हिउँद लागेपछि गाउँघरमा र गाउँसहरमा भन्दा वनमा खाइने भोज प्रिय लाग्ने गर्छ । वर्तमानमा वनभोजलाई पार्टीप्यालेसतिर बसाइँ सार्ने दुष्प्रवृत्ति मौलाउँदै जान थाले पनि वनमा खाइने भोजको महत्त्व र अस्तित्व पृथक् छ । हाम्रा पुर्खाहरूले हिउँदका बेलामा हामीलाई किन वनभोज खानुपर्छ भनेर सिकाए होलान् ? यसबारेमा हामीले कहिल्यै सोधखोज नगरे पनि वनभोज हाम्रा लागि झन् झन् स्वादिलो र प्रिय लाग्दै जान थालेको छ ।
हाम्रा शास्त्रीय ग्रन्थहरूमा कतै न कतै त वनभोजको रहस्य लुकेकै होला । खोज्दै जाँदा पद्मपुराणअन्तर्गतको कार्तिक मासमाहात्म्यको अठारौँ अध्यायमा यस्तो लेखिएको पाइन्छ :
“धात्रीच्छायां समाश्रित्य कार्तिकेऽन्नं भुनक्ति यः ।
अन्नसंसर्गजं पापमावर्षं तस्य गच्छति ।।”
अर्थात् जुन व्यक्तिले कार्तिक महिनामा अमलाको छायामा बसेर भोजन गर्छ त्यसका एकवर्षसम्म अन्नको संसर्गद्वारा उत्पन्न भएका पापहरू नष्ट हुन्छन् । यस्तै यस्तै किसिमका शास्त्रीय आधारहरूलाई लिएर नै हाम्रा पुर्खाहरूले वनभोजको परम्परा बसालेको हुनुपर्छ ।
पहिला पहिला हाम्रा पुर्खाहरूले तुलसीलाई जस्तै अमलालाई पनि विष्णुप्रिय ठानेर अनि आयुर्वेदका दृष्टिले महत्त्वपूर्ण औषधी ठानेर आफ्नै पाखाबारीहरूमा लगाउँथे होलान् । पछि पछि पर्याप्त जग्गाजमिनको स्वामित्व आर्जन गर्ने क्षमतामा ह्रास आउँदै जान थालेपछि र गाउँबाट सहरतिर बसाइँ सर्न थालेपछि आफ्नै पाखाबारीहरूमा अमलाको रूख भेट्न असम्भव हुँदै गएर वनमा रहेका अमलाका रूखमुनि बसी वनभात खाने चलन हाम्रा उत्तरवर्ती पुर्खाहरूले चलाए होलान् । कार्तिक महिनामा त्यसरी खाइने वनभातलाई नयाँ धान भित्र्याउने मंसिर महिनातिर सारे होलान् । सहरतिरको बसाइँ सराइले बढ्ता महत्त्व पाउन थाल्दा आफैले धान उत्पादन गर्ने क्रममा न्यूनता आएकाले र उपभोक्ताहरू बढ्ता बजारमुखी हुन थालेपछि वनभोजले पनि कार्तिकबाट मंसिर हुँदै पुस-माघतिर बसाइँ सर्न रुचाएको हुनुपर्छ ।
हिउँद लागेपछि भ्रमणका कार्यक्रमहरूसँगै वनभोजका कार्यक्रमको लहर पनि छाउँदो रहेछ । ने.सं.वि. कालिका संस्कृत विद्यापीठमा सेवारत हामी प्राध्यापक र कर्मचारीले पनि यसवर्ष भ्रमण र वनभोजका कार्यक्रम बनाएका थियौँ । हामीहरूको पूर्वनिर्धारित वार्षिक कार्यक्रमको तालिकाअनुसार पुसको तेस्रो सातामा वनभोज कार्यक्रम निर्धारण गरिएको थियो । हामीहरूले एकआपसमा कार्यक्रमबारे छलफल गऱ्यौँ र यथासम्भव सबै साथीहरूलाई समेट्ने प्रयास गऱ्यौँ तर अन्ततः हामी आधाजति साथीले मात्र वनभोजमा सहभागिता जनाउने निश्चयमा पुग्यौँ । कुन ठाउँमा जाने भन्ने बारेमा विचार गर्दै गर्दा अङ्ग्रेजी विभागका मित्रद्वारा ‘भर्जिन प्लेस’को खोजी गर्ने सुझाउ प्राप्त भयो । हामीले त्यस्तो ठाउँ खोज्दै जाँदा गैँडाकोट ९ स्थित नन्दन सामुदायिक वनको ढवाह ताल परिसरलाई उपयुक्त ठान्यौँ ।
