किस्सा सुनाए— ‘छोराले अर्कै जातकी ल्यायो । मुख देखाइसक्नु पारेन मुर्दाले ।’
‘केटी नै ल्यायो नि?’
‘हाहा । केटी नल्याएर के ल्याओस् त? ल्याउन त केटी नै ल्यायो नि !’
‘खुसी हुनुस् दाइ । राम्रो भएछ । अचेल मान्छेका छोराले केटा ल्याउँछन्, छोरीले केटी ! धन्न तपाईंका छोराले त्यसो गरेनछ ।’
हैट !
तर भएकै कुरा ।
कत्रो हल्ला भएको थियो अनुभव दर्जी र रूपक गिरीले ‘अनुरूपक भयौँ’ भन्दा । बिहे गर्दा । अनिवार्य विपरीत लिङ्गी विवाह पद्धतिलाई ‘इस्’ भनिदिँदा । युट्युबमा अन्तरवार्ताहरू थुप्रै छन् । हेर्नुस् न ! मैले त हेरिसकेँ ।
‘अनिवार्य विपरीत लिङ्गी व्यवस्था’ लाई स्वाभाविक मानियो । मान्छेको समाजले शताब्दीऔँ अघिदेखि यसै व्यवस्थालाई ‘प्राकृतिक’ र अन्य सबै लैङ्गिक व्यवस्थालाई ‘अप्राकृतिक’ ठहर गरिदियो । तर, मान्छेको स्वभावले भने यस ‘प्राकृतिक’ स्वभावलाई बेलाबेला, गोप्य रूपमा खुच्चिङ भन्दै आएको ठीक साँचो हो । प्रमाणहरू आदिम साहित्यदेखि समकालीन साहित्यसम्म जताततै फैलिएका छन् ।
अनौठा लैङ्गिक व्यवहारको मूलतः तीन व्याख्या छन्—
१. ‘मानिसहरू अनिवार्यतः विपरीत लिङ्गीप्रति आकर्शित हुन्छन् ।’ तर अनुभव र अध्ययनले यसो नहुन पनि सक्छ है भन्ने सङ्केत गरेको छ ।
२. मानिसहरूमा प्राकृतिक रूपले अनेक लैङ्गिक स्वभाव हुन्छन् । एउटै मान्छेको लैङ्गिक स्वभाव र आचरण पनि तरल हुन्छ । परिवर्तनशील हुन्छ । यस प्राक्कथनमा दम छ ।
३. प्रतिकूल परिवेशमा मान्छे र जनवार ‘अप्राकृतिक’ लैङ्गिक व्यहारतिर पनि लहसिन सक्छ । शेख मुजिबुर रहमानले आफ्नो जेल डायरीमा लामो समयदेखि जेल जीवन काटिरहेका कैदीहरू समलिङ्गी हुने गरेको कुरा लेखेका छन् । सानो क्षेत्रफलमा धेरै भन्दा धेरै खराया कोचरेर राख्दा ती समलिङ्गी बन्ने गरेको अचम्मको कुरा जेरी मेन्डरले आफ्ना लेखहरूमा गर्ने गरेका छन् ।
यानि, लैङ्गिक प्रकृति विविध मात्रै छैनन्, परिवर्तनशील पनि छन् ।
तर मान्ने गाह्रो ।
यी अनेक प्रकारका लैङ्गिक प्रकृतिलाई निषेध गर्ने काम सुरूदेखि नै भयो । नारी–पुरुष सम्बन्धको एउटा पाटो प्रजनन हो । त्यसमा विवाद गरिरहनुपर्ने केही छैन । तर, त्यो मात्रै होइन कुरा । तर यसैलाई कुराको अन्तिम चुरो मानियो । अचेल पनि मानिन्छ । अलिकलि दायाँबायाँको कुरा ग-यो कि मुख छोपेर ‘आप्पुई, तेस्तो पनि हुन्च र ?’ भन्नेको जमात देखिन्छ ।
कुरो के मात्रै होइन? के चैँ हो?
