डिजिटल पत्रिका बार्हखरी डट कमले इन्टर्नेट सेवा प्रदायक कम्पनी डिसहोम प्रा.लि.को प्रायोजनमा गत वर्षदेखि गर्न थालेको ‘उत्कृष्ट राष्ट्रिय कथा प्रतियोगिता’ को नतिजा अघिल्लो वर्षको जस्तै यस वर्ष पनि विवादमा फसेको छ । गत वर्ष (२०७६ साल) मा भएको प्रतियोगिताको पहिलो संस्करणका लागि प्राप्त अधिकांश कथाहरू कथावस्तु, कथावाचन शैली, अभिव्यञ्जना, शिल्प, भाषिक लाालित्य, मौलिकता र प्रयोगशीलता जस्ता मानदण्डमा निक्कै नै निम्छरा देखिएका थिए । पुरस्कृत तीन मात्र होइन, उत्कृष्ट भनेर संग्रहका रूपमा प्रकाशन गर्नका लागि छानिएका अरू २२ वटा कथाहरूमध्ये पनि अधिकांश तिनका पाठकहरूलाई उम्दा आख्यान पढ्दा आउने हार्दिक आनन्द दिनसक्ने खालका पटक्कै थिएनन् । नेपाली कथा साहित्यको इतिहासमै सर्वाधिक ठूलो राशी (पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार) तोकेर गराइएको ‘कथा प्रतियोगिता’ मा सामेल भएका कथाहरूको समग्र स्तर त्यस्तो खराब हुनु नेपाली साहित्यका गम्भीर पाठक र अध्येताहरूलाई निराश र क्षुब्ध बनाउन पर्याप्त थियो ।
नेपाली साहित्यको एउटा विद्यार्थीका रूपमा म स्वयंलाई पनि बार्हखरी डट कमले आयोजना गरेको त्यस महत्त्वाकांक्षी कार्यक्रमको असफलताले खिन्न बनाएको थियो । हुन त जुन हचुवा तालले बार्हखरीका कर्ताधर्ताहरूले त्यो सम्पूर्ण आयोजनालाई अगाडि बढाइरहेका थिए र जसरी साहित्यको प्रवर्द्धन जस्तो सम्वेदनशील विषयलाई पैसासँग लगेर जोडी पैसैका भरमा सबै कुरा फत्ते गर्न सकिन्छ भन्ने भ्रान्तिलाई मलजल गरिरहेका थिए, त्यसलाई देखेर मैले यो कार्यक्रमको फजिती हुने अनुमान तिनले बडो तामझामका साथ प्रतियोगिताको विज्ञापन गरेका समयमा नै गरिसकेको थिएँ । तर सम्पूर्ण आयोजनाको त्यस्तो दुर्गति हुने कुराको भने मलाई कुनै आभास थिएन । पहिलो सालको पुरस्कारको नतिजा र ‘उत्कृष्ट’ २५ कथाहरूको संग्रह बजारमा आएपछि पो म झसङ्ग भएको हुन पुगेको थिएँ ।
गत साल यसै ताका हुनु पर्दछ बार्हखरीले निकालेको पहिलो उत्कृष्ट नेपाली कथा संग्रहका विषयमा टिप्पणी गर्ने सिलसिलामा मैले लेखेको रहेछुः
होहल्ला धेरै तर उपलब्धिका हिसाबले प्रभावहीन सिद्ध भएको कुनै कामलाई अर्थ्याउनु पर्यो भने अंग्रेजहरूले भन्ने गरेको ‘चियाको कपमा उठेको आँधीको तरङ्ग’ जस्तै भएको छ बार्हखरी डिजिटल पत्रिका चलाइरहेको वित्तीय पत्रकारिताको क्षेत्रमा नाम कमाएका पत्रकारहरूको समूहले सञ्चालन गरेको महत्त्वाकांक्षी परियोजना राष्ट्रिय कथा प्रतियोगिता । साथसाथै यस घटनाले साहित्य र कलाका सम्वेदनशील क्षेत्रमा काम गर्न चाहने जो कसैलाई पनि ती क्षेत्रमा काम गर्दा तिनीहरूसँग जोडिएर आउने हरेक मिहिन भावनात्मक विषयहरूप्रति सजग हुनै पर्दछ, होइन भने वाञ्छित सफलता हासिल गर्न सकिँदैन भन्ने पाठ पनि पढाएको छ ।
