साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

मिसन खरमयुर

फन्टुस–फिक्सन ३

Chovar Blues Mobile Size

‘नमस्ते ! म राजकुमार । तपाईंलाई चराहरूको स्वर्ग कोसीटप्पुमा स्वागत छ ।’

वर्ड–वाचर राजकुमार सिंहसँग पहिलो भेट २४ आरडीको हावा महलनेर भएको थियो । उनी स्थानीय संरक्षण कार्यकर्ता रहेछन् । चराको फोटो खिच्न चाहने सौखिन पर्यटकहरू आएका बेला घुमाउने, चरा चिनाइदिने, अतिथि सत्कारको व्यवस्था मिलाउने गर्दा रहेछन् ।

‘नमस्ते !’ जवाफमा मैले यति मात्र भनेँ ।

मलाई सबै कुरा नौलो लागिरहेको थियो र त्यसरी आफूलगायत सेरोफेरोको वातावरण नौलो हुनुको आनन्द लिइरहेको थिएँ । म को हुँ ? म कहाँको हुँ ? सोधीखोजी गर्नुपर्ने कुनै आवश्यकता अनुभव भइरहेको थिएन ।

‘महोदय, तपाईंको परिचय ?’ दाहिने हात अघि बढाउँदै राजकुमारले सोधे ।

मैले हात मिलाएँ मात्र । केही बोलिनँ । वास्तविकतामा म को हुँ, के हुँ आफूलाई नै थाहा नभएपछि म के बोल्नु ?

‘विष्णुप्रसाद,’ म चुप लागेको देखेर गुलाबीले भने ।

‘इन्ट्रेस्टिङ, आफ्नो नाम पनि अर्काले भनिदिनुपर्ने !’

‘इन्ट्रेस्टिङ त तपाईं हुनु हुँदोरहेछ । चराहरूको पनि स्वर्ग हुन्छ र ?’ म बोलेँ ।

उता श्रीलङ्का टप्पु, यता कोसीटप्पु माझमा कोसी नदी, गरैया धार । विशेष–विशेष प्रजातिका चराहरूका लागि चर्चित ठाउँ । गुलाबीसँगको कुराकानी, राजकुमारसँगको पहिलो भेट अनि हिजो माछा इञ्जिनियरले भेटेको किताब बेलुका आगाको उज्यालोमा हल्का र बिहान ५० पाना जति हेरेको भरमा यति जानकारी भइसकेको थियो । तर, यो चराहरूको स्वर्ग भन्ने पदावली चाहिँ मेरा लागि नौलो थियो ।

‘अब चराहरूको स्वर्ग भने पनि चराहरूको राजधानी भने पनि नेपालमा संसारभरिका चराहरूले यो जत्तिको मन पराएको ठाउँ अर्को छैन । जहाँसम्म स्वर्गको कुरा छ, यो ठाउँ सौखिन र व्यावसायिक बर्ड–वाचरहरूका लागि पवित्र तीर्थस्थल हो । हिन्दूहरूको पशुपतिनाथ, मुसलमानहरूको मक्का–मदिना, बौद्धहरूको लुम्बिनी, इसाइहरूको जेरुसलम भनेजस्तो ! विश्वमै दुर्लभ गुलाबी टाउके हाँस र सानो खरमयुर यहाँ सजिलै देख्न पाएर धन्य–धन्य भएका धेरै पर्यटकहरू छन् ।’

राजकुमारको धाराप्रवाह जानकारी गुलाबी र मैले ट्वाल्ल परेर सुनिरह्यौँ ।

‘अस्ति जर्मनीबाट आएको फोटो पत्रकारहरूको एउटा टोलीले, मैले तित्रिगाछी तालनेर गुलाबी टाउके हाँस देखाइदिएँ भनेर खुसी हुँदै यो बाइनाकुलर नै उपहार दिएर गए । उनीहरूको कार्ड पनि दिएर गए,’ उपहार पाएको बाइनाकुलर घाँटीमा झुन्ड्याइरहेका राजकुमारले पर्सबाट कार्ड निकाल्दै भने ।

‘यस्तो वाइनाकुलर र तपाईंलाई कामलाग्ने एउटा किताब त उहाँ दाइसँग पनि छ,’ मैले गुलाबीतिर देखाउँदै भनेँ ।

‘कुन किताब हो हेरुँ त ।’

‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र बायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईंहरूले ?’

