

विषय परिचयः
नेपाली आख्यानमा माया ठकुरी एक सुपरिचित नाम हो । कविता विधाबाट नेपाली साहित्य लेखनतर्फ उन्मुख भएकी माया ठकुरीको जन्म लखनउमा जुलाई २, १९४६ मा भएको हो । माया ठकुरीको पहिलो कविता ‘उनलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई घृणा गर्ने पत्र’ थियो । ठकुरीले कुनै औपचारिक शिक्षा नपाए पनि आफ्नै स्वअध्ययनबाट ज्ञान हासिल गरेकी छन् । वि.सं.२०२१ सालदेखि निरन्तर कथालेखनमा सक्रिय ठकुरीका यो चारदशक लामो सेवाकाल अर्थपूर्ण र सफल भएको उनलाई आफ्नै प्रयत्न र परिश्रमले सफल कथाकारमा स्थापित गराएको छ । आफ्नो सङ्घर्षमय जीवन र त्यसबाट प्राप्त उपलब्धिलाई लेखनको विषय बनाउँदै आफ्नो लेखन यात्रालाई क्रान्ति र आफूजस्ता धेरै महिलाहरूबाट वञ्चित भएका कुराहरू प्राप्त गर्नको लागि संघर्षको रूपमा वर्णन गरेकी छिन् । उनका नेपालीमा सातवटा र अंग्रेजीमा एउटा सङ्ग्रह प्रकाशन भएका छन् । उनका कथासङ्ग्रहहरूमा नजुरको जोडी (२०३०), गमलाको फूल (२०३३), साँघु तरेपछि (२०३९) चौतारो साक्षी छ (२०४६) माया ठकुरीका कथाहरू ( २०४८) आमा जानुहोस् (२०६४) र प्रियंवदा (२०६९) प्रकाशित छन् भने इन्द्रधनुष गीतसङ्ग्रह तथा अङ्ग्रेजी कृति स्वीट स्पोकन प्रकाशित भएको छ । सामाजिक मनोविज्ञानलाई विषयवस्तु बनाएर लेखिएका उनका कथाहरू अंग्रेजी, हिन्दी, बंगाली, तमिलमा पनि अनुवाद गरिएका छन् र भारत र नेपालका विभिन्न विश्वविद्यालयहरूमा पाठ्यक्रममा राखिएका छन् ।
उनका कथामा बुढ्यौलीका विषय समाविष्ट छन् । उनका कथामा प्रयुक्त वृद्धवृद्धाका अनुभव, अनुभूति तथा मनोविज्ञानको प्रयोग गरिएको छ । उनकै आमा जानुहोस् कथामा प्रयुक्त वृद्ध मनोविज्ञानको विश्लेषण यहाँ गरिएको छ ।
सैद्धान्तिक आधारः
वृद्ध अवस्थामा वृद्धवृद्धामा देखिने बानी व्यवहार तथा उनीहरूको परिवर्तित जीवनशैलीका विविध आयाममा प्रभाव पार्ने तत्त्व र तिनले पार्ने प्रभाव नै वृद्ध मनोविज्ञान हो । वृद्धवृद्धाका जीवनको अध्ययन र विश्लेषण चाहिँ वृद्ध मनोविश्लेषण हो । समयको परिवर्तनसँगै मानव जीवनमा विभिन्न उतारचढाव, आरोह–अवरोह देखिन्छ ।
वृद्धको अवस्थालाई हेरेर समाजले उनीहरूप्रति गर्ने व्यवहार र वृद्धवृद्धाले समाजमा देखाउने चालचलनको चित्रण सामाजिक मनोविज्ञान भित्र पर्दछ । वृद्धअवस्थाका समयमा समाजका सक्रिय भूमिका निर्वाह गर्न नसके पनि उनीहरूले आफूले भोगेका अनुभव र अनुभूतिलाई प्रस्तुत गर्न चाहन्छन् । ठिक समय र उचित परिस्थिति नहुँदा उपयोगी कुराको पनि सकारात्मक कुराको पनि कुनै प्रभाव हुँदैन र वृद्ध वृद्धाको मनोविज्ञानमा असर पर्दछ । वृद्धवृद्धालाई सामाजिक सद्भाव र सम्मान चाहिन्छ । उनीहरू आफूलाई सधैँ आदर सत्कार गरुन्, आफ्नो कुरा सुनिदिउन् भन्ने चाहना राख्छन् । हाम्रो मौलिक संस्कार र संस्कृतिले पनि आफूभन्दा अग्रजको सम्मान गर भन्दछ त्यसैले वृद्धवृद्धाको सामाजिक मनोविज्ञान आफ्नो अनुभव, अनुभूति कसैले सुनिदेओस् भन्ने चाहना राख्दछन् । तिनको मनोभावअनुसारको व्यवहारको अध्ययनको विषय नै वृद्ध सामाजिक मनोविज्ञानको विषय वा क्षेत्र हो ।