नकाम उहिल्यैदेखि भएको छ लैङ्गिकताको व्याख्याका सम्बन्धमा ।
— प्लेटोले सन्केर कथा भन्दिएछन्— उनको ‘सिम्पोसियम’ मा । पात्र एरिस्टोफेनिसले भनेको । कथा भन्छ— आदिम युगमा गोला अण्डा आकारका, तर चार–चार गोडा भएका मान्छे हुन्थे रे ! ती यति शक्तिशाली थिए रे कि तिनका देउताको आशन ताके रे, स्वर्गमा । ‘गादी ताके’ भनेजस्तो होला शाह कालमा । तत्काल बैठक बसी देउताका राजा जियसले अपोलोलाई यी मान्छेलाई आधा–आधा पारेर काट भनेछन् । कोटेछन्— छ्याप्प । (सुन्नुस् न, छ्याप्प गरेको सुनिन्छ कि ?) त्यसबाट दुई हात, दुई गोडा भएका पुरुष र महिला भनेर चिनिने मान्छे बनेछन् । जसको जो आधा हो, उसैको खोजी जिन्नगीमा । ‘बेटर हाफ’ भनेको त्यही हो । मान्छे मग्न, देउता बिन्दास् ।
— एउटा अर्को तर्कमा भनिएको छ— त्यसरी काटिएका आधा आधामा महिला र पुरुष नै निस्किए भन्ने छैन । दुवै भाग पुरुष, वा दुवै महिला पनि थिए । तर, त्यस्ता आधाको ‘बेटर हाफ’ को चर्चा हुनै दिएन, विशेषतः धर्मले, शास्त्रले । अचेल हुन थालेको छ । यो लाइनको पनि चर्चा उसैगरी भएको भए लैङ्गिकताको चर्चा अर्कै हुन्थ्यो सायद । सायद त्यसमा पुरुष–पुरुष अकर्षण र महिला–महिला आकर्षणको आद्यव्याख्या पाइन्थ्यो । हुन त यो कुनै वैज्ञानिक व्याख्या होइन तर समाजले कसरी सोच्छ, त्यसको आँखिझ्याल त हुन्थ्यो नि ? तर झ्याल बन्द गरिदिए । ढिम्किनै दिएनन् बेमानहरूले । हाहा, ढिम्किनु किन प-यो र ? नि ?
— बाइबलमा अर्को कथा आयो । आदम बनाएछन् भगवान्ले । बिचरो एक्लो भयो भनेर उसैको करङ निकालेर इभ बनाएछन् । अब जहाँबाट करङ निकालेर महिलाको रचना गरियो, महिलाले त्यही आदिम स्रोत आदमको खोजी गर्नु ‘स्वाभाविक हो’ भनियो । यसले अनिवार्य विपरीत लिङ्गी सम्बन्धलाई पद्धति बनाइदियो । बाइबलमै समलिङ्गीको छाला काडेका कथा पनि थपिए । सोडोम र गोमोराहको कथा थाहै छ । सोडोम नगरमा चल्ने गरेको व्यापक समलिङ्गी व्यवहारबाटै ‘सोडोमी’ शब्द आएको मानिन्छ । यसको अर्थ हो पुरुषहरूमाझ हुने यौन सम्बन्ध । यस्तालाई खूब दण्ड दिइन्थ्यो रे ! सोडोममा त आगै लगाइयो । मान्छे थुरुरु । दब्नुपर्नेले दबेरै जिन्नगी कटाउँथे रे !