पुस १५ को कठ्याङ्गिँदो बिहानलाई तताउँदै हामीहरू आआफ्ना जिम्मामा रहेका वनभोज सामग्रीहरू लिएर घरबाट निस्कँदा सात बजिसकेको थियो । गैँडाकोटको जयश्री पुलबाट ८०० मिटर उत्तरतर्फको सामुदायिक वनभित्र रहेको ढवाह तालमा हामीहरू जम्मा भइसक्ता एकघन्टा बितिसकेको थियो । एकदुईजना साथीहरू भने वैयक्तिक कामविशेषले केही घन्टा ढिलाएर कार्यक्रममा सहभागी हुनुभयो ।
ढवाह तालको वन परिसर कुहिराले सिरक ओढेर मस्तसँग सुतिरहेको थियो । हाम्रो आवाज र क्रियाकलापले गर्दा उसले बिस्तारै सिरक हटाएर आँखा खोल्यो र सूर्यदेवको दर्शन पनि गऱ्यो । हामीहरू पनि ढवाह तालकै किनारमा स्थापित चट्टानेश्वर महादेवका काखमा अग्निदेवलाई ब्युँझाएर आआफ्ना जठराग्निलाई क्रमशः जगाउने कर्ममा प्रवृत्त भयौँ ।
ढवाह तालको परिसरमा हालसम्म बिजुलीले पाइला टेकेकी रहिनछन् । जसका कारण हामीहरू ध्वनिप्रदूषण गर्दै कृत्रिम गीतहरू बजाउने दुष्प्रवृत्तिबाट मुक्त भयौँ र प्राकृतिक ध्वनिहरू सुन्दै एकछिन भए पनि भौतिक दुनियाँबाट उन्मुक्त भएको आनन्दानुभव गर्न पायौँ । हामीसँग मादल त थियो तर त्यसलाई तालअनुसार बजाउन जान्ने दम थिएन । हामीले ताल नमिलाईकन बजाएको धुनलाई पनि ढवाह तालले कुनै झर्को नमानीकन ताल मिलाएर सुनिदियो । आफ्नो प्राकृतिकपनलाई छाडेर भौतिक दुनियाँमा रमाउँदा रमाउँदा हामीले आफ्नै मात्र होइन अरूको जिन्दगीलाई पनि बेतालको बनाइरहेका रहेछौँ भन्ने आत्मालोचना गर्न पनि हामीलाई ढवाल तालले प्रेरित गऱ्यो ।
कविवर मोतीराम भट्टले जाडोयाममा दुई, फुई र रुईको आवश्यकता औँल्याएका भए पनि हामीले क्रमशः फुईको उपभोग गर्न भने बिर्सिएका रहेछौँ तर वनभोजले हामीलाई फुईको उपभोग गर्न पनि सिकायो । हाम्रो वनभोज पूर्णतः शाकाहारी र सात्त्विक थियो । जौको खिर हामीहरूले यसअघि उपभोग गरेका थिएनौँ । हाम्रा लागि जौको खिर कौमार्य अनुभव रह्यो । हामीले सेलरोटी त धेरैपटक खाइरहेका थियौँ तर पुरुषहातले बनाएका ताजा सेलरोटीको अनुभव पनि वनभोजमा हाम्रा लागि नयाँ नै रह्यो । हामी पुरुषहरू आफैले खाएका जुठाभाँडा चोख्याउन रुचाउँदैनौँ तर हाम्रो वनभोजमा हामी सबैले त्यसलाई सहर्ष स्वीकार गऱ्यौँ । महिला घरमा नभएका दिन हामी पुरुषहरू भान्सा सम्हाल्न अल्छी मान्छौँ तर वनभोजमा दिनभर हामीले मीठो र स्वादिलो परिकार बनाउने नयाँ जोस र जाँगर देखाउने अवसर पायौँ ।
