मूल लेखकः ग्रेग हेन्स
अनुवादः निर्मल आचार्य
जीवनमा मैले एक लाखभन्दा धेरै खिल्ली चुरोट सल्काएको छु, र ती हरेक खिल्लीले मेरो जीवनमा केही न केही अर्थ राख्दछन् । चुरोट तान्दा सहस्रपटक त मैले आनन्द नै लिएँ । मैले स्वादिला, ठीकै स्वादका र ज्यादै बेस्वादिला चुरोटहरू पिएको छु । मैले सुक्खा र ओसिएका, सुगन्धित र झन्डै गुलिया चुरोट तानेको छु । मैले कहिले हतारहतार, र कहिले शनैःशनै आनन्द लिएर पिएको छु । मैले चुरोट मागेको छु, टप्काएको छु र तस्करी गरेको छु । मैले चुरोट कुटिल चाल चलेर प्राप्त गरेको छु, र मैले चुरोटका लागि अरूसँग अनुनय विनय गरेको छु । न्यूयोर्क एयरपोर्टमा त मैले एकचोटी एउटा बट्टाका लागि तेह्र डलर तिरेको छु । एकपटक मैले आधा बट्टा चुरोट धाराको मुनि फोहोरमा मिल्काएर फेरि खान मिल्छ–मिल्दैन भनेर खोजेको छु । मैले चुरोटका चिसा ठुटा, सिगार, ‘सिगारेलो’ भनिने छोटा सिगार, बिँडी, फिल्टर नभएका र सल्काउँदा क्रयाक–क्रयाक गर्ने क्रेटेक, गाँजा भरिएका चुरोट सल्काएको छु, र त्यान्द्रोबाट समेत धूम्रपान गरेको छु । चुरोट पिउन खोज्दा मैले उडानहरू छुटाएको छु, र कतिपटक लुगा र गाडीको सिटमा प्वाल पारेको छु । चुरोट सल्काउँदा मैले परेला र आँखीभुइँ जलाएको छु, चुरोट तान्दा–तान्दै निदाएको छु । मैले चालीस डिग्रीभन्दा बढीको धूप र न्यूनतम दशको कठ्याङ्ग्रिदो तापमानमा लुगलुग काँप्दै चुरोट सल्काएको छु । मैले खाना खाएर, भोक लागेर, खुसी भएर र दुःखी भएर चुरोट सल्काएको छु । कहिले एक्लै भएर, कहिले साथीहरूसँग र कहिले उत्साहमा धूम्रपान गरेकेो छु । मैले पिएका हरेक खिल्लीका एउटा–एउटा उद्देश्य हुन्थे—कहिले सङ्केत, औषधी, कहिले आफूलाई तताउन, कहिले शान्त पार्न, कहिले खेलाउने सामग्रीको रूपमा, कहिले साथीका रूपमा, कहिले कामोत्तेजक वस्तु वा जडाशक्ति, कहिले समय कटाउन, कहिले केही कुरा सम्झन, कुराकानी गर्न वा कहिले ध्यानको औजारको रूपमा । कुनै–कुनै बेला चुरोटले माथिका सबै काम गर्ने गर्दथे । मैले पिएका प्रत्येक चुरोट अच्छाखास्सा चुरोटहरू थिए ।
कहिलेकाहीँ म कल्पना गर्छु, गूगल नक्सामा मैले सर्को तानेका ठाउँहरू देखाउने कृत्य भयो भने यसरी देखाउँथ्यो—प्रत्येक चुरोटका लागि एउटा सानो कालो झन्डा; मैले सीमापारिबाट तस्करी गरेर आवासीय विद्यालयमा छिराएका र आफैँले सुर्ती भर्नुपर्ने प्रत्येक डिब्बाका खिल्लीका लागि नीलो झन्डा; फिनास, र थेप्चो, अण्डाकार ओरिएन्टल, जुन चुरोटले मलाई मेरा उत्कृष्ट साहित्यिक विचारहरू दिएको छ, लाई सुन्तला; र, सन् १९८२ को ग्रीष्ममा पहिलोचोटी अमेरिका जानुभन्दा अघि किनेको फिल्टर नभएको पाल मालका लागि रातो झन्डा । त्यो बेला जब विमान परिचारिकाले मलाई भन्सारमा सिल गरिएको झोला दिइन्, मैले वयस्क जीवनमा प्रवेश गरेको बारेमा रहेको अन्तिम सन्देह मेरो मनबाट हट्यो ।
