“ लभ यू डार्लिङ…”

उसको मधुर आवाजले मेरो शरीरमा सनसनी फैलाई रहेको थियो ।

“मी टु डियर..”

मैले पनि सकिनसकी उसलाई जवाफ दिएपछि आत्तिदै फोन राखेकी थिएँ । मलाई किन किन आभास भैरहेको थियो कि मेरो चारैतिर घण्टीका मधुर स्वरहरु गुन्जिरहेका छन् । मेरो मुटुको धुकधुकी बढीरहेको थियो । म खुला चौरमा लडिबुडी खेल्दै जोडजोडले चिच्याउन चाहिरहेकी थिएँ । धेरैदिन पश्चात मेरो मनका खुम्चिएका प्वाँखहरु फड्फडाउँदै साँगुरो कोठाबाट निस्केर आकाशमा हावासँगै बत्तिन खोजिरहेका थिए । मेरो शरीर मेरो अधिनमा थिएन । शिरदेखि पैतालासम्म मेरो शरीरभित्र एक प्रकारको रासायनिक प्रतिक्रिया भैरहेको थियो, जसले मलाई आनन्द दिई रहेको थियो । म शरीर भित्रका हर्मोन ग्रन्थीहरुसँगै स्खलित भैरहेकी थिए । म आफ्नो जीवनमा नयाँ परिवर्तनको स्वाद चाख्ने अभिलाषाले काकाकुल बनिरहेकी थिएँ । लामो समयको प्रतीक्षा पश्चात मेरो मनमा साउने झरी वर्षदै थियो ।

[bs-quote quote=”हाम्रो जोडीलाई देखेर अन्य जोडीहरु हतप्रभ र विस्मित हुने थिए । ईर्ष्याले तीनका आँखाहरु जल्ने थिए । डाहाले तिनका मनहरु कुँढिने थिए । हामी भने सबैलाई बेवास्ता गर्दै दुई लताहरु एक आपसमा बेरिएझैँ गरी बेरिंदै मान्छेका आरिसे मनमाथि चट्याङ पार्दै नयाँ सडकमा भेटिने उन्मत्त साँढे र गाई बनेर हल्लीखल्ली मच्चाउने थियौं, सबैलाई आतंकित पार्ने थियौँ ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

साँझ ऊ मलाई लिन गल्स होस्टेलमा आउँदै थियो । तर मेरो मन ऊ नआउँदै हामी भन्दा पनि अघिअघि दगुरिरहेको थियो । मेरो मन अहिले नै उसको मोटरबाइकमा चढेर काठमाडौँका सडकहरुमा चिप्लेटी खेल्न उद्देलित थियो । हाम्रो जोडीलाई देखेर अन्य जोडीहरु हतप्रभ र विस्मित हुने थिए । ईर्ष्याले तीनका आँखाहरु जल्ने थिए । डाहाले तिनका मनहरु कुँढिने थिए । हामी भने सबैलाई बेवास्ता गर्दै दुई लताहरु एक आपसमा बेरिएझैँ गरी बेरिंदै मान्छेका आरिसे मनमाथि चट्याङ पार्दै नयाँ सडकमा भेटिने उन्मत्त साँढे र गाई बनेर हल्लीखल्ली मच्चाउने थियौं, सबैलाई आतंकित पार्ने थियौँ ।

म ओछ्यानमा लम्पसार परेँ र तकियाले आफ्नो मुख छोपेँ । मधुर कल्पनाहरुको बोझले म थकित बनिसकेकी थिएँ । ओछ्यानमा लम्पसार परेर तकियाले मुख छोप्नु मेरालागि विशेष कारण हुन्थ्यो । साथीहरुले जिस्क्याए मलाई । होस्टेलका मेरा खास–खास साथीहरुले मलाई वरिपरिबाट घेरे र ‘नयाँ ब्वाई-फ्रेन्ड फेला पारिस् कि क्या हो’ भन्दै तकिया तान्न थाले । म लाजले भुतुक्कै भएँ । म केही बोल्न सकिरहेकी थिइनँ । तर मेरो लाली चढेको अनुहारले बताइरहेको थियो कि तिनीहरु साँचो बोलिरहेका थिए ।

“को हो ऊ ? के उ ह्याण्सम छ ? ”

“कारवाला त होइन ऊ ?”

