अनुवाद– पुण्य कार्की
नुनको पुतला
मैले सुनेको छु – एउटा समुद्र किनारमा ठूलो मेला लागेको थियो । धेरै मानिस आएका थिए र समुद्रको किनारमा निकै ठूलो भीडभाड थियो ।
कहानीले भन्दछ – नूनका दुइटा पुतलाहरू पनि त्यो मेला भर्न गएका थिए । उनीहरू पनि समुद्र किनारमा उभिएका थिए ।
यत्तिकैमा समुद्र कति गहिरो छ भन्ने विवाद शुरू भयो । विवाद यति चर्कियो कि मान्छेको भिड उर्लिन थाल्यो विवाद सुन्न ।
नूनको एउटा पुत्लाले भन्यो- यो कुरा त वादविवादबाट कसरी थाहा होला र ? म समुद्रमा डुबुल्की लगाएर आउँछु र पत्ता लगाएरै छाड्छु ।
नूनको पुत्ला तत्कालै समुद्रमा पस्यो । ऊ समुद्र कति गहिरो छ, पत्तो लगाउन गएको थियो तर ऊ फर्केन । भीडले ऊ फर्केर आउने आशामा केही समय बाटो कुरे । पहिलो पुत्ला नफर्किएपछि उनीहरूले अर्का पुत्लालाई सोधे– “के भयो तिम्रो मित्रलाई ?”
‘खै ! अहिलेसम्म त आउनु पर्ने हो !’ आङ तान्दै उसले भन्यो, ‘किन नफर्केको हो, म पत्तो लगाएर आउँछु ।’
ऊ पनि कुदेर समुद्रमा पस्यो । त्यो पनि फर्केर आएन ।
सयकडौँ वर्ष बितिसक्यो, अहिले पनि समुद्रको किनारमा मान्छेहरू एकत्रित छन् कि सायद पुत्लाहरू समुद्रको गहिराई नापेर फर्केलान् तर ती फर्केका छैनन् ।
अब ती पुत्ला कहिल्यै फर्कने पनि छैनन् किनभने नूनका पुत्लाले सागरको गहिराई कसरी पत्ता लगाउन सक्लान् ? जबसम्म उनीहरू गहिराईमा पुगिसक्लान्, उनीहरू स्वयं नै बाँकी रहने छैनन् । र, जबसम्म स्वयं र बाँकी रहन्छ, तबसम्म गहिराई पुग्न सक्ने छैनन् ।
ठीक यही कुरा लागू हुन्छ जीवनमा । जबसम्म हामी छौँ, “म” भन्ने तत्त्व रहन्छ, तबसम्म परमात्माको सागरमा गहिराईमा पुग्न मुस्किल छ । जब हामी हराउँछौँ, “म” मेटिन्छ अनि मात्र गहिराईमा पुग्न सक्छौँ ।
(करुणा और क्रान्तिबाट)
मनमा हिंसा
केही दिन पहिले म एउटा सूफी कहानी पढिरहेको थिएँ । कहानीमा एउटा युवक थियो । जतिखेर ऊ समुद्रको किनारमा जान्थ्यो, त्यतिखेर हजारौँ पंक्षीहरू ऊ नजिक आएर खेल्थे । उसको काँधमा चढ्थे । उसको शीरमा उफ्रन्थे, नाच्थे र आनन्दित हुन्थे । यो अनौठो दृश्य थियो । गाउँका मानिसलाई विश्वासै नलाग्ने घटना घटेको थियो त्यो । किनभने त्यही ठाउँमा कोही अर्को मान्छे गयो भने ती सारा पंक्षी भाग्थे । तर जब त्यो युवक समुद्रको तटमा आएपछि भने त्यहाँ ठूलो भीड लाग्थ्यो । ठूलो उत्सव जम्थ्यो । चराहरूको मेला लाग्थ्यो ।
एकदिन त्यस युवकको बाबुले भन्यो- तँछेउ धेरै चराहरू झुम्मिन्छन् अरे ! मलाई चराहरू तँसँग झुम्मिएको हेर्न मन छ । तँ सागरको तटमा गएको र त्यहाँको रमिता हेर्न सक्दिनँ । बूढो मान्छे, हिँड्डुल गर्न पनि सक्तिनँ । त्यहाँ जान पनि सक्तिनँ । तँ यसो गर – एकदुई ओटा चरा पक्रिएर लिएर आइज, ताकि मैले अरूका मुखबाट सुनेको कुरा प्रत्यक्ष देख्न सकूँ ।
