सिकाइको सुरुआत आमाको गर्भबाटै हुन्छ । जन्मपछिको सिकाइका लागि आमा पहिलो शिक्षिका र परिवार पहिलो पाठशाला मानिन्छ । परिवारको वातावरण समाजको वातावरणबाट प्रभावित भएको हुन्छ ।

बाल्यावस्था पार नगरी कोही वयस्क हुँदैन । सबैसँग हुन्छन् बाल्यकालका अनुभवहरु । तर वयस्क भइसकेपछि अधिकांश मानिसहरु बालमैत्री बन्दैनन् । बरु शासक बन्छन् । किन होला ? उत्तर सामान्य आउला तर विषय गम्भीर छ । ट्याङ्कीमा जस्तो पानी भर्यो धाराबाट त्यस्तै पानी खस्छ भनेझैँ ‘भोगाइ जस्तो भयो सिकाइ त्यस्तै हुन्छ ।’ ‘सिकाइ जस्तो भयो चरित्र निर्माण त्यस्तै हुन्छ ।’ ‘चरित्रजस्तो निर्माण भयो व्यवहार त्यस्तै प्रदर्शित हुन्छ ।’ सुन्दा सामान्य तर सम्झँदा गम्भीर छैन त विषय ?

सिकाइको सुरुआत आमाको गर्भबाटै हुन्छ । जन्मपछिको सिकाइका लागि आमा पहिलो शिक्षिका र परिवार पहिलो पाठशाला मानिन्छ । परिवारको वातावरण समाजको वातावरणबाट प्रभावित भएको हुन्छ । परिवार शिक्षित भए समाजमा र समाज विकसित भए परिवारमा पनि असर साटासाट भएकै हुन्छ । शिक्षित परिवारमा हुर्केका बालबालिकाहरु वयस्क हुँदा पनि सापेक्षिकरुपमा शिक्षित व्यवहार नै देखाउने गर्छन् । गरिबीको मारले पिसोल्टिएका, अत्यधिक तनावमा हुर्केका बालबालिकामा निरीहपन बढी देखिने गर्छ । उनीहरुलाई आफ्ना अनुभूतिहरु कुल्चेर माथि उठ्न निकै मुस्किल परिरहेको हुन्छ । आर्थिक स्थितिमा रातारात सुधार आइहाल्यो भने पनि हमेसा अहं (इगो) बढेको पाइन्छ । किनभने अहंलाई नियन्त्रण गर्नसक्ने शैक्षिक, नैतिक, सामाजिक, सांस्कृतिक तथा संस्कारगत पाटाहरुको विकास सँगसँगै भएको हुँदैन । फेरि धनाड्य परिवारमा जन्मेका बालबालिकाहरु पनि असल अभिभावकत्व नपाएमा, खराब सङ्गत र फुर्मासी स्वभाव भएमा कुलतमा फस्तै जीवन बर्बाद गरिरहेका हुन्छन् ।

विष्णुप्रसाद न्यौपाने

आ–आफ्नो वंशाणुगत गुणका अतिरिक्त बालबालिका हुर्केको परिवारको पारिवारिक पृष्ठभूमि, भूगोल, हावापानी, वातावरण, समाज विकासको तह, आदिले उनीहरुको शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा चारित्रिक विकासमा फरकपन ल्याउने गर्छ । फरक चरित्र भन्नाले उनीहरुको मनोसामाजिक गतिविधिहरुको फरकपना हो । चरित्रका आधारमा पनि बालबालिकाहरु कसैको श्रम शोषणको मारमा पर्ने नपर्ने हुन्छन् । चलाख बालबालिकाहरु शोषणको मारबाट छिट्टै फुत्किन सक्छन् तर सोझासिधाहरु लामो समयसम्म मार खेपिरहेका हुन्छन् ।

