‘यथार्थ कस्तो हुन्छ ?’

‘हात्तीजस्तो ।’

गाउँ खाने कथाजस्तो पो भयो कि क्या हो यो कुरा ?

होइन । यो लोककथाजस्तो भयो ! उही पुरानो असली हात्तीको कथाजस्तो । आँखा छोपेर छाम्दा कसैलाई रुखजस्तो । कसैलाई नाङ्लोजस्तो । कसैलाई सर्पजस्तो । कसैलाई…भो लामो नभनम् ! पुग्छ यति भा ।

‘भित्तोजस्तो’ छुटेछ फेरि ! उफ् ।

यथार्थको अनुहार थाहा पाउन हात्ती कहाँ पाउनु र गाउँगाउँमा ? फोटो त पाइन्छ, तर फोटो हिँड्दैन । बोल्दैन । स्थिर ।

स्थिर यथार्थ त लाशको पनि हुँदैन । गाडिए माटो हुन्छ । बोटबिरुवालाई मल । जलाइए धुवाँ र खरानी । पञ्चतत्त्वमा विलीन । अनि घुमिरहन्छ प्रकृतिको चक्रमा । स्थिर भयो त ?

तरल भयो । चलायमान भयो । ठीक भयो ।

लुडविग विटगेन्सटाइनले भाषाको व्यवहार ‘खेल’ हो भने । कुरा बुझाउनलाई एउटा चित्र खै कताबाट हो ल्याए । यताबाट हेर्दा हाँसजस्तो, उताबाट हेर्दा खरायो जस्तो । ‘डकरेबिट’ भने । चीन र दिल्लीबाट हेर्दा देखिने नेपाली राजनीतिजस्तो ।

मध्यपूर्वको समाचार छापिन्छ अखबारमा । इजराइली आँखाले हेर्दा फिलिस्तिनी दोषी, फिलिस्तिनी आँखाले हेर्दा इजराइली दोषी । अर्कै आँखाले हेर्दा नाङ्लोजस्तो हात्ती । यथार्थ–सूक्त, भ्रम–सूक्त । खै को कसको भक्त ?

यथार्थ तरल हुन्छ । यस सत्यको फाइदा नेपाली साहित्यमा सबैभन्दा बढी आख्यानकारले उठाए । उठाए पनि के भन्नु, ‘उठाइयो’ भनम् त । झण्डै लेखेको त हो नि हाम्ले पनि आख्यान ! निबन्ध भइदियो र पो !

भनेपछि, यथार्थ जे पायो त्यही हो त ? यथार्थवादी आख्यान हावामै उभ्याउँदा पनि हुन्छ त ? हुन्छ होला । हावा पनि यथार्थ हो । अचेल यथार्थका नाममा हावै त चल्छ बढी, होइन र ?

महेश पौड्याल

अचेलको साहित्यलाई ‘यथार्थवादी’ भनियो भने धेरै मान्छेहरू सहमत हुन्छन् । कोहीकोही यसलाई अगाडि वा पछाडि तन्काउँछन् र अति–यथार्थ, मायावी यथार्थ… केकेतिर पु-याउँछन् । अलिकति अङ्ग्रेजीको ध्वाँस पनि लाइदिम् — हाइपर रियालिटी र भच्युअल रियालिटी पनि जोड्दिम् न । तर, मूल खाँबो छुट्दैन यथार्थको ।

लास्टै कन्फ्युज्ड ! कुराको चुरो कता पुग्यो कता !