खुला आधुनिक कथा प्रतियोगिता २०७६ का आयोजकहरूले त्यस परियोजनामा सबैको सम्मानजनक सहभागिताको बाटोमा त्यतिबेला आफैँ तगारो हालिदिएका थिए जब त्यो प्रतियोगिता नयाँ, पुराना, सबैखाले उमेर, अनुभव, ख्याति र साहित्यिक मूल्य–मान्यतामा विश्वास राख्ने कथालेखकहरूका निम्ति समान रूपले खुला रहेको घोषणा गरेका थिए ।
[bs-quote quote=”बार्हखरी डट कम चलाइरहेका कर्पोरेट पत्रकारिताको क्षेत्रका सफल खेलाडीहरू अचानक २-अढाइ लाखको थैली बोकेर साहित्यको सेवा गर्छु भन्दै देखापरेका थिए तर न तिनको नियतका बारेमा नै कोही विश्वस्त थियो न त तिनले गराउने प्रतियोगिताको नतिजा निष्पक्ष रूपले आउनेछ भन्ने कुराप्रति आश्वस्त हुने आधारहरू नै प्रष्टिन सकेका थिए । यी नै सब कुराहरूले गर्दा प्रतियोगिताबाट कथाकारहरूको एउटा ठूलो हिस्सा अलग रह्यो जसले गर्दा यो सम्पूर्ण आयोजन नै एउटा प्रभावहीन अभ्यासमा परिणत हुन पुग्यो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]
बार्हखरी डट कम चलाइरहेका कर्पोरेट पत्रकारिताको क्षेत्रका सफल खेलाडीहरू अचानक २-अढाइ लाखको थैली बोकेर साहित्यको सेवा गर्छु भन्दै देखापरेका थिए तर न तिनको नियतका बारेमा नै कोही विश्वस्त थियो न त तिनले गराउने प्रतियोगिताको नतिजा निष्पक्ष रूपले आउनेछ भन्ने कुराप्रति आश्वस्त हुने आधारहरू नै प्रष्टिन सकेका थिए । यी नै सब कुराहरूले गर्दा प्रतियोगिताबाट कथाकारहरूको एउटा ठूलो हिस्सा अलग रह्यो जसले गर्दा यो सम्पूर्ण आयोजन नै एउटा प्रभावहीन अभ्यासमा परिणत हुन पुग्यो ।
गत वर्ष यसै छेकोमा दैनिक पत्र अन्नपूर्ण पोस्टको फुर्सद परिशिष्टमा छापिएको त्यस चर्चित कथा प्रतियोगिता सम्बन्धी मेरो टिप्पणीमा परेका माथि दिइएका पंक्तिहरू बार्हखरीवालाहरूको नजरमा परेका थिए वा थिएनन् भन्न सक्दिनँ । एउटा कुरा भने पक्का हो – राष्ट्रिय खुला कथा प्रतियोगिता नामक त्यस असफल परियोजनाका विषयमा सार्वजनिक भएका आलोचनात्मक टिप्पणीहरू तथा सल्लाह–सुझावहरूलाई लिएर बार्हखरी डिजिटलका तर्फबाट कुनै पनि जिम्मेवार व्यक्तिले कुनै प्रकारको वक्तव्य वा विज्ञप्ति भने आजसम्म पनि जारी गरेको छैन । बार्हखरीका सञ्चालक प्रतीक प्रधानहरूले प्रतियोगिताका बारेमा गरिएका जायज तर नकारात्मक टिप्पणीहरूलाई वास्तै नगरेर पचाइदिने रणनीति लिएको हो कि ? हो भने त्यो पनि समस्याको निदान गर्ने एउटा तरिका त हो नै । त्यो तरिका ठीक बेठीक कस्तो हो भन्ने विषयमा भने लामै बहस हुन सक्छ ।