वनभोज कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्ने अतिरिक्त क्रियाकलापअन्तर्गत घैँटो फुटाइ कार्यक्रममा पनि हामीहरू सबै सहभागी भयौँ । आँखा खोलेर हिँड्दा हामीले बाङ्गोटिङ्गो बाटो पनि सजिलै हिँडेको बहाना त गर्छौँ र गन्तव्यमा पुग्न नसकेर भौँतारिए पनि आफूलाई सफल यात्री ठान्ने भ्रम छरिरहन्छौँ तर हाम्रो बहाना र भ्रम आँखा छोपेर दुई पाइला अघि बढ्न खोज्दा कसरी पर्दाफास हुँदो रहेछ अनि त्यसरी पर्दाफास भएको थाहा पाएर पनि आफू कसरी उन्मुक्त किसिमले हाँस्न सकिँदो रहेछ भन्ने अनुभूति पनि हामीले कौमार्य वनभोजमै गर्न पायौँ ।
हामीहरूमध्ये थोरै प्रौढ थियौँ भने धेरैजना वयस्क थियौँ तर हामी सबैलाई प्रौढ वा वयस्क वनभोज होइन कौमार्य वनभोजले आकृष्ट गरिरहेको थियो । हाम्रो वनभोजस्थलमा हाम्रा क्रियाकलापलाई हेर्ने वनको शून्यता र वन्यजन्तुबाहेक कोही थिएनन् । तसर्थ अन्य वनभोजकर्मी समूहको क्रियाकलापले हाम्रा गतिविधिलाई कुनै अवरोध गर्ने अवस्था थिएन । हामीहरू वनभोजस्थलमा पाककलाका, वाद्यवादनकलाका र नृत्यकलाका प्रशिक्षार्थीजस्ता भएका थियौँ किनकि कौमार्य अवस्थामा प्रशिक्षार्थी हुँदा यति पनि नजानेको भनेर हामीलाई कसैले हतोत्साह गर्छ कि भन्ने डर थिएन । हामीहरू पेसाले कोही शिक्षक त कोही प्रशासक थियौँ तर हामीलाई वनभोजमा प्रशिक्षार्थी हुन पाउँदा निकै आनन्द आइरहेको थियो र वनभोजबाट फर्किएपछि पनि आफ्नो बाँकी जीवनमा प्रशिक्षार्थी बनिरहेर आनन्द लुटिरहन पाए हुन्थ्यो भन्ने आशा हामीमा पलाइरहेको थियो ।
हामीहरूले जीवनमा न राम्रोसँग ब्रह्मचर्यको महत्त्व बुझ्न सक्ता रहेछौँ न त वानप्रस्थ र सन्न्यास आश्रमको तात्पर्यलाई नै बोध गर्न सक्ता रहेछौँ । हाम्रो अमूल्य जीवन त केवल गृहस्थी हुँदाहुँदै र विभिन्न सांसारिक प्रपञ्चमा फस्दाफस्दै सकिँदो रहेछ । भौतिकवादमा रमाइरहेको वर्तमान कलियुगमा धेरै दिन नसके पनि प्रत्येक वर्षमा मात्र एकदिन वानप्रस्थी हुन वा वनमा गएर बिताउने योजनालाई कार्यान्वयन गर्न सके हाम्रो बाँकी जिन्दगीले नयाँ ऊर्जा प्राप्त गर्न सक्तो रहेछ ।
हामीहरू यथार्थमा कम व्यावहारिक र बढ्ता औपचारिक हुन खोज्छौँ तर वर्षमा एकदुई दिन औपचारिकताबाट उन्मुक्त उडानमा रम्नका लागि हामीले आआफ्ना गुँडहरू छाडेर फुर्सद निकाल्नुपर्दो रहेछ । जुन उन्मुक्त उडानमा हाम्रा औपचारिक पर्दाहरू खुल्दा रहेछन् र व्यावहारिक यथार्थका तस्बिरहरू खिचिँदा रहेछन् । जसले गर्दा हामीलाई आफ्ना आगामी पाइलाहरू सचेतपूर्वक चाल्न सजिलो हुँदो रहेछ र आफ्नो चेतनाभित्र जम्मा भएका भाइरसहरूलाई स्क्यान गरेर कौमार्य अनुभवसँगै चेतनालाई रसयुक्त बनाउने मार्ग प्रशस्त गर्न सकिँदो रहेछ ।
dhakalmatip@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।