त्यसदिन युवक समुद्र तटमा गयो । तर पंक्षीहरू आएनन् । टाढैबाट उडे । टाउको वरिपरि मडारिए तर काँधमा बसेनन् । आज त्यो युवक हिजोको युवक थिएन । आजबाट बदलिएको थियो । आज प्रेम थिएन, आज आनन्द थिएन । आज उसको साथमा खेल्ने त्यो सहजवृत्ति थिएन । त्यो सहज भाव थिएन । आज मनमा अर्कै धन्दा थियो । आज अर्कै वासना थियो । एक चाह थियो । आज दुश्मनीको भाव थियो । आज मनमा कठोरता थियो । आज मनमा हिंसा थियो । तिनलाई पक्रेर कसैलाई देखाउने लालसा थियो ।
(कहै कविर दिवानाबाट)
पण्डितको आत्मा
एक जना सूफी फकिर आफ्नो रोजीरोटी चलाउन नदीमा नाउ चलाउँथे । त्यही नाउमा राखेर मानिसहरूलाई वारिपारि गराउँथे । एक दिन गाउँका पण्डित नदीपारि जान चाह्यो । फकिरले भने– तपाईंसित के पैसा लिनु ! तपाईंलाई त्यसै पार गराइदिन्छु ।
पण्डित नाउमा बसे । ती दुवै डुंगामा हेलिए । दुई जना मात्र थिए नाउमा । पण्डितले यताउतिका कुरा सोधे – केही पढ्न लेख्न आँउछ ?
पण्डितले अरु कुरा सोध्न पनि के सक्छ र ? जे उसले जानेको हुन्छ, त्यही सोध्दछ । हामी अर्कालाई त्यही दिन सक्छौं, जे कुरा हामीसँग हुन्छ ।
सूफी फकिरको तेज उसले देख्न महसुस गर्न सकेन । पण्डित आफ्नो ज्ञानमा अन्धो थियो, उसले के देखोस् । उसले त सम्झ्यो – यो एउटो साधारण माझी हो । तर यो माझी असाधारण पुरुष थियो । पण्डित जुन परमात्माको विषयमा सोच्थ्यो, सुनाउँथ्यो त्यो परमात्मा यही असाधारण पुरुषबीच अस्तित्ववान् थियो, जसका बारेमा पण्डितले अहिलेसम्म चर्चा गरेको थियो, त्यो परमात्मा त्यही फकिरको माध्यमबाट चिहाइरहेको थियो । आँखा भएदेखि फकिरमै ती सबै चिज भेटिने थियो । जसको सपना देखिएको छ, जसको शास्त्र ऊ पढिरहेको छ, प्रत्यक्ष नै थियो त्यहाँ ।
तर पण्डितले उसलाई सोध्यो– पढ्न लेख्न आउँछ ?
पण्डितले यदि परमात्मा भेटिनैहाल्यो भने पनि उसले सोध्नेछ – सर्टिफिकेट छ ? कतिसम्म पढेलेखेको छौ ?
उसको आफ्नै संसार हुन्छ । ऊ आफ्नै शब्दमा जिउँछ, आफ्नै शास्त्रमा बाँच्छ ।
फकिरले भन्यो- पढ्नलेख्न त बिलकुलै आँउदैन । म बिलकुल गँवार मान्छे हुँ ।
उसले जब यी शब्द बतायो, यदि पण्डित थोरै भए पनि होशमा हुन्थ्यो भने देखिसक्थ्यो कि कति गहिरो विनम्रता छ ! आफ्नो अज्ञानलाई स्वीकार गर्नु ज्ञानतर्फको पहिलो कदम हो । र, यदि कसैले समग्रताका साथ आफ्नो अज्ञानलाई स्वीकार गर्दछ भने त्यही कदम अन्तिम कदम पनि बन्न सक्तछ । किनकि जब तिमी पूरै भावका साथमा केही पनि जान्दिनँ भन्ने कुरा जान्दछौ, तिम्रो अहंकार टिक्छ कहाँ ? त्यो कहाँ उभिन्छ ? पैलातामुनिको जमिन पूरै भासिनेछ । ढल्नेछ भवन अहंकारको । तिमी निरहंकारमा तैरिनेछौ । त्यही द्वार हो, त्यहीँबाट कुनै परमात्मासित मिलन हुन्छ ।
फकिरले भन्यो– म केही पनि जान्दिनँ, बिलकुल अनपढ मान्छे हुँ ।
पण्डितले भन्यो – उसो भए त तिम्रो एक चौथाई जिन्दगी बेकारै गयो ।
नाउ थोरै अगाडि बढ्यो ।
पण्डितले भन्यो– कम से कम गणित त आउँछ होला ! हिसाबकिताबका लागि त यो जरुरी छ नि !
