जेन अस्टिनको घर तथा बगैँचा

द अब्जर्भर पत्रिकामा प्रकाशित डेभिड बर्नेटको समाचार

बेलायती उपन्यासकार जेन अस्टिनले दोस्रो उपन्यास ‘प्राइड एन्ड प्रेजुडिस’ लेख्दा दुई सय वर्ष पछिका तन्नेरीहरूले पनि उत्तिकै रोचक मानेर पढ्लान् भन्ने सोचेकी पक्कै थिइनन् । टिकटकको यो जमानामा अझै यो उपन्यासका पात्र, पात्रहरूबीचको ईबी र मित्रताको चर्चा हुने गरेको छ ।

जीवनमा जम्मा ६ वटा उपन्यास लेखेकी अस्टिनको लोकप्रियता पछिल्लो समय कति बढेको छ भने उनको जन्मस्थान बाथमा बनाइएको म्युजियम जेन अस्टिन केन्द्रमा घुम्न निकै युवा आउने गरेका छन् ।

‘उनका उपन्यास पढेर आउने युवाको संख्या देखेर म त चकित पर्छु,’ केन्द्रकी सञ्चालिका एलिस होजेस भन्छिन्, ‘आठ वर्षे बच्चाहरूले पनि उनका उपन्यासका कुरा गरेको देख्दा उदेक लाग्ने के !’

जेन अस्टिनका उपन्यास पढ्दै दिदीबहिनी

उपन्यासकार अस्टिनप्रति रूचि बढाउने काम भने फिल्म तथा शृंखलाहरूले पनि गरिरहेका छन् । उनका उपन्यासमाथि बनेका फिल्महरू हुन् या पछिल्लो समय उनका उपन्यासका पात्रहरूमाथि नयाँ पुस्ताका लेखकहरूले शुरू गरेको लीलालेखन, यी सबै कुराले अस्टिनको लोकप्रियता अझ थपेको केहीको धारणा छ ।

क्याम्ब्रिज विश्वविद्यालयले हालै ओएमजी जेन अस्टिन नाममा अध्ययन शृंखला नै चलाएको थियो । जसमा उनका उपन्यासमाथि इन्टरनेट पुस्ताले सिर्जना गर्ने मिम तथा टिकटक, विविध भिडियो शृंखला, पुस्तक चर्चा, तस्बिर शृंखला आदिको अध्ययन गरेको थियो । सो अध्ययनले अस्टिन बेलायती लेखकहरूमा विलियम सेक्सपियरपछिकी सबैभन्दा बढी लोकप्रिय लेखिकाका रूपमा रहेको प्रमाणित गरेको थियो ।

अर्को यस्तै अध्ययनअनुसार इन्टरनेटमा सबैभन्दा बढी मिम सेक्सपियरको बनाउने गरिन्छ । त्यसपछि अस्टिनको नाम आउने गर्छ ।

जेन अस्टिनका कामको चर्चालाई समकालीक बनाउन बाथस्थित जेन अस्टिन केन्द्रले रोचक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । उदाहरणका रूपमा, अहिलेसम्म जति पनि उनका उपन्यासमाथि टेलिभिजन शृंखला वा फिल्महरू बनेका छन्, तिनका पात्रहरू खेल्ने कलाकारहरूका बारेमा विस्तृत जानकारी दिने गरेको छ ।

कुन कलाकारले कुन पात्रको अभिनय कुन सालमा गरेको हो भन्नेजस्ता रोचक जानकारीका कारण नयाँ पुस्ताले उपन्यासका पात्र मात्र होइन लेखिका स्वयंसँग पनि नजिकको अनुभूति गर्ने एलिस बताउँछिन् ।

अहिलेसम्म आफू अस्टिनको घर हेर्न नपाएको तर आमाबाबुसँग हत्ते गरिरहेको बताउने हडर्सफिल्ड बस्ने ११ वर्षीया क्लेम मेलिङ भन्छिन्, ‘जेन अस्टिनको लेखनी ऊर्जाशील मात्र छैन, उत्तिकै रमाइलो पनि छ । उनका पात्रमा रहेको विद्वता, हाँसउठ्दा व्यवहार र चलख्याइँ मलाई निकै मन पर्छन् ।’

मेलिङ भन्छिन्, ‘दुई सय वर्षअघिका घटनाहरू भए पनि सम्बन्ध, दोस्तीजस्ता कुरा अहिलेकै जस्तो हुन् कि झैँ हुनु उनका उपन्यासका मुख्य विशेषता हुन् । ती पात्रहरूका बारेमा पढ्नु उनीहरूसँग संवाद गर्नुजस्तै लाग्छ मलाई ।’

क्लेमकी १० वर्षीया बहिनी गिली पनि जेन अस्टिनको भयंकर प्रशंसक हुन् । गिलीलाई नर्थह्याङ्गर एबी उपन्यासको मन पर्ने पात्रमा एलिनोर टिल्नी हुन् । ‘किन थाहा छ ?’ उनी व्याख्या गर्दै भन्छिन्, ‘किनभने उनी ज्यादै शान्त किसिमकी छन् । ती त अहिलेका शान्त युवतीजस्तै भएकाले मलाई मन परेको हो । खासमा उनी मजस्तै अन्तरमुखी स्वभावकी छन् । त्यै भएर म त उनलाई ज्यादै मन पराउँछु ।’