— प्राचीन ग्रिसेली साहित्यमा समलैङ्गिक सम्बन्धको चर्चा छ । भनिन्छ, त्यसताका वयस्क पुरुष र किशोरहरूमाझ त्यस्तो सम्बन्ध हुन्थ्यो रे ! कस्तो ? भो, त्यो पर्दैन ! समान्यतः वयस्क पुरुषले प्रभुत्वशालीको र किशोरले दमितको भूमिका निभाउनुपर्ने रे ! एरिस्टोफेनिसको नाटक छ ‘द नाइट्स’ । त्यसको मुख्य पात्र त्यस्तै दमित पात्र हो, जो सगौरव आफूले समलिङ्गी सम्बन्ध राखेको, र त्यसमा आफू दमितको भूमिकामा रहेको स्वीकार गर्छ । अचम्म के भने, स्पार्टा भन्ने राज्यका बेहुलीहरूलाई कपाल काटेर, केटाको जस्तो पोशाकमा अन्माइन्थ्यो रे, ताकि समलिङ्गी सम्बन्धमा दीक्षित उसको दुलाहालाई, केही समय संक्रमणकालीन सुविधा रहोस्, र ऊ, बिस्तारै विपरीत लिङ्गी सम्बन्धका लागि तयार होओस् ।
— ग्रिसेली मिथक र साहित्य हेरौँ न ! एकिलस र पेट्रोकल्स, थेस्युर र पिरिथ्युस, ओरेस्टर र पाइलेडिस, अलेक्लेन्डर र हेफाइस्टियोन — यस्ता केही नामुद सम्बन्धहरू हुन्, जसमाथि थप अध्ययन र बहस हुनुपर्छ । अचम्म— त्यस्ता दिग्विजयी सम्राट अलेक्जेन्डर पनि हेफाइस्थियोन नाम गरेको सहपाठी साथीलाई मनको निकट मान्थे रे ! यसरी अलि घुमाएर भनियो है, यो कुरा । घरछेउमै पहिरो भएन कि ?
— थेब्स प्रान्तमा ‘द सेक्रेड बेन्ड अफ थेब्स’ भनिने विशेष र शौर्यशाली सेनामा पुरुष जोडीहरू थिए रे ! एकअर्कालाई आड, भरोसा र हिम्मत दिन्थे रे ! एकअर्कालाई हेरेर लड्ने हिम्मत बटुल्थे रे ! अहिले यति मात्रै भनूँ होला ।
ग्रिसेली समयको यो उदारता मध्यययुगमा खुम्चियो । यस्ता सम्बन्ध अवैध मानिन थाले । छाला काडिन थाल्यो । मार्न थालियो ‘पातकी’ लाई । मध्ययुगीन साहित्यमा कथै कथा, छाला काडेका । मलाई लाग्छ, पश्चिमका भर्जिनिया वुल्फको समयभन्दा अगाडिको साहित्यले फरक लैङ्गिकतालाई धापै दिएन । भन्न त ओस्कर वाइल्डको स्वभाव त्यस्तो थियो र उनले मुद्दा खेपे र जेल गए भनियो । तर उनको लेखनमा त्यस्तो खासै भेटिँदैन । अँ, एउटा नाटक ‘दि इम्पोर्टेन्स अफ बिइङ अर्नेष्ट’ मा केही झिल्का छन् ।
पुरुषहरूबीचको समलैङ्गिक सम्बन्धका लागि मृत्युदण्डको कुरा त बाइबलको ओल्ड टेस्टमेन्टमै पनि छ । तर त्यसमा महिलाहरूबीच त्यस्तो सम्बन्धको चर्चा गरेको चाहिँ पाइँदैन । अठारौँ शताब्दीको अमेरिकाको फेरिएको कानुनमा भने पुरुषहरूलाई आजीवन काराबासका भागी बनाइँदा पनि महिलाहरूलाई समलैङ्गिक सम्बन्धका लागि मृत्युदण्डकै भागी बनाइयो । परपुरुष गमनका लागि सार्वजनिक ठाउँमा राखेर ढुङ्गा हान्ने त सामन्य भयो । दुईवटा सामग्रीको नाम लिन्छु है— नेथेनियल हाउथ्रोनको उपन्यास ‘द स्कार्लेट लेटर’ तथा साइरस नौरास्थेद्वारा निर्देशित इरानी चलिचत्र ‘द स्टोनिङ अफ सोहराया एम’ । पढौँ न ! हेरौँ न ! वीभत्स दृश्यहरू छन् तर परपुरुष गमनका ।
