संसार नेटफ्लिक्समा कति व्यस्त छ भन्ने कुरा हालै जारी गरिएको एक तथ्याङ्कले प्रस्ट पारेको छ । नेल्सन नामक अनुसन्धान संस्थाले जारी गरेको तथ्याङ्कअनुसार अमेरिकीहरूले सन् २०२२ मा मात्र झण्डै २ करोड वर्ष बराबरको दृश्य हेरेका छन् ।

यो दृश्य हेर्ने क्रम भने नेटफ्लिक्सका लागि मात्र खर्च गरिएको भने होइन । अहिले उपलब्ध रहेका सबै किसिमका प्लेटफर्महरूमा अमेरिकी जनताले खर्च गरेको समयलाई आधार बनाइएको हो ।

रोचक के छ भने अघिल्लो वर्षको तुलनामा अमेरिकीहरूले २७ प्रतिशत बढी समय दृश्यहरू हेर्न खर्च गरेका छन् । नेल्सन इन्कले जनाएअनुसार नेटफ्लिक्सजस्ता संस्थाले मान्छेले भिडियो खपत बढाउन सघाइरहेका छन् ।

नेटफ्लिक्सले उत्पादन गरेको स्ट्रेन्जर थिङ्स गत वर्ष सबैभन्दा बढी समय लगाएर हेरिएको शृंखला बन्न पुगेको छ । ५२ हजार करोड मिनेट (५२ बिलियन) सो शृंखला हेरिएको थियो । सन् २०२० मा भने द अफिस हेर्न सर्वसाधारणले ५७.१ बिलियन मिनेट खर्चिएका थिए ।

त्यो बेला भर्खर कोभिड १९ को महामारीका कारण सबै घरैमा बसेका थिए । यही मौकामा नेटफ्लिक्सले द अफिसका निर्माता एनबिसी युनिभर्सललाई ५०० मिलियन डलर भुक्तान गरेर नेटफ्लिक्सले प्रदर्शनको अनुमति लिएको थियो ।

स्ट्रेन्जर थिङ्स शृंखलाको यत्ति विधि लोकप्रियताले नेटफ्लिक्सलाई राहत दिएको छ किनभने प्रायः टेलिभिजनमा पहिल्यै प्रसारण भइसकेका शृंखलाहरू पहिले लोकप्रिय हुन्थे वा तिनको बढी माग हुने गर्थ्यो । तिनको लोकप्रियतालाई मध्यनजर गर्दै नेटफ्लिक्सले ती शृंखलाहरू प्रसारणको अनुमति ठूलो दाम चुकाएर लिने गर्थ्यो ।

सन् २०२१ मा नेटफ्लिक्सले लुसिफर नामक शृंखलालाई फक्स टेलिभिजनसँग किनेर हालेको थियो । यो शृंखला पनि निकै लोकप्रिय मानिन्छ । भारतमा पनि यसको लोकप्रियतालाई मध्यनजर गर्दै बलिउडका प्रख्यात अभिनेता अजय देवगनलाई मुख्य भूमिकामा राखेर बनाइएको थियो, जसको त्यति धेरै चर्चा हुन भने सकेन ।

पछिल्लो समय केबुल टेलिभिजनभन्दा नेटफ्लिक्सजस्ता स्ट्रिमिङ सेवा नै सर्वसाधारणले रूचाउन थालेका छन् । गएको जुलाई महिनामा केबुल टेलिभिजन हेर्नेभन्दा स्ट्रिमिङ हेर्नेको संख्याले जितेको थियो ।

केबुल टिभी रूचाउनेमा ५० वर्षभन्दा बढी उमेरका हुने गर्थे । उनीहरू नै केबुल छाडेर स्ट्रिमिङमा आकर्षित हुन थालेपछि केबुल पछाडि परेको हो ।

अमेरिकामा अन्तिम पुस्तासमेत स्ट्रिमिङतर्फ आकर्षित भएपछि सबैजसो स्ट्रिमिङ सेवाको वृद्धि अवरूद्ध हुन पुगेको छ । नयाँ ग्राहकको अभावलाई मध्यनजर गर्दै नेटफ्लिक्सले विज्ञापनमा आधारित स्ट्रिमिङलाई केही देशमा जारी गरेको थियो ।

यसैको देखासिकीमा डिज्ने प्लसले पनि विज्ञापनमा आधारित ग्राहक खोजिरहेको छ । प्रायः टेलिभिजनले पहिल्यै देखाइसकेका कन्टेन्ट नै अहिलेसम्म हेर्न खोजेका कारण धेरैजसो स्ट्रिमिङ कम्पनीहरूले तिनलाई आफ्नो सेवामा थप्ने होडबाजी नै चल्ने गर्छ । यस्तै होडबाजीमा पर्ने शृंखला ‘एनसिआइएस’ पनि हो । सबैभन्दा बढी हेरिने शृंखलामध्ये यो दोस्रो नम्बरमा छ । यसलाई ३८.१ बिलियन मिनेट हेरिएको छ ।

त्यस्तै बालबालिकाको सो ‘कोकोमेलन’ तेस्रो नम्बरमा परेको छ । यसलाई ३७.८ बिलियन मिनेट हेरिएको छ । यसैगरी ग्रेज् एनाटमी, गिल्मोर गर्ल्स र सिनफेल्डजस्ता शृंखला सर्वोत्कृष्ट १० मा परेका छन् । यी शृंखला नेटफ्लिक्समा प्रसारण भइरहेका हुन् ।

रोचक त, नेटफ्लिक्सले बनाएका नयाँ कन्टेन्टहरू पनि निकै रूचाइएका छन् । ओजार्क, वेडनस्डे र कोब्रा काईजस्ता शृंखलाहरू सबैभन्दा बढी रूचाइएका नेटफ्लिक्सका ओरिजनल कन्टेन्ट हुन् ।

अमेजन कम्पनीको प्राइम भिडियोका शृंखलाहरू द ब्वाइज् र द लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर पनि निकै रूचाइएका छन् ।

यसैगरी डिज्नेको इन्कान्टो सबैभन्दा बढी पटक हेरिएको शृंखला पर्छ । सन् २०२२ मा यसलाई २२.४ बिलियन मिनेट हेरिएको थियो ।

नेल्सनले लामो समयदेखि दर्शकहरूको टेलिभिजन रूझान कता छ भनी मापन गर्दै आइरहेको छ । अहिले स्ट्रिमिङतर्फ पनि उसले ध्यान दिन थालेको छ ।