कुराको चुरो यहीँ छ ।

यथार्थवादी आख्यानमा यथार्थको अनुहारमा लास्टै धाँधली भएको छ । त्यसो हुनु हुन्थेन ।

लु, एउटा बाज्जी राखुम् न । विक्रम संवत् दुई हजार साठीअघि, साठीपछि । उपन्यासका र कथाका कुरा गरौँ ।

खररर भनुम् त— पढ्नैपर्ने, मानक वा उत्कृष्टको सूची बनाउँदा किन अधिकांश उपन्यास वा कथा साठीअघिकै पर्छन् ? साठीपछिका चैँ किन खासै पर्दैनन् ? पार्न त सकिन्छ, कार्ड खेल्नुपर्छ— जातको, पातको, सातको, लातको, रातको, मातको ! बलमिच्याइँ गरेरै पार्न सकिन्छ— किताबमा, पाठ्यक्रममा, कार्यपत्रमा । नत्र, ज्यानलाई खतरा । तर पाठकको हृदयमा ज्यान गए राख्न सकिँदैन यसरी ।

कसैले भन्ला— के हो र मानक भनेको ? मानक–सानक भत्काइदिन्छु ।

यो मानक भत्काउनेमा चैँ म पनि लाग्छु । तर मलाई के थाहा छ भने, त्यो मानकभन्दा राम्रो लेखेर मात्रै मानक भत्किन्छ । अथवा, त्यसलाई मानक बनाउने मूल्यहरूको तार्कित विनिर्माणले मात्रै सकिन्छ ।

सत्तो सराप गरेर त, इस् !

कसैको त ‘मानक बनेर आएका यी कथा’ भन्ने ब्लर्ब पनि पढेथेँ, पछाडिको कभरमा । आजसम्म सोचिरहेको छु— भर्खर छापिएर आएका कथा कहाँ पुगेर मानक बनेर आएछन् ? छापाको मसिनमा ? डिजाइनरको कम्प्युटरमा ?

यस्तो खाले मानक होइन । साँच्चिकै मानकको कुरा गरेको । त्यो भत्किन्छ, भत्काउनुपर्छ भन्नेमा पनि म सहमत छु है !

साठीअघि, साठीपछि । खररर नाम भनौँ न !

अन्य आख्यानको कुरा अन्य लेखमा गरौँला । आज ‘यथार्थवादी’ आख्यानमै उभिऔँ होला ।

साठीअघिका यथार्थवादी आख्यानले यथार्थलाई निकटमै पुगेर हेरे । सुन्दर भएमा सुन्दर देखाए, कुरूप भए कुरूप । मैजस्तो भए, मैजस्तो ठिस देखाए । इस् देखाए, उस् देखाए । मिस्टर बिनजस्तो भए उहीजस्तो । मिस्टर बिन भनेर किम जोङ ऊनजस्तो देखाएनन् ।

क्यामेराले फोटो खिचेजस्तो जस्तो ?

त्यसो भनेको होइन ।

उफ्, नमिसाऊँ भन्छु, अलिकति सिद्धान्त आइहाल्छ । प्रशासनमा अलिकति भ्रष्टाचार मिसिएजस्तो । अनि कि, वाल्टर बेन्जामिन भन्छन्— यथार्थमा लेखकको विवेकको अलिकति हस्तक्षेप चाहिन्छ । ‘मिडिएशन’ भनेका छन् क्यारे ! फोटो खिच्ने चैँ होइन । तर, मिडिएशनका नाममा, यथार्थवादी आख्यानमा बाबुको फोटो खिचेर आमाको निकाल्न चैँ पाइँदैन ।

कनीकुथी कथा लेख्दा मैले एउटा राजनीति गर्छु । अरू के गर्छन्, त्यो थाहा भएन । म आफैँलाई भन्छु— पाठकले कथा पढ्छ क्या, कथा ! कथा ठिकठाक भए भइगयो ।

अनि म मूल कथाको प्रस्तुतितिर लाग्छु । अलिकति सेन्टिमेन्ट बेच्छु । अलिकति यौन अनिवार्य भइगयो । कफी — सिङ्गल सट, डबल सट । चुरोट । केही अङ्ग्रेजी पुस्तकका नाम । एकाध चलचित्र । एउटा क्याफे । जोन लेनन । गिन्सबर्ग पनि छुटाउँदिनँ ।

ओक्के छ त । यति भए आजको आख्यानको अनुहार प्रस्ट खुल्छ ।

म आख्यानको ‘माइक्रोमेनेज्मेन्ट’तिर लाग्दै लाग्दिनँ । घनेन्द्र ओझा झोँक्किँदै भन्छन्, दाहालको दैलोमा — ‘टेक्सचर मिलेन के गुरुजी, टेक्सचर !’