कुरा मोडियो त ? सोझ्याऔँ, सोझ्याऔँ ।
बेलायतमा सन् १९५३ मा पहिलोपल्ट समलैङ्गिक सम्बन्धका लागि मृत्युदण्डको व्यवस्था गरियो, जसलाई १९६१ मा आजीवन कारावासमा परिणत गरियो ।
बीचको कथा निकै लामो छ । अचेल यस्ता सम्बन्धलाई धेरै देशले कानुनतः खुकुलो बनाएका छन् । हुँदा हुँदा सेम–सेक्स मेरिज आज सामान्य हुन पुगेको छ ।
लेखनतिर हेरौँ । ओस्कर वाइल्डको नाटक ‘दि इम्पोर्नेन्स अफ बिइङ अर्नेष्ट’ को त अचेल पनि नयाँ नयाँ ढाँचाका प्रस्तुत गरिँदैछ । त्यसताका, त्यस नाटकमा पाइने समलिङ्गी सन्दर्भलाई तन्काएर अचेल चर्चामा रहेको ‘क्वेयर’ सन्दर्भलाई सम्म जोडिने गरेको बुझिएको छ । जेम्स बाल्ड्विनको चर्चित उपन्यास ‘जियोभानिज रुम’, भर्जिनिया वुल्फको ‘ओल्र्याण्डो’, एलिस वाकरको ‘द कलर पर्पल’, एन्जेला कार्टरको ‘प्यासन अफ द न्यू इभ’ आदि उपन्यास त नेपाली बजारमा पनि पाइन्छन् । यसो खोज्यो भने भेटिन्छ । पढौँ न एकफेर ! तर पार्किङ छैन अचेल । कसो पो गर्नु ? गाडी कहाँ ते-याएर खोज्नु र किताब?
अनलाइन ।
थोरै सुराकी पूर्वीय साहित्यको पनि गरिहालम् । यो विषय नै सुराकी गर्ने खालको छ । छैन त ?
सम्भवतः पूर्व–उपनिवेशिक युगको भारतमा पनि समलैङ्गिक सम्बन्धलाई अवैध मानिँदैनथ्यो । खजुराहोमा भेटिने चित्रकलाले र मन्दिरका टुँडालहरूले यस्तै बयान गरेको पाइन्छ । कामसूत्रकै कुरा गर्दा पनि कित्ताकाट छैन नि !
लु, यो पनि पढेको पोल खुल्यो । तर, भन्नु इमानदारी हो नि, लुकाउनु र गुम्स्याउनुभन्दा? कि कसो हो?
अर्धनारीश्वरको शास्त्रीय कल्पनाले एउटै मान्छेभित्रको विविध लैङ्गिक समीकरण देखाउँदैन र?
भारतीय प्रान्त सबरीमालाको अयप्पा मन्दिरमा अयप्पाको पूजा हुन्छ । भनिन्छ, अयप्पा शिव तथा मोहिनी अवतारमा आएका विष्णुका सन्तान रे ! शिव र विष्णुका सन्तान? पत्याउनु? कथै छ, कसरी नपत्याउनु?
कुरा त्यति सतही चाहिँ छैन ।
साहित्यमा त कति छ कति ! उदाहरणकै कुरा गर्दा पनि धेरै भेटिएलान् । सूर्यकान्त त्रिपाठी निरालाको उपन्यास ‘कुल्ली भाट’ र अमिताभ घोषको अङ्ग्रेजी उपन्यास ‘सी अफ पप्प्जि’ सिफारिस गर्छु । अमिताभ घोषको यो पुस्तक त नेपाली बजारमा पनि पाइन्छ । यस उपन्यासको रमाइलो के भने, यसको एक पात्र नवकृष्ण घोष तारामयी माँ भनिने एक तिलस्मी महिलाको भक्त बन्छ । हुँदाहुँदा भक्तिमा यति लीन हुन्छ कि आफूलाई तिनै माँको रूप सम्झन थाल्छ । यानि, एउटा पुरुष आफूलाई महिला सम्झन थाल्छ । हुन त सुफी साहित्यमा शरीर पुरुष वा महिला होला, तर तिनको आत्मा न पुरुष, न महिला, अपितु दुवैको मिश्रण हो भन्ने तर्कहरू भेटिन्छ । हुन पनि, मान्छेको भित्री स्वभावको आचरण, लैङ्गिक दृष्टिले तरल हुन्छ भनेर विद्वानहरूले भनेकै छन् । सन् १९४७ मा प्रकाशित आशा सहायको हिन्दी उपन्यास ‘एकांकीनी’लाई पहिलो हिन्दी लेज्बियन उपन्यास मानिएको छ । इस्मत चुगतईको ‘लिहाफ’, फणीश्वरनाथ रेणुको ‘रसपिरियो’, राजकमल चौधरीको ‘मछली मरी हुई’, सुरेन्द्र वर्माको ‘दो मुर्दों के लिए गुलदस्ता’ जस्ता रचनालाई तेस्रो लिङ्गी विमर्शका लागि सटीक साक्ष्य मानिएको छ ।
