‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहिृियक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता सात पुस्तक । ‘प्रतिशोध’देखि ‘मधेसको माटो म’सम्म; पुस्तकको छोटो परिचयसहित ।

===

१. मेरी उनी र म— रामप्रसाद कोइराला

हजुरआमाबाट अगाध प्रेम पाएका लेखक रामप्रसाद कोइरालाकृत आत्मवृत्तान्त हो —“मेरी उनी र म” । यसमा ‘खण्ड-एक’मा ‘मेरी उनी’लगायत ‘उनीको आशीर्वाद’ गरी १८ थान शीर्षकमा आफ्ना-हजुरआमाको आत्मकथा र ‘खण्ड-दुई’मा ‘म’, ‘म कस्तो’सहित ‘पत्रमित्र’लगायत ११२ थान शीर्षकमा आफ्नो आत्मकथा समावेश छन् ।

“यस किताबमा दुई ठाउँमा लेखकको जन्म दिएकी तर पालनपोषण गर्न नपाएकी आफ्नी आमासँग अनायास भेट र भलाकुसारी भएको अत्यन्त मार्मिक विवरण छ ।” भूमिकामा कुलचन्द्र गौतम लेख्छन्, “त्यहाँ उनले आफ्नी आमासँग आदानप्रदान गरेका वर्णनहरु यति हृदयश्पर्शी छन् कि त्यो पढ्दा मैले पनि आँसु थाम्नै सकिनँ ।”

प्रकाशकीयमा लेखिएको छ, “पुस्तकमा भनिएको छ, ‘युनिसेफ जस्तै हजुरआमा र हजुरआमा जस्तै युनिसेफ ।’ संयोगले युनिसेफको जागिरमा पुगेको उहाँले जहीँतहीँ हजुरआमालाई देख्नुभएको छ । युनिसेफको कार्यमा उहाँले हजुरआमालाई पाउनुभइको छ ।”

पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो । ४ सय ५६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ५० रहेको छ ।

 

२. मितेरी मन— शान्ता पोखरेल अर्याल

नेपाल एकीकृत विकास संघकी सदस्य एवं सिर्जनाशील व्यक्तित्व शान्ता पोखरेल अर्यालकृत कवितासङ्ग्रह हो — “मितेरी मन” । यसमा ‘पिरतीको प्रतीक’, ‘प्रेमको निशानी’लगायत ६३ प्रेमिल कविताहरू सङ्ग्रहित छन् ।

भूमिकामा हरिहर खनाल लेख्छन्, “शान्ता पोखरेल अर्यालको अन्तहृदयमा रहेका कवित्वले यस पटक उनले समातेको कमलसँगै सिर्जना संसारको उज्यालो मूलद्वारतिर निस्कने पहिलो खुट्किलो चालिसकेको छ । प्रभाती लालकिरणसँगै पूर्वको आकाश मार्गबाट बाहिरतिर फैलँदै गएको आभासरि उनको स्रष्टा व्यक्तित्व मौलाउँदै जाओस्, यही शुभकामना । ”

पुस्तकलाई नेपाल एकीकृत विकास संघ, भक्तपुरले प्रकाशनमा ल्याएको हो । ८३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २०१ रुपियाँ रहेको छ ।

 

३. यादका बाछिटा— गंगा खड्का

साहित्यकार गंगा खड्काको कविता सङ्ग्रह हो— “यादका बाछिटा” । यसमा  ‘परदेशबाट देखेको घरदेश’देखि लिएर ‘शब्दको खडेरी’ लगायत ६४ वटा मार्मिक कविताहरू समावेश छन् ।

“सन्तानको उपलब्धि अभिभावकको लागि सर्वोत्कृष्ट कुरा हो ।” भूमिकामा कमल ढकाल लेख्छन्, “आज मेरो लागि पनि यो पुस्तक सर्वोत्कृष्ट उपहार बनेको छ । यसको लागि गंगा खड्का मेमलाई मेरा धेरै बधाई र शुभकामना । पुस्तक यादहरूको सङ्ग्रह हो । यहाँ पनि छड्के पानीको छिटाहरूले लेखकलाई रुझाएकोले नै होला, पुस्तकको नाम बन्यो ‘यादको बाछिटा’ । बाछिटाहरूले पनि कहिलेकाहीँ रुझाउँछ । कहिले कहिले रुझ्न, भिज्न पनि मज्जा हुन्छ । अक्षरको रुझाई झनै मनोरम हुन्छ । ‘यादको बाछिटा’को मनोरम, मज्जा लिँदै मनमनमा मस्त हुनुहोस् ।”

पुस्तकलाई सिमल बुक पब्लिकेशनले बजारमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

 

४. मधेसको माटो म— परमानन्द झा

संघीय गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको सिङ्गो जीवनको कथा हो— “मधेसको माटो म” । पुस्तकलाई विषयसूची, खण्ड एक (पृष्ठभूमि र पात्रता), खण्ड दुई(न्यायको पथमा), खण्ड तीन (झाङ्गिएको झा परिवार) गरी ३१ थान रोचक शीर्षकहरूमा आफ्ना परिवार, देश, मधेस, न्याय, उपराष्ट्रपति आदि विषयहरू समेटिएका छन् ।

“शब्द मिलाएर बोल्ने मात्र हैन लेख्ने काम अझै ठूलो हो । हामीले गरिरहेको सिर्जनात्मक लेखन मात्र हैन न्यायालयमा फैसला लेख्ने न्यायाधीशले पनि फैसला लेख्दा शब्द नमिलाउँदा एकै शब्दले, एकै अक्षरले आनको तान फरक पार्दछ । अनि, बोल्दा झन् फरक पर्ने भइहाल्यो । हामी यो पुस्तकका लेखक आदरणीय परमानन्द झालाई भाषण गर्ने उपराष्ट्रपतिको रूपमा र न्यायालयमा फैसला लेख्ने न्यायाधीशको रूपमा चिन्दछौँ ।” भूमिकामा कमल ढकाल लेख्छन्, “उहाँले पनि जीवनमा सही समयमा सही कुरा बोल्दा र लेख्दा जीवनको गतिले तीव्रता लिएको हामी यो पुस्तकमा पढ्न पाउँछौँ । ”

पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो । २ सय ४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रहेको छ ।

 

५. खोकनाका अभियन्ता— शिवलाल डंगोल

खोकना जन्मेका लेखक शिवलाल डंगोलको आत्मकथा हो— “खोकनाका अभियन्ता” । यसमा खण्ड ‘क’मा खोकना र मेरो बाल्यकाल, खण्ड ‘ख’मा शिक्षा र संयोग, खण्ड ‘ग’मा जागिरे जीवन र करको कहर, खण्ड ‘घ’मा स्वास्थ्य, परिवार र सामाजिक जीवन, खण्ड ‘ङ’मा विदेश भ्रमण तथा तीर्थटन, खण्ड ‘च’मा जाँदाजाँदै, तस्वीर यात्रामा तस्वीरहरू समेत समावेश छन् ।

पुस्तकको कभर पृष्ठमा रवीन्द्र डंगोल लेख्छन्,“जो गरिब आफै पढेर माथि जान सक्दिनँ भन्छ, जो एक्लै समाज परिवर्तन गर्न सकिँदैन भन्छ, जो कानुन नै त्यस्तै छ भनेर छोराछोरीबीच भेदभाव गर्छ, जो आफूभन्दा कनिष्ठ आफूभन्दा माथिल्लो दर्जामा पुग्यो भनेर आफ्नो काम गर्न अप्ठेरो मान्छ, जो ब्रह्मण जातिको हैन भनेर वैदिक ज्ञान लिन सकिँदैन भन्छ । यी सबैका लागि बुवा एउटा गतिलो उत्तर हो, हौसला हो, उदाहरण हो, पाठ हो, र हो नैतिकताको धरहरा ।”

पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो । ३ सय ४० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।

 

६.अक्षरको राजमार्गमा डाक्टर— डा. राजन लुइँटेल

संघर्षका साथमा समाजसेवालाई जोड्दैै प्रगतिका शिखरमा पुग्नुभएका डा.राजन लुइँटेलकृत आत्मकथा हो— “अक्षरको राजमार्गमा डाक्टर” । पुस्तककलाई ‘स्वास्थ्यको रहस्य, बाल्यकाल, किशोरावस्था, युवावस्था, अरूको आँखा र आजको म र मेरा सपना’ गरी ६ खण्डमा विभाजित गरिएको छ ।

“धानको भात खान नपाउने, गाडी नदेखेको, सवारीसाधन नदेखेको विकट गाउँमा जन्मेको एक बालकले राजधानीमा आएर अहिले सुविधासम्पन्न अस्पताल बनाउँदै गरेको त्यो पनि पचास उमेर नपुग्दैको कथा हो यो ।” प्रकाशकीयमा कमल ढकाल लेख्छन्, “वि.सं २०५२ मंसिरमा ३९ वर्ष पुगेकाे बाबु खसीबाेकालाई स्याउला लिन जाँदा लडेर उहाँकाे परमधाम भएपछि एक १९ वर्षीय युवाले डाक्टर बन्छु भनेर दृढ संकल्प गरेकाे कथा हाे याे । अनि उसले कति हन्डर ठक्कर पाउँदै कसरी डाक्टर हुन्छ भन्ने कथाकाे किताब हाे याे ।”

पुस्तकलाई घोेस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो । २ सय ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय रहेको छ ।

 

७. प्रतिशोध— विद्यासागर घिमिरे

लेखक विद्यासागर घिमिरेको एउटा राजनीतिक रोमाञ्चक उपन्यास हो— “प्रतिशोध” । प्रतिशोध १ देखि ९ सम्म ९ थान उपशीर्षकहरू राखिएको छ ऐतिहासिक उपन्यास हो ।

भूमिकामा कमल ढकाल लेख्छन्, “यो एउटा प्रतिशोधको कथा हो । जुलियस सिजरलाई उनकै सिनटेर सहकर्मीहरूले निहत्था मारेको कहानी हो, त्यो पनि सिनेटभित्रै । जहाँ शासक, जनता र देशको रक्षाको लगि कानुन बनाइन्छ । जसले त्यस्तो कानुन बनाउँछ, तिनैले ईशापूर्व ४४ मा अकल्पनीय घटना घटाउँछन् । जनतामाझ लोकप्रिय तथा आफ्ना प्रिय पिताजत्तिकै प्यारो सिजरका हत्याराहरूको सिकारका लागि जुलियस सिजरका दत्तक पुत्रद्वारा अन्त्यसम्म् पिछा गर्दै आफ्नो बदलाको प्यास मेटेको प्रतिशाधमाथि लेखिएको उपन्यास हो यो । रोमका कालो अवधिको इतिहास- निराशा, आतङ्क र अत्यासलाग्दो कालखण्डको क्रुरतालाई स्पष्ट रुपमा उजागर गरिएको उपन्यास हो । यो यस्तो समयको कथा हो जहाँ कसैको जीवनको सुनिश्चितता हुँदैन । एउटा अस्थिरता र असुरक्षित जीवन अवधिको कथा हो, जहाँ मानवतको कुनै मूल्य हुँदैन ।”

पुस्तकलाई सिमल बुक पब्लिकेशनले बजारमा ल्याएको हो । ४ सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ५० रहेको छ ।