मेरो जीवनको सबैभन्दा स्वादिष्ट सिगरेट–किस मैले डुनवाड वाइल्ड बोर पार्कनेरको तालमा गरेको छु—त्यहाँ पनि एउटा झण्डा रहनेछ । मैले त्यतिबेला भर्खर अठार वर्षमा टेकेको थिएँ हुँला । मैले केही हप्तादेखि दमडी नभएर चुरोट–चुम्बन गर्न पाएको थिइनँ, र मेरा विद्यालयका साथीहरूसँग दुई दिनको कलायात्रामा म कलोन पुगेको थिएँ । सुजेन सङ्ग्रहालयको अगाडि हाम्रो बस रोकिनेबित्तिकै ट्राम समातेर म मेरो बुवाको घर गएँ । घरअगाडि मेरी आमाको रेञ्जरोभर पार्क गरेर राखिएको थियो । म घरभित्र छिरेँ, र सबै दराज र घर्रामा कारको चाबी खोजेँ । मैले कार स्टार्ट गरेँ । र बिस्तारै लिभरकुज्न–स्लेबेश भएकोतिर बिस्तारै गाडी चलाउँदै गएँ, जुन ठाउँमा एलियाना आफ्नो भाइ र बुवाआमासँग बस्थिन् र जोसँग म भर्खर–भर्खर प्रेममा परेको थिएँ । एलियानाको घरबाट सामुद्रिक किनार प्रस्ट देखिन थालेको थिएन, त्यसैले मैले कार साँघुरो बलौटे बाटो जानलाई देब्रेतिर मोडेँ, रूखहरू भएको ठाउँ भएर म पहिले खोल्सो र अहिले ताल भएको ठाउँमा पुगेँ । म कारबाट उत्रेँ र मजबुत कारको तातो बोनटमा बसेँ, र मेरो स्वेड ज्याकेटको गोजीबाट चुरोटको फ्रेस प्याकेट झिकेँ । मैले लाइटर भेट्टाएँ र जीवनकै पहिलो रिल्याप्स चुरोट सल्काएँ । धेरैपछि चुरोट पिएको भएर निकोटिन कसरी मेरो नशा–नशामा छि-यो, र कसरी हजारौँ स–साना बिष्फोटनजस्तै मेरो दिमागलाई क-याक–कुरूक पा-यो भन्ने महसुस गरेँ । मैले महसुस गरेको त्यो आतिशबाजी चारैतिर फैलियोः मैले सोचेको भन्दा बढी । खोल्सोमा पिएको चुरोटको बिल्कुलै नयाँ गुणस्तर थियो । त्यतिबेला मैले बुझेँ, धेरै समयसम्म चुरोट नखानु मैले गरेको लगानी जस्तै रहेछ, जुन लगानीले धेरै पछि पिउँदा पाँच वा दश गुणा बढी आनन्द दिने रहेछ ।
‘स्मोक’ चलचित्रमा जिम जार्मुस अभिनीत पात्र बब आफ्नो साथी अग्गीसँग (हार्भी काटेल) एल.सि. पिउन उसको सुर्ती पसलमा जान्छ । ‘यो नै हो, यार’, उसले भन्छ, र मुलायम बट्टाबाट अन्तिम ‘लक्की’ झिक्छ । ‘आदियोस सिगरेट,’ अग्गीले भन्छ, ‘तैँले तेरो अन्तिम चुरोट मसँग पिउने चाहना राखेकोमा मलाई भित्रैदेखि छोएको छ ।’ अग्गीलाई थाहा छ उसको साथीको जीवनमा यो कति महत्त्वपूर्ण क्षण हो ।
बबले जस्तै मैले कहिले पनि मेरो अन्तिम चुरोटको उत्सव मनाएको छैन । मैले अन्तिम भनिएको खिल्लीलाई जहिले पनि सचेत रूपमा घृणाको रूपमा पिएको छु । मैले किन धूमपान गर्नुपर्छ ? मैले यसबाट किन मजा लिनुपर्छ ? मैले आफैँलाई देखाइसकेको छु म कति बलियो छु भनेर ! यदि मैले धूमपानबाट आउने कुनै किसिमको आनन्दलाई त्याग्दैछु र त्याग्ने निर्णय गरेको छु भने त्यो अन्तिम खिल्लीबाट किन आनन्द लिने ? जब मैले धेरैअगाडि चुरोट नखाने संकल्प गरिसकेको छु भने, मैले केही मिनेटअघि मात्र भान्साको डस्टबिनमा फ्याकेको आधा डिब्बाबाट किन निकाल्छु ? किन म गल्लीमा गएर कसैसँग अन्तिम एल.सी. माग्छु र—यो मेरो जीवनको अन्तिम, अन्तिम एल.सी. भए पनि मैले कम गुणस्तरको स्ट्र–ड्राई फिल्टर चुरोट, ग्लिसिरिन र स्टाइरिन–एक्रिलिक पोलिमर भएको भर्जिनियाले किन काम चलाउँछु ? किन मलाई मेरो घरबाहिरको सडकपेटीबाट ठुटा उठाउने विचार आउँछ ? हुनसक्छ, यो एल.सी. मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण चुरोट हुनसक्छ, जुन खिल्ली मैले बुढेसकालमा समेत सम्झिनेछु, चुरोटहरू अवैध भएको धेरै समयपछिः मैले डस्टबिनबाट त्यो खिल्ली निकाल्नेछु र उभिएर, हतारमा र मन नलागेरै पिउनेछु, र त्यो गनाउनेछ । मलाई थाहा छैन मैले जीवनमा अन्तिम भनेर कतिवटा चुरोटहरू सल्काएको छु, तर मलाई थाहा छ मैले ती सबै चुरोट पिउँदा स्वयंलाई थोरै घृणा गरेको छु ।
