आरम्भः

यतिबेला वरिष्ठ साहित्यकार कृष्ण धराबासीको भूमिका लेखनसम्बन्धी फेसबुक स्टाटसले नेपाली साहित्यमा बहसको सिर्जना गरेको छ । उनले उठाएका कुराको पक्ष विपक्षमा निकै कडा खालका टिप्पणीहरु आएका छन् । म त भन्छु, यो बहस आजको हुँदै होइन, निकै पहिला तारानाथ शर्माले उठाइसकेका हुन् यो मुद्दा । भूमिका मात्र किन, समीक्षाको पनि कुरा गरौँ न ।

यहाँ म आफ्नै कुरा गर्दै छु । म सानैदेखि नेपाली साहित्य मन पराउँदै हुर्केको आम नेपाली नागरिक हुँ । प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय पढेको भए पनि स्नातक र स्नातकोत्तर तहमा नेपाली विषय पढेको र हाल त्रिभुवन विश्वविद्यालयमा नेपाली साहित्य पढाउने गरेका कारण मलाई नपढ्न र नलेख्न छुट छैन ।

विद्यालय जीवनदेखि साहित्य सिर्जनामा लागेको भए पनि मैले पनि वि.सं. २०५७ देखि भूमिका लेख्न थालेको हुँ । केही मित्रले कर गरेर भूमिका लेखाएपछि त्यसलाई नछापी मिल्काएको पीडा पनि छ मसँग । म धेरै मात्रामा पाठक, थोरै मात्रामा सर्जक र अलिअलि समीक्षक पनि हुँ । यस्तो ओदानको हालतमा रहेको म आफूलाई यस्तो बहसले नतान्ने कुरै भएन । यस्तै खालको एउटा फेसबुक स्टाटस मैले पनि ‘केही प्रश्नहरु’ भनेर राखेको थिएँ । त्यसमा प्रशस्त बहस भएको पाएँ, यसकारण यो आलेख तयार पारेको हुँ ।

रमेश प्रभात

लेखकका कुराः

अलिअलि लेखक पनि भएकाले म यहाँ आफ्ना पीडाका कुरा गर्दै छु । धेरथोर भए पनि नेपाली साहित्यका मेरा कृति प्रकाशित भएका छन् । मैले लेखेको पहिलो किताब प्रकाशकले कति बेचे ? मलाई थाहा छैन । आजसम्म त्यसको पारिश्रमिक पाएको छैन । दुइटा किताब आफैँले लगानी गरेर छापेको थिएँ । बाँडेरै सकिए ती । यसर्थ लेखकका रुपमा मेरा मनमा यी प्रश्नहरु उठ्ने गर्छन्ः लेखकले कृति किन प्रकाशित गर्ने ? प्रकाशित कृति कति बिक्री होला ? बिक्री भएपछि पारिश्रमिक कहिले र कति हात पर्ला ? प्रकाशित किताब कति र कस–कसलाई बाँड्नु पर्ने हो ? साथी, छिमेकी, आफन्त, गुरु, चेलाचेली, हाकिम, पत्रकार, सम्पादक, समीक्षक कस–कसलाई सित्तैमा दिने हो ? यसरी उपहारमा दिएका पुस्तक पढ्छन् कि पढ्दैनन् ? पढेपछि समीक्षकले केही बोल्ने वा लेख्ने गर्छन् कि गर्दैनन् ?

नढाँटी भन्छु, म आफूचाहिँ आजसम्म लेखेर बाँचेको छैन । मलाई यतिबेला बिम्बकवि रमेश श्रेष्ठको एउटा पुरानो अन्तर्वार्ता याद आइरहेछ । उनले एउटा प्रश्नको जवाफमा भनेका थिएः “म पेट भर्नका लागि चित्र कोर्छु, र भरिएका पेटका लागि कविता लेख्छु ।” साँच्नै नेपाली साहित्यमा लेखेर बाँच्ने लेखक कति छन् ? छापिएका कृतिको बिक्री वितरणको स्थिति कस्तो छ ? यसबाट लेखकहरु सन्तुष्ट छन् कि छैनन् ? नेपाली लेखकको स्थिति कहिले सुध्रेला ? म नियालिरहेको छु ।

