भागः २५, अन्तिम अंश

उसको ईर्ष्या गर्थे । आकाशतिर नहेरीकनै र चङ्गा छोप्न दौडिन्थ्यो र मान्छेले भन्थे कि ऊ चङ्गाको छायाँ पछ्याएर दौडिन्छ, तर भैले जति उसलाई चिनेको थिएँ अरूले चिनेका थिएनन्‌ | तेरो बुबाले छायाँलाई पछ्याएर दौडिएको होइन । उसले त्यसै थाहा पाउँथ्यो चङ्गा कतातिर जान्छ ।”

अर्को आधा दर्जन चङ्गा पनि उड्दै थिए । मान्छेहरू चियाको कप हातमा लिएर, एकोहोरो आकाशतिर हेर्दै घुरूप्प घुरूप्प जम्मा हुन-थालिसकेका थिए ।

“तेरो चङ्गा उडाउनलाई मलाई सहयोग गर्ने मन छ ?” मैले भनेँ ।

शोहरबले चङ्गा हेर्न छोडेर फुत्त मलाई हेर्यो । अनि फेरि आकाशतिर

‘ठीकै छ ।’ मैले कुम हल्लाएँ । “लाग्छ मैले यसलाई तनहाई नै उडाउनु पर्छ ।” एक्लै ।

मैले लट्टाई देब्रे हातमा ठीकसँग समातेँ र तीन फिट जति धागो छोडेँ । त्यो पहेँलो चङ्गा धागोको पल्लो छेउमा भिजेको झारको ठीकमाथि झुन्डियो । “अन्तिम मौका,” मैले भनेँ, तर शोहरब भने ती रूखहरू भन्दामाथि उडिरहेको एक जोडी चङ्गाहरू हेर्दै थियो ।

“ल ठीक छ | म अब सुरू गर्छु | चङ्गा बँधिपट्टिको धागो समातेर टाउको भन्दा माथि चङ्गा उचालेर म दगुर्दा मेरो स्नीकरले पानी छप्ल्याक छुप्लुक पार्यो । मैले यस्तो नगरेको धेरै लामो समय, धेरै बर्षहरू भइसकेको थियो | कतै मैले चङ्गा उडाउन नजानेर अरूलाई तमासा देखाउने त होइन भन्ने कताकता डर पनि लागिरहेको थियो । म दगुर्दाखेरि मैले देब्रे हातको लट्टाइलाई घुम्न दिएँ | धागो छोड्दै जाँदा फेरि मेरो दाहिने हात काटेको थाहा पाएँ । चङ्गा अहिले मेरो काँधभन्दा पछाडि फनफनी घुम्दै घुम्दै जाँदै थियो र म अझ छिटो दौडिएँ | लट्टाई पनि जोडले घुम्यो र त्यो सिसाको धुलो दलेको तारले मेरो दाहिले हत्केलामा अर्को घाउ पर्यो । म रोकिएँ र पछाडि फर्किएँ । आकाशतिर हेरेँ र मसक्क परेँ | माथि आकाशमा मेरो चङ्गा पेन्डुलम जस्तै घरि यता घरि उता गर्दै थियो । मेरो चङ्गाले एउटा बूढो कागजको चराले पँखेटा फरफराए जस्तो गरी एउटा आवाज निकाल्दै थियो जुन आवाज सुन्दा म सधैँ जाडो बेलाको काबुलको बिहानी सम्झन्छु । मैले चङ्गा नउडाएको एक चौथाइ शताब्दी भइसकेको थियो, तर म अचानक फेरि बाह्र बर्षको केटो भएको थिएँ र त्यो पुरानो मेरो स्वभाव पनि भेल पानी जस्तै फर्केर आयो ।

मेरो छेउमा कोही भए जस्तो लाग्यो र मैले तल हेरेँ । त्यो शोहरब रहेछ । रेनकोटको खल्तीमा हात घुसारेर उभिएको | ऊ मेरो पछि पछि आएको रहेछ ।

“के तँ पनि उडाएर हेर्छस्‌ त ?” मैले सोधेँ । ऊ केही बोलेन, तर जब मैले लट्टाई उसलाई दिनलाई तेर्स्याएँ, उसले खल्तीबाट हात निकाल्यो । एक छिन अकमकियो | लट्टाइ समात्यो । जब मैले लत्रिएको धागो बेर्नलाई लट्टाई घुमाएँ मेरो मुटुको धड्कन छिटो हुन थाल्यो । हामी केही पनि नबोली चुपचाप दायाँबायाँ उभियौँ । मास्तिर टाउको फर्काएर ।