तिनको कुरा बुझ्नतिर लाग्दै लग्दिनँ ।

दूधे बालक रोयो भने मुखमा ‘पेसिफायर’ हाल्दिने नि ! निप्पलजस्तो । गुलियो । केके ठानेर खाइरहन्छ । दूध हो वा होइन, सोध्दैन । बालक भ्रम चुसिरहन्छ ।

कथाले तान्यो नि पाठकलाई, किन चाहियो ‘माइक्रोमेनेज्मेन्ट’ ? किन चाहियो टेक्सचर ? दिएकै छु त पेसिफायर ? हेप्नी ?

हैट् !

मेरो भ्रम — मैले आलोचनात्मक चेत भएका पाठकलाई सधैँसधैँ बेवास्ता गरेको ठीक साँचो हो । मैले व्यतिरेकी पठनको पनि समय हो यो भन्ने कुराको हेक्का गुमाएको पनि ठीक साँचो हो ।

हो, यस्तै हेल्चेक्य्राइँले समकालीन यथार्थवादी आख्यानमा यथार्थको अनुहार बिगारेका हौँ हामीले । मुजुरको जिउमा फिस्टाका प्वाँख टाँसेको पनि ठीक साँचो हो । हो त अनि !

तर्क पनि हामी दिई पो हाल्छौँ त । रेडी छ नि त—

१. यथार्थ तपाईंले भनेजस्तो हुन्छ ? तपाईंले भनेजस्तो हुन त तपाईंले आफैँ लेख्नुपर्छ । यो त मैले भोगेको यथार्थ हो नि ! यो मेरैजस्तो छ ।

२. यथार्थ हात्तीजस्तो हुन्छ । भनेकै छौँ त अघि नै !

३. यथार्थ कुमालकोठीको जरोजस्तो हुन्छ । अथवा अजम्मरीको बुटीजस्तो हुन्छ । कसैले देखेको छ कुमालकोठीको जरो वा अजम्मरीको बुटी नेपालमा ? होस्य्राङ पनि सायद कसैले देखेको छैन होला । शब्दकोशमै छैन यो । हो, यथार्थ त्यस्तै हुन्छ । तपाईंले भनेर हुन्छ ? छ भनेपछि त छ पो, बाइ !

मलाई एउटा कुराले सधैँ प्रेरित गरिरहन्छ । पहिले पहिले नाटक हेर्न खूब जान्थेँ । रौस खूब चलेपछि केही नाटक खेलेँ पनि । लेखेँ पनि । विज्ञापन भयो है, यहाँनिर, अलिकति । साँच्चै हो, घरमा फोटो छ ।

अनि नाट्यघरमा जान थालेपछि थाहा पाएँ—

— जाँड्याहाको भूमिका खेल्नुपर्ने कलाकारलाई निर्देशकले हप्तादिन, अथवा त्योभन्दा पनि बढी समय भट्टीतिर पठाउँदा रहेछन् । सूक्ष्म अवलोकन भनौँ न ! एकाधपल्ट त्यो कलाकारले उसले भट्टीमा लेमन टी मात्रै खाएर निस्कँदा पनि चिनेजानेकाले देखेर भने— ‘आम्मो, त्यो मएसे पनि रक्सी खाँदोरछ । भट्टी बड निस्क्यो !’ पाइन त भट्टीमा लेमन टी पनि नपाइने होइन तर लेमन टी मात्रै खाएँ भन्दा लोकले पत्याए पो ! यत्तिको अबगाल सहेर एउटा कलाकारले जँड्याहाको सटीक भूमिका टिप्छ । रङ्गमञ्चमा उतार्छ । अनि एउटा नाटकले जीवन पाउँछ ।

— बहुलाको भूमिका मञ्चमा उतार्न बहुलाको सङ्गत गर्छ । केके गर्दैन उसले ? केके सहँदैन उसले ? सोचौँ न !