पाठकका कुराः

केही न केही नपढी म बस्नै सक्दिँन । पढ्नु मेरो रुचि मात्र नभएर कतिपय अवस्थामा बाध्यता पनि भइदिन्छ । आफू शिक्षक भएकाले पढाउनका लागि पनि पढ्नैपर्छ मैले । कहिलेकाहीँ केही बोलिदिनका लागि पनि पढिदिनुपर्ने अवस्था आउँछ । यस्तो पढाइले कमै सन्तुष्टि दिन्छ मलाई । स्वतन्त्र भएर पढ्नु पो पढ्नु ! सीमामा बाँधिएर पढ्नु पनि के पढ्नु ! यसर्थ पाठकका रुपमा मेरो मनमा केही सवालहरु छन्ः हामीले कस्ता किसिमका किताब पढ्ने ? कतिबेला पढ्ने ? वर्षमा कति वटा किताब पढ्ने ? किनेर ल्याएका किताब मात्र पढ्ने कि उपहारमा पाएका पनि पढ्ने ? पहिला किनेका किताब पढ्ने कि उपहारमा पाएका पढ्ने ? यसरी किनेका र उपहारमा पाएका किताब नपढी राख्न मिल्छ कि मिल्दैन ? साँच्चै किताब किन र केका लागि पढ्ने ? पढेपछि ती किताबलाई के गर्ने ?

मैले देखेको छु । कतिपय व्यक्ति दराजमा थन्क्याउनका लागि मोटा मोटा किताब किन्छन् । कतिपय पाठक एक फेर पढेपछि ती किताब कसैलाई उपहार वा कुनै पुस्तकालयलाई दान दिन्छन् । पठनका हिसाबले हेर्दा केही पाठक खुरुखुरु पढ्छन् भने केही पाठक सारै ढिलो गरी पढ्छन् । यी पाठकीय आनीबानी हुन् । साँच्चै नेपालमा पाठकहरु स्वतन्त्र छन् कि छैनन् हँ ? कि आजका पाठक पनि राजनीतिक दलका कार्यकर्ताजस्ता भएका छन् ? यसको खोजी कसले गरिदेला ?

समीक्षकका कुराः

यतिबेला नेपालका समीक्षकहरु पनि मारमा परेका छन् । उनीहरुले जानेको काम नै समीक्षा लेख्नु हो । त्यसो त सन्तुलित समीक्षाले साहित्यका राम्रा र नराम्रा पक्ष उजागार गरिदिन्छ । तर कतिपय समीक्षक तटस्थ हुन सकेका छैनन् । केहीलाई नराम्रै भए पनि फुक्र्याउने र बाँकीलाई जति राम्रो भए पनि नराम्रो भनेर भन्ने उनीहरुको आदत बसिसकेको छ । यसबाट त्यस्तो ट्याग लागेका समीक्षकहरु कहिले उम्कने ?

आफू पनि समीक्षा लेखिटोपल्ने भएकाले मेरा मनमा केही पृथक् सवालहरु छन्ः समीक्षकले वर्षमा कति किताब पढ्ने ? पढेका कति किताबको समीक्षा लेख्ने ? समीक्षा लेख्दा अनावश्यक कति फुर्क्याउने ? उपहारमा पाएका जति सबै किताब राम्रो छ भन्ने कि नभन्ने ? नराम्रो भनेर लेख्दा खानुपर्ने गालीलाई कसरी सहन गर्ने ? के सर्जक भगवान् र समीक्षक दास वा तिनका सेवक हुन् ? आग्रह गरेर भूमिका वा समीक्षा लेख्न लेख्न लगाउने अनि पारिश्रमिकको कुरा गर्दा रिसाउनुपर्ने ? भूमिका वा समीक्षा लेख्दा श्रम लाग्दैन ? परिश्रमको कुरा गर्दा कृष्ण धरावासीले जस्तै आलोचना कतिले खेप्नुपर्ने हो ?
नेपाली लेखकहरुमा आफ्नो गुणगान वा स्तुति सुन्ने बानी बढ्दै गएको छ यतिबेला । आफ्नो बारेमा आलोचना कत्ति पनि सुन्न सक्दैनन् अधिकांश लेखकहरु । अझ लेख्दा श्रम लाग्छ भनेर नथाक्ने तिनै लेखक समीक्षा लेख्दा श्रम लाग्छ भनेर किन सोच्दैनन् ? कृतिको प्रकाशक, पत्रिकाको सम्पादक कसैले केही नबोल्ने ? मात्र समीक्षा लेखिदिन आग्रह गर्ने, त्यही समीक्षा छापेर पत्रिका बेच्ने, त्यसकै आधारमा कृतिको चर्चा गराउने लेखक, कृति बिकाउने प्रकाशकचाहिँ मौन किन बस्ने ? अझ उल्टै समीक्षकलाई तटस्थ भएन भनेर गाली गर्न पाइन्छ ? यो अतिवादबाट लेखक, सम्पादक र प्रकाशकहरु पनि निस्कनु जरुरी छ । बाँकी रह्यो समीक्षक, ऊ पनि तटस्थ भएर राम्रोलाई राम्रो र नराम्रोलाई किन नराम्रो भयो भनेर तर्कसहित प्रस्तुत हुनु आवश्यक छ । मिलेर जाँदा राम्रो हुन्छ । बुद्धले ‘सङ्घम् शरणम् गच्छामी’ भनेर त्यसै भनेका होइनन् ।

