प्रविधिका स्टिभ जब्स तपाईंले चिनिहाल्नुहुन्छ, उनले आफैँले एप्पल कम्प्युटरनामक कम्पनी बनाएका थिए । उनको जीवनी एक जना प्रख्यात जीवनीकारले लेखेका थिए, नाम हो- वाल्टर इसाक्सन ।
प्रविधि जगत्मा अर्को एउटा विधा यतिबेला चर्चामा छ, त्यसको नाउँ हो- क्रिप्टो करेन्सी अर्थात् डिजिटल मुद्रा । यो डिजिटल मुद्रा सिधै खर्च गर्न सकिँदैन । त्यसलाई मुद्रा सटहीजस्तै गर्नुपर्छ । यही डिजिटल करेन्सी सटही गर्ने खर्ब डलरको कम्पनी एफटिएक्सका प्रमुख कार्यकारी साम ब्याङ्कम्यान फ्रायड यतिबेला विभिन्न आरोपमा जेलमा छन् । उनको आरोप प्रमाणित भए, आर्थिक घोटाला गरी सर्वसाधारणको रकममा हानिनोक्सानी पुर्याएको कसूरमा उनलाई बढीमा २० वर्षको जेल सजाय हुने देखिन्छ।
जम्माजम्मी ३० वर्षमा अर्बपति बनेका फ्रायडको कम्पनी एफटिएक्स कंगाल हुनुअघि ३२ अर्ब डलरको कम्पनी थियो । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीबाट दीक्षित उनको यो अविश्वसनीय सफलता देखेर अमेरिकाका प्रख्यात जीवनीकारहरूले उनको जीवनी लेखिरहेका थिए । तीमध्ये एक थिए- माइकल लेविस । लेविस आर्थिक पत्रकारिताका लागि निकै प्रख्यात नाम हो । उनले रिपोर्टिङ गरेका कयौँ रिपोर्टिङले प्रख्याति मात्र कमाएनन्, केही त पुस्तक आकारमै आए र तिनले सिनेमा बन्ने अवसरसमेत पाए । तिनै लेविसले फ्रायडको जीवनीलाई अन्तिम रूप दिँदैछन् ।
केही समयअघि नै यो जीवनी निस्कनु पर्ने थियो तर लेखक माइकल लेविसले जीवनी लेख्दै जाँदा खास रोचक कुरा राख्न पाएका थिएनन् । तर जब फ्रायडको कम्पनी एफटिक्स रातारात धराशायी भयो, प्रहरीले उनलाई पक्राउ गरी अदालतमा हाजिर गरायो अनि, ठूलो धरौटी रकममा उनी जेलबाट बाहिर निस्किए, यसले जीवनीलाई थप रोचक बनाउने देखियो ।
यसपछि गत साता लेखक माइकल लेविस फ्रायडको घर गई अन्तिम आकार ग्रहण गरिरहेको फ्रायडको जीवनीलाई सक्न तथा पछिल्ला गतिविधिसमेत समावेश गर्न अन्तरवार्ता लिन फ्रायडको घर पुगेका थिए ।
फ्रायडसँग लेविसको यो भेटघाटलाई भने केहीले रूचाएका छैनन् । उनीहरूको दाबी छः सर्वसाधारणको करोडौँ रकम डुबाउने फ्रायडको बदमासी लुकाउन वा कम दोषी देखाउन लेविसले भूमिका खेलिरहेका छन् ।
लेविसले सन् २००८ मा अमेरिकी आर्थिक संकट, ठूला बैंक तथा वित्तीय संस्थाहरूको बदमासीमाथि द बिग सर्ट नामक पुस्तक लेखेका थिए । सो पुस्तकले सन् २००९ मा तहल्का मात्र मच्चाएन, सोही नाउँबाट बनेको फिल्मले अस्कर पुरस्कारमा आफ्नो नाम लेखाउन सफल भएको थियो ।
फ्रायडले जेलबाहिर बस्नका लागि २५० मिलियन डलर तिरेका थिए । यसमाथि पनि कतिपय अभियन्ताले चित्त बुझाएका थिएनन् । धरौटी बुझाउन सक्नेहरूले जतिसुकै गम्भीर अपराध गरे पनि पैसा तिरेर जेलबाहिर बस्न सक्ने नजीर स्थापित भइरहेकामा अभियन्ताहरूको चिन्ता थियो ।
एफटिएक्सको बर्बादीलाई पछिल्लो समय भएको आर्थिक धाँधलीको सबैभन्दा ठूलो अपराधका रूपमा हेरिँदैछ ।
फ्रायडको पतनको शुरूवातमा नै माइकल लेविसलाई समयमै किताब सक्न दबाब आइरहेको थियो किनभने अमेजन र एप्पल कम्पनीले उनको किताबमाथि फिल्म बनाउन रूचि देखाइरहेका छन् । जब यत्रा ठूला कम्पनीले मोटो रकम दिएर फिल्म अधिकार किन्न खोजियो, लेविसलाई किताब चाँडै सक्ने दबाब अझ बढेर गयो ।
यो कम्पनी सन् २०१९ मा स्थापित भएको थियो । फ्रायडले यसलाई तीन वर्षकै अवधिमा ठूलो कम्पनीमा परिणत गराएका थिए । उनको कम्पनीमा एक लाखभन्दा बढी मानिसले लगानी गरेका थिए । लगानी गरिएका रकम कम्पनीले तलमाथि गरेर अन्यत्र सारेको, रकम दुरूपयोग गरेको जस्ता समस्या देखिएका छन् ।
यस्ता घटनाक्रमले किताब रोचक र हटकेक बन्ने सुनिश्चित भए पनि फ्रायडका अपराधहरू ढाकछोप पारिने हुन् कि भन्नेमा केही अभियन्ताहरू चिन्तित छन् ।
पुस्तक कहिले निस्कन्छ र अभियन्ताका चिन्ताहरूको सम्बोधित कसरी हुनेछ भन्नेबारे भने लेखक माइकल लेविसले कुनै प्रतिक्रिया दिएका छैनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

