पत्नीले गरेको घात उनले प्रायः हरेक कार्यक्रममा मच्ची मच्ची सुनाउने गर्छन् ।

तेस्रो चाहिँ सबैभन्दा रोचक छ । उनको कम्पनी ग्रोफर्स स्थापनाको र बोर्डमा छिरेलगत्तै घटेको घटना हो यो । ग्रोफर्स नामक मोबाइल एपबाट सामग्री घरसम्म ल्याउने कम्पनी स्थापना भएको मात्र थियो । कम्पनीका लागि पैसा उठाउने काममा मग्न भएका बेला उनी बोर्डमा आउनुपर्ने भयो । यसका त्यति धेरै ग्राहक थिएनन् । दिल्लीमा एक जना कपुर थरका व्यक्तिले आफ्नो तरकारी पसलबाट घरमा तरकारी मगाए, त्यही ग्रोफर्स एपबाट । त्यो दिन ३० वटाभन्दा बढी माग आएका कारण कामदारले कपुरको पसलबाट नल्याई अन्तैबाट तरकारी घर पुर्याइदियो । विषादीमुक्त तरकारी बेच्ने कपुरलाई विषादीयुक्त तरकारी घर पुर्याइदिएपछि उनले अदालतमा मुद्दा हाले र मुद्दा यति चर्कियो कि उच्च अदालतसम्म कुरा पुग्यो । दुई पटक मुद्दा हारेर कम्पनी नै बन्द हुने अवस्था आएपछि यो मुद्दा कसरी जिते भन्ने बयान सबैभन्दा रोचक छ ।

समग्रमा यो किताब हतारमा लेखिएको डायरी जस्तो छ । हतार नभएको भए, प्रत्येक घटनालाई विस्तारपूर्वक लेखेको भए भोलिका दिनमा एउटा रोचक कम्पनीको संस्थापकको रोमाञ्चक लगानीयात्रामाथि फिल्म, टेलिभिजन शृंखला बन्न सक्थ्यो । टेलिभिजन वा फिल्मका पटकथाकारका लागि पर्याप्त मिहिनेतका लागि ठाउँ दिएर उनले पुस्तक टुंग्याएका छन् । मैले किन टेलिभिजन वा फिल्मको पटकथाको कुरा गरेको भने, भविष्यमा यस किताबमा आधारित शृंखला वा फिल्महरू बन्न सक्छन् किनभने उनले सुपर पम्प्ड टेलिभिजन शृंखलाको सन्दर्भ जो दिएका छन् !