फकिरले भन्यो– मसँग त केही छँदैछैन । के हिसाब किताब गर्नु ! खालि हात छ, जे दिनभरि पाउँछु, साँझ पर्दा नपर्दै समाप्त हुन्छ किनभने रोटीभन्दा बढी कमाउनु छैन केही । राति त म फेरि फकिरै बन्छु, बिहान उठेर फेरि कमाउँछु । अनि परमात्माले अहिलेसम्म दिइराखेका छन् भने भोलिको बारेमा के हिसाब राख्नु ! र, कसैले दिइहाल्यो भने पनि ठीकै छ र कसैले दिएन भने पनि ठीकै छ । किनकि अहिलेसम्म त बाँचेकै छु, अब पनि बाँचूला नि !
पण्डितले भन्यो – तिम्रो आधा जिन्दगी बेकार गयो । अनि त्यही बेला अचानक ठूलो तूफान आयो र डुंगा डगमगाउन थाल्यो । नाउ डुब्नै डुब्नै लाग्यो । डुब्नै डुब्नै लाग्यो । फकिर हाँस्यो किनकि पण्डित धेरै आत्तिएको थियो । यही पण्डित अमृतको बात गर्थ्यो । आत्मा अमर छ – तर जब मृत्यु सामुन्नेमा आउँछ, पण्डितको आत्माले कुनै काम गर्दैन । उसको दिमागले काम गर्दैन, न त पाण्डित्यकै अमरताले काम गर्छ ।
पण्डित हड्बडाउन लाग्यो, उसका हातखुट्टा काम्न थाले ।
फकिरले सोध्यो – “पौडिन आउँदैन ?”
उसले भन्यो, ‘बिलकुल आउँदैन ।’
फकिरले भन्यो– ‘तिम्रो सोह्रै आना जिन्दगी बेकार गयो । अब म त डुंगा छोडेर भाग्छु । यो डुंगा त अब डुब्छ नै !’
जब डुब्ने समय सामुन्ने आउँछ, जब मृत्युले घेर्दछ, त्यतिखेर यदि तैरिन आउँछ भने त्यसले काम देला । मृत्युमा तैरिन आउँछ ! र यदि मृत्युमा तैरिन आँउदैन भने मृत्युले डुबाइदिनेछ ।
(भज गोविन्दम् मूढमतेबाट)
पंक्षीको भाषा
बहुत धेरै फकिरहरूका जीवनमा यस्ता कहानीहरू छन् । सन्त फ्रान्सिसको जीवनमा पनि धेरै कहानीहरू छन् । उनी जहाँ जान्थे, पंक्षी उनीसँगै साथसाथै जान्थे । जानै पर्दथ्यो । सन्त फ्रान्सिस जस्तो प्रेमले भरिएको मानिस बडा मुस्किलले पाइन्थ्यो । त्यसैले यो कुरा ठीकै थियो कि पंक्षीको प्रेमको भाषा उनी सम्झिन सक्थे । जसले गर्दा पंक्षीहरू सन्त फ्रान्सिससामु सजिलै आउन सक्थे ।
भनिन्छ, सन्त फ्रान्सिस नदीमा गए भने माछाहरूको भीड लाग्थ्यो । नदी तर्न पनि मुस्किल हुन्थ्यो ।
सन्त फ्रान्सिसको विरोधमा थिए पोप । जब कुनै असली सन्त पैदा हुन्छन् तर जुन सम्प्रदाय छ, चर्च छ, पुरोहित छन् ती सबै विरोधमै हुन्छन् । किनकि उनीहरूका लागि सन्त खतरा बन्दछ । सन्तको त कुनै व्यवस्था नै हुँदैन । सन्त त सहजरुपमा हुन्छ । सम्प्रदायको जुन व्यवस्था हुन्छ, सन्तले त्यो सबै तोडिदिन्छ ।
