अल क्वायट अन द वेस्टर्न फ्रन्ट नामक फिल्म यतिबेला चर्चाको शिखरमा छ । जर्मन भाषामा बनेको यो फिल्म नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएका अंग्रेजीइतर भाषाको चौथो नम्बरमा छ । फिल्म नेटफ्लिक्समा रिलिज भएलगत्तैको एक महिनामा १०० मिलियनभन्दा बढी घण्टा यो फिल्म हेरिएको छ ।

अल क्वायट इन वेस्टर्न फ्रन्टको प्रथम जर्मन संस्करण

फिल्मका निर्देशक एडवार्ड बर्गरका लागि खुसीको कुरा के छ भने यो फिल्मले १४ विधामा बेलायती अस्कर भनेर चिनिने बाफ्टा अवार्डका लागि छनोटमा परेको छ । त्यस्तै अस्कर अवार्डमा यसले महत्त्वपूर्ण विधाहरू उत्कृष्ट फिल्म, उत्कृष्रट विदेशी फिल्म, एडप्टेड पटकथा लगायतमा नौ विधामा नामाङ्कन पाएको छ ।

कुनै समय प्रख्यात ताइवानी फिल्म निर्देशक आङ ली (क्राउचिङ टाइगर, हडन ड्रागनका निर्देशक)का सहायक भएर काम गरिसकेका एडवार्डले त्यसयता केही प्रख्यात जर्मन फिल्महरू निर्देशन गरिसकेका छन् । तीमध्ये डचल्यान्ड ८३, द टेरर र प्याट्रिक मेलरोसजस्ता फिल्म निकै चर्चामा रहे ।

यति धेरै नामाङ्कन, नेटफ्लिक्समा हेरिएको लोभलाग्दो समय र चर्चाका बीच निर्देशक एडवार्ड आफ्नो खुसी भने लुकाइरहेका छन् । भन्छन्, यो फिल्म हेरे भनेर खुसी मनाउनुपर्ने कुनै कारण छैन किनभने यो दुखद् फिल्म हो । पहिलो विश्वयुद्धका बेला ससाना कलिला युवाहरू कसरी युद्धमा जान बाध्य थिए, उनीहरूको मनोदशा कस्तो थियो, उनीहरूले युद्धका अवधिमा के कस्ता दुःख, मानसिक द्वन्द्व र अप्ठेरा झेले भन्ने कथालाई पस्कनु पक्कै पनि राम्रो कुरा होइन ।

एरिक मारिया रेमारिकले लेखेको र सन् १९२८ मा ९५ वर्षअघि प्रकाशित यो उपन्यास यति सटीक र भोगाइको नजिक छ कि यसले प्रस्तुत गरेको दृश्यावलीका कारण शुरूमा उपन्यासलाई प्रतिबन्ध नै लगाइएको थियो । यस उपन्यासलाई युद्धविरोधी उपन्यासमध्ये सशक्त मानिन्छ । कतिसम्म भने यसअघि सन् १९३० मा हलिउडले फिल्म नै बनायो भने पछि सन् १९७९ मा टेलिभिजन फिल्मका रूपमा पनि पुनः निर्माण गरिएको थियो ।

हलिउड या बेलायती फिल्मले जहिले पनि विश्वयुद्धमा बनाएका फिल्महरूलाई धाँसु नायकत्व सिर्जना गर्ने गरी बनाइरहेका हुन्छन् । यसमा चाहिँ फिल्म निर्देशकले उपन्यासको बाटोलाई मिचेका छैनन् । युद्ध जतिसुकै र जेसुकै उद्देश्यका लागि लडिएको भए पनि त्यसले निर्माण गर्ने मृत्युको पहाड हो, नायकहरूको पहाड होइन भन्ने कुरालाई विशेष ध्यान निर्देशक एडवार्डले दिएका छन् ।

एउटा जर्मन व्यक्तिका लागि पहिलो र दोस्रो दुवै विश्वयुद्धले गहिरो लज्जाबोध गराउने गर्छ । प्रथम विश्वयुद्ध हारेपछि जे अवस्था भोग्नु पर्यो र त्यसैका आधारमा जसरी हिटलरको उदय भयो, त्यसपछि जसरी हंगेरीका यहुदी, क्रोएसियाका समलिंगीहरू नमज्जाले मारिएका थिए ।

एडवार्डकी किशोरी छोरीलाई जब एक दिन यो फिल्म निर्देशन गर्ने प्रस्ताव आएको छ भनेर जानकारी दिए, उनकी छोरीले भनेकी थिइन्, यो उपन्यास पढेर म सात ठाउँमा रोएकी छु । तपाईंले यो फिल्म निर्देशन गरेको मलाई हेर्नु छ ।

९५ वर्ष पुरानो उपन्यासले यदि अहिलेका युवालाई छुन्छ भने फिल्मले त अझ बढी छुन्छ भन्ने निष्कर्षका साथ उनी फिल्ममा काम गर्न तत्पर भएका थिए ।

एडवार्डले उपन्यासभन्दा केही थोरै दृष्टान्त फिल्ममा देखाएका छन् । फ्रान्सेली र जर्मन अधिकारीहरूले युद्धविरामका लागि जे जस्तो सन्धि गर्छन्, त्यसले भविष्यका लागि कति ठूलो क्षतिका लागि ठाउँ बनाइरहेका छन् भन्ने न त त्यो बेलाका सन्धिकर्ताहरूले सोचेका थिए, न त सर्वसाधारण नै यसप्रति सचेत थिए । फिल्ममा यो दृश्य खिच्दा यति सशक्त, यति प्रभावकारी तरिकाले लिइएको छ कि सन्धिअवधिले फिल्मलाई अझ बढी थ्रिल थपिदिएको छ ।

‘यो फिल्ममा महिला कलाकारतर्फ कोही नामाङ्कन नपाएकामा म दुःखी छु,’ फिल्म निर्देशकले मजाक गर्दै द टाइम्स पत्रिकामा भनेका छन्, ‘त्यसो भएको भए यो एउटा पूर्ण नामाङ्कन हुन्थ्यो ।’