भागः २५, अंशः ८
उनलाई अपदस्त गरेको थियो । गोली चल्दा आकाशै झिमिल्यान्तै उज्यालो भएको त्यस रातको याद आयो । अलीले हसनलाई र मलाई अङ्गालोमा लिएर डराउन पर्दैन तिनीहरूले हाँसको शिकार गरेका हुन भनेका थिए ।
अनि कुनै एकजनाले मुल्लाह नसरूद्धिनको जोक सुनायो र हामी सबै हाँस्दै थियौँ । तपाईंलाई थाहा छ तपाईंको बाबा बडा रमाइलो मान्छे हुनुहुन्थ्यो, कबिरले भन्यो ।
“हो त, हुनुहुन्थेन त ?”, हामी अमेरिका आए लगत्तै बाबा अमेरिकन झिँगा देखेर कसरी भुत्भुताउनुभएको थियो भन्ने सम्झँदै मुसुक्क हाँस्दै मैले भनेँ ।
उहाँ बडो दिकदारी मान्दै हातमा झिँगा धपाउने झाडु लिएर भुन्भुनाउँदै घरि यता घरि उता, भित्तामा वारी र पारी उड्ने झिँगा हेरेर किचन टेबलमा बुस्नुहुन्थ्यो । “यो देशमा झिँगाको उत्पादन पनि समयको माग अनुसार नै गरिएको छ“ भुत्भुताउँदै भन्नुहुन्थ्यो । म कति मरिमरि हाँसेको थिएँ । त्यो सम्झिँदा अहिले पनि म हाँसे ।
तीन बजिसक्दा पानी पर्न रोकिएको थियो भने सेतो खैरो बादलले आकाश डम्म थियो । पार्क भएर चिसो मन्द हावा चल्यो | थुप्रै अरू पनि परिवारहरू देखा परे । अफगानीहरूले एक आपसमा होइ हेलो गरे र अङ्गालो मारे, चुम्बन गरे र खानेकुरा साटासाट गरे । कसैले बार्विक्यूमा कोइला बाल्यो र लगत्तै मेरो नाकमा लसून र मोर्गा काबोबको वास्ना हर्र आयो । मैले नचिनेको एउटा गीत बजिरहेको थियो भने केटाकेटीहरू खितितिति गर्दै थिए । शोहरब अझैसम्म त्यही पहेँलो रेन कोटमा, त्यो फोहोर फ्याल्ने ठूलो बाल्टीमा अडेस लागेर पार्कभन्दा पारिपट्टिको त्यो रित्तो ब्याटिङ केज हेरिरहेको मैले देखेँ ।
एकै छिनपछि जब म त्यो भूपू सर्जन सँग बोलेर बसिरहेको थिएँ र उनले मेरो बाबा र उनी कक्षा ८ मा सहपाठी रहेको कुरा सुनाउँदै थिए, शोरायाले मेरो बाउला “समातेर तानिन् ।
‘अमीर हेर त !”
उनले आकाशतिर देखाउँदै थिइन् | फुस्रो आकाशमा चम्किलो पहेलो रातो र हरियो रङका आधा दर्जन चङ्गाहरू माथिमाथिसम्म उड्दै थिए ।
तिमी पनि उडाएर विचार गर न, उनले त्यही नजिकैको चङ्गा बेच्ने स्ट्यान्डतिर देखाउँदै थिइन् ।
“यो समात त,“ मैले भनेँ । मैले मेरो चियाको कप शोरायालाई दिएँ । मैले एक्सक्युज गरेँ र चिसो घाँसमा जुत्ता चुइँक्याउँदै चङ्गा स्ट्यान्डतिर गएँ । मैले एउटा पहेँलो सेह पर्चा (seh Parcha) देखाएँ ।
सवाल-ए-नाउ मवारक मसँग बीस लिएर मलाई चङ्गा र सिसाको धूलो दलेको धागो बेरेको लट्टाइ दिँदै उसले भन्यो । मैले उसलाई धन्यवाद दिएँ र नयाँ वर्षको शुभकामना पनि । जसरी हसन र मैले गर्ने गर्थ्यौं, त्यसै गरी धागोलाई बूढी र चोरी औंलाको बीचमा च्यापेर तान्दै मैले धागो ठीक छ छैन जाँच । मेरो रगतले धागो रातो भयो र त्यो चङ्गा बेच्ने हाँस्यो । म पनि मुसुक्क हाँसे ।