बाँकी भवसागरमा हात हालिनँ । जानकारी पनि त्यति छैन ।
केचाहिँ सायद भन्नुपर्ला भने सन् २००९ मा भारतको दिल्ली उच्च अदालतले समलिङ्गी सम्बन्धलाई वैधानिकता दियो । तर, सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदियो । पछि २०१८ मा त्यसै अदालतले आफ्नै अघिको निर्णय उल्ट्याउँदै पुनः समलिङ्गी सम्बन्ध र विवाहलाई वैधानिकता दिइदियो ।
थोरै कुरा चीनको ।
समलिङ्गी पुरुषहरूबारे अक्युपेसन नाम गरेको उपन्यास लेखेका कारण ‘लिउ’ नाम गरेकी लेखिकालाई १० वर्ष जेल सयाज सुनाएको समाचार २०७५ तिर भाइरल भएको थियो । यस्तो लेखनलाई चीनमा आज पनि गैरकानुनी मानिँदै आएको छ । यति भनेपछि त्यसअघि वा पछिको चिनियाँ साहित्यको कुरै गर्नु परेन ।
फिल्मतिरको रडाको पुरानै हो । भारतमा, दीपा मेहताको ‘फायर’लाई लेस्बियन मुभी भनेर खूब विरोध गरियो । अग्रपंक्तिमा हिन्दू अतिवादी थिए । अमेरिकी चलचित्र ‘डा. स्ट्रेन्ज इन ल मल्टिभर्स अफ म्याडनेस’मा अमेरिका चाभेज नाम गरेको समलिङ्गी पात्र छ भन्दै अरबी संसारमा छिर्नै दिइएन । ‘बम्बे बोइज’, ‘जिन्दगी जिन्दावाद’, ‘एक लडकीको देखा तो ऐसा लगा’, ‘दोस्ताना’ आदि भारतीय चलचित्र त ‘हिट’ मै गनिए । सूचीमा नाम थपौँ ।
नेपालतिर फर्कौं कि?
नेपालको नयाँ संविधानले तेस्रो लिङ्गीहरूको हक, हित र पहिचान सुरक्षित गर्ने व्यवस्था गरेको छ ।
साहित्यतिर हेरौँ । एउटा सिफारिस छ— कुमारी लामाको समालोचनात्मक पुस्तक समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना चैँ पढिहालौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले छापेको हो ।
यस पुस्तकमा समालोचक लामाले समलिङ्गी तथा तेस्रो लिङ्गीहरू प्राचीन कालदेखि नै विद्यमान रहेको तर साहित्यले विभिन्न रूपमा तिनलाई चित्रण गरेको तथ्य प्रस्तुत गरेकी छिन् । यिनले महाभारतका शिखण्डी, महाभारतकै अर्जुनको बृहन्नला अवतार, ऋगवेदमा वर्णित मित्र र वरुणको निकटस्थ सम्बन्ध, भगवान् शिवको अर्धनारीश्वर रूप आदि रोचक प्रसङ्ग कोट्याएकी छन् । भारतखण्डबाहिर अमेजनमा नारी–पुरुष दुवैको गुण देखिनु तथा एथेनामा विविध र परिवर्तनशील लैङ्गिक स्वभाव हुनु आदि कथाको पनि यस पुस्तकमा गरिएको छ । समलिङ्गी चेतना विस्तारका साक्ष्यका रूपमा समालोचक लामाले नेपाली सिर्जनामा भागीरथी श्रेष्ठको कथा ‘खेल’, निरुपा प्रसूनको ‘आधाउधी’, मनोज बोगटीको कथा ‘च्यातिएको छाया’ तथा मणि लोहनीको कथा ‘हाँसो’ को चर्चा गरेकी छन् भने पुरुष समलैङ्गिकताका सन्दर्भमा उनले इल्या भट्टराईको ‘ऊ त्यस्तो पो रहेछ’, मञ्जु काँचुलीको ‘हजुरको जोडी’, उषा शेरचनको ‘तेस्रो रङ’ र महेश पौड्यालको ‘सिकारी’ कथालाई लिएकी छन् ।