— अस्ति मित्र सुन्दर बस्नेतले अचम्मको कुरा सुनाए । कुरा फोटोग्राफर जगदीश तिवारीको थियो । हिमालको सटीक चित्र खिच्न कैयौँ पटक मौसमको कहर सहेर हिमाल उक्लेका रे ! सम्मानले शीर झुक्यो मेरो ।

— सल्भाडोर डालीले यथार्थ र सपनाबीचको संसार कसरी टिपे ? त्यसको कथा मैले पहिल्यै भनिसकेको छु ।

— मिचेल फुकोले फरक लैङ्गिकताको अध्ययन गर्दागर्दै एड्स ‘ग्रहण’ गरे । एड्स नै लागेर मरे । उनले लेखेको ‘हिस्ट्री अफ सेक्सुआलिटी’ जति निकट अर्को कुन पुस्तक होला संसारमा, त्यो ब्रह्माण्ड बुझ्नलाई ?

हामी आख्यानकारका गोडामा ब्रान्डेड जुत्ता परेको धेरै भयो । हाम्रा पाइतालाले अचेल जमिनको माटो टेक्दैन । त्यसको चिसो–तातो थाहा पाउँदैन । त्यसैले, हाम्रा कथामा गोरु ब्याउँछ अचेल ।

यथार्थ चैँ, उसो भए हात्तीकै कथा हो त ?

अचेल हो । यो मेरो निजी ठम्याइ हो ।

पहिलेपहिलेका लेखक सायद यथार्थ बाँच्ने । छाम्थे । छुन्थे । गाउँसहर घुम्थे । स्रष्टा थिए, द्रष्टा थिए, सेलेब्रिटी थिएनन् । रियल थिए, हाइपररियल थिएनन् । उनलाई थाहा थियो— कस्तो स्थितिमा मान्छे कसरी व्यवहार गर्छ ? कसले कस्तो बोल्छ ? कहाँको भाषा कस्तो ? रीतिरिवाज, रहनसहन कस्तो ? तिनका आख्यान हेरौँ न— रियलभन्दा पनि बढी रियल लाग्छन् । वाह, जीवन्तता !

वर्षैपिच्छे किताब छाप्नुपर्ने सम्झौता छ यता । कत्रो ट्याम लाग्छ घुम्दा त ? कसो पो गर्न सकिएला र खै ?

उपाय त छ— कथामा गिन्सबर्गको भूत छिराइदिने । केही पात्र सङ्कटा मन्दिरनिर टिपेर ल्याउने । भइगयो त !

‘समकालीन नेपाली कथा’का दुईवटा प्रतिनिधि सङ्ग्रह अनुवाद गरेँ अङ्ग्रेजीमा । बजारमा छन् । दुवैको छनोट कार्यमा पनि संलग्न थिएँ । अनुवादको कुरो थियो । मनमा नेपालबाहिरको पाठक आएर बस्यो, गजधुम्म । सोचेँ, उसले यी कथामा नेपाली साहित्यको इज्जत पढ्छ ।

ती कथामा साठीपछिको समय समेट्न सकिएन । टिममा छनोट समितिका अन्य सदस्य पनि थिए । तिनको पनि सकस बुझेँ ।

साठीपछि मेरै समयसम्म तन्काएको भए त गाँठे, मै पनि पर्थें नि ! आफैँ अनुवादक, हात चाटिहालिन्थ्यो नि ? एकजना मित्रले ‘विश्वका उत्कृष्ट कथा’ आफूले सम्पादन गर्दा हालेका थिए त दुइटा कथा आफ्नै पनि । आफैँले चैँ पक्कै पढे । त्यति त विश्वास गर्छु म । अरूको भन्न सक्दिनँ ।