गुलाबीले झोलाबाट बाइनाकुलर र किताब निकालेर राजकुमारलाई दिए ।

‘ओहो ! यो त हेल्म फिल्ड गाइड्स पो रहेछ । संसारका चराहरूका बारेमा विशेष जानकारी दिने किताब । कोसी क्याम्पमा बसेका गेस्टहरूले हाम्रो किताब र बायनाकुलर घारीमै छुट्यो भन्दै थिए । फोटो खिच्न खरमयुर खोज्दै खर–घारीतिर गएका थिए रे ! नजिकै अर्ना देखेर सब भागाभाग भएछन् । कहाँ भेट्नुभो तपाईंहरूले ?’

‘हिजो हाम्रो केटाले भेटाएर ल्याए’थियो,’ गुलाबीले ठेटी मिसाउँदै भने, ‘माछा इन्जिनियरले एउटा बच्चा तित्रा पनि पक्डेछ । त्यसकै छेउमा भेटेछ यो पनि ।’

‘भन्न त अर्ना देखेर भागेको भने कि विष्णुप्रसाद सर !,’ राजकुमारले रमाइलो पाराले भने, ‘यहाँका सबै भैँसीहरूको सिङ लामै हुन्छ । देखे होलान् कुनै झर्ना चर्दै गरेको । चरा खोज्दै आ’को कुइरेका लागि के अर्ना के झर्ना !’

त्यसपछि सुरु भयो मिसन खरमयुर ।

दुर्लभ सानो खरमयुर बारेको खोजी । सङ्कटापन्न चरा । स्थानीय भाषामा बच्चा तित्रा ।

राजकुमारका अनुसार बच्चा तित्रा, खरमयुर, खर मुजूर जे भने पनि यसको अङ्ग्रेजी यसको नाम बेङ्गाल फ्लोरिक्यान हो । प्राणी–शास्त्रमा हर्बरोप्सिस बेङ्गालेन्सिस भनिन्छ । ग्रुइफर्मिस अर्डर ओटिडी परिवारमा  पर्ने अति दुर्लभ र भुइँमा नै गुड लगाउने यो पन्छीको सङ्ख्या नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा गरी पुग–नपुग हजारको सङ्ख्यामा होला । यसका दुई उपप्रजाति छन् । क्याम्बोडिया र भियतनाममा ब्लान्दिनी उपप्रजाति पाइन्छन् भने भारत र नेपालमा बेङ्गालेन्सिस उपप्रजाति । गेरु–मैला, छिर्केमिर्के, घाँसकै रङसँग मिल्दो–जुल्दो, लामो घाँटी, लामो खुट्टा हुने यो चराको सङ्ख्या नेपालमा ६५ देखि सय वटासम्म रहेको अनुमान गरिएको छ ।

राजकुमारको खरमयुरसम्बन्धी जानकारी गजबको रहेछ । हामीले चाख मानेर सुनेको देखेर उनी धाराप्रवाह बोल्दै गए ।

कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी ब्यारेज क्षेत्र, चितवन, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा आरक्षको विशेषगरी सिरुले ढाकिएको घाँसे मैदान र सिमसार यस चराको मुख्य बासस्थान हो । घाँसेमैदान घट्दै जानाले संसारभरिमै  यसको सङ्ख्यामा छिटोछिटो कमी आउँदै छ ।

बच्चा कोरल्ने बेला नेपाली भू–भागमा देखिए पनि केही समयपछि प्रायः हराउने हुँदा खरमयुर नेपालका लागि ग्रीष्म ऋतुमा ढिलोगरी आउने आगन्तुक चरामा गनिन्छ । अति सङ्कटापन्नको सूचीमा समावेश खरमयुरका लागि कोसीटप्पु विश्वमै परिचित ठाउँ हो । बच्चा कोरल्नका लागि कोसीटप्पु खरमयुरको रोजाइको गन्तव्य हो भन्दा फरक पर्दैन ।