हाम्रो वरिपरि बच्चाहरू एक अर्कालाई लखेटालखेट गर्दै झारमा चिप्लेटी खेलीरहेका थिए । अहिले कसैले पुरानो हिन्दी फिलिमको धून बजाइरहेको थियो । अलि पाको उमेरका मान्छेहरू भुइँमा प्लास्टिक ओछ्याएर लाइनै बसेर दिउँसोको नमाज गरिरहेका थिए । हावामा भिजेको घाँस, धुवाँ र सेकुवाको गन्ध थियो । म चाहन्थेँ समय जहाँको त्यहीँ बसिरहोस्‌, नबितोस्‌ ।

अनि मैले देखेँ कि हाम्रा अरू पनि साथी रहेछन्‌ । एउटा हरियो चङ्गा हाम्रो नजिक आउँदै थियो । मैले पत्ता लगाएँ कि त्यसको धागो हामीभन्दा करिब तीस फिट परको एउटा केटोले समातेको थियो । उसको कपाल पाइलट कटको थियो भने उसको टिसर्टमा ब्लक लेटरमा “द रक रूल्स’ लेखेको थियो । मैले उसलाई हेरिरहेको थिएँ भन्ने उसले देख्यो र ऊ मुसुक्क हाँस्यो । हात हल्लायो । मैले पनि हल्लाएँ !

शोहरबले लट्टाई मलाई दिँदै थियो ।

साँच्चै हो त ?’ लट्टाई लिँदै मैले भनेँ ।

मेरो हातबाट उसले लट्टाई लग्यो ।

“ल ठीक छ,“ मैले भनेँ । “हामीले त्यसलाई एउटा सवाघ (sabagh) दिउँ, मतलब एउटा पाठ पढाइदिउँ, हुँदैन त ?” मैले उसलाई हेरेँ । उसको हेराइको त्यो शून्यपना हराएको थियो । उसका आँखा हाम्रो र त्यो हरियो चङ्गा हेर्दै यता र उता गरिरहेका थिए । उसको अनुहारमा अलिकति लाली आएको थियो र ऊ तुरून्तै अलि चनाखो बन्यो । बिउँझै । जीवन्त । अरू कुरा जेजे भए तापनि र अझैसम्म बच्चै थियो भन्ने कुरा मैले कहिले बिर्सेको रहेछु कुन्नि आश्चर्य मान्दै सोचेँ ।

त्यो हरियो चङ्गाले आफ्नो चाल चल्दै थियो । “एकै छिन हेरौं न,” मैले भनें । पहिला हामीले त्यसलाई अलि नजिक आउन दिनुपर्छ । त्यसले दुई पटक डिप गर्यो र हामीतिर सर्यो । “ल आइज | ल मतिर आइज ,/ मैले भनेँ ।

मैले उसका लागि पासो थापी सकेको छु भन्ने कुराको ख्यालै नगरी, हाम्रो भन्दा अलिकतिमाथि उड्दै त्यो चङ्गा अझ नजिक नजिक आउँदै थियो । “शोहरब हेरी राख है त । म तँलाई तेरो बुबालाई सबै भन्दा मनपर्ने त्यो पुरानो लिफ्ट-एन्ड-डाइभ भन्ने ट्रिक गरेर देखाउँछु ।

मेरै छेवैमा शोहरबले नाकले छिटोछिटो सास फेर्दै थियो । लट्टाई उसको हातमा घुम्दै थियो भने दागै दाग लागेका उसका नाडीका टेन्डनहरू रबाब (Rubab) को स्ट्रीङ्ग (तार) जस्तै देखिन्थे । मैले तल हेरेँ र मात्र एकै पलका लागि त्यो लट्टाई समातेका हातहरू टुक्रिएका नङ र खस्रा हातहरू त त्यो खुडेँ केटाको जस्तो पो लाग्यो । कतैतिर कौवा कराएको मैले सुनेँ र मैले आकाशतिर हेरेँ । पार्क भर्खर परेको ताजा हिउँले यस्तरी टिलिक्क टल्केको थियो कि मेरो आँखै टिप्यो । सेतै ढाकिएका रूखहरूबाट कुनै आवाज बिना हिउँ फुसफुस झरिरहेको थियो । अहिले मेरो नाकमा कुर्मा (Qurma) को बास आयो । सुकेको किम्बु । अमिलो सुन्ताला । धुलो र ओखर । सुनसानमा परेको हिउँ, र त्यो सन्नाटा मुर्दा-शान्ति जस्तो लाग्थ्यो । त्यो चकमन्न सुनसानको पारिपट्टि परबाट हामीलाई कसैले ‘घर आउनु’ भनेर चिच्च्याएको आवाज आयो । त्यही दाहिने खुट्टा घिसारेर हिँड्ने मान्छेको स्वर ।

त्यो हरियो चङ्गा अहिले हामीभन्दा ठीक माथि यताउता नसरीकन तैरिरहेको थियो । “यो अब मेरो फन्दामा पर्दै छ । कुनै पनि बेला पर्न सक्छ, शोहरबलाई फुत्त हेरेर फेरि हाम्रै चङ्गालाई हेर्दै मैले भनेँ ।