वृद्धवृद्धाका मनोभावनाअनुसार गरिने व्यवहार र उनीहरूले देखाउने व्यवहारलाई वृद्ध मनोविज्ञानले विश्लेषण गर्दछ । उमेरको वृद्धिसँगै वृद्धवृद्धामा समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको हुँदैन् । आफ्नै समय वा बलियो अवस्थामा जसरी समाजको अध्ययनका बारेमा बुझेका हुन्छन् त्यस्तै रहिरहेको अनुभूत गर्दछन् त्यसैले मानिसभित्रको हैकमवादी सोच उनीहरूमा रहिरहेकै हुन्छ र सबैले आफ्नो कुरा सुनुन् र अबलम्बन गरिदिऊन् भन्ने चाहना वृद्धवृद्धामा रहनु नै वृद्धवृद्धाका सामाजिक मनोविज्ञान हो । वृद्ध सामाजिक मनोविज्ञानले व्यक्तिगत भावना र चाहनाको अध्ययन गर्दछ । आफूले भनेजस्तो नहुँदा रिसाउने, चिच्याउने, चिडिने जस्ता काम गर्दछन् ।

बद्रीप्रसाद ढकाल
वृद्धवृद्धाहरू घरका मूल अभिभावक हुन्, उनीहरूको अभिभावकत्व कायमै रहेको हुन्छ । परिवारको मुलीका रूपमा उनीहरूकै अभिभावकत्वमा गृहस्थ जीवन चलिआएकाले उनीहरू आफ्ना कुरा सबै घरपरिवारका सदस्यले मानुन र उनीहरूकै नेतृत्वमा चलोस् भन्ने चाहन्छन् । समय र परिवेशअनुसार आफ्नो व्यवहार ठिक दुरुस्त छ कि छैन भन्दा पनि आफूले भनेअनुसार होस् भन्नु वृद्धवृद्धाको नितान्त चाहना हुन्छ । तर समयको अन्तरालसँगै उनीहरूको व्यवहार परिवर्तन नभएकाले विगतकै जस्तो काम कारबाहीले नयाँ युग र परिवेशअनुसार मेलजोल खाँदैन, त्यो अनभूति वृद्धवृद्धासँग नहुने र पुरानै परिवेशमा नयाँ जेनेरेसनको कार्यशैली नहुने हुनाले पुस्तान्तरणमा देखिने समस्या बढेको हो । लामो समयदेखि घरको मूल अभिभारा वृद्धवृद्धासँग रहि आएको र आफ्नो शासन प्रणाली कायम राख्न वृद्धवृद्धाहरू उद्यत रहन्छन् तर शारीरिक अशक्तता र आयआर्जनको स्रोतमा आएको कमी तथा भिन्न दैनिक आवश्यकताको बोध नहुने भएकाले उनीहरू समयसापेक्ष चल्न सक्दैनन् । तर उनीहरूभित्र घर मूलीको प्रवृत्ति रहिरहेकै कारणले उनीहरूको पारिवारिक मनोविज्ञान बुझ्नु पर्दछ । वृद्धवृद्धामा घर तथा परिवारका समस्याका बारेमा जान्ने चाहना सधैं रहिरहन्छ । आफ्नो बलबुताले भ्याए पनि नभ्याए पनि त्यसप्रति चासो राख्ने र सरसल्लाह दिने चाहना राख्दछन् । त्यसैले उनीहरूको सरसल्लाहलाई सुनेर, बुझेर, मनन गरेर समाधानतर्फ उन्मुख हुने र असल निर्णयमा वृद्धवृद्धाका राय सुन्ने गर्नाले घरपरिवारमा अग्रजप्रति गरिने सम्म्मानको परिपाटी रहिरहन्छ भन्न सकिन्छ ।
यौन जीवनका आगि आवश्यक क्रिया हो । प्राकृतिक यौन क्रियाबाट शरीर शुद्धीको मान्यता रहेको मानिन्छ । उमेरको वृद्धिसँगै शरीरको सक्रियतामा पनि वृद्धि भए समयको अन्तराल र शारीरिक बनोटका साथै वृद्धवृद्धामा यौन चाहनाको आरोहअवरोह भइरहेको हुन्छ । शरीर कमजोर भए पनि मनले यौनप्रति आकर्षित गरिरहने हुनाले वृद्धवृद्धामा प्रत्यक्ष वा अप्रत्यक्ष यौन आकर्षण भइरहेको हुन्छ त्यसैले उनीहरू विपरीत लिङ्गीप्रति नजिक हुने, स्पर्श गर्ने र उनीहरूको सामिप्यतामा रमाउने गर्दछन् । कति वृद्धवृद्धामा यौन अतृप्तता रहिरहेकै कारण र त्यसप्रतिको थप आकर्षणले उनीहरू यौवनाकै सरह यौनक्रीडामा सरिक हुन चाहन्छन् । शरीरको खानपानसँगै शरीरको सक्रियता र हर्मोनको उत्पादनसँगै यौनक्रीडामा मन लाग्नु असान्दर्भिक होइन तर उमेरको वृद्धिसँगै कम हुनु स्वभाविकै हो । वृद्धवृद्धाको यौन आशक्तिलाई भिन्न दृष्टिले हेर्न नहुने तथा सामाजिक मर्यादा, नैतिक अनुशासनको दायरामा राखेर जैविक चाहनाका विषयलाई सामान्यीकरण गर्नु नै वृद्ध यौन मनोविज्ञानको अभीष्ट पनि हो । वृद्धवृद्धामा यौन चाहना हुनुहुँदैन वा देखिनु हुँदैन भन्ने भ्रमबाट मुक्त गर्नु पनि वृद्ध यौन मनोविज्ञान हो । त्यसैले समाजमा रहेका वृद्धहरूका मनोभावना अनुरूपमा वृद्ध यौनमनोविज्ञान बुझ्न सक्नुपर्दछ । यौन समग्र जीवनभन्दा भिन्न विषय होइन, केवल उमेरगत रूपमा भिन्न तरिकाबाट हेरिने र बुझिने भएकाले मात्र अलि यसका बारेमा भिन्न सोच रखिएको हो ।
