Chovar Blues Mobile Size


प्राध्यापनको क्रममा एक पटक महेश पौड्यालले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी कक्षाकोठामा प्रख्यात उपन्यासकार डीएच लरेन्सको उपन्यास ‘लेडी च्याटर्लिज् लभर’ पढाउनुपर्ने भयो । पढाउनुको साटो बरू फिल्म नै हेरूँ न भन्ने एक जना विद्यार्थीको सुझावलाई उहाँले सहजै स्वीकृति दिनुभयो । यसपछि ल्यापटपमा एउटा प्रोजेक्टर हालेर फिल्मलाई कक्षाकोठामा नै देखाइने निश्चय गरियो ।

यसपछि कक्षामा फिल्म शुरू भयो तर बीचमा पुगेपछि महेश पौड्याल लुसुक्क कक्षाबाहिर निस्किनुभयो ।

त्यसको कारणका बारेमा उहाँले साहित्यपोस्टमा लेख्नु भएको छः फिल्म शुरू भयो । हेर्दै लग्यौँ । हेर्दै लग्यौँ । हेर्दै लग्यौ… विद्यार्थीहरूले कतिबेरसम्म हेरे थाहा पाइनँ । म निस्केर हिँडेको सुइँको पनि पाएनन् तिनले । हेरिसक्नु भएन बीचतिर । भागेँ ।

वास्तवमा समूहमा वा खास विद्यार्थीहरूसँग भिजुअल मिडियामा यो उपन्यास हेर्न गाह्रो हुन्छ । जहिले पनि यो फिल्म बनेको छ, त्यसले विवादको हुण्डरी नै ल्याएको छ ।

हालसम्म यो फिल्म बेलायतमा मात्र चार चोटि बनाइसकिएको छ । पछिल्लो पटक नेटफ्लिक्सले बनाएको यो फिल्ममा त यति यौनदृश्य छ कि ती दृश्यहरूले ‘सफ्ट पोर्न’को उपाधिसमेत पाइसकेका छन् ।

यसअघि बिबिसी टेलिभिजनले सन् २०१५ मा बनाउँदा पनि सो फिल्मका बारेमा निकै चर्को बहस भएको थियो । तर फिल्म समीक्षकहरू भने बाँडिएका थिए । केही समीक्षकहरूले बिबिसीको फिल्म बढी नै अश्लील माने भने आधा त्यो मान्न तयार थिएनन् । उनीहरूले विषय यति कडा छ कि त्यसमा नाङ्गा दृश्यहरू आवश्यक रहेको र ती दृश्यले सधैँ सर्वसाधारणलाई अप्ठेरोमा पार्ने टिप्पणी गरेका थिए ।

यो उपन्यास डीएच लरेन्सले सन् १९२७ मा लेखेका थिए । उनी त्यो बेला क्षयरोगले ग्रस्त थिए । उनी चाँडै नै बित्लान् भनेर यो उपन्यासलाई १९२८ मा नै गुपचुप छापिएको थियो । सन् १९३२ मा भने यसलाई वृहद् स्तरमा बजारमा ल्याएको थियो । पहिलो पटक छापिएको उपन्यासको प्रति सीमित भएकाले उपन्यासलाई त्यो बेला खासै सेन्सर गरिएको थिएन।

सन् १९६० मा यो उपन्यास छापिँदा निकै ठूलो काण्ड भएको थियो । उदार मानिएको बेलायती समाजले पनि सो उपन्यास पचाउन सकेन । उपन्यास छापिएर आउँदा ‘कन्ट’, ‘फक’जस्ता शब्दहरू हटाइएका थिए । सन् १९६० मा मात्र पेइन्गुइन कम्पनीले सस्तो पेपरब्याकमा यो उपन्यास प्रकाशन गरेको थियो । पुस्तक व्यापक रूपमा हिट भएपछि यो अश्लील उपन्यास रहेको भन्दै प्रकाशकले अश्लीलता बढाएको आरोपमा सार्वजनिक महत्त्वको मुद्दा हालियो ।

मुद्दा चर्किएपछि सो उपन्यासको पक्षमा त्यो बेलाका प्रख्यात लेखकहरू इएम फोर्स्टर, सिसिल डे लेविस, रेबेका वेस्ट, रिचर्ड होगार्ट मात्र होइन, धार्मिक बिसप जोन रबिन्सन पनि बचाउका लागि उभिएका थिए ।

त्यो बेलाका चर्चित सरकारी वकिल मेर्भिन ग्रिफिथ जोन्सले भनेकी थिइन्, तपाईं यो उपन्यास आफ्ना किशोर छोराछोरीले पढून् भन्ने चाहनुहुन्छ ? घरमा यसलाई राख्न चाहनुहुन्छ ? तपाईंका नोकरचाकर र श्रीमतीले पढून् भन्ने चाहनुहुन्छ ?