तर त्यो लोभले काम गरेन । मलाई मेरै कथाको रूपले पनि तर्छायो । कारण—

— सामान्य पाठकको कोणबाट सोच्छु ।

— आलोचनात्मक चेत भएको पाठकको कोणबाट सोच्छु । मेरो पढ्ने बानी नै अति खराब ! ‘यो पुस्तक पात हो’ भनेरै पढ्न थाल्छु । पढिसक्दा मेरो धारणा कायम रह्यो भने किताब फेरि उठाउँदिनँ । त्यसले मलाई परास्त ग-यो भने मुटुमा राख्न आइतबार पनि बार्दिनँ ।

— अन्तर्राष्ट्रिय साहित्यको विद्यार्थीको कोणबाट सोच्छु ।

— समालोचनाको सिकारुको कोणबाट सोच्छु ।

— अनुवादकको कोणबाट, बाहिरका पाठकलाई दिलमा राखेर सोच्छु ।

— मास्टर हुँ, कक्षा कोठा सम्झेर सोच्छु ।

— के थाहा, दशा लागेर भोलि पाठ्क्रम बनाउने ठाउँमा पो पुग्छु कि ? त्यसरी पनि सोचि पो हाल्छु त !

— खेल्न नजानेपछि कोच होइन्छ नि फुटबलमा, क्रिकेटमा । कथालेखनका कार्यशालामा गइरहन्छु । त्यहाँका प्रशिक्षार्थीलाई दिने ‘नमुना’ कथा कस्तो हुनुपर्छ भनेर सोच्छु ।

सोच्दा पैसा लाग्दैन । बेलगाम सोच्छु ।

अनि सुई साठीअघि गएर अड्किन्छ । आक्कलझुक्कल साठीपछि नआउने पनि होइन । तर अति कम । कथामा केही छन्, उपन्यासमा ज्यादै कम !

विडम्बना कहाँ छ भने, हामी ‘उपन्यासको युग’ मा छौँ ।

साठीभन्दा पछि आउन सकिएन भन्दाको खतरा पनि थाहा छ— यथास्थितिवादी, पुरानतवादी, जडसूत्रवादी । यस्ता यस्ता तक्मा पाउन सकिन्छ ।

तर सत्य पनि छ नि अर्कोतिर— दश ठाउँ फाटेको मक्किएको कोट, जताबाट सिलाउँदा पनि टालिँदैन । बरू च्यातिन्छ । त्यसलाई कसरी र किन उठाउने ?

‘त्यो पर्दैन ।’

एउटा कुरा मान्छु । हामी सबै त्यो मान्छौँ । सो के भने, यथार्थलाई चलाउन, हल्लाउन, बिगार्न, भताभुङ्ग पार्न पाइन्छ । तर नि, दिदी माग्न आएको भनेर बहिनी उडाउन त पाइन्छ कि, तर त्यसलाई राम्रो मानिँदैन । आफ्नै दिदीलाई पनि चक्मा, सुन्नेलाई पनि लाज !

— तपाईंले कथालाई सुरुवाटै तिलस्मीको पटबाट उठाउनुभयो भने कथामा गोरु ब्याउँदा पनि हुन्छ । परीकथा, दन्त्यकथा, लोककथा, पौराणिक कथा…अन्य धेरै प्रयोगवादी आधुनिक कथा । कतै प्रश्न गरिएन नि ! गरियो त ? अविनाश श्रेष्ठको ‘दन्त्यकथाभित्रको दन्त्यकथा’ हेरौँ न !

— तपाईंले मायावी यथार्थवाद पनि अँगाल्न सक्नुहुन्छ र यसको आगमनको छनक पनि कथाले उठानबिन्दुमै दिन्छ । पाठकले मन बनाएको हुन्छ । टेर्छ । माया थिएन भने टेर्थ्यो ? ओक्टाभियो पाज पढौँ न !