मैले चङ्गा शोहरब उभिइरहेको ठाउँमा लिएर गएँ । ऊ अझैसम्म पनि छातीमा दुई हात बाँधेर त्यही फोहोर फ्याल्ने बाल्टीमा अडेस लागेर उभिइरहेको थियो । ऊ माथि आकाशतिर हेर्दै थियो ।
“तँलाई सेह पार्चा मन पर्छ ?” चङ्गाको क्रसबारको टुप्पोमा दुई हातले समातेर देखाउँदै मैले भनै । उसका आँखाले आकाश छोडेर म तिर हेर्न थालेँ, अनि चङ्गातिर अनि फेरि मतिर । उसको भिजेको कपालबाट अनुहारमा तर्र पानी चुहिँदै थियो ।
“मैले एक चोटि पढेको थिएँ कि मलेसियामा मान्छेले माछा छोप्नलाई चङ्गाको प्रयोग गर्छन् रे, मैले भनेँ । “म बाजी थाप्न सक्छु कि तँलाई यो थाहा थिएन । तिनीहरूले बल्छीको धागोले चङ्गा बाँधेर कम गहिराइ भएको ठाउँभन्दा पर उडाउँछन् ता कि चङ्गाको छायाँ पानीमा परेर माछा नतर्सोस् र परापूर्वकालमा चाइनामा जर्नेलहरूले आफ्ना मान्छेलाई सन्देश दिन युद्ध मैदानमाथि चङ्गा उडाउने गर्थे । कुरा साँचो हो । मैले तँलाई उल्लू बनाएको होइन ।’ मैले उसलाई मेरो रक्ताम्य बूढी औंला देखाएँ । “टार (Tar) पनि ठीकै छ जस्तो छ ।“
कर्के आँखाले हेर्दा मैले देखेँ कि शोराया टेन्टमा बसेर हामीलाई हेर्दै थिइन् । हात दह्रो पारेर काखीमुनि च्यापेकी थिइन् । मैले जस्तो नगरेर उनले विस्तारै शोहरबलाई काममा भुलाउने प्रयास गर्न छोडिदिएकी थिइन् | अनुत्तरित प्रश्न, ट्वाँ परेको हेराइ, चुपचाप, यी सबै पीडादायक थिए । उनी ‘होल्डिङ्ग प्याटर्न (पर्ख र हेरको तरिका)” तिर सरेकी थिइन् । उनी शोहरबको हरियो बत्तीको पर्खाइमा थिइन् । पर्खेर बसेकी थिइन् ।
मैले चोर औंला भिजाएर दुईहातले चङ्गामाथि उठाएर उभिएँ । “म सम्झन्छु तेरो बाबाले हावाको दिशा पत्ता लगाउन चप्पलले धुलो उडाउँथ्यो र हेर्थ्यो हावाले धुलो कतातिर उडाउँछ । उसले त्यस्ता थुप्रै ट्रिकहरू जान्दथ्यो,” मैले भनेँ ! मैले चिम्टीको धुलो फुर्र खसालेँ । “मलाई लाग्छ पश्चिम ।”
शोहरबले कानको लोतीको पानीको एउटा थोपा पुछ्यो र गोडाको भर फेर्यो ! केही बोलेन । उसको स्वर कस्तो छ भनेर केही महिना अगाडि शोरायाले मलाई सोधेको याद आयो । मैले उनलाई उसको बोली कस्तो छ भन्ने कुरा आफूलाई पनि सम्झना नभएको कुरा बताएको थिएँ ।
‘वजिर-अकबर-खानभरिमै तेरो बुबा जत्तिको चङ्गा छोप्न सिपालु अरू मान्छे कोही थिएन भन्ने कुरा तँलाई मैले कहिल्यै भनेको थिएँ त ? सायद काबुलभरिमै पनि त्यतिको मान्छे कोही पनि थिएन होला ?” लट्टाइमा बेरेको धागोको एउटा टुप्पोलाई सेन्टर स्पारको स्ट्रीङ्गलुपमा बान्दै मैले भनेँ । ‘हाम्रो छिमेकका सबै केटाकेटीहरूले….
क्रमश…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।