बालबालिकाहरुमाथि कसरी हुन्छ श्रमशोषण र आपराधिक कृयाकलापहरु ? परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण घरेलु कामदारका रुपमा अर्काको घरमा बसेर हुर्कन बाध्य बालबालिकाहरु हमेसा बालश्रम शोषणको शिकार बनेका हुन्छन् । थोरै लगानीमा धेरै मुनाफा कमाएर चाँडै धनी बन्ने सपना बुन्ने धूर्त मान्छेका चङ्गुलमा फसेका बालबालिकाहरु उस्तै शिकार बन्न बाध्य हुन्छन् । प्रलोभनमा पारेर सकेसम्म सित्तैँ र नसके दबावमा राखेर कम मूल्यमा बढी श्रम प्राप्त गर्न कामदारका रुपमा बालश्रमिकहरु छनौट गर्छन् । किनभने बाल मस्तिष्कले प्रतिकारको भाषा बोल्न सक्तैन । शारीरिक तथा मानसिकरुपमा नै उनीहरु ठुलाहरुभन्दा कमजोर हुन्छन् । कदाचित प्रतिकार गरिहाले उनीहरुले दण्डको भागिदार हुनुपर्छ । दण्ड पाउने डरले उनीहरु सबैकुरा सहन बाध्य हुन्छन् । न यथेष्ट ज्ञान, न रुपैयाँ पैसा, न शारीरिक सक्षमता, न मानसिक सबलता । कुनै कुरामा सबल नभएका कारण उनीहरु जे आइलागे पनि भोग्न, सहन बाध्य हुन्छन् ।

बालबालिकामाथि अत्याचार गर्ने अभिभावकहरुलाई के गर्ने त ? आपराधिक मानसिकताबाट सञ्चालित अभिभावकहरुलाई, गलत बाटोबाट कालो धन जम्मा गरी विलासी जीवन जिउने सपना देख्नेहरुलाई, मानसिकरुपमा विच्छिप्त भई सामाजिक लाज शर्मलाई पचाएर बाल यौन शोषण गर्नेहरुलाई, कम मूल्यमा अधिक श्रम गराई अतिरिक्त मूल्यबाट चाँडै धनी हुने सपना देख्नेलाई, गरिबीको चपेटामा परेर वा आफू रोगी भएर वा शारीरिक मानसिकरुपमा असक्षम भएर बालश्रमबाट हुने कमाइ खानु पर्ने बाध्यता भएकाहरुलाई समाजले फरकफरक दृष्टिकोणले हेरी फरकफरक दण्ड सजायको भागिदार बनाउनु पर्छ । सम्झाइबुझाइ गर्दा आफ्नो गल्ती स्वीकार गरी सकारात्मक व्यवहार गर्नेहरुलाई सोही अनुसार र कुकर्म गर्नेहरुलाई अपराध अनुसारको कडा सजाय दिलाउनु पर्छ ।

दण्डसजाय दिन पाउने अधिकार राज्यले विभिन्न निकायहरुमा प्रत्यायोजन गरेको छ । विभिन्न तहका सरकारहरुसँग पनि छ । तर शोषण कसरी भइरहेको छ ? अन्याय अत्याचार कसले गरिरहेको छ ? भन्ने कुराको खोजी राज्यले गरिरहेको छैन । देखिरहेको हुँदैन । देखिहाले पनि उजुरी नपरेसम्म कुनै कानुनी कारवाही चलाउदैन । शोषणमा परेका बालबालिका आफैँ निरीह हुन्छन् । उनीहरु एक्लै कुनै आवाज उठाउन सक्तैनन् । उसको आवाज कसले बोलिदिने ? उसलाई परेको अन्यायका विरुद्धमा कसले उजुरी दिने ? यस्तो बेलामा चाहिन्छन् बालबालिकाहरुको हितमा काम गर्ने सरकारी, गैरसरकारी संस्था तथा दातृ निकायहरु । बालबालिकाकै पूर्ण सहभागितामा निर्मित बालक्लब र तिनीहरुको समन्ययकारी मूल सङ्गठन ‘बाल सञ्जाल’ । विद्यालय तथा समुदाय स्तरबाट बालक्लबहरुले उठाएका समस्या तथा आवाजहरुलाई गाउँ तथा नगर बालसञ्जालहरुले सामूहिकरण गर्र्र्ने र ती आवाजहरुलाई सँगसँगै बोकेर सहयोगीको भूमिका निर्वाह गर्दै दण्ड सजाय दिलाउन सक्ने निकायसम्म पुर्याउन, राज्यलाई दवाव दिन, अड्डा, अदालतसम्म पुगेर मुद्दा लड्न र न्याय दिलाउन ती निकायहरुको महत्त्वपूर्ण भूमिका हुन्छ ।

संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९ सेप्टेम्बर १४ लाई अनुमोदन गरेपछि हरेक देशले बालबालिकाको परिभाषा, उमेर समूह, बालअधिकार आदि कुराहरुमा सुनिश्चित हुने मौका पाए । नेपालले पनि सन १९९० मा यसलाई अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अतर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको छ । बालबालिकाको बेचबिखन, बाल वेश्यावृत्ति तथा बाल अश्लिल चित्रविरुद्ध भएको स्वेच्छिक प्रोटोकल २००७, निष्किृष्ट प्रकारका बाल श्रम उन्मूलन सम्बन्धी आइएलओ महासन्धि १९९९, सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोग तथा सम्लग्नता विरुद्ध व्यवस्था भएको महासन्धिको स्वेच्छिक प्रोटोकल २००६ आदिको अनुमोदन गरी लागु गरेको छ । बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९, बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७६ आदि विभिन्न कानुनहरुको निर्माण गरी लागु गर्दै कानुनी तवरबाट बालबालिकाका अधिकारहरुलाई सुनिश्चित गरी सुरक्षित राख्ने प्रयत्नहरु गरेको छ ।

तर यति धेरै कानुनहरुको निर्माण गरिसक्ता पनि बालबालिकाहरु अझै असुरक्षित छन् किन ? जताततै बालबालिकाको अपहरण गर्ने र अभिभावकसँग मनलाग्दी फिरौती माग्ने, बलात्कारपछि हत्या गर्ने, विश्वास गरेका, नजिकका आफन्त, नातेदार, शिक्षा दिने गुरुआदिबाट नै यौन शोषणमा पर्ने, आफ्नै साथीभाइ, छिमेकीहरुलाई पनि विश्वास गर्न नसकिने भइरहेको छ किन ? कानुन निर्माण एउटा पाटो हो तर यसले मात्रै बालबालिका सुरक्षित हुन नसक्ने रहेछन् भन्ने कुरा प्रष्ट हुँदै आएको छ । बाल स्वतन्त्रताको पक्षमा वकालत गर्नेहरु नै अहिले अभिभावकको निगरानी कसिलो हुनु आवस्यक छ भन्ने आवाज मुखरित गर्न थालेका छन् । सञ्चारका साधन र यातायातको सरल पहुँचले पनि अनगिन्ती अपराध र दुर्घटनाहरु बढाएका छन् । छोटो बाटोबाट धन कमाउने सपना देख्ने युवायुवतीहरुले धेरै बाल अपराधहरु गराएको पाइन्छ ।

अब के गर्ने त ? अन्य केही उपायहरु नहुँदा बालबालिकाहरु स्वयंमा आत्मबल बढाउनु, सुरक्षात्मक अवस्थामा रहनका लागि सधैँ सजग गराउनु, आत्मसचेतनाका लागि अतिरिक्त ज्ञान दिलाउने विभिन्न कार्यक्रमहरुमा सहभागी गराउनु, अभिभावकले नियन्त्रण होइन निगरानी राख्नु, सबै अभिभावकहरुले सबै बालबालिकाहरुलाई सकारात्मक सोच, सहकार्य र सचेतनाका लागि आवस्यक ज्ञान दिलाउनु, बालसंगठन, बालक्लब, बालसञ्जालहरुमा आफ्ना नानीहरुलाई सम्लग्न गराउनु र उनीहरुले सञ्चालन गर्ने विविध कार्यक्रहरुमा सहभागी भई आत्मबल बढाउनु, आत्मसुरक्षा गर्न आफैँ सक्षम बनाउनु, आपत परेको बेलामा धैर्यतापूर्वक सञ्चार गर्न, अरुको सहयोग लिन र सहकार्यका लागि अघि बढ्ने उपायहरु अपनाउन सिकाउनु आवस्यक हुन्छ ।

अभिभावकको तहबाट मात्र नभएर उपर्युक्त उपायहरु बालबालिकाहरुकै माध्यमबाट गर्न गराउनका लागि आज विभिन्न पालिकाहरुले नगर तथा वडा स्तरीय बालसञ्जालहरुको स्थापना गर्न थालेका छन् । नगरले नगरबालसञ्जाल र त्यसले प्रत्येक वडामा वडाबालसञ्जाल गठन गरेको छ । समुदायहरुमा बालक्लबहरु गठन गरेको छ र बालबालिकाको हक हितको संरक्षण, उत्थान र विकासका लागि उल्लेखनीय कार्यहरु गरेको छ । उदाहरणका लागिः