मुद्दापछि सन् १९६२ मा यो उपन्यास पुनः प्रकाशित भएको थियो । त्यसअघि उपन्यास अश्लील नरहेको तर्क दिइएको थियो । अदालतको सफाईपछि पुनः प्रकाशित सो उपन्यास गरिएको थियो ।

केहीले भने उपन्यासमा वर्णित यौन दृश्यभन्दा पनि त्यसमा प्रयुक्त भाषा अनौठो र त्यस भाषाले उत्पन्न गरेको अप्ठेरोपनका कारण उपन्यास विवादित बनाइएको बताउने गरेका छन् ।

बिबिसीले १९९३ मा पनि फिल्म बनाइसकेको थियो । त्यसमा भने उपन्यासमा वर्णन गरिएका दृश्यलाई खासै महत्त्व दिइएको थिएन । सन् २०१५ मा बनेको फिल्म रिलिज गर्ने बेलामा भने फिल्म निर्माता सेरेना कुलेनले आफ्नो फिल्म पोर्न फिल्म र सफ्ट पोर्नको सीमामा रहेको प्रस्टोक्ति दिएकी थिइन् ।

हालै दुई महिनाअघि नेटफ्लिक्सले बनाएको र रिलिज गरेको यो फिल्ममा भने नग्नता त छँदैछ, त्यसमाथि स्त्री कलाकारको तल्लो भागका रौँ पनि देखाएकाले धेरैले आपत्ति जनाएका थिए ।

फिल्मको कथा के छ ?

फिल्ममा च्याटर्ली नामक एक सामन्त छन् । उनको पत्नी लेडी च्याटर्लीका साथ बिहेलगत्तै युद्धमा जान्छन् । युद्धबाट फर्कंदा उनी अपाङ्ग भइसकेका हुन्छन् । उनको जिउभन्दा तल्लो भाग चल्दैन । जसका कारण भर्खरै विवाह गरेकी लेडी च्याटर्लीको यौनजीवन उति सन्तुष्ट हुँदैन।

त्यसो त लेडी च्याटर्लीका लागि त्यो त्यति महत्त्वको कुरा पनि थिएन तर एक दिन जब आफ्नो तबेलामा काम गर्ने एक जना पुरूष उनी बसेको एकान्तिक घरमा नाङ्गै नुहाइरहेको देख्छिन्, आकर्षक जिउडालबाट लेडी भुतुक्क हुन्छिन् । उनले आफ्ना प्रेमीलाई अनेकन् तरिकाले फकाउन थाल्छिन् । अन्ततः दुवै जना एकअर्काको यौनाकर्षणमा पर्छन् ।

जब आफ्नी पत्नी तबेलामा काम गर्ने नोकरसँग सल्किएको च्याटर्लीले थाहा पाउँछन्, उनी ज्यादै क्रुद्ध हुन्छन् । तर आफ्नी दिदीको सहयोगबाट लेडी च्याटर्ली भाग्छिन् र कुनै समयको घोडाको तबेलामा काम गरिरहेका तबल्चीसँग जीवन बिताउने निश्चय गर्छिन् ।

फिल्मको अन्त्यमा व्यग्र भएर लेडी च्याटर्लीले प्रेमी खोजेको दृश्य निकै आकर्षकसँग फिल्माङ्कन गरिएको छ ।

त्यो बेलाको गाउँसमाज, यौन हिंसा, चाहनाजस्ता कुरालाई फिल्ममा राम्रोसँग प्रस्तुत गरिएको छ । खासगरी उपन्यासकार डीएच लरेन्सले एउटी जवान स्त्रीको जीवनमा धनसम्पत्तियुक्त निरश जीवनभन्दा गरिबीको प्रेमिल सम्बन्ध कति महत्त्व हुन्छ भन्ने देखाएका छन् ।

आधा शताब्दीअघि बनाइएको एउटा फिल्म भने यस्तो थियोः हेर्ने हैन त ?