“हामीलाई पनि चढा है कारमा ।”

“अब त तेरो हातमा महँगो मोबाइल हुने भो है ।”

साथीहरुका थुप्रै प्रश्नबाट बेखबर म कल्पनामा ऊसँगै कहाँ कहाँ पुगिरहेकी थिएँ । म एकै छिनमा नगरकोटको टावरमा झुण्डिरहेकी हुन्थेँ त लगत्तै मनकामनाको केबुल कारमा चढिरहेकी हुन्थेँ । म स्वप्निल तन्द्रामा नै ऊसँग लाहुरी भन्ज्याङ पुगेँ, दामन पुगेँ, ककनी गएँ र गएँ धुलिखेलका मनोहर रिसोर्टहरुमा । मैले ऊसँगै किंग्स वेमा धीत मरुन्जेल सपिङ गरेँ । बेकरी क्याफेको मम, विम्पीको बर्गर, फायर एण्ड आइसको पिंज्जा, जाभाको कफी र निराजालको आइसक्रिम चाख्दै हामीले एकअर्काका आँखाका तलाउमा डुब्दै-उत्रदै मिठा मिठा बात मारिरहेँ ।

म जब स्वप्निल तन्द्राबाट जागेँ, मैले पाएँ कि म होस्टलको ओछ्यानमा नै पस्रिरहेकी छु । मलाई उसको मायाले सताउन थाल्यो । मलाई ऊसँग कुरा गर्न मन लाग्यो । मैले मोनाको मोबाइल खोसेँ र उसको नम्बर डायल गर्न लागेँ । मोना रिसले मुर्मुरिँदै थिई, ‘तेरो ब्वाइफ्रेण्डले रिचार्ज गरिदेला नि मेरो मोबाइल, धेरै लामो कुरा नगर है । फोन बिजी देखेर मेरो ब्वाइफ्रेण्डले ममाथि शंका गर्ला । मोबाइलमा उसको स्वर सुनेर म फेरि नर्भस हुन थालेँ । ऊ भनिरहेको थियो, ‘म साँझ आउँछु । तिमीलाई डिस्को लग्छु, होटलमा लन्च खान लग्छु है ?’

मैले हवस मात्र भन्न सकेँ । मैले अघि तन्द्रामा देखेका सपनाहरु बोलिरहेको थियो ऊ । “सुन्यौ? भोलि हामी क्याम्प फायर गर्न नगरकोट जाने, टावरमा उभिएर हिमाल हेर्ने, पर्सि – निकोर्सि मनकामना जाने । त्यसपछि…” म मन्त्र मुग्ध भएर उसलाई सुनिरहेकी थिएँ । ऊ उन्मुक्त हाँसो हाँसिरहेको थियो । मैले पनि बल्ल बल्ल भन्न सकेँ, ”साँझ मलाई लिन छिट्टै आउ है ।” उसको तातो अँगालोमा कस्सिने इच्छाले म ऐले नै पग्लन थालिसकेकी थिएँ ।

म दिनभर ओहोरदोहोर गरिरहेँ । म हाँसे, खितखिताएँ । मेरो हँसाईमा स्वच्छन्दता थियो । खोरबाट मुक्त भएको कुकुरले थुतुनो उचाल्दै जोडजोडले ह्वाङ्ग ह्वाङ्ग गर्दै भुकेझैँ म पनि होस्टेलको छतमा उभिएर आकाशतर्फ हेर्दै चिच्याउन थालेँ । मेरो गतिविधिले कसलाई के असर गरिरहेको छ, मलाई पर्वाह थिएन । म मात्र आफ्नो मन भित्रको उत्साह र उमंगलाई बाहिर छताछुल्ल पोखिरहेकी थिएँ । मलाई ऊसँग फेरि बात मार्न मन लागिरहेको थियो । म साँझसम्म ऊसँग कुरा नगरी बस्न नसक्ने अवस्थामा थिइनँ । मसँग मोबाइल फोन भएको भए कति जाती हुन्थ्यो ! म उसलाई मिसकल दिनेथिएँ । ऊ पनि मलाई मिसकल दिने थियो । म रिसाउँदै उसलाई एसएमएस गर्ने थिएँ । सम्भवतः ऊ पनि मलाई एसएमएसमै जवाफ फर्काउने थियो तर अफसोच म मोबाइलविहीन थिएँ । होस्टलका प्रायः धेरै केटीहरुसँग मोबाइल थियो तर केही केटीहरु मजस्तै थिए । मैले लाज मानीमानी गीतासँग मोबाइल मागेँ । उसले मलाई मोबाइल दिनु त कता हो कता ममाथि व्यङ्ग्य कस्दै भनी, आफ्नो ब्बाइफ्रेण्डसँग माग न मोबाइल । एउटा मोबाइल दिन नसक्नेसँग केको फ्रेण्डसिप गर्छेस् हँ?’ म हीन भावनाले ग्रसित भएँ । गीताका कटु शब्दहरुले मलाई एकै छिनमा आकाशबाट भुईंमा पछारेको थियो । म ओछ्यानमा घोप्टो परेर सोच्न थालें कि काठमाण्डूलाई पाउने लालसाले मलाई जतिसुकै गाँजे पनि मैले अझै काठमाण्डूलाई पाउन सकेकी छैन । काठमाण्डू यानि मेरो प्रेमी वा ‘ब्वाइफ्रेण्ड’ को स्तरमा पुग्न मैले आफू पनि काठमाण्डूजस्तो वन्ने प्रयास गरेँ । तर अँहँ, अहिलेसम्म म आफ्नो सपनाको राजकुमार काठमाण्डूझैँ काठमाण्डू बन्न सकिनँ । म काठमाण्डू बनिसकेको भए म अहिले यहाँ हुँदिन थिएँ । मैले लामो सुस्केरा हालेँ ।