वृद्धवस्थामा दैनिक वा नियमित आम्दानीको स्रोत हुँदैन तर औषधि उपचार लगायत खानपानमा खर्च हुने भएकाले वृद्ध आर्थिक मनोविज्ञानमा अलि बढी लोभ र कञ्जुस्याँइ देखा पर्दछ । आफ्नो लागि साँच्ने मनोवृत्ति बढ्ने हुनाले वृद्धवृद्धाको आर्थिक मनोविज्ञान अलि जटिल बन्दै गएको पाइन्छ । आफूले कमाउन सक्ने बेलामा जस्तो आउने र खर्च गर्ने निश्चितपन नभएको तथा भन्ने बित्तिकै तत्काल प्राप्त हुने अवस्था नभएका कारण वृद्धवृद्धाहरू अलि मुठ्ठी कसेर बस्छन् । आफ्ना इच्छा लागेको कुरामा समेत बन्देज लगाउँदै जोगाउने मनोवृत्ति वृद्धवृद्धामा देखिन्छ । अपवादबाहेक त्यसैले बुढेसकालमा प्रायः वृद्धवृद्धाहरू अलि बढी लोभी तथा कन्जुस हुन्छन् भन्न सकिन्छ । सम्पत्ति माथिको हक र अधिकार पनि सीमित हुने भएकाले उनीहरूमा मृत्युको समयसम्मका लागि केही जोगाड गर्नु पर्छ भन्ने सोच रहेको हुन्छ । शरीरले प्रोटिनयुक्त वा गठिलो वस्तुको पाचन गर्ने क्षमता कम भएकाले कुनै वस्तु खरिद गरिहाल्दा पनि लामो समय पुर्याएर सेवन गर्ने बानीको विकास भएको हुन्छ । नेपालजस्तो विकासशील देशमा जेष्ठ नागरिक ऐनको कार्यान्वयन पक्ष कमजोर भएको र परिवारले वृद्धावस्थामा गर्नुपर्ने उचित स्याहारसुसार तथा रेखदेखमा त्यति जिम्मेवारीपूर्वक भूमिका निर्वाह नभएकाले पनि वृद्धवृद्धाका अवस्था झनझन जटिल बन्दै गएको छ ।
वृद्ध अवस्था शारीरिक रूपमा अलि कमजोर तथा रोगी हुने भएकाले स्वस्थ तथा निरोगी हुनका लागि अनेक प्रयत्न गरिन्छ । उचित खानपान र आहार विहारका साथै वृद्धवृद्धामा अलि बढी धार्मिक प्रवृत्ति बढ्नुको साथै सहज मृत्यु र मोक्षको धारणा विकसित भएको हुन्छ । बलियो भएका समयमा गरेका यावत् क्रियाकलापको स्मरण तथा प्रायश्चितका लागि हर्दम भगवान् नाम संकिर्तन तथा पूजा साधनामा लिप्त हुन चाहन्छन् । हुन त शारीरिक अशक्तता भएका कारण पनि अरू काम गर्न नसक्ने हुनाले ईश्वर भक्तिमा लागेर सहज मृत्युको कल्पना गर्नु नै वृद्ध मृत्यु मनोविज्ञान हो ।
क) वृद्ध मनोविज्ञानमा स्वत्व
वृद्ध मनोविज्ञानमा आफ्नै बारेमा मात्र सोच्ने र आफ्नै लागि साँच्ने प्रवृत्ति नै स्वत्व हो । वृद्धता हुँदै गर्दा अरूका लागि भन्दा पनि आफ्नो लागि केही साँच्नु पर्छ भन्ने मनोवृत्ति पाइन्छ । आफू र आफ्नो शरीरका बारेमा सोचेर त्यसअनुसारको व्यवहार गर्नु स्वत्व हो । वृद्धावस्थामा यो प्रवृत्ति अलि बढेको हुन्छ । घर परिवारमा अरूका लागि सोच्नु निकै कठिन हुन्छ । आफूले भनेको बेला भनेको जस्तो नहुने भएकाले आफ्नो बारेमा अलि बढी सतर्कता अपनाएको पाइन्छ ।
ख) वृद्ध मनोविज्ञानमा परत्व