समाधानका उपायः

म आफूलाई अरुभन्दा कत्ति पनि फरक मान्दिनँ, किनकि म पनि यही नेपाली समाजमा जन्मेर यही परिवेशमा हुर्केको मान्छे । म यहाँको परिस्थितिबाट सजिलै कसरी उम्कन सक्छु ? यो परिवेशलाई बुझाउन म यतिखेर गजलकार शेखर अस्तित्वको एउटा शेर सम्झिरहेछुः

“तिम्ले बोल्दा महावाणी,
मैले बोल्दा गाली किन ?”

साँच्चै हो, यतिबेला नेपाली समाज स्वकेन्द्री बन्दै गइरहेको छ । राम्रा होइन, हाम्राको अस्तित्व स्वीकार गरिन्छ समाजमा । अरुले जेसुकै गरोस्, जस्तोसुकै गरोस्, त्यो नराम्रै हुने, आफू र आफ्नाले गरेका सबै काम राम्रो मानिने परिपाटी विकास हुँदै छ । यसले नेपाली समाजलाई उन्नति होइन, अवनतिको बाटोमा लम्काउँदै छ । यसमा राजनीतिको अहम् भूमिका रहेको छ । यसमा समाजका तथाकथित ‘बा’हरुले महत्त्वपूर्ण भूमिका निभाएका छन् । हामी जबसम्म तिनको पिछलग्गु बन्नबाट पछि हट्दैनौँ, तबसम्म यो स्थिति घट्ने होइन, अझ बढ्दै जाने कुरा निश्चित छ ।

नेपाली राजनीति दासहरुको जमात बन्दै गएको यो समयमा कम्तीमा साहित्यकारहरु त त्यो बाटोबाट अलग हिँड्न सक्नुपर्ने हो, अहँ हामी त्यसो गर्न कत्ति पनि सकिरहेका छैनौँ । हामीलाई केके पद हत्याउनु छ । राजनीतिको पुच्छर समाएर वैतरणी तर्नुछ । यसले साहित्यलाई कुनै फाइदा दिएको छैन । हामी साहित्यमा लागेकाहरुले सत्यलाई सत्य भन्न डराउनु हुँदैन । तथ्यपरक निर्णय गर्न सक्नुपर्छ । श्रमको महत्त्व बुझेर काम गर्न सक्नुपर्छ । आफ्ना कुरा मात्र लाद्ने होइन, अरुका कुरा पनि सुन्ने हिम्मत गर्नुपर्छ । आफ्नो प्रशंशामा भनिएका शब्दलाई भन्दा आलोचनामा भनिएका शब्दलाई विशेष ध्यान दिन सक्नुपर्छ । यदि यसो गरियो र कुनै कुरालाई पूर्ण रुपमा ठीक र पूर्ण रुपमा गलत भनेर निर्णय दिने दुबैखाले अतिहरुलाई छाडेर बुद्धले भनेको मध्यमार्गी बाटोलाई अवलम्बन गर्न सकियो भने नेपाली साहित्यले सही दिशा लिन सक्छ । जब साहित्य सही बाटोमा हिँड्छ, स्वतः समाज पनि सही मार्गमा हिँड्न बाध्य हुन्छ । यसमा हामी साहित्यको सेवामा लागेकाहरुले तत्कालको लोभ र मोहलाई त्यागेर अगाडि बढ्न सक्नुपर्छ । यही नै यतिबेलाको समाधानको उपाय हो भन्ने ठहर हो मेरो । अरु कुनै उपायहरु छन् भने म तिनलाई स्वीकार गर्न तयार छु । ‘वादे वादे जायते तत्वबोधः’ आउनुहोस्, जमेर बहस गरौँ ।