म बुझ्छु तिमीलाई आजकल
आफैँ जन्मेको थोत्रो घर डर लाग्छ
नागरिकतामा भएको थर डर लाग्छ
घर छेवैको पिपलु र वर डर लाग्छ
साँच्चै हो मित्र, तिमीलाई अचेल
छाडेको मुलुकको हरेक प्रहर डर लाग्छ
तिमीले नभने पनि बुझ्छु
तिमीलाई अचेल आफूले खाएको
नूनको गुन सम्झँदा डर लाग्छ
दाल चामलसँगै आउने घुन डर लाग्छ
पालना गर्नुपर्ने संविधान, कानुन डर लाग्छ
अरु पनि धेरै होलान् तिमीलाई डर लाग्ने चिज
मुख्य कुरा त यहाँ उदाउने घाम र जून डर लाग्छ
मलाई थाहा छ आजकल तिमीलाई
हिजो हिँडेका गोरेटो र खोली डर लाग्छ
आफूसँगै हुर्केका संगीहरूको बोली डर लाग्छ
एक मात्र हैन यो देशको हरेक पाटो डर लाग्छ
कुन दिन भन्ने छौ यहाँसम्म आउन निकै खतरा छ
बारुद भै पडकने शंकामा यहाँको माटो डर लाग्छ
मलाई यो पनि थाहा छ मित्र
तिमीलाई अहिले सुरक्षाको छाना मिलेको छ
तिम्रो सोच अनुसारको नाना मिलेको छ
वृद्ध आमा-बाको लहरे खोकी बिर्साउने गरी
सात समुद्रपारि गाना बजाना मिलेको छ
त्यसैले आजकल मलाई पनि
सधैँ तिमीले दिएँ भनेको दानको डर लाग्छ
जिउँदै मरेझैं लाग्ने अपमानको डर लाग्छ
हरेक कुरामा झल्किने सम्पत्ति ऐश आराम
स्वाभिमानसँग साटिएको अभिमानको डर लाग्छ ।
गोरखा नगरपालिका- ३, गोरखा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।