[bs-quote quote=”मेरा हरेक प्रेमीहरू काठमाण्डू बनेर मेरो जीवनमा आए । तिनीहरुले मलाई पनि काठमाण्डू बनाउन खोजे । मैले पनि चाहेँ कि म काठमाण्डू नै बनूँ तर अँहँ, म काठमाण्डू बन्न सकिनँ । अझै पनि यो अभिजात्य काठमाण्डूले मलाई स्वीकार गर्न सकेको छैन । यो उत्ताउलो काठमाण्डूले मलाई कहिल्यै स्थिर बन्न दिएन । काठमाण्डूको अँगालोमा भट्किदै म उसका हरेक परीक्षाहरुबाट गुज्रिसकेकी छु । तर पनि उसले मलाई पत्याइरहेको छैन ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

मेरा हरेक प्रेमीहरू काठमाण्डू बनेर मेरो जीवनमा आए । तिनीहरुले मलाई पनि काठमाण्डू बनाउन खोजे । मैले पनि चाहेँ कि म काठमाण्डू नै बनूँ तर अँहँ, म काठमाण्डू बन्न सकिनँ । अझै पनि यो अभिजात्य काठमाण्डूले मलाई स्वीकार गर्न सकेको छैन । यो उत्ताउलो काठमाण्डूले मलाई कहिल्यै स्थिर बन्न दिएन । काठमाण्डूको अँगालोमा भट्किदै म उसका हरेक परीक्षाहरुबाट गुज्रिसकेकी छु । तर पनि उसले मलाई पत्याइरहेको छैन । मलाई सधैँ लागिरह्यो कि काठमाण्डूले मलाई लखेट्न खोजिरहेको छ । म भक्कानो छोड्दै रोएँ ।

म किन किन निसास्सिन थालेँ । मैले भुलेँ, बिहानीपख मात्र ऊसँग भएका मिठा र प्यारा वार्तालापहरु । ऊ पछिल्लो काडमाण्डू हो, जसले मलाई साँच्चै नै माया गर्न खोजेको जस्तो देखिरहेकी छु म । उसको अनुहारमा तैरिरहेको अबोधपनले मलाई उसप्रति चुम्बकीय आकर्षणको अनुभव गराइरहेको थियो । ऊ काठमाण्डू हो तर अन्यभन्दा सर्वथा भिन्न । ऊ मलाई माया गर्छ । मैले उसबाट खोजेको सबैभन्दा विशेष कुरो यही नै थियो ।