‘सर्वहारी खरमयुरहरू आहाराका बेला प्रायः स्थिर हुने र विचार पुर्‍याएर आफ्नो चाल चल्ने गर्छन्,’ राजकुमारले भने, ‘यिनको अर्को विशेषता चाहिँ निकै रमाइलो छ ।’

‘कस्तो रमाइलो ?’ मैले सोधेँ ।

‘बच्चा कोरल्ने बेलामा खरमयुरका भालेहरू कहिले जमिनमा उफ्रँदै, कहिले हावामा उड्दै विभिन्न खालका आकर्षक नाचहरू देखाउने गर्छन्,’ उनले भने ।

‘प्रकृतिको विचित्र लीला,’ मैले भने, ‘पोथीले दुःख बेहोरिरहेका बेला भालेहरू खुसी हुने कुरा साँच्चिकै रमाइलो रहेछ ।’

‘तपाई त कवि पनि हो कि क्या हो ?,’ राजकुमारले सोधे ।

‘खोइ !,’ म फिस्स हाँसे मात्र । आफ्ना बारेमा केही थाहा नभएको मान्छेले आफू कवि हो कि के हो कसरी भन्नु !

‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पुर्‍याउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’

‘खरमयुरलाई कोसीटप्पुमा लामो समयसम्म टिकाउन सक्यौँ र त्यो कुरा संसारभर पुर्‍याउन सक्यौँ भने,’ राजकुमारले आफ्नो जानकारी बिट मार्दै भने, ‘हाम्रो क्षेत्र पनि चितवनको सौराहाभन्दा कम हुने छैन ।’

‘बाफ रे ! बच्चा तित्राको यति धेरै महत्त्व रहेछ,’ राजकुमारको कुरा सुनेर छक्क परेका गुलाबीले भने, ‘हामीलाई त के थाहा, केटाहरूले मारेर ल्यायो भने पकायो दारुसँग खायो ।’

‘बन्दर क्या जाने अदरखका स्वाद,’ राजकुमारले एउटा चल्तीको हिन्दी उखान भने ।

‘बन्दर–सन्दरको कुरा होइन, हामीलाई थाहा नभएर मात्र हो,’ गुलाबीले प्रतिवाद गर्दै भने, ‘अब हामी पनि दुर्लभ चराहरू मार्दनौँ, केटाहरूलाई पनि नमार्न भन्छौँ । बरु अरू कुन–कुन चराहरू छन्, मार्न नहुने ?’

‘मार्न त कुनै चराहरू पनि मार्न हुँदैन, कानुन लाग्छ,’ राजकुमारले भने ।

‘गाउँले केटाहरूले कानुनले भनेको मान्दैन बरु हामीले भनेको मान्छ,’ गुलाबीले भने, ‘बच्चा तित्राबाहेक अरू जोागउनुपर्ने चराहरू कुन–कुन हुन् ?’

‘गुलाबी टाउके हाँस, रेडिसियल डक (चखेवा), हाँडीफोर गरुड (काकाकुल), डङ्गर गिद्ध …’

‘गिद्ध र काकाकुल त हामी खाँदैनौँ, घिन लाग्छ,’ राजकुमार बोल्दा–बोल्दै  गुलाबीले भने, ‘जोगाउनुपर्ने चराहरू त हामीलाई चिनाउनुपर्छ नि !’

‘यही त विडम्बना छ,’ राजकुमारले गुलाबीलाई उल्लाउँदै भने, ‘कोसीटप्पुको मधुवन–शुक्रबारे क्षेत्रमा हरेक चरा गणनाका बेला करिब एक दर्जनको सङ्ख्यामा रेकर्ड हुने गर्छन्, तर गाउँलेलाई त्यसको महत्त्व थाहा छैन ।’

‘अघि अर्ना कि झर्ना के भन्दै हुनुहुन्थ्यो नि ?’

राजकुमार र गुलाबीको रमाइलो कुराकानी केही बुझे–बुझे जस्तो केही बुझ्न खोजे जस्तो गर्दै मैले सोधेँ ।

‘मुख्य रूपमा कोसीटप्पु जङ्गली भैँसी अर्नाको बासस्थानका लागि संरक्षित नेपालको एक मात्र ठाउँ हो । तर, विचराहरूको अनुवांशिकी नै सङ्कटमा परेको छ । वनटप्पुमा चर्न आउने झर्नाहरूका कारण वास्तविक अर्नाको पहिचान हराउँदै गएको छ,’ राजकुमारले भने ।

‘कसरी ?’ मैले सोधेँ । यी सबै कुरा म पहिलोपल्ट सुनिरहेको थिएँ । राजकुमारका कुरा थप रुचिकर हुँदै थिए । म आफू पनि पहिचानको सङ्कट बेहोरिरहेको भएर होला ।

‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाईं आफैँ सोच्नु न !'