[bs-quote quote=”कुनै केदार शर्मा भन्ने मान्छेले भने ‘बार्हखरीवालाहरूले सम्पन्न गरेको त्यस्तो महान् काममा खोट देखाउने तँ को होस् ?’ भनेर मसँग सिङ्गौरी खेल्न खोजेको मलाई सम्झना छ । वास्तवमा त्यस राष्ट्रिय खुला कथा प्रतियोगिताका प्रसङ्गमा आयोजकहरूका तर्फबाट जानी जानी वा अज्ञानमा भएका कमजोरीहरू र तिनका कारण सहभागिताको स्तरमा परेको नकारात्मक प्रभावलाई लिएर मैले शुरू गरेको बहसमा बार्हखरीवालाहरू स्वयं सामेल हुनु उपयुक्त हुन्थ्यो ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]
अन्नपूर्ण पोस्ट फुर्सदमा मेरो त्यो टिप्पणी छापिएपछि सामान्य जनसमूहबाट धेरै जनाले मेरो कुरामा समर्थन जनाउँदै बार्हखरीले आयोजना गरेको त्यस कार्यक्रममा गम्भीर त्रुटिहरू भएका छन् तिनलाई सच्याउनु पर्दछ भन्ने विचार व्यक्त गरेका थिए । कुनै केदार शर्मा भन्ने मान्छेले भने ‘बार्हखरीवालाहरूले सम्पन्न गरेको त्यस्तो महान् काममा खोट देखाउने तँ को होस् ?’ भनेर मसँग सिङ्गौरी खेल्न खोजेको मलाई सम्झना छ । वास्तवमा त्यस राष्ट्रिय खुला कथा प्रतियोगिताका प्रसङ्गमा आयोजकहरूका तर्फबाट जानी जानी वा अज्ञानमा भएका कमजोरीहरू र तिनका कारण सहभागिताको स्तरमा परेको नकारात्मक प्रभावलाई लिएर मैले शुरू गरेको बहसमा बार्हखरीवालाहरू स्वयं सामेल हुनु उपयुक्त हुन्थ्यो । तर त्यसो नभएर शरीरको माथिल्लो तलामा भुसा भरिएको एउटा अन्धभक्तलाई अघि सारेर हुनेवाला केही पनि थिएन । त्यस्ता वैचारिक दाससँग रिसाउनु भन्दा उसको हर्कतबाट आनन्द लिनु बेस भन्ने सिद्धान्त लिएको म ती शर्माजीसँग सिङ थाप्न जाने कुरै थिएन । त्यसैले केही दिनमा त्यो प्रकरण आफैँ सेलाएर गएको थियो ।
वास्तवमा बार्हखरीको कथा प्रतियोगिताको आयोजनामा धेरै कुरा ठीक थिएनन् अहिले पनि ती ठीक भएका छैनन् । पहिलो प्रतियोगितामा अधिकांश औसतभन्दा तलका कथाहरू आएका कारण त्यो समग्र आयोजनाको औचित्यमाथि नै प्रश्नचिन्ह लाग्ने र त्यसको उद्देश्य नै पराजित हुने जोखिम बढिरहेको स्थितिमा बार्हखरीको उच्च व्यवस्थापनले तुरून्तै सुधारका कदमहरू चालिहाल्नु पर्ने थियो । सुधारको सुरुवात कहाँबाट हुनु पर्दथ्यो भन्ने कुरामा अवश्य पनि वाद–विवाद हुनसक्छ । प्रतियोगिताका लागि कथाहरू जम्मा पार्ने शैली, पुरस्कारको राशी ठूलो छ त्यसैले लेखकहरू दौडीदौडी आउँछन् भन्ने भ्रम र आन्तरिक तथा मुख्य निर्णायक भनिएका समितिमा रहेका तर पूरै असफल सिद्ध भएका अनुहारका बारेमा भने निर्मम समीक्षा गर्नु अनिवार्य भइसकेको थियो । यथास्थितिमा त्यो कथा प्रतियोगिताको डुब्न लागेको डुङ्गा किनारामा आउन सक्ने अवस्था नै थिएन । अहिलेको अवस्थामा त त्यो उच्च महत्त्वको साहित्यिक अनुष्ठानको डुङ्गालाई पूरै डुबिसकेको मान्दा पनि फरक पर्दैन ।