वृद्ध मनोविज्ञानको अर्को पाटो अरूका लागि सोच्ने वा साँच्ने प्रवृत्ति परत्व पनि हो । आफूलाई पुगेपछि वा भएपछि अन्यका लागि सोच्ने प्रवृत्ति परत्व हो । सावाँको भन्दा नाफाको माया भनेर वृद्धवृद्धाहरू नातानातिनाको अलि धेरै माया गर्दछन् र तिनका लागि खानेकुरा लगायत अन्य कुराको जोहो गरिदिन्छन् । आफ्नो शरीरलाई नचाहिने कुरामा पनि लोभ गरी आफ्नो सबैभन्दा प्यारो वा प्रिय मानिसका लागि साँचिदिने वा जतन गरिदिने प्रवृत्ति चाहिँ परत्व मनोविज्ञान हो । यिनै वृद्ध मनोविज्ञानका सिद्धान्तका आधारमा आमा जानुहोस् कथाको विश्लेषण गरिएको छ ।
आमा जानुहोस् कथाको विषयवस्तु
‘आमा जानुहोस्’ कथासङ्ग्रह माया ठकुरीको छैटौं कथासङ्ग्रह हो । यस सङ्ग्रह वर्तमान समयका कतिपय छाप र कतिपय मानव प्रवृत्तिका सर्वकालीन चरित्र बोकेर आएको छ । यस सङ्ग्रहमा पन्ध्रवटा कथा छन् भने आमा ! जानुहोस् यस कथा सङग्रहको शीर्ष कथा रहेको छ ।
आमा जानुहोस् कथा वृद्धवस्थामा रहेकी आमाको विषयमा लेखिएको कथा हो । मानवीय संवेदनाभित्र विवशताको यति जटिल र बेचैनीपूर्ण अवस्थाको चित्रण कथामा गरिएको छ । यो कथा पारिवारिक विखण्डन र चर्को मनोत्तेजनाको सशक्त प्रतिबिम्बन हो । ती आमा नै हुन्– मार्न पनि सक्नुहुन्न, मिल्काउन पनि सक्नुहुन्न, तर अवस्था यस्तो छ कि धपाउन पनि सक्नुहुन्न, जोगाउन पनि सक्नुहुन्न । तपाईं त्यही आमाको छोरो हुनुभएको भए के गर्नुहुन्थ्यो ? एउटा कठोर प्रश्न तेस्र्याइदिन्छ कथाले र मन बेचैन गराएर सोच्दा पनि उत्तर भेट्न पटक्कै सकिन्न । अर्कातिर झन्डै आफ्नो ज्यान गुमाएर जन्माएको छोरो हो, आफैँले भुइँमाथि खुट्टा उचाल्दै कत्रो रहरले भित्राएकी बुहारी हो । तिनलाई दुःख दिने मन पटक्कै छैन । तर नचाहेर पनि उनी दुःख हुन बाध्य छिन् । लुगामै दिसा खस्छ, जहाँ बस्यो त्यही पिसाब चुहिन्छ, जताततै यो दुर्गन्धको पोको बोकेर दुर्गन्ध फिँजाउँदै हिँड्नुपर्ने बाध्यता छ । यो शरीरको सम्भार गर्न नसक्दा देखिएका जटिल समस्या हो ।
आमा जानुहोस् कथाको कथानकभित्र एउटा संयुक्त परिवार छ तर पुस्तान्तरले गर्दा गाउँमा केही बचेका आदर्शहरू सहरमा पुगेर समाप्त भएका छन् । युवा पुस्ता एकातिर छ, वृद्ध आमा विवश, विह्वल असहाय अर्कातिर देखिएकी छिन् । शारीरिक सक्रियताहरू समाप्त भएपछि बाँकी जीवन अपहेलित र तुच्छ लाग्दछ भन्ने विचार कथामा अभिव्यक्त भएको छ । शरीरको रुग्णता वा जीर्णताले पारेको समस्याका साथै गाउँलेबाट सहरीया भइसकेपछि तथा अनपढबाट साक्षर भइसकेपछि पुस्तान्तरणमा देखिएका मनोविज्ञानको चित्रण कथामा देखिन्छ । आमाको छोराछोरी, नातिनातिनीसँग बस्ने र रमाउने चाहनामा शरीरको दुर्गन्ध बाधक बनेर आएको छ । परिवारसँगसँगै बसेर भावना आदानप्रदान गर्ने वृद्ध मनोविज्ञानमा जीर्ण शरीरले साथ दिएको छैन भने अर्कोतिर आमाको चाहना बुझेर पनि केही गर्न नसक्ने छोराको विवशता, बुहारीको घृणा र समाजले गरेको अपमानजनक व्यवहारलाई कथामा चित्रण गरिएको छ ।
आमा जानुहोस् कथामा वृद्धमनोविज्ञान
‘आमा जानुहोस्’ कथा वृद्धको विषयमा लेखिएको कथा हो । आफूले दुख गरेर हुर्काएको छोरो विवाहित भएपछि बुहारीले भनेको मात्रै मान्ने अवस्थामा पुग्दछ भन्ने आमाको मनोविज्ञान कथामा आएको छ । शरीर सम्हाल्न नसक्दा दिसा–पिसाब चुहिन्छ र त्यसले फैलाएको दुर्गन्धका कारण परिवारले गरेको घृणा कथामा मुख्य विषय बनेर आएको छ जसले गर्दा आमाको जीवनमा देखिएको विविध उतार–चढाव, आमाप्रतिको स्नेहलाई छोराले परिवारसामु लुकाउनु परेको विवशता तथा आमाको स्याहारसम्भार गर्न नसकेको आत्मग्लानि कथामा आएको छ । आफ्नै शरीर सम्हाल्न नसक्दा त्यसबाट हुनुपरेको तिरस्कारले घृणाको पात्र बन्नु परेको कुरा यसरी आएको छः