यी दुई बालिकाका आमा हेजेल डेभिस उमेरले ४६ वर्षकी भइसकिन् । पेशाले लेखकसमेत रहेकीले आफ्ना दुई छोरीको जेन अस्टिनप्रति रूझान बढेकामा निकै खुसी छिन् । उनी भन्छिन्, ‘अचेलका बच्चाहरू संसार ध्वस्त भएका उपन्यासहरू रूचाउँछन् । त्यो मलाई मन पर्दैन । मेरा दुवै छोरीहरूले जेन अस्टिनको लेखनी मन पराएकामा मलाई ज्यादै खुसी लाग्ने गर्छ । वास्तवमा हामीले मानिसका चासो, चिन्ताबारे ख्याल गर्नुपर्छ तर भित्र कुनै क्रोध पाल्नु हुन्न ।’

हेजेलका लागि सबैभन्दा राम्रो पक्ष चाहिँ ती उपन्यासले दुई सय वर्षअघिको इतिहास बोल्छ, खासगरी नारीवादी इतिहास । अप्ठेरा अवस्था र चुनौतीसँग जुझ्न जुन प्रेरणा उनका उपन्यासले दिन्छ, त्यसले अहिलेका पुस्तालाई पनि उत्तिकै प्रेरित गर्ने उनको बुझाइ छ ।

प्राइड एन्ड प्रेजुडिस चलचित्रमा किएरा नाइटी र म्याथ्यु म्याकफेडेन

जुलिया गोल्डिङ त जेन अस्टिनको यस्तो प्रशंसक हुन् र उनका उपन्यास यति धेरै पढेकी छन् कि प्रत्येक उपन्यासका घटना, पात्र र अवस्थाहरू उनलाई खरर दिमागमा आउँछ । यसैलाई उनले एउटा रोचक खेलमा परिणत गरिन् । उनले यतिबेला ह्वाट वुड जेन डू ? शीर्षकको पडकास्ट चलाउने गर्छिन् । उनले त जेन अस्टिन इन्भेस्टिगेट्स शृंखलामा पुस्तकहरू पनि टन्नै लेखेकी छन् । उनका पुस्तकहरूमा जेन अस्टिन एउटा जासुस बनेर विभिन्न समस्या र रहस्यहरू सुल्झाउँछिन् । उनले पनि पछिल्लो समय युवापुस्ता अस्टिनका लेखनीतर्फ आकर्षित भएको महसुस गरिरहेकी छन् ।

यो आधुनिक जमानामा पनि त्यो प्राचीन समयझैँ लाग्ने अवधिको उपन्यास पढ्नु केही अनौठो लाग्छ नै तर यत्तिका सामाजिक सञ्जालका उपाय हुँदाहुँदै किताबमा आकर्षित हुनु निकै सकारात्मक पक्ष भएको जुलिया गोल्डिङ बताउँछिन् ।

उनी भन्छिन्, ‘जेन अस्टिनले आफ्नो वरिपरि यति सुन्दर संसार उभ्याइन् कि सबैले त्यहाँ खेल्ने अवसर अहिले पाएका छन् । एउटा सशक्त सर्जकको खुबी भन्नु नै अरूलाई पर्याप्त खेल्ने ठाउँ दिनु पनि हो ।’ त्यही कारण अहिलेका पुस्ता उनीप्रति आकर्षित भएको उनको निचोड छ ।

त्यसैले पनि अहिलेका युवतीहरू लभ आइल्यान्डजस्तो रोचक रियालिटी टेलिभिजन सोमा व्यस्त हुँदाहुँदै पनि, इन्स्टाग्राममा आफूलाई रम्य्राउन व्यस्त रहे पनि, टिकटकमा अभिनय गर्न थाले पनि जेन अस्टिनका लागि पर्याप्त ठाउँ हुने गरेको छ ।

जेनका उपन्यासमा ठूलो घर, गाउँले व्यवहार, कुरा काट्ने बानी, कसैको नजरबाट नछुप्ने युवा व्यवहारजस्ता विषय अचेलका युवाले यति गहिरो गरी बुझ्न सक्छन् कि त्यसैले पनि उनीहरूलाई जेन अस्टिनका सिर्जनामा आफूलाई पाउने गर्छन् । र, जब पाठकले आफूलाई उपन्यासमा भावनात्मक रूपमा पाउँछन्, त्यसपछि तिनलाई दशकौँसम्म पछ्याइरहन्छन् । जेन अस्टिनको मामिलामा यही भइरहेको गोल्डिङ बताउँछिन् ।

जेन अस्टिनका सिर्जनालाई आधार बनाएर लेखिएका उपन्यासहरूले यतिबेला निकै ठूलो सफलतासमेत हात पार्न सफल भएका छन् । तीमध्ये इबी जोबोईको प्राइड (२०१८), एलिस ओसेमनको सोलिटायर (२०१४), द लिजी बेनेट डायरीज (२०१२) रहेका छन् । अझ असफल भए पनि नक्कल गरिएका उपन्यासहरू त हजारौँमा निस्किरहेका छन् । अचेल साहित्यमा जेन अस्टिनको कालको कल्पना गरेर लेखिएका साहित्यलाई रिजेन्सी विधाका उपन्यास भनी नाम राख्न थालिएको छ ।

१७७५ डिसेम्बर १६ मा जन्मिएकी अस्टिनको निधन १८ जुलाई १८१७ मा भएको थियो । जम्मा ४१ वर्षे जीवन बाँचेकी उनले ‘सेन्स एन्ड सेन्सिबिलिटी’, ‘प्राइड एन्ड प्रेजुडिस’, ‘मेन्सफिल्ड पार्क’, ‘एम्मा’, ‘पर्सुएसन’, ‘नर्थह्याङ्गर एबी’ उपन्यास लेखेकी थिइन् । उनले जीवनको अन्त्यताका ‘सेन्डिटन’ उपन्यास लेखिरहेकी थिइन् तर पूरा गर्न नपाई उनको निधन हुन पुग्यो ।