— कथाको अन्त्यमा ‘ए, त्यो केटो त भूत पो रहेछ’ भन्ने कथामा पनि कथाको अन्त्यको भूतले अगाडिका सबै कुरालाई छुमन्तर बनाइदिन्छ । त्यो पनि पत्याइन्छ । ‘अनि झल्याँस्स ब्यूझिएँ । अहो कस्तो सपना देखेछु’ वाला कथामा पनि पाइन्छ । सर्पकै मुखबाट निस्केर फुत्त खाटमै आउँदा पनि खुसी नै होइन्छ । माया थिएन भने होइन्थ्यो र ?

— कथामा पात्रको चेतनप्रवाहमा प्रवेश गर्ने हो भने नि, यस्तो मूले यथार्थलाई जसरी भाँचे पनि हुन्छ । मनको भूगोलको सीमा हुन्छ र ? समय उल्टो पनि बग्छ । ठाडो, तेर्सो, जस्तो चाह्यो उस्तै । यो कुरो आजको पाठकलाई थाहा छ । प्रश्न त्यहाँ छैन ।

— काफ्काको कीरो, मार्खेजको भीमकाय जहाज, ओक्पोभिया पाजको भुत्ले राक्षस । कतै प्रश्न गरिएन । तिनले त्यस प्रकारको प्रयोगका लागि हामीलाई सुरूमै तयार पारे । घोषणै थियो— तिमी साम्राज्यवादी भनेको प्लास्टिकजस्तो यथार्थले हामीलाई पुग्दैन । हामी अर्कै गर्छौं । उनीहरूले पाठकलाई विश्वासमा लिए । गरे ।

नाम चैँ कसैका लिन्नँ, जोखिम छ । तर प्रवृत्तिका उदाहरण मात्रै भन्छु । यी दोष अन्यत्र कतै भेटिएनन् भने एक ठाउँ पक्का भेटिन्छन् । मेरै कथामा ।

द्रष्टव्य— मैले पूर्णरूपमा ‘यथार्थवादी पट’मा बुनिएका कथा र उपन्यासको कुरा गरेको । ‘त्यो त प्रयोग हो नि’ भनेर भन्दा मलाई मूर्ख बनाउन सकिन्छ, आजको सुपर–क्रिटिकल पाठकलाई ठग्न कदापि सकिँदैन । फाइनल ।

१. गाउँबाट आएका अनपढ पात्रहरू अचेल हाम्रा कथा वा उपन्यासमा दार्शनिकले जस्तो बोल्छन् । कुनै विशिष्ट लेखकको जस्तो भाषा खेलाउँछन् । कुनै प्राध्यापकको जस्तो प्रवचन दिन्छन् । यो कुन यथार्थमा प-यो बुझाइपाम् । यो त महाप्रतिगमन भयो । आजभन्दा करिब २४०० वर्ष पूर्वतिर एरिस्टोटलले नै ‘भर्सिमिलिच्युड’को कुरा गरेका थिए । यत्तिका शताब्दी पचाइसक्दा पनि हामी चैँ सोह्र दुना आठ । अनि कि, लेखकको सास सिधै गएर पात्रमा पसेरै भएन ! यथार्थै हो भने पनि यो चाहिँ अतिअतिअतिअतिअति यथार्थवाद है त !

२. एकजना साठी नाघेकी दिदीले अनुवादका सन्दर्भमा भनिन्, ‘भाइ, लाज नमानी गर्दिनू है ! के गर्नु, अलिअलि घुसाइएन भने अचेलका पाठकले पढ्दै पढ्दैनन् !’ लाज केलाई मान्नु थियो र ? कुरा के भने, यौन त आउनै पर्ने । यो चैँ यथार्थ हो, मान्छु । तर नि, भर्खरै एउटा सङ्ग्रहमा साढे दुई दर्जन कथा पढेँ । ठूलै हो नि ? अधिकांश कथाका पुरुष पात्र कस्ता भने— कुनै केटी देख्यो कि मुखै सुकेर आउने, लल्याकलुलुक हुने, छटपटी हुने, निद्रै नलाग्ने । ‘हैट्, सबै पुरुष यस्तै हुन्छन्’ भन्ने नारीवादी ‘स्टक’लाई त काम लाग्छ तर यो सत्य होइन । अचेल यस्ता पात्रको भीड बढेको छ कथातिर, उपन्यासतिर । ‘लोलिता सिन्ड्रोम’को थर्ड–डिग्री हो यो ।

