नवीन लोचनमगर

संघारै नकुच्ने बलेसीलाई
अँगेनाको कथा कसरी सुनाउन दिउँ
बाझोभरि थुपारिएका पाइलाहरू चोरेर
चोकमै बिर्ताको महल उठाइरहेका
यो देशका ‘मालिक’हरूलाई
मैले सालिकजस्तै मानेर पुस्तौंदेखि पुजिरहेछु

पन्ध्र नपुग्दै घुम्ती कटाएर –उमेर
ग्याँस च्याम्बरजस्तै भट्टीमा मेसिन बन्न
राहदानीमै टाँसेर –आमाको अनुहार
देश बोकेर हिँडिरहेका दौंतरीहरूलाई
के सुनाउनु बलभद्रहरूको वीरता
विमानस्थलमा छरिएका रातो बाकस हेर्दै
अनुहारभरि देश बोलिरहेका युवाले
चिहानघाट हिँडेको सेतो बाटोजस्तो
आफैँ लागेको लाइनलाई के सोच्दो हो !
कमिलाजस्ता मान्छेहरुको ताँतीमा
जोवन धरेका तन्नेरीहरूलाई
के सुनाउनु कुहिरोबाट माथि निक्लेको
चुचुरोजस्तो आफ्नै ‘जनयुद्ध’को कथा ।

मैले देश खोज्ने कथा लेख्न खोजेँ
मेरी आमाले जूनको दाग देखाउँदै भनिन्
– जूनजस्तै जीवन हराएको आफ्नै कथा
आँखामा वैंशको हिमाल पगालेर पनि
नदीजस्तै ऊर्जावान् आमा बिर्सेर
देश खोज्दै सोच्न थालेँ
देश सम्झनु पनि त आमा सम्झनुजस्तै हो

मैले देश खोज्न ककसलाई भनिनँ
शहीदहरूको लामो पंक्तिमा उभिएका
रम्तेलदेखि इच्छुकहरूले सुन्ने गरी भनेँ
यो असीमित आकाश नाघ्न निस्किएका
‘कमरेडहरूको गाउँ’लाई सोधेँ
सन्दुकभित्रै बन्दुक हराएर
हत्केलामा आफ्नै अनुहार हेर्दै
विक्षिप्त एक पूर्वछापामारलाई हेरेँ
र लाग्यो, यस्तैयस्तै मान्छेहरूको कथा हो –देश

जीवनभन्दा नि गहिरो सागरमा
आँखाभरिको सपना तारिरहेका
घामका केही पाइलाहरू भेट्टाएँ
चिलजस्तै साम्राज्यवादले झम्टिएर बचेका
सीमावारिका कहानीहरूलाई खेरेँ
र सोचेँ देशसँगको बलियो साइनो यही हो ।

तर एकदिन
देशको खोजीमा लखतरान देखेर
रेखैरेखाले केरिएको अनुहार बलेन्द्रीमा टेकाउँदै
मेरी आमाले भनिन्
–बाबु ! देश खोज्नुअघि
तेरो बुवाको अनुहार राम्ररी हेर त ?

लिबाङ, रोल्पा