त पोपले सन्त फ्रान्सिसलाई बोलाए । उनी सयकडौँ माइल पैदल यात्रा गरेर त्यहाँ पुगे । जब पोपको आँगनमा आएर फ्रान्सिस उभिए, हजारौँ पंक्षीहरू त्यहाँ आए । ती फ्रान्सिसका प्रेमी थिए । पोपले भन्यो – यो मानिसलाई केही भन्नु पनि ठीक हुँदैन । जसको भाषा पंक्षीले समेत बुझ्दछ, त्यससित विवादै किन गर्ने ? यिनले जे भनेका छन्, ठीकै भनेका छन् ।
त्यो पोप निश्चित रुपमा समझदार मानिस थियो होला । उसले विवाद गरेन … किनभने पंक्षीले कुनै तर्क बुझ्दैन, शास्त्र बुझ्दैन, उसले त सिर्फ हृदय बुझ्दछ ।
(कहै कविर दिवानाबाट)
गधाको सपना
दुइटा गधा घाममा उभिएका थिए ।
पहिलो गधा बडा प्रशन्न भैरहेको थियो । मग्न लम्पसार घाम तापेको थियो । दोस्रो गधाले सोध्यो, “बडो आनन्दित छौ, बडो मस्त छौ, कुरा के हो ? सधैँ तिमीलाई उदास देख्थेँ । आज बडो आनन्दमग्न देखिन्छौ, कुरा के हो ?”
उसले भन्यो, “बस्, अब मजा नै मजा छ । आइसक्यो सौभाग्यको घडी । धेरै दिनदेखि प्रतीक्षा गरेको थिएँ ।”
दोस्रो गधाले सोध्यो, “केही त बताऊ । कुरा घुमाइफिराई नगरीकन सिधासिधा भन त, कुरा के हो?”
उसले भन्यो, “कुरा के भने म जुन धोबीको गधा हुँ, त्यसकी छोरी जवान भएकी छ ।”
दोस्रो गधाले सोध्यो –“तर उसकी छोरी जवान हुनुसित तिम्रो के सम्बन्ध छ र मस्त बनिरहेका छौ ?”
उसले भन्यो, “तिमी पहिले कुरा त सुन । जबजब त्यो केटी कुनै भूलचुक गर्छे, त्यतिखेर धोबी रिसाएर चूर हुन्छ र भन्छ– हेर्, यदि तैले ठीकसित काम गरिनस् भने गधासित बिहे गरिदिन्छु । अब दुईचार दिनको कुरा मात्रै हो… जुन दिन केटीले कुनै ठूलो भूल गर्छे । धोबी रिसले चूर हुनेछ ….अनि तँलाई पनि थाहा छँदैछ, मेरो मालिकलाई रिस उठ्न कतिबेर लाग्छ र ? जब मदेखि क्रोधित हुन्छ, कस्तरी डण्डा चलाउँछ… जुन दिन ऊ जोशमा आउँछ, त्यो दिन मेरो बिहा हुन्छ हुन्छ । अब सौभग्यको दिन आई नै सक्यो । तर तँ उदास नबन्, तँलाई पनि जन्ती लग्नेछु ।”
गधाले सपना देख्तछ । मूढले पनि बडाबडा ज्ञानका राशिहरू एकत्रित गर्दछ । ती राशिलाई जब तिमी काटिदिन्छौ, तब पीडा हुनेछ, अड्चन हुनेछ, दुःख हुनेछ । त्यतिखेर पण्डितले बचाउने कोसिस गर्नेछ, उपाय झिक्नेछ ।
सुरक्षा दिने कोसिस गर्नेछ । त्यसैले समय व्यर्थै जान्छ ।
जो सत्यको खोजीमा निस्केको छ, उसले पण्डित्यलाई त तहसनहस पार्नैपर्छ । पण्डितले जे जानेका छन्, त्यो फोहोर मात्र हो, किनभने जबसम्म स्वयम्लाई जानिँदैन, तबसम्म जे जानिएको छ, त्यो फोहोर नै हो । स्वयम्को साक्षात्लाई विश्वास गर्नू, उसैमाथि श्रद्धा राख्नू । त्यसकै अथक् खोज गर्नू । खनी राख्नू, खनिराख्नू । त्यतिञ्जेलसम्म खनिराख्नू, जबसम्म आफ्नै जीवनको जलस्रोत फेला पर्दैन ।
(सहजयोगबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।