बेलायतका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ एकै दिनमा चार लाख प्रति बिक्री भएर कीर्तिमान कायम गरेको छ । प्रिन्ट, अडियो र इबुक गरी यत्तिका पुस्तक बिक्री भएको हो । बेलायतमा यो पुस्तक जनवरी १० बाट बिक्रीमा आएको थियो ।

गैरआख्यान विधामा यति धेरै पुस्तक एक दिनमा बिक्री भएर यो पुस्तकले कीर्तिमान बनाएको हो ।

खासगरी ह्यारीले अफगानिस्तानमा युद्ध लड्दाताका आफूले २५ जना तालिबानीहरूको हत्या गरेको र त्यसपछि मानसिक रूपमा आफू रोगी बनेपछि उपचारमा लागेको विष्फोटक बयान पुस्तकमा दिएका छन् ।

तीन वर्षअघिदेखि नै बेलायती दरबारसँग आफ्नो सम्बन्ध चिसिएको र सम्बन्ध सामान्य बनाउन एउटा वृहद् बैठक बसेको भए पनि त्यसले फाइदा नदिएपछि दरबार त्यागेको लेखेका छन् ।

यो पुस्तकको बिक्री यति हुनु कुनै नौलो कुरा नभएको प्रकाशक पेइन्गुइन रेन्डम हाउसका एक अधिकारी ल्यारी फिनलेले बताएका छन् । ‘किताब मज्जैले बिक्री हुन्छ भन्ने थियो तर एकै दिन यत्तिका बिक्री होला भन्ने सोचेका थिएनौँ,’ ल्यारीको भनाइ छ ।

अंग्रेजी किताबको इतिहासमा सबैभन्दा बढी बिक्री हुनेमा ह्यारी पोटर शृंखला पर्छ । त्यसको तुलनामा ह्यारीको आत्मकथा ‘स्पेयर’को बिक्री उति ठूलो होइन तर सन् २००७ पछि एकै दिन बढी बिक्री हुने पुस्तक यही बनेको छ ।

संसारका सबैजसो प्रख्यात अखबारले यो पुस्तकका अंशलाई महत्त्वका साथ छापेका छन् । पुस्तकप्रति चासो जगाउन अखबारका टिप्पणीले पनि भूमिका खेलिरहेका छन् । खासगरी दरबारका गाइँगुइँ चासोका विषय भएको हुनाले यसप्रति चर्को चासो बढेको अखबारी टिप्पणीकारहरूको छ ।

दरबारका साना साना कुराहरू पनि खुलासा गरिएकाले विवादित समेत भएको छ । खासगरी ह्यारीकी पत्नी मेगन मर्केलप्रति भएका दुर्व्यवहारप्रति राजकुमार ह्यारीले चित्त दुखाएका छन् ।

राजकुमारी डायनाको मृत्युका कारण गहिरो भावनात्मक चोट अझै महसुस गर्ने गरेको लगायत आफूले दाइ तथा भावि राजा विलियम्ससँग सम्बन्ध सुधार्न चाहे पनि सोचेजस्तो प्रगति हुन नसकेको उल्लेख गरेका छन् ।

दरबारका धेरैजसो भित्री कुराहरू खुलासा गरिएको भए पनि दरबारका कुनै पनि प्रवक्ताहरूले यसबारे टिप्पणी गरेका छैनन् ।

सामान्यतः एक मात्र राजकुमार जन्मिएको खण्डमा भविष्यको राजा उही हुन्छ तर दरबारले जहिले पनि एउटा अर्को अतिरिक्त राजकुमार पनि अपेक्षा गर्ने गर्छ ताकि केहीकथं पहिलो राजकुमारलाई केही अनहोनी भइहाले विकल्पको राजकुमारलाई भविष्यमा राजा बनाउन सकियोस् । सोही दबाबका कारण आफू जन्मिएको र सधैँ आफूले विशेष भन्दा पनि ‘अतिरिक्त’ महसुस गर्ने गरेको आत्मकथामा धारणा व्यक्त गरेका छन् ।