मैले केही आजित भएर ‘आमा जानुस् न भन्या,…..कोठा गनाइसक्यो ठूलो स्वरमा भनेको थिएँ । मेरो कुरो सुनेपछि अनुहारमा अझ बढी मुजा पार्दै मेरी आमा मुसुक्क हाँस्नुभएको थियो ।
छ्यासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धाआमा कोठामा पस्नासाथ कोठै ह्वास्स गनाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एक अर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा–नचाहँदै पनि म आमातिर हेरेर भन्दछु–‘आमा जानुहोस्, कोठामा गएर सुत्नुहोस् ।’ मेरो कुरो टुङ्गिनासाथ मानवी कुरो थप्दै भन्छिन्–‘हो त नि यहाँ यी भुराभुरीसँग बसेर के गर्नु ? बरु कोठामा गएर आरामसँग सुत्नुहोस् ।’ हाम्रो कुरो सुनेपछि आमा केही नबोलीकन एकटक लाएर मतिर मात्रै हेरिरहनुहुन्छ । त्यो क्षण आमाका ती विषाद्पूर्ण दृष्टिमा निहित असङ्ख्य गुनासाहरूले मलाई भित्रभित्रै मर्माहत तुल्याउँछन् । तर म मौन रहन्छु । आमा शिथिल गतिमा आफ्नो कोठातिर लाग्नुहुन्छ ।
आफ्नो शरीर सम्हाल्न नसक्दा परिवारको भर पर्नु परेको अवस्थामा आमाले भोग्नु परेको पीडाको अनुभूतिसँगै आमाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । शरीरमा दुर्गन्ध रहेकोले आमासँगसँगै बस्न कठिन भएकाले छोराछोरीसँगसँगै नबसिदिन अनुरोध गरिएको छ ।
वृद्धवस्थामा शरीरले भर गर्दैन । शरीरका सबै अङ्गहरू नचल्ने, वृद्धावस्थामा अर्धपक्षघात तथा बिर्सने बानी र परिवारको स्नेहबाट वञ्चित हुनुपर्दा सन्तानले भोग्नु परेको पीडा र वैराग्यको अवस्था तथा आमाको अचेतनपनलाई कथामा यसरी देखाइएको छः
आमाको अकल्पनीय दुरावस्थाले गर्दा मेरो जीवनपद्धतिमा समेत कत्रो नकारात्मक असर परिसकेको छ । तर मेरी आमा भने आफ्नै संसारमा मग्न भएर एक्लै आफैँसँग बात मार्नुहुन्छ, हाँस्नुहुन्छ र आफूलाई मन नलागेको क्रियाकलाप गरेर रमाउनुहुन्छ ।
आफ्नै सृष्टिको गृहस्थी, आफैँले स्याहार गरेर हुर्काएका छोरा नातिले समेत छि छि र दुर दुरको अवस्था तथा घरमुलीको रूपमा रहेकी आमाको शरीर जीर्ण तथा बिर्सदै गएको अवस्थामा स्वत्व र परत्वको चिन्तन कथामा देखिन्छ । हिजो दुख गरेर हुर्काएर बढाएको छोराले पुर्वस्मृतिको घटनाद्वारा आमाको अवस्था तथा मनोविज्ञानलाई यसरी प्रस्तुत गरेको छः
एउटी अबोध सानी बालिकाजस्तै भइसकेकी मेरी आमालाई म के गरेर पहिलेको जस्तै स्वस्थ अवस्थामा ल्याऊँ ? के गरेर उनलाई सद्दे पारुँ ? हरे… म के गरुँ…? मेरो हृदयमा यस्तै प्रकारका अनेकथरी कुरा खेल्दछन् । ‘होइन, म कति दिनसम्म यसरी आफ्नी आमाको र मेरा परिवारको दुर्गति सहेर बस्न सकुँला र ? अस्ति घरबेटीले समेत त्यस्तो फोहोरी मान्छेलाई हामी राख्दैनौँ, अन्तै डेरा खोजेर सर्नु’ भनिसकेको छ ।
आमाको दयनीय अवस्था देख्दा मेरो मन वेदनाले फाटेर आउँछ तर म विवश छु । मैले चाहेर पनि मेरी जन्मदात्री आमालाई खुसी दिन सकेको छैन । कहिलेकाहीँ त आफैँलाई धिक्कार्न मन लाग्दछ । मलाई यो पनि थाहा छ कि म टुहुरोलाई हुर्काउन, बढाउन र शिक्षा दिलाउनमा मेरी आमाले मानसिक पीडामात्र होइन, शारीरिक श्रम पनि खेप्नु परेको थियो । त्यति मात्र नभएर उहाँले मेरो घरगृहस्थी सम्हाल्न र मेरा नाबालक छोराछोरीहरू हुर्काउनमा समेत ठूलो सहयोग पुर्याउनु भएको थियो ।