त्यो हरियो चङ्गा अलि हच्कियो । उसले आफ्नो ठीक पोजिसन समात्यो अनि तल झार्यो । ‘बल्ल फेला पर्यो,’ मैले भनेँ ।

मैले त्यो काम बडो सिप लगाएर गरेँ । यत्रा बर्षहरूपछि बल्ल | त्यही पुरानो लिफ्ट-एन्ड-डाइभ ट्रयाप | मैले मेरो पकडलाई अलि होलो पारेँ । डिपिङ गर्दै त्यो हरियो चङ्गालाई छल्दै स्ट्रीङ्ग तानी रहेँ । पटक पटक साइड आर्मको झट्का दिएपछि हाम्रो चङ्गा घडीको उल्टो दिसामा घुम्दै अर्ध वृत्ताकार गतिमा आकाशियो । तुरून्तै ममाथि परेँ । हरियो चङ्गा डरले लत्रक्क परेर लर्खराउँदै थियो, तर ढिलो भैसकेको थियो । मैले उसलाई पहिल्यै हसनको ट्रिकमा फसाइसकेको थिएँ । मैले जोडले ताने र हाम्रो चङ्गा स्वात्तै तल झर्यो । मैले थाहा पाइसकेको थिएँ कि हाम्रो स्ट्रीङ्गले उसका स्ट्रीङलाई काट्दै थियो । मैले झन्डै स्ट्रीङ्ग चुँडेको आवाज सुनेको थिएँ ।

अनि त्यस्तै गरेर त्यो हरियो चङ्गा फनफनी घुमेर नियन्त्रणभन्दा बाहिर हुत्तिँदै थियो ।

हाम्रो पछिल्तिर मान्छे खुसीले चिच्च्याए । सिटी र ताली बज्न सुरू भयो । म स्वाँस्वँ गर्दै थिएँ । मैले अन्तिम पटक यस्तै स्वाँस्वाँ गरेको सन्‌ १९७५ को जाडोको एक दिन थियो जति बेला मैले त्यो अन्तिम चङ्गालाई चट पारिदिँदा बाबाले हाम्रो छतमा बसेर हाँस्दै ताली बजाउँदै गर्नुभएको थियो ।

मैले शोहरबलाई हेरेँ । उसको मुखको एउटा कुनो मास्तिर खुम्चिएको थियो ।

मुस्कान ।
एकापट्टि मात्रै ।
मुस्किलले देखिने ।
तर मुस्कान नै हो ।

हाम्रो पछिल्तिर बच्चाहरू फटाफट हिंड्दै थिए भने त्यो चट परेर रूखहरूभन्दा माथि उडिरहेका चङ्गालाई छोप्न भाग दौड गर्दै थिए । मैले तल हेरेँ र देखेँ उसको अनुहारमा अघिको त्यो मुस्कान थिएन तर त्यो एक पटक आएको थियो | मैले त्यो देखेको थिएँ ।

“के म दौडेर गएर तेरा लागि त्यो चङ्गा छोपेर ल्याइदिउँ त ?” जब उसले घुटुक्क थुक निल्यो उसको रूद्र घन्टी तलमाथि गर्यो । हावाले उसको कपाल उचाल्यो । मैले सोचेँ उसले ‘हुन्छ’ भनेर टाउको हल्लाएको मैले देखेँ ।

“तपाईंका लागि हजार पटकभन्दा पनि बढी,” म आफैँले बोलेको सुनेँ अनि म फर्किएँ र दौडिएँ ।

यो मात्र एउटा मुस्कानभन्दा बढी केही थिएन । त्यसले सबै चीजलाई ठीकठाक ठाउँमा ल्याएन । यसले केही पनि कुरा ठीकठाक पारेको थिएन | मात्र एउटा मुस्कान । एउटा सानो चीज । चरो तर्सिएर उड्दाखेरि जंगलको रूखको एउटा पात मात्र हल्लिए जस्तो |

तर म त्यसलाई स्वीकार्छु अङ्गालो खोलेर किनभने जब बर्षा क्रतु आउँछ त्यसले एक पटकमा एउटा पत्र मात्र हिउँ पगाल्छ र सायद मैले त्यही पहिलो पत्र पग्लिएको देखेको थिएँ ।

म दौडेँ । एउटा पाको मान्छे हल्ला खल्ला गरेर दौडिरहेको बच्चाहरूको हुलमा तर मैले त्यसको कुनै वास्ता गरिनँ । म ओठमा पन्जशेर उपत्यका जस्तै चौडा मुस्कान दिँदै, हावालाई मेरो मुखमा लपेटा लगाउन दिँदै म दौडेँ ।

म दौडेँ ।

समाप्त