३. यथार्थले भोलिको बाजा सुनिने गरी कुन कुन टोलमा बजाउँछ थाहा भएन । कति प्रतिशत निश्चित हुन्छ, मान्छेको वास्तविक भोलि ? हाम्रा कथामा अघि नै थाहा हुन्छ अचेल— यो दलित पात्र र बाहुन पात्रको प्रेमलाई घरकाले स्वीकार गरेनन् । अब यी भाग्छन्, बिहे गर्छन् र क्रान्तिमा लाग्छन् । प्रेडिक्टिबल रियालिटी । अँ, विदेश गएको पात्र काठको बाकसमा आउँछ कथामा भन्ने कुरा त कक्षा दुईको बच्चाले पनि भन्दिन थाल्यो अचेल । अनि कि, ‘आवश्यकता’ र ‘सम्भाव्यता’ — दुवैको खिल्ली उडाइरहेका छौँ हामी ।

४. संयोगहरू कस्ता आउँछन् भने नि, बानेश्वरको आकाशे पुलमा भेटिएकी केटीको लोग्ने हराएको । केटाकी स्वास्नी हराएकी । -याङको ठ्याङ । लभ प-यो, बिहे भो । अर्को कथामा, दुस्मनले बाँधेर हातगोडा काट्नै लाग्दा, वर्षौंअघि रेलमा भेटिएको सहयात्री फुत्त आइपुग्छ । आराधना गर्दा शिवजी ठ्याक्क ! सब ठीकठाक, कथा हजम । पैसा सुलसाल । ॐ भ्रां, भ्रीं, भ्रौं, सः ।

५. कथामा— सरकार आयो कि निगेटिभ । छिमेकी आयो कि निगेटिभ । सिंहदरबार आयो कि नेगेटिभ । सौतेनी आमा आयो कि नेगेटिभ । आफू आयो कि नम्बरी सुन । सबैलाई थाहा छ— यस्तो होइन कुरा । बाहुल्य होला तर पूर्ण होइन । सबै सबै सबै सबै सबै उल्लेखहरू यस्तै देखिए भने लाग्छै लाग्छ— हामी तथाकथित आख्यानकारले यथार्थ बुझेकै छैनौँ । कस्सम ।

६. कथाले कुन हो कुन समयमा पु-याउँछ । हजारौँ वर्षअघि । अनि फेरि दृश्य चैँ अहिलेकै अनामनगर । त्यही बाजेको सेकुवा । त्यही भेटघाट । त्यही धराने बँगुर । त्यही पूर्वीगेट । ‘प्रयोग’ । तर होइन । ‘एनाक्रोनिज्म’ हो । समय र वर्णनको तालमेल नमिलेको । मिलाउन नसकेको हामीले । पाठकलाई हेपेको ।

यी बुँदाको सङ्ख्या बढ्ने देखियो । अब ७ आउला, ८ आउला, ९ आउला ।

भो, अब त्यता नलागौँ । अर्को लेखमा यही विषयको विस्तार आउँछ । अनि लेखौँला ।

अहिलेलाई—

यथार्थ कस्तो हुन्छ ?

अब ‘लेखनका कुरा पढेँ मएसजी । पढ्दै लगेँ, पढ्दै लगेँ । केही त काम लाग्ने कुरा आउला भन्दाभन्दै सकियो । केही पो भेटिएन त ! भुत्लोभाङ,’ भनेर भन्न नमिल्ने भयो । आजको लेखमा त एउटा उखान आयो नि— ‘मुजुरको जिउमा फिस्टाका प्वाँख !’ तर ‘भाङग्राको टोपीमा गुएँलाको फूल’लाई नै टालटुल पारेर नयाँ बनाएको हुँ हुन त ।

यस्तै त हो नि अचेल गर्ने, होइन र ?