रोग र शरीरको रुग्णताले आफ्नो शरीर सम्हाल्न नसक्दाको अवस्था तथा समयको बोध नहुँदा परिवारको मूलीका रूपमा रहनु भएकी आमाको अवस्था यसरी आएको छ:
जुन आमाले दश नङ्ग्राखियाएर अर्काको कुटोकोदालो गरेर मलाई हुर्काउनुभयो, जुन आमाले आफ्नै जेठाजु देवरबाट अनेकौँ लाञ्छाना, अपहेलना सहेर आफ्नो लक्ष्यप्राप्तिका निम्ति अडिग भई मलाई शिक्षाको बाटोतिर अग्रसर हुने वातावरण सिर्जना गर्नुभयो, आज उनै सङ्घर्षशील मेरी आमा अर्धपक्षघातको सिकार भएर मबाट समेत टाढिनु परेकामा लज्जाबोधले म भित्रभित्रै गलिसकेको छु । तर पनि मेरी आमा मेरो परिवारमा अटाउन सक्नुभएको छैन । यो कुरालाई म सहर्ष स्वीकार्न बाध्य भएको छु ।
आमाले दुख गरेर हुर्काएको, वैँसको अवस्थामा एकल भएर आफ्ना छोराछोरीको निम्ति सबै सम्झौता गर्न समर्थ आमाको वर्तमान अवस्थाको मनोविज्ञान तथा शरीरको जीर्णता र रोगले गाँजेपछिको अवस्थालाई कथामा यसरी प्रस्तुत गरिएको छः
उहाँ ढलेको आवाज सुनेर मानवी दगुर्दै आमा सुत्ने कोठामा पुगेकी थिइन् । मानवीसँगसँगै म पनि हत्तपत्त आमाको कोठामा पुगेको थिएँ । ‘आमालाई के भएको होला, उठ्नै सक्नुहुन्न’ मानवीले आमाको पाखुरा समातेर उठाउने उपक्रम गर्दै भनेकी थिइन् ।
अचानक वृद्धावस्थामा देखिएको रोगले पारेको दुख तथा शोकलाई कथामा पीडाको रूपमा अभिव्यक्त गरिएको छ ।
पारिवारिक मनोविज्ञानले वृद्धवृद्धाको स्याहारसुसारमा झिँजो मानेर वृद्धाश्रममा राखिदिएका प्रतिनिधि घटना साथै परिवार मनोविज्ञान यसरी आएको छः
तर हामी छोराबुहारी हुदाँहुँदै पनि आमालाई वृद्धाश्रममा राखिदिँदा समाजले के भन्ला ? जोरीपारी कति हाँस्लान् ? भन्ने लाग्यो । अर्को कुरो, मेरी आमाको अवस्था देखेर कुनचाहिँ वृद्धाश्रमले उहाँलाई आश्रय देला र ? कहिलेकाहीँ त म निकै पहिले कसैले मलाई सुनाएको एउटा हृदयविदारक घटना सम्झेर निकैबेरसम्म घोरिने गर्न पनि थालेको छु ।
… तर उनले आफ्नो भाषामा के उत्तर दिइछन् कुन्नि, त्यो कसैले पनि बुझेनछन् । जे होस्, रात पर्न लागेपछि उनलाई वृद्धाश्रममा पुर्याइएछ । धेरै महिनासम्म वृद्धाश्रममा बसेपछि उनीबाट के कुरो थाहा पाइयो रे भने उनीलाई आफ्नै छोराबुहारीले एकछिन यहीँ बस्दै गर्नु है, हामी आउँछौँ भनेर झुक्याएर छोडेका रहेछन् । त्यो घटना सुनेपछि मैले उनका निर्दयी छोरालाई धिक्कार्नुसम्म धिक्कारेको थिएँ ।
आमाबाको स्याहार गर्नुको सट्टा भुक्याएर वृद्धाश्रमसम्म छोडेर भागेको कुरालाई मनन गर्दै आफूले आमाको हेरविचार गर्न तत्पर भएको प्रसङ्गलाई कथामा प्रस्तुत गरिएको छ । आमाको रेखदेखका निम्ति जागिर छोड्नु परेको अवस्थालाई आर्थिक मनोविज्ञानसँग जोडेर हेर्न सकिन्छ जुन कथामा यसरी आएको छः
काठमाडौँ जस्तो महँगो ठाउँमा डेरामै बस्ने गरेको भए तापनि हामी दुवै पतिपत्नी जागिरे भएका हुनाले बागबजारको एउटा गल्लीभित्र चारवटा ससाना कोठा भएको डेरामा बसेर छोरोछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सक्षम भएका थियौँ । तर अहिले वर्ष दिन जति हुन लाग्यो, मानवीले जागिर छोडेर आमाको स्याहार गरेर घर बस्न थालेको । भन्न त मेरा मित्रहरू भन्ने गर्दछन्– ‘गोकुलजी तपाईँ बडो भाग्यमानी हुनुहुँदो रहेछ, वृद्धा भइसकेकी अशक्त आमाको ।