– विभिन्न कारणले पछिपरेका, पीडामा रहेका, शोषणको शिकार बनेका, सडकमा छोडिएका, द्वन्द्वको मारमा परेका, परिवार नै गरिबीको चपेटामा परेर गाँस, बास र कपासबाट बञ्चित हुनु परेका बालबालिकाहरुको लगत सङ्कलन गरी क्रमशः माथिल्लो निकायमा पठाउँदै नगरबाट तिनीहरुको उत्थान, संरक्षण र विकासका लागि सिङ्गो नगरपालिकालाई घच्घच्याउने कार्य गर्दै आएका छन् ।

– प्रत्येक विद्यालयमा अतिरिक्त कृयाकलापहरु निरन्तर सञ्चालन गराउन विद्यालय प्रशासकको ध्यानाकर्षण गराउने, समयसमयमा आफ्नै पहलमा बक्तृत्वकला, हाजिरीजवाफ, कविता प्रतियोगिता, चित्रकला तथा अभिनयकला प्रतियोगिताहरु सञ्चालन गर्ने, खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने, गर्न लगाउने र सहभागिता जनाउने कार्य गरेका छन् ।

– कहीँ कतै कुनै बालबालिका दुर्घटनामा परेमा तुरुन्तै उपस्थित भएर उद्धार गर्ने, उसको उपचारमा कठिनाइ उत्पन्न भएमा विभिन्न संघसंस्थाहरुलाई घचघच्याएर तथा चन्दा सङ्कलन समेत गरी उपचार गराउने कार्य गरेका छन् ।

– जाडोले कठ्याङ्ग्रिएका बालबालिका तथा गरिबदुःखी अभिभावकहरूका लागि बजारका प्रत्येक पसलपसलमा पुगी लत्ताकपडा, जुत्ताचप्पल तथा खाद्यान्न आदि समेत सङ्कलन गरी घरघरमा पुर्याएर सहयोग गरेका छन् ।

– मनोवैज्ञानिक उपचारको आवश्यकता भएका बालबालिकाहरुलाई सञ्जालले नजानिँदो ढङ्गले उपचार समेत दिलाएका छन् । खराब व्यवहार भएका अभिभावकबाट पीडित बालबालिकाहरुले आफ्ना पीडा कुण्ठाहरु (वयस्क मनोचिकित्सकसँग भन्दा पनि) सहज ढङ्गले आफ्नै उमेरसमूहका साथीहरुसँग खोल्न सक्छन् । साथी चेतनशील र सङ्गठित पनि छ भने सजिलै उसलाई पीडामुक्त गराउन सफल हुन्छ । यो कुरा पनि नगर बालसञ्जालका अनेकन कार्यहरुले प्रमाणित गरेका छन् ।

नगर बालसञ्जालका यस्ता कार्यहरु झल्झल्ती आँखामा देखेपछि के स्पष्ट हुन्छ भने वयस्कहरुले बालबालिकाहरुलाई उचित संस्कार दिएर सकारात्मक बाटो मात्र देखाइदिनु पर्छ । नियन्त्रण होइन निगरानी मात्र गर्नुपर्छ, बाँकी सबै कुरा समयले उनीहरुलाई आफैँ सिकाउँदै अघि बढाउँछ । सचेत बालबालिकाहरु सङ्गठित भएपछि वयस्कहरुले जस्तै महत्वपूर्ण कार्यहरु सफलतापूर्वक सम्पन्न गर्न सक्छन् । वयस्कहरुले बालबालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्छ र सहकार्य गरी सँगसँगै हिँड्नु पर्छ ।

केही नगरहरुमा अत्यन्तैसक्रिय रहेका नगरबालसञ्जालजस्तै सबै नगर र गाउँपालिकाहरुमा पनि गाउँबालसञ्जाल, वडा बालसञ्जाल र टोलटोलमा बालक्लबहरु गठन गरी सक्रिय बनाउन सके बालश्रम शोषण तथा अन्याय अत्याचारको अन्त्य भई बालमैत्री समाज निर्माणमा सफलता हासिल गर्न सकिन्थ्यो कि ?