अन्तर–लैङ्गिक स्वभावका साक्ष्यका लागि उनले माया ठकुरीको ‘किन्नर’, अर्चना थापाको ‘विमर्द’, विन्दु सुवेदीको ‘मेरी दिदी र ऊ’ तथा रीता ताम्राकारको ‘अनुत्तरित प्रश्न’ लाई आधार बनाएकी छन् ।
कथाबाट उपन्यासतिर लम्कन खोज्ने जिज्ञासु पाठकलाई ज्ञानु पाण्डेको ‘नेपाली उपन्यासका लैङ्गिकता’ शीर्षकको ग्रन्थ सिफारिस । नेपाल प्रज्ञा–प्रतिष्ठानकै प्रकाशन हो । लेखिकाले हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नीमान्छे’, विजय मल्लको ‘अनुराधा’, भवानी भीक्षुको ‘सुभद्रा बज्यै’, विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’, सरुभक्तको ‘तरुनी खेती’, इन्दिरा प्रसाईंको ‘उसको लोग्ने र बिरालो’, पद्मावती सिंहको ‘समानान्तर आकाश’, बलदेव मजगैयाँको ‘मानसी’, कपिल काफ्लेको ‘सुसम चण्डिका’, उन्नती बोहोरा ‘शीला’ को ‘सिक्काका दुई पाटा’, गीता केशरीको ‘बदलिँदो क्षितिज’ र प्रभा कैनीको ‘अनावृत्त’ लाई विश्लेषणका लागि छानेकी छन् ।
हामी अरू थपौँ । कि नथपौँ? भट्टीतिर भए ‘थपौँ थपौँ’ भन्नुमा पनि पीर हुन्थ्यो । यहाँ किताबको कुरा छ । त्यो जोखिम छैन कि?
— मोहनराज शर्माका ‘सलिजो’ र ‘पल्ली’ !
— गीत केशरीको ‘नयाँ अध्याय’ !
— अच्छा राई रसिकको ‘लगन’ !
— पुष्कर लोहनीको ‘अदृश्य मान्छे’ !
— शोभा भट्टराईको ‘अन्त्यहीन अन्त्य’ !
— ईन्द्रकुमार श्रेष्ठ सरितको ‘अर्धसत्य’ !
— गोविन्द गिरी प्रेरणाको ‘लिभिङ टुगेदर’ !
— तर्कना शर्माको ‘जेब्राक्रस’ !
— जया ओझाको ‘अनुराग’ !
— कथाकार भोजराज घिमिरेको सङ्ग्रह ‘अन्तिम प्रश्नभित्र’का ‘सम्झौता’ जस्ता केही कथा !
— रत्न प्रजापतिको कथा सङ्ग्रह ‘रित्तो रथ’ भित्र रहेका ‘रङ्गीन बाफ’ जस्ता केही कथा !
— ‘मीरा’ र ‘मारुनी’जस्ता केही चलचित्र ।
कति कति सिर्जना छुटे । जानकारी पनि भएन । समय पनि भएन ।
थपौँ ।
भो नथपौँ । बरू विश्लेषण गरौँ ।
विश्लेषण ? झ्याउ लाग्न सक्छ ।
अनि कि, जैविक दृष्टिले लिङ्ग निश्चित होला तर सिद्धान्तशास्त्रीले लैङ्गिकतालाई तरल, परिवर्तनशील र बहुरूपिया मानेका छन् । भन्नुको अर्थ के भने— जन्मँदा पुरुष वा महिला होला कोही । अथवा उभय होला । व्यवहारतः ऊ अर्कै हुन सक्छ । पुरुषजस्ता देखिने मान्छेमा महिलाको स्वभाव आइदिन सक्छ । महिलाजस्ता देखिनेमा पुरुषको । पुरुष पुरुषतिर आकर्षित हुन सक्छ । महिला महिलातिर । एउटा पुरुष पुरुषतिर पनि र महिलातिर पनि आकर्षित हुन सक्छ । महिला पनि । पुरुष वा महिला, कसैतिर पनि आकर्षित नहुने पनि होलान् ।
के बुझ्नु ? कसरी बुझ्नु ?