‘वनटप्पु वन्यजन्तु आरक्ष घोषणा हुनुभन्दा अघिदेखि नै रघु बहरखेरका सन्तान र अरू गाउँलेहरूले गाई–भैँसी चराउने चरन क्षेत्र हो । मुख्य वन क्षेत्रबाट गाउँले भैँसीहरू निकाल्न आजसम्म कुनै माइकलालको तागत पुगेको छैन । सयौँ घरेलु भैँसीसँग दुई–तीन सय अर्ना मिसिएपछि के हबिगत हुन्छ ? तपाईं आफैँ सोच्नु न !’

कुरैकुरामा मैले बुझेँ, कोसीटप्पुलाई स्थानीय भाषामा वनटप्पु भनिँदो रहेछ । राजकुमारले झर्ना भनेको चाहिँ घरेलु भैँसीहरूलाई दिइएको उपमा रहेछ ।

‘गरैया टप्पुतिर त अर्ना पाडा समातेर तालिम दिने र भारततिर लगेर महँगो दाममा बेच्ने तालिम–केन्द्रहरू पनि छन्,’ गुलाबीले राजकुमारको होमा हो थप्दै भने ।

‘तिमीहरू त्यही चरा मार्दै, रक्सी खाँदै बस । तालिम केन्द्रमा के–के हुन्छ रमिता हेर्दै बस । त्यस्ता तालिम केन्द्रमा दूध–दही जति पनि फ्रिमा खान पाइन्छ भन्ने सुनेको छु, त्यही खाऊ बस ।’

हुन त गुलाबीले राम्रै कुरा भनेका थिए जस्तो लाग्छ । तर, गुलाबीको कुरा सुनेर राजकुमार बिच्किहाले । ‘माछा इन्जिनियर र आफूलाई माछा मार्नेहरूको नेता भन्छौ तर कोसीमा जनकपुर काँटी माछा सिद्धिन लागिसके चिन्ता केही छैन,’ उनले भने ।

‘त्यो त हो, हामी गरिब मान्छेले जति भने पनि सरकारले सुन्दैन त के गर्नु !’ गुलाबी पनि यो कुरामा क्षुब्ध नै रहेछन् ।

‘हैट्, यस्तो आपसमा झगडा हुने कुरा नगरौँ हामी । बरु सरकारले केही गरे पनि नगरे पनि संरक्षणका लागि आफ्ना तर्फबाट के गर्न सकिन्छ, गाउँलेहरू मिलेर खोजी गरौँ,’ मैले कुरैकुरामा तातेको वातारण सामान्य बनाउन सहजीकरण गर्दै भनेँ, ‘अरू गाउँलेहरू भेला गरेर भोलि छलफल गर्दा राम्रो हुन्छ । अहिलेलाई जाऔँ, कुरामा धेर अल्झियो भने तपाईंलाई नै माछा मार्न ढिलो हुन्छ फेरि ।’

‘ले, हम्रा आरु जाइछियै अखनी, तुँ ई किताब ले । कुइरेके खुबके घुमा, बैठ । (हुन्छ, अब हामी जान्छौँ, तँ यो किताब ली, कुइरेलाई मजाले घुमाउँदै बस्,’ यति भनेर गुलाबी तित्रीगाछी तालतिर लागे । किताब राजकुमारलाई दिँदै, वायनाकुलर घाँटीमा भिर्दै म पनि गुलाबीको पछि–पछि लागेँ ।

राजकुमार भन्दै थिए, ‘ताल जाने बाटोमा अलि होस् गरेर जानुहोला है । शोभाकलीको माया सम्झेर आसामबाट आएका मत्ताहरू त्यतैतिर देखिएका थिए हिजो ।’

प्रतिक्रिया
Loading...