प्रिय बुद्धिसागर, माफी चाहन्छु ।

यस कारण कि, मलाई मन पर्ने मात्र नभएर लेखनको तागत र उचाइ एकै पटक लिएर आउने लेखक बुद्धिसागर, तपाईँ हो । बुद्धिसागरका किताब उठाउँदा सामान्य पत्रिका उठाए जसरी उठाइँदैन । केही खास कुरो खोजिन्छ । जसको योग्य लेखक हो, तपाईँ ।

मन परेको र आस गरेको मान्छेबाट खास कुरो आएन भने चित्त बुझ्दो रहेनछ । यस पटक त्यस्तै भयो । माफी चाहेँ । यो मैले किन पनि लेखेको भने, केही कुरा पहिल्यै आए । तर, सामान्य तहबाट कुरो आएन । माटोको कुरो लुक्यो, आकाशको कुरो दोहोरियो ।

सुरु यहाँबाट गरौँ ।

कान्तिपुरको कोसेलीमा ‘पट्टु’ शीर्षकको कथा छापिएको थियो । निकै रसिलो, निकै स्वादिलो । केही दिन कथाबाट बाहिर निस्कन खोजेर पनि सकेका थिएनौँ । अलि पछि देखि नागरिक दैनिकमा उनै पट्टुका लेखकको कथा छापिन थाल्यो । ‘ह्याप्पि बर्थ डे टु मी’, ‘मेट्नी सो’, ‘जमुनाको रुख’, ‘गैडा टाइम्स’, ‘मैले भगवान देखेँ’ लगायत ।

म त्यो बेला सम्झँदै छु, भर्खर बुद्धिसागरको कथा पढ्न भेट्दै थिएँ । पिता, मैले भगवान देखेँ लगायत कथाले धेरै दिन र धेरै बसाई खाइदिएका थिए हाम्रा । हामीलाई उनी बजारमा आएपछि अब अरू कसैको कथा पढ्नु नै थिएन ।

भारी मन, आँखाभरि आँसु, घाँटीमा बोली अड्काउने गाँठो र जिउभरि पसिना पार्दै हामी कथा छिचोल्थ्यौँ । बजारमा बुद्धिसागरका कथा छापिएका पत्रिका भेटे चुपचाप खल्तीमा हालेर टाप कस्थ्यौँ । कहिलेकाहीँ त्यही पन्ना मात्रै, कहिले पुरै पत्रिका । पछि पछि त चिया पसले दिदीले हामीलाई निगरानी गर्नै थाल्नु भएको थियो । हामी पनि बाठा, तेस्रो राउन्डको चिया सक्दासम्म पत्रिकाको पातो गायब बनाइसक्थ्यौँ । पछि एक दिन मेरा प्रिय दाजु लक्ष्मी मिश्रले ठट्टामा भन्नुभयो पनि, ‘बरु एक कप चिया कम गरेको भए तीन वटा पत्रिका आउने रहेछ । बेकार गरेको मेहनत !’

अलि पछि हाम्रा गूरु केदार शर्माले कर्णाली ब्लुजबारे सुनाउनु भयो । सँगै उहाँले भन्नु भयो, ‘केटा हो अब नेपाली लेखनले पनि उचाइ लिने भयो ।’ त्यति बेलासम्म आइपुग्दा हामीले नारायण वाग्लेको ‘पल्पसा क्याफे’, नयनराज पाण्डेको ‘लु’ लगायतका किताबको स्वाद चाखी सकेका थियौँ । हामीले तुरुन्तै कर्णाली ब्लुज खोज्यौ र पढ्यौँ ।

मैले पढेको थोरै ‘खास’ किताब मध्ये कर्णाली ब्लुज एक हो । मैले किताब दोहोराउँदा नै यसका केही फितलापन देखिसकेको थिएँ । तर, बुद्धिसागरको लेखनीको तागतले म मौन बसेँ । मलाई लागेको थियो, ‘बाले गरेको सङ्घर्ष कर्णाली ब्लुजमा किन देखिएन होला ? बासँगै झण्डै उनकै जत्रो कद भएकी आमा किन लुकिरहिन् होला ? पटक–पटक बाका कुरा पढेर हाम्रा आँखा भरिँदा आमाको मजेत्रोबाट अनुहार किन निकाल्न उचित ठानेनन्, लेखकले ?’ लगायत ।

खयर, अरूलाई जस्तै मलाई पनि किताब मन परेकै हो ।

पछि बजारमा उनै प्रिय लेखकले फिरफिरे ल्याए । सुनेको पहिलो दिन नै फिरफिरे मेरो घरमा आयो । वर्षौँ पछि भेटेकी आमा जस्तै प्रिय बनेर । काम नगर्ने निधो गरेर फिरफिरे पढ्न सुरु गरेँ । एक पाठ नसकिँदै बुद्धिसागरको अनुहार फिक्का हुँदै गयो । पाना पल्टिँदै गए, बुद्धिसागरको ओज घट्दै गयो । मलाई मेरा गूरुले सुनाउनु भएको थियो, ‘कर्णाली ब्लुज धेरै लेखकले सम्पादन गरेका हुन् ।’ फिरफिरे पढ्दा सोचेँ, ‘यस पटक सम्पादकलाई पनि अल्छी लागेछ,  कर्णाली ब्लुजमा मुस्किलले एक ठाउँमा प्रयोग भएको अश्लील शब्द १०औँ ठाउँमा प्रयोग भएछन् फिरफिरेमा ।’ बाँकी पुरानै कथा, पुरानै ठर्रा तर शैली अलि नयाँ । झट्ट पढ्दा बुद्धिसागर कम अप्ठ्यारो शैलीमा लेख्न मन पराउने लेखक ज्यादा लाग्ने । लेखकले पनि महसुस गर्न सक्ने आलोचना भए फिरफिरेमा ।