बरु कथा भन्छु । सन् १९६९ को, जून महिनाको २८ तारिख । अमेरिको म्यानहट्टनको पुलिसे, केही सुराक पाएको आधारमा स्टोनवाल भनिने एउटा भट्टीमा छापा मारेछ । शङ्का के भने— त्यहाँ समलिङ्गी पुरुष भेला हुन्छन् । तर त्यहाँ भेला भएका कतिपय पुरुषले यस छापाका विरुद्ध नाराबाजी सुरू गरेछन् । तीन दिन चलेछ घम्साघम्सी । हल्ला यत्र, तत्र, सर्वत्र । फैलँदै जाँदा संसारैभरि फैलिएछ । पहिलोपल्ट समलिङ्गी अधिकारको सङ्गठित लडाइँले एउटा आन्दोलनको आकार लिएछ ।
आज यो एउटा यथार्थ हो नि विश्वभरि नै । कानुन बने । संविधानहरूमा संशोधन भयो तर व्यवहारमा कत्तिको उत्रियो, त्यो प्रश्नको घेरामा छ । अझ घचघच्याई नपुगेको हुन सक्छ ।
लेखकहरूले लैङ्गिक समानताको वकालत गरिरहेका छन् तर आफू पुरुष वा महिला हुनुको अर्थमा र अनिवार्यतः विपरीत लिङ्गी प्रेम वा विवाहलाई मानक बनाएको समाजका सदस्य भएको अर्थमा उनीहरूमा विद्यमान पुरुष वा महिला ग्रन्थिले थाहै नपाई लास्टै धोका दिन सक्छ । असहिष्णु वा हिंसक बनाइदिन सक्छ । त्यसैले कथा फेरि पुरुषवाद वा महिलावादको भासमा जाक्किन सक्छ । यसबाट बच्नुपर्छ ।
१. व्यहारतः कुनै पुरुष पुरुषजस्तो वा महिला महिलाजस्तो देखिएन भने ‘आप्पुई’ भन्ने बानी हटाउनु जरुरी छ । खासखुस, फसफुस पनि बन्द । ‘अनुरूपक’ हरू हुन्छन् क्या समाजमा । कुनै अचम्मको कुरो होइन ।
२. लैङ्गिकता केवल दुईखाले हुन्छन् भन्ने पुरातन विश्वासलाई खोलातिर मिल्क्याइदिए हुन्छ । खोलो आफैँ छान्दा हुन्छ । स्वस्थानीका एकसय आठ रोटी सेलाउन जाँदा यो चिन्तन पनि सेलाए हुन्छ ।
३. प्रेम वा विवाह केवल र केवल सन्तान उत्पादनका लागि होइन । यो तीतो तर सत्य कुरालाई मान्नुको के विकल्प छ र ?
४. स्वभावतः एकातिर ढल्किएको लैङ्गिकतालाई जबर्जस्ती अर्कोतिर मोड्दा मान्छे जीवनभर दुःखी हुन्छ । कसैलाई दुःखी बनाउनु कुनै पनि व्यवस्थाको उद्देश्य हुनु हुँदैन ।
५. लेखकले क्रमशः लैङ्गिक द्विचरहरूलाई तोड्दै लानु जरुरी छ ।
६. यस्ता अपरम्परित विषयलाई खुला बहसको विषय बनाउनमा लेखकहरूको भूमिका अनिवार्य छ तर पूर्ण संवेदनशीलताका साथ । मानवीयताका साथ । सटीकताका साथ ।
७. यो एउटा कानुनी हुनुका साथै जैविक, सामाजिक र मनोवैज्ञानिक युद्ध पनि हो । यसमा लेखकहरूको हस्तक्षेप प्रभावकारी हुन सक्छ । यो जीवनसँग जोडिएको अतिसंवेदनशील विषय हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।