समयमा उपचार नगरेपछि अलिअलि बिरामी परेको मान्छेले पनि ज्यानको जोखिम बेहोर्नु परेझैँ भएको छ बार्हखरीको राष्ट्रिय कथा प्रतियोगितालाई पनि । यस सालको स्पर्धामा एक लाख रूपैयाँको प्रथम पुरस्कार पाउने मुना चौधरीको कथा नै गम्भीर विवादमा फसेको छ । चौधरीमाथि प्रतियोगिताको नियम विपरीत यसअघि नै नागरिक दैनिकमा छापिइसकेको कथालाई शीर्षक र केही अनुच्छेदमा फेरबदल गरी प्रतियोगिताका लागि पेस गरेको आरोप लागेको छ भने आन्तरिक सिफरिसकर्ता समूह र निर्णयकर्ता समितिका सदस्यहरूमाथि पनि चरम् लापरबाहीका साथ प्रतियोगी मुना चौधरीको त्यस्तो जालसाजीलाई पुरस्कृत गरेको अवगाल आइलागेको छ । यस प्रकरणमा जालसाजी गर्ने कथित कथाकार मुना चौधरी त मुख्य दोषी छँदैछिन्, अर्कोतिर नागरिक दैनिक जस्तो चल्तीको पत्रिकामा छापिइसकेको कथाका बारेमा सुइँको सम्म पनि नपाउँने कथा प्रतियोगिताका ती सिफारिसकर्ता र निर्णायकहरूलाई पनि दोषमुक्त मान्न सकिँदैन । एकदम नयाँ र कतै न छापिएको कथालाई मात्र पुरस्कारका लागि सिफारिस गर्ने जिम्मेवारी पाएका ती महाशयहरू आफ्नो कत्र्तव्यमा चुकेकै हुन् ।
[bs-quote quote=”यस अप्रिय प्रकरणले मेरा प्रिय भाइ लेखक–पत्रकार राजेन्द्र पराजुलीले बार्हखरी डट कमबाट बिदा लिएका छन् भन्ने खबर सुन्नु पर्दा मेरो मन खिन्न भएको छ । हुन त कथा प्रतियोगिताको पहिलो संस्करणको फजिती भएका बेलादेखि नै राजेन्द्र पराजुलीको बार्हखरीसँगको दानापानी धेरै दिन चल्न नसक्ला कि भन्ने अनुमान गरिसकेको थिएँ मैले ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]
यस अप्रिय प्रकरणले मेरा प्रिय भाइ लेखक–पत्रकार राजेन्द्र पराजुलीले बार्हखरी डट कमबाट बिदा लिएका छन् भन्ने खबर सुन्नु पर्दा मेरो मन खिन्न भएको छ । हुन त कथा प्रतियोगिताको पहिलो संस्करणको फजिती भएका बेलादेखि नै राजेन्द्र पराजुलीको बार्हखरीसँगको दानापानी धेरै दिन चल्न नसक्ला कि भन्ने अनुमान गरिसकेको थिएँ मैले । आफ्नो कुरामा चट्टानझैँ अडीग रहने कुरामा बदनामीको हदसम्म विख्यात ती भद्रपुरुषले कस्तो मानसिक तनाव र उथलपुथलका बीच आर्जन–उपार्जनमा अर्जुनदृष्टि दिइरहेका कर्पोरेट पत्रकारिताका निपुण म्यानेजमेण्ट गुरुहरू र साहित्यको क्षेत्रमा चाटुकारितालाई कलात्मक उचाइमा पुर्याउन सफल अमर न्यौपाने जस्ता व्यक्तिसँग सहकार्य गर्दै थप बार्ह पन्ध्र महिना बिताए होलान् ? भन्ने मेरो मनमा उठेको यस प्रश्नको जवाफ त प्रिय भाइ राजेन्द्रसँग भेट भएपछि नै पाउँछु होला ।
समग्रमा पहिलो वर्ष बार्हखरीले स्वयंघोषणा गरेर प्रकाशनमा ल्याएको ‘उत्कृष्ट कथा संग्रह’ जुन जुन कारणले विवादमा फसेकाे थियाे, यस वर्ष तिनमा अरू बेकाइदाहरू थपिएर झनै बढी विवादित र आलोचित पनि बन्न पुग्दा साहित्यकाे विद्यार्थीका रूपमा दुःख लागेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।