१. नीलो चरा

मेरो हृदयमा बस्ने गर्छ एक नीलो चरा
जो बाहिर आउन चाहन्छ
तर म उसलाई कठोरतासँग भन्छु-
त्यहीँ बस्, मेरो हृदयभित्रै
म कसैलाई पनि तँलाई
हेर्न दिनेछैन।

मेरो हृदयमा बस्ने गर्छ एक नीलो चरा
जो बाहिर आउन चाहन्छ
तर म उसमा व्हिस्की खन्याइदिन्छु
र उसमा छोड्छु सिग्रेटको धुवाँ
वेश्या र बारम्यानहरूलाई
र किराना पसलवालालाई
यो कहिल्यै थाहा हुने छैन
कि मभित्र छ एक चरा।

मेरो हृदयमा बस्ने गर्छ एक नीलो चरा
जो बाहिर आउन चाहन्छ
तर म उसलाई कठोरतासँग भन्छु
त्यहीँ बस्, मेरो हृदयभित्रै
के तँ मलाई सताउन चाहन्छस् ?
के तँ बिगार्न चाहन्छस् मेरो काम ?
के तँ युरोपमा
मेरो किताबको बिक्री घटाउन चाहन्छस् ?

मेरो हृदयमा बस्ने गर्छ एक नीलो चरा
जो बाहिर आउन चाहन्छ
तर म धेरै चलाख छु
कहिलेकाहीँ रातमा उसलाई बाहिर निकाल्छु
जब सबै सुतिरहेका हुन्छन्
म भन्छु- मलाई थाहा छ कि तँ त्यहाँ छस्
त्यसैले नहुनु
उदास।

यसपछि मैले फिर्ता उसलाई
त्यहीँ राखिदिन्छु
ऊ धेरै-थोरै गाउँछे त्यहाँ
मैले उसलाई मर्न दिएको छैन
हामी एक साथ सुत्छौँ
आफ्नो गुप्त सन्धिको साथ
कुनै पुरुषको रोदनका लागि
यत्ति काफी छ
तर म रुँदिन।

तपाईं चाहिँ ?

—————————————-

२. जब कविताहरू

जब कविताहरू
एक हजारको संख्यामा हुन्छन्
तब यो महसुस हुनेगर्छ
कि अहिलेसम्म तपाईंले रच्नु भएको छ निकै कम

वर्षा, प्रकाश, भिडभाड, वर्षौं बिताएका दिनरातहरू
र अनुहारहरू सबै धमिलो देखिने गर्छन्
त्यसलाई जीउन भन्दा छोडिदिन धेरै सजिलो लाग्छ
केवल एक पंक्ति लेख्ने मन हुन्छ
कि एक मान्छे रेडियोमा पियानो बजाउँछ

राम्रा कविहरूसँग
भन्नलाई धेरै कम हुनेगर्छ
र नराम्रा कविहरूसँग
धेरै बढी ।

अनुवादः मोहित जोशी