आजको समाजमा देखिएका जटिल समस्यालाई कथाको माध्यमबाट प्रस्तुत गर्दै वृद्धवृद्धका लागि आफूले गर्नुपर्ने कतव्यलाई स्मरण गराउन चाहेका छन् ।
परिवार मनोविज्ञान, समाज मनोविज्ञान आर्थिक मनोविज्ञान तथा आफ्नो बारेको सोचाइ र परत्व वा अरूप्रतिको सोचाइ नै यस कथामा वृद्ध मनोविज्ञानका रूपमा आएका छन् भने सहज मृत्युको कामना नै वृद्धमृत्यु मनोविज्ञानको रूपमा यसरी आएको छः
त्यो घटना यस प्रकारको थियो – एक दिन करिब सय वर्षकी जस्ती देखिने एउटी कुप्री वृद्धा पशुपति मन्दिरको नजिकै बसेर रोइरहेकी थिइन् अरे । ती वृद्धालाई देख्दा उनी निकै सम्पन्न घरकी जस्ती देखिन्थिन् अरे । उनलाई त्यसरी रोएको देखेर वरपर भएका मानिसले कौतुहलतावश उनीसँग सोधपुछ गरेछन् ।
वृद्धावस्थामा पारिवारिक अपहेलनाभन्दा सहज मृत्युको कामना गर्नु परेको अवस्थालाई लाक्षणिक अर्थबोध गराउन खोजेका छन् ।
वृद्धवृद्धामा पनि सबै परिवारका सदस्यसँग रमाएर हाँसी खेली बस्ने मन हुन्छ । छोराबुहारीसँग नातिनातिनासँग रमाउन मन लाग्छ भन्ने वृद्ध मनोविज्ञानको उठान कथामा यसरी गरिएको छः
मलाई थाहा छ, आमालाई पनि हामीहरूसँग बसेर कुरा सुन्न मन लाग्दछ, टिभी हेर्न मन लाग्दछ र उहाँ परिवारको न्यानो स्पर्शलाई अनुभूत गर्न चाहनुहुन्छ । तर वर्ष दिन पुगिसक्यो, आमाले चाहेको जस्तो यहाँ केही पनि भएको छैन ।
वृद्ध मनोविज्ञानमा आमाको परिवारसँग बस्ने चाहना, परिवार वृद्ध मनोविज्ञान हो भने आफ्नो चाहनालाई थाँती राखेर छोराछोरीको भविष्य र समाजको वृद्ध मनोविज्ञानसँग जोडिएर हेरिएको छ भने आमाले वैंसमै बाबा गुमाएपछिको अव्यक्त यौन मनोविज्ञानले विपरीत लिङ्गीप्रति देखाएको मातृरथी ग्रन्थी कथामा यसरी आएको छः
कहिलेकाहीँ म आफूलाई आफ्नै विगतको चौतारीमा पुर्याएर हेर्ने गर्दछु, जहाँ मेरो बाल्यकालका समस्त क्रियाकलाप मेरी आमासँग गाँसिएको हुन्थे । भरभराउँदो बैँसको बेला अचानक वैधव्यको मार सहन बाध्य भएकी मेरी आमाले कसरी आफ्नो इच्छाआकाङ्क्षालाई वशमा पारेर जीवनभरि सङ्घर्ष ती कुरा… सोच्दासोच्दै म भित्रभित्रै भुटभुटिन्छु ।
आफूले भोग्नु परेको कुरालाई आमाले भोग्नु परेको मातृ मनोविज्ञानको पक्षको चित्रण भएको छ । विगतको आमाले भोग्नु परेको अवस्था र आफूले गर्न नसकेको आमाको स्याहारसम्भारप्रतिको ग्लानि यसरी कथामा अभिव्यक्त भएको छः
हामीले चाहेर पनि आफ्ना मातापिताप्रति सेवा गरेर बस्नुभएको छ । के गर्नु आफ्नो कर्तव्य निर्वाह गर्न सकिरहेका छैनौँ । आफ्नो प्रशंसा सुन्दा कसलाई राम्रो नलाग्ला र ? तर, आमालाई आफूसँग राख्दा बेर्होनुपरेको भोगाइको मर्मलाई मैले मात्र होइन, मेरा परिवारले समेत कसरी खेप्नुपरेको छ, त्यो मैले मात्र अनुभूत गर्न सकेको छु ।
आमाको दयनीय अवस्था देख्दा मेरो मन वेदनाले फाटेर आउँछ तर म विवश छु । मैले चाहेर पनि मेरी जन्मदात्री आमालाई खुसी दिन सकेको छैन । कहिलेकाहीँ त आफैँलाई धिक्कार्न मन लाग्दछ । मलाई यो पनि थाहा छ कि म टुहुरोलाई हुर्काउन, बढाउन र शिक्षा दिलाउनमा मेरी आमाले मानसिक पीडामात्र होइन, शारीरिक श्रम पनि खेप्नु परेको थियो ।
यसरी आमा जानुहोस् कथामा वृद्ध मनोविज्ञानको प्रयोग भएको देखिन्छ । एकातिर आमाको जीर्ण शरीर र सम्हाल्न नसकेको पीडा अर्कोतिर परिवारमा त्यसले पारेको प्रभाव र आमाको कारणले परिवार तथा सामाजिक मनोविज्ञानलाई कथामा यसरी प्रस्तुत गरिएको छ ।