मलाइ सधैँ एउटै चिन्ता लाग्यो । बुद्धिसागर जस्तो लेखक बर्षौमा एउटा जन्मिन्छ । रहरले बनेका लेखक त धेरै होलान्, तर माटोको कथा लेख्न सक्ने, भुँइमा उभिएको लेखक थोरै हुन्छन् । मलाई बुद्धिसागर भुईँसँग जोडिएको लेखक लाग्थ्यो । उनले लेखेका कथा जिउँदा लाग्थ्यो । अब त उनै माटोको कथा लेख्ने लेखक पनि बजारमा हराए कि जस्तो लाग्न थाल्यो ।

कतिपय प्रकाशन घरको काम नै बजारमा जे बिक्छ त्यही बेच्नु हो । बजारको नियमानुसार त्यो गलत होइन । तर संस्कृति, संस्कार, पहिचान र परिचयमा सूत्र लगाइनु हुँदैन ।

मैले एक पटक चर्चित लेखक सुविन भट्टराईलाई सोधेँ, ‘दाइ, समर लभ गज्जब थियो, किन साया लेखेको ?’

उनले उत्तर भनेनन्, तर मैले उनको अनुहार पढेँ ।

लेखकलाई बजारको मोह रहुन्जेल विभिन्न तत्त्वले माटोको लेखक हुन दिँदैन । डर लाग्छ, माटोको लेखक बुद्धिसागर उनै स्रोतबाट परिचालन भए कि !

बजारमा उनै अपेक्षा गरिएका लेखकको ‘एक्लो’ आयो । धेरै दिन भएको छैन पुस्तक हाम्रो भएको पनि  । इमन्दार भएर भन्ने हो भने,  मलाई एक्लोले साँच्चै निराश बनायो ।

बुद्धिसागर सरल लेखक हुन् । उनका रचना साधारण र आफ्नै हुन्थे । जसको कुरा लेखेको हो उसैको भाषामा कुरो आउथ्यो । जसले पढ्यो उसैको जस्तो कथा हुन्थ्यो । त्यसै कारण उनी बुद्धिसागर थिए । यस पटक उनका कथा सरल छैनन् । कथामा आफ्नोपन छैन । ‘एक्लो’को यात्राभर अरू कसैले लेखिसकेको कुरा पढेजस्तो लाग्छ ।

हुनैलाई चाहिँ फिरफिरेमा बुद्धिसागरले आफ्नै कथा दोहोराएका थिए । यस पटक अरुकै कथा दोहोर्याए । मान्छे सहरमा एक्लिन्छ, पटक पटक लेखिएको कथा हो । सहरमा घर जति नजिक छन् सम्बन्ध उति टाढा हुन्छ, त धेरै प्रयोग गरिएको विम्ब हो । यो लेख्न बुद्धिसागर नै चाहिँदैन थियो ।

र, बुद्धिसागरले कथा दोहो¥याउँछन् भने उनको कथा खास हुनै पर्छ । किनभने बुद्धिसागर सामान्य लेखक हुँदै होइनन् । बामे सर्दै गरेको लेखकले जस्तो उनले माफ पाउनु हुँदैन । उनी त्यो शिखरमा छन्, उनलाई हेरेर लेख्न सिक्ने हजारौँ छन् उनका पछाडि । उनीहरूलाई सामान्य कथामा भुलाउने छुट कम्तीमा बुद्धिसागरलाई चाहिँ छैन ।

मान्छेलाई घर यस कारण पनि आफ्नै लाग्छ । त्यहाँ बा हुन्छन्, आमा हुन्छिन् । त्यो भन्दा ठूलो कुरा माटोको सुगन्ध हुन्छ । बाको कोटमा लागेको गाउँको दाग हेरेर हेर्न सिकेका आँखा पुराना दिनमा पुग्छन् । आमाको काखमा पाइएको अपनत्व अन्त कतै पाइँदैन । आमाले मायाको मसला हालेर पकाएको हतारको तरकारी कुनै महँगा होटेलमा पाइनन् । हो, बुद्धिसागरको पहिचान यस्तै थियो ।

अब बुद्धिसागको तरकारीमा पनि बजारका मसला भेटिने भए उनी किन चाहियो ! उनको कथा किन चाहियो ! एक्लो पढ्दा सधैँ एउटै प्रश्नले लखेटिरह्यो, ‘खै त बुद्धिसागर ?’

दुःखका साथ भन्नु पर्छ, एक्लो बुद्धिसागरबाट पनि एक्लिएर आएछ । एक्लोमा बुद्धिसागर खासै भेटिँदैन । भेटियो भने चिनिँदैन । चिनियो भने बोलिँदैन । कम्तीमा मलाई बुद्धिसागरसँगको मौन यात्रा मन परेन ।

जब बुद्धिसागरको किताबमा बुद्धिसागर नै भेटिँदैनन् भने, उनको किताबको के महत्त्व ? योभन्दा त बरु आफूलाई आफूबाट अलग नराख्ने सुबिन भट्टराईको इजोरिया नै ठीक !