म मेरो प्रेमी अथवा काठमाण्डूको बारेमा सोचिरहेकी थिएँ, जसले मलाई सभ्य मान्छे बन्ने कला सिकाउँदै थियो । ऊ मलाई सँगै हिँड भनिरहेको थियो । तर आफू भने बेतोडले दौडिरहेको थिए । म उसको गतिलाई समात्न सकिरहेकी थिइनँ । म आफू काठमाण्डू बन्न ठमेल र झोछेँका गल्ली र गल्छेडाहरुमा ऊसँगै घुम्न चाहन्थेँ । फाइभस्टार होटलका मेनुमा आफ्ना गोरा औँला घुमाउन चाहन्थेँ । मलाई मन लाग्थ्यो कि म रातभर नाचूँ, डिस्को थेकमा रेड वाइनको चुस्की लिंदै र काठमाण्डू पनि मेरो कम्मर समात्दै रातभर नाचोस् । चिल्लो कारमा बसेर ओठमा चुरोट च्याप्दै र काखमा बसेको सेतो पमेरियन डगको जिउ सहलाउँदै म पनि काठमाण्डूसँगै जाउँ भिभिआइपीहरुका लन्च र डिनर पार्टीहरु अटेन गर्न । तर काठमाण्डूहरु सबै धोखेवाज र फटाहा निस्के मेरा लागि । सस्ता क्याबिन रेष्टुरेन्ट र होटेलमा मलाई टोक्द, चिथोर्दै, लछार्दै पछार्दै काठमाण्डूले मलाई जहिले पनि आफ्नो स्तरमा पुग्नबाट रोकिरहयो ।

म वर्तमानमा फर्किएँ । मेरा लागि वर्तमान प्यारो थियो । म आफूलाई ताजा महसुस गर्दै उठेँ र बाहिर छतमा आएँ । मेरो मन उसको प्रतिक्षामा व्याकुल बनिरहेको थियो । म छतमा नै ओहोरदोहोर गर्दै बसिरहेँ । साँझ पर्यो । बिजुली बत्तिहरु बले । मेरा आँखाहरु होष्टेलको गेटमा ऊ झुल्किने आशामा व्यग्र बनिरहेका थिए । गेटबाहिर मोटर र मोटर साइकलको घ्यार्रघुर्र आवाज सुनिन थाल्यो । होटलबाट एक एक गरी केटीहरु बाहिर निस्कन थाले । मैले अनुमान गरेँ कि तिनीहरु आ–आफ्ना प्रेमीहरुसँग डेटिङमा गए हुन् । मैले अबेरसम्म छतमा उभिएर नै उसको प्रतिक्षा गरेँ तर ऊ आएन । वाचा गरेअनुरुप ऊ मलाई लिन आएन । मेरा आँखाबाट बर्बरी आँशु झर्न थाले । मेरा आँखा अझै पनि उसको बाटो हेरिरहेका थिए ।

– ‘ऊ किन आएन ?’ मेरो मनले साउती गर्यो ।

– ‘ऊ काठमाण्डू हो, त्यसैले आएन ।’

– ‘काठमाण्डूलाई साथी बनाएर आफू पनि काठमाण्डू बन्ने रहरमा तँलाई धेरै काठमाण्डूहरुले धोखा दिए तर अझै तँ चेतेकी छैनस् । काठमाण्डू धेरै फाष्ट छ । तँ अझै पनि उसको पछि लागिरहे एक दिन तँलाई यस काठमाण्डूले नगरवधु बनाएर दिल्ली, मुम्बई र बैंककका कोठीहरुमा समेत घुमाउने छ । फर्की, फर्की, आफ्नो धरातलमा फर्की,’ मेरो सचेत मन मलाई झक्झकाउँदै थियो ।

“काडमाण्डू मेरो सपना हो । म काठमाण्डूलाई हासिल नगरी बाँच्न सक्तिनँ,” मैलै चिच्याएर भनेँ ।

होस्टेल अगाडिको घरको झ्यालबाट एउटा बूढो लोग्ने मान्छे मलाई हेर्दै मुस्कुराइरहेको थियो । ऊ भव्य बंगलामा रहन्थ्यो । ग्यारेजमा दुईतीन वटा कार थिए । दुई ठुल्ठूला बुलडगहरु उसको वरिपरि घुमिरहेका देखिन्थे । आधा दर्जन नोकरहरु घर भित्र र बाहिर गरिरहेका थिए । आँगनमा थरी थरीका फूलहरु थिए । ऊ फूलको प्रेमी प्रतित हुन्थ्यो । मैले पनि उसलाई हेरें । उसको मुस्कान प्रगाढ भयो । मलाई के गरुँ के नगरुँ भयो । ऊ अब मलाई हातले ईशारा गर्न थालेको थियो । मैले आश्चर्यचकित भएर उसलाई हेरेँ । मैले बल्ल चिन्न सकेकी थिएँ कि ऊ पनि काठमाण्डू नै थियो– मेरो प्रिय काठमाण्डू, मेरो सपनाको काठमाण्डू, मैले हासिल गर्न चाहेको काठमाण्डू । म पनि उसलाई मुस्कुराउँदै ईशारा गर्न थालेँ ।