मेरो साँच्चिकै अन्तिम चुरोट त्यो हो जुन पिउँदा मैले आनन्द लिएको थिएँ । मलाई थाहा थिएन त्यो खिल्ली मेरो अन्तिम हुनेछ । यसरी बुझ्दा त्यो क्षण कुनै विशेष थिएन जुन मैले पटकपटक नसम्झिएको भए धेरै अगाडि नै बिर्सिसकेको हुन्थेँ । म मेरो श्रीमती एम र म्युनिखबाट आएकी एकजना साथीसँग गर्मी महिनाको एक साँझ हामीलाई मनपर्ने बर्लिनको एक रेस्टुरेन्टको अगाडि बसिरहेको थिएँ, र हल्का डिनरपछि अमेरिकन स्पिरिटको बट्टाबाट अन्तिम खिल्ली झिकेँ र साथीसँग तानेँ । सके साथीले आफ्नो बट्टा बिर्सिएकी थिइन् । जे भए पनि मैले खुसीसाथ उनीसँग चुरोट बाँडेर पिएँ । जब हामीले बट्टा नै पिएर सक्यौँ, तब डिनर पनि फत्ते भइसकेको थियो । अर्को दिन धेरै काम गर्नुपर्ने भएकोले बिदाइ गर्नु पनि उचित थिएन । घर जाँदै गर्दा, एमले भनिन्, ’मैले फेरि सुरू गर्न खोजिरहेकी थिएँ । म आफूलाई परित्यक्तझैँ सोचिरहेकी थिएँ । मलाई तिमीहरू दुईजनासँग बट्टा बाँडेर सर्काउन कस्तो मन लागिरहेको थियो ।’ ‘हगि ?’ मैले भनेँ, मैले बुझ्छु । अब मैले छोड्छु । अहिले नै ।’ एम जसले म कति गम्भीर छु भनेर तत्काल बुझ्न सक्थिन्, उनले टाउको मात्र हल्लाइन्, मुस्कुराइन्, र केही पनि बोलिनन् ।
अहिले पनि धेरै मान्छेहरू छन् जोसँग बसेर म चुरोट पिउन चाहन्छुः मैले धेरै समयसम्म नभेटेका साथीहरू र मैले मन पराउने कलाकारहरू । अब यो म र मेरो संकल्पमा मात्र निर्भर हुने छैन । उनीहरूमध्ये धेरैले अहिले धूमपान नै गर्दैनन् । तीमध्ये कतिले वैकुण्ठ सुधारिसके । मैले मेरा हजुरबासँग चुरोट खान मन गर्थेँ हुँला, जसका ठूला, वलिष्ठ हातहरूले चुरोटलाई जहिले खिनौरो र कमजोर साबित गर्थेँ । उहाँले पनि चाँडै परलोकको बाटो तताउनुभयो । म निश्चिन्त छु, माथिबाट गुल्टिएर अस्पतालमा भर्ना हुँदा उहाँका हातबाट चुरोटहरू खोसेपछि उहाँको देहावसान भएको हो, उहाँ साठी वर्षसम्म दिनको केवल पाँचदेखि दश खिल्लीसम्म फुक्नुहुन्थ्यो । मेरा हजुरबा एकदमै संयमित व्यक्ति हुनुहुन्थ्यो । कहिलेकाहीँ उहाँले भान्सामा बसेर दाल केलाउँदै, आलुका बोक्रा ताछ्दै र ईस्टरका लागि रङ्गाइएका अण्डालाई पत्रिकामा राखेर पुछ्दै सिङ्गै बिहान बिताउनुहुन्थ्यो । उहाँसँग लुकाएर राखिएको लक्स चुरोटको प्याकेट र सलाई साथै हुन्थ्यो । मैले कहिलेकाहीँ कला सङ्ग्रहालयमा चुरोट सल्काएको कल्पना गर्छु । म कल्पना गर्छु कसरी म दिउँसोको घामले न्यानो बनाएका चिल्ला, काठका मेचमा छिटो–छिटो बनाइएका चित्र र फ्रान्स हाल्सले बनाएका ग्रुप पोट्रेटका अघिल्तिर बसेर केही अघिमात्र बजारमा आउन छोडेको र फिल्टर नभएको ओरियन्टल चुरोट, फिनास फ्रेरेस सल्काउने थिएँ, मलाई कत्ति शङ्का छैन, त्यो मेरो पूर्ण स्पष्टता र सके सबैभन्दा खुसीको क्षण हुनेछ । तर, त्यो अब कहिले पनि पूरा हुनेछैन । किनभने मैले चुरोट–चुम्बन गर्नु छोडिसकेँ ।
(सन् २०१६ मा न्यू योर्करमा प्रकाशित ग्रेग हेन्सद्वारा लिखित ‘निकोटिन’ पुस्तकको अंश)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।