निष्कर्ष
माया ठकुरी एक सफल आख्यानकार हुन् । प्रवासमा जन्मिएर नेपाली साहित्यको अनवरत सेवामा खटिरहने ठकुरीका आधा दर्जन भन्दा बढी आख्यानका कृति प्रकाशित छन् । सामाजिक विषयवस्तुलाई कथाका माध्यमबाट प्रस्तुत गर्दै त्यसको सुधार गर्नु उनका कथाका अभिष्ट हुन । ‘आमा ! जानुहोस्’ कथा वृद्ध अवस्थाकी आमाको दैनिक घटना र परिवारको अवस्थाका केन्द्रित विषयवस्तु भएको कथा हो । आमाको अवस्था, चाहना र तत्कालीन परिवेशको उठान गर्दै कथामा वृद्ध मनोविज्ञानको चित्रण गरिएको छ । कथामा आमाको माध्यमबाट वृद्ध पारिवारिक, सामाजिक, आर्थिक मनोविज्ञान प्रस्तुत गरिएको छ भने आफूले चाहेर पनि विभिन्न समस्याका कारणले आमासँगको निकटता, सामिप्यता नभएको र शरीरको जीर्णताका कारण दुर्गन्धित भएर गन्हाएकाले एक्लै बस्न परेको अवस्थालाई वृद्ध मनोविज्ञानको चित्रण गरिएको छ ।
===
सन्दर्भ सामग्री सूची
कौशिक नारायण प्रपन्नाचार्य, (२०६९), वृद्धौपनिषद, काठमाडौंः एजिङ नेपाल ।
घर्ती, दुर्गाबहादुर, (२०६७), मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान, ललितपुरः साझा प्रकाशन ।
जोशी, कुमारबहादुर, (२०६६), पाश्चात्य साहित्यका प्रमुखवाद, पाँचौ.संस्क, ललितपुरः प्रकाशन ।
ढकाल, बद्रीप्रसाद, (२०७७), बुढ्यौली साहित्य, काठमाडौंः ओरिएन्टल पब्लिकेसन ।
ढकाल, भूपति (२०५६), विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यासहरूको विश्लेषण,
काठमाडौंः ए.बी.सी. प्रकाशन ।
त्रिपाठी, वासुदेव, (२०६५), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (भाग २), पाँचौं.संस्क.ललितपुरः
साझा प्रकाशन ।
धरावासी, कृष्ण (२०५८), विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू, दोस्रो संस्क., काठमाडौंः
पैरवी बुक्स एण्ड स्टेसनरी सेन्टर।
पन्त, शास्त्रदत्त,(२०७१), वार्धक्य जीवनबोध, काठमाडौँ डा. शास्त्रदत्त पन्त ग्रामीण विकास प्रतिष्ठान ।
पोखरेल, बालकृष्ण र अन्य,(२०४०), नेपाली बृहत् शब्दकोश, काठमाडौँः ने.रा.प्र.प्र. ।
प्रधान, कृष्णचन्द्र सिंह (२०५२), साझा समालोचना, चौ.सं., ललितपुरः साझा प्रकाशन ।
प्रधान, रविन्द्र ( २०६७), वृद्धत्वविज्ञान, काठमाडौंः श्रीमती रेणुका प्रधान
फ्रायड, सिग्मण्ड (सन् १९६०), मनोविश्लेषण, हिन्दी अनु. देवेन्द्रकुमार वेदालङ्कार, दिल्लीः
राजपाल एण्ड सन्स ।
बराल, कृष्णहरि (२०७२), मनोविश्लेषण र साहित्य, दोस्रो संस्क.,अनामनगर, काडमाडौंः
भण्डारी, कृष्णप्रसाद (२०५८), फ्रायड र मनोविश्लेषण, ललितपुरः साझा प्रकाशन ।
रेग्मी, मुरारिप्रसाद (२०५०), मनोविश्लेषणात्मक समालोचना, काठमाडौंः साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचनाः सिद्धान्त र प्रयोग, काठमाडौंः
ने.रा.प्र.प्र. ।
शर्मा, तारानाथ (२०५६), नेपाली साहित्यको इतिहास, चौथो संस्क., काठमाडौंः अक्षर
प्रकाशन ।
शर्मा, मोहनराज (२०५९), शैली विज्ञान, दोस्रो संस्क. काठमाडौंः ने.रा.प्र.प्र. ।
शर्मा, मोहनराज र लुइँटेल खगेन्द्रप्रसाद (२०६८), दोस्रो संस्क. पूर्वीय र पाश्चात्य साहित्य
सिद्धान्त, काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०४६), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, तेस्रो संस्क.,
ललितपुरः साझा प्रकाशन ।



