यात्रा मानवसभ्यताको सबैभन्दा महत्त्वपूर्ण विषय हो । आज संसारभरि छरिएका मानिसहरू सृष्टिक्रममा एकैचोटी संसारभरि नै समानुपातिक रूपमा उब्जेका होइनन् । कुनै एक विशेष ठाउँमा उत्पत्ति भई विस्तारै फैलिदै गएर विश्वभरि छरिन पुगेको मानिन्छ । हुन पनि मानिस एकै ठाउँमा रमाउन चाहने प्राणी होइन । कालान्तरमा सिकारको खोजीमा उनीहरू नयाँनयाँ ठाउँतिर सर्दै गए । कृषि युगमा प्रवेश गरेपछि पनि उत्पादनशील क्षेत्रको खोजी गर्दै अघि बढ्दै गए । एउटा ब्यक्ति मात्र होइन, सिंगो समुदाय नै बसाईं सरिरह्यो र निरन्तर यात्रा गरिरह्यो ।
कुनै व्यक्तिभित्र रहेको यात्रा गर्ने इच्छा उसको व्यक्तिगत मात्र नभई मानव परम्पराको एक नश्लीय प्रवृत्ति पनि हो । आज संसारमा जुन विकास भएको छ, मानिसका बीचमा जुन अन्तरसम्बन्ध स्थापित भएको छ, ती सबै कुरा यही यात्रीय मानसिकताको उपज हो ।
पश्चिमी सभ्यताको केन्द्र मिश्रलाई मानिन्छ भने पूर्वको सभ्यताका लागि सिन्धु घाटीलाई आधार मानिन्छ । यिनै दुई सभ्यताबाट मानिस संसारभर छरिएको अनुमान छ । यो हिंडिरहने संस्कृतिलाई साहित्यले चरैवेती चरैवेती भनेको छ । मानिस एक वा दुई पुस्ताभन्दा बढी एक ठाउँमा अडिएको कमै पाइन्छ । विश्वको कुनै ठाउँ वा देशको मान्छे पनि त्यो सदाकालदेखि त्यहीँको होइन र सदाकालसम्म त्यो त्यहीँ रहँदा पनि रहँदैन । दुईचार सय वा हजार वर्षको इतिहासलाई नै पुरानो मानेर स्थान वा देश विशेषमाथि गौरव गरेको भेटिन्छ, तर त्यसको स्थायित्वको निर्धक्कता कसले लिएको हुन्छ ।
आजको पछिल्लो विकासलाई चरम सम्झिरहेको मानवसभ्यताले अनेकौ युद्धहरूको रचना गरी लाखौंलाख मानिसहरूलाई घरबार विहीन बनाई आफ्नो थातबास छोड्न बाध्य गराई रहेको पनि छन् । अनि त्यसरी शरणार्थीको रूपमा हिँडिरहेका लाखौँ मानिसको लस्करले गरिरहेको यात्रा अर्को नयाँ सभ्यताको सुरूवात पनि त हो । व्यक्तिगत रूपमा यात्रा गर्नेहरूको त कुनै तथ्यांक नै हुँदैन । कहिले को कहाँ पुगेर के गरिरहेको छ भन्ने कुरा आजको प्रविधिको व्यवस्थित युगमा पनि थाहा पाउनु संभव छैन । यात्रासँग जोडिएका अनुभव र अनुभूतिले नै नयाँ समाजको स्थापना र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । साहित्यले यस्ता यात्राहरूलाई रोचक ढंगले सम्झने गरेको छ ।
साहित्यका विभिन्न विधाहरू अनन्त यात्रीय लेखनमै केन्द्रित छन् । कथा, उपन्यास, निबन्ध, नाटक, काव्य आदिमा वर्णन गरिएका अधिकांश विषयवस्तु र घटनाहरू यात्रामा नै हुन्छन् । कथावस्तुसँग जब पात्र एक ठाउँबाट अर्को ठाउँमा पुग्छ, त्यहाँ यात्रा नै प्रमुख भएर आउँछ । हामी हाम्रो नेपाली साहित्यका दुई सर्वलोकप्रिय कृतिहरू मुनामदन (काव्य) र बसाईं (उपन्यास) लाई सम्झन सक्छौं । दुवैमा पात्रहरूको यात्रासँग जोडिएको पीडा र वेदना उल्लेख गरिएको छ । साहित्यलेखन जब विविधतापूर्ण हुँदै गयो, नयाँनयाँ उपविधाहरू जन्मदै गए । सजिलोको लागि विधा भन्जन हुँदै जाँदा निबन्धभित्र पनि संस्मरण नियात्रा आदि भनिन थालियो । यात्रासंस्मरण र नियात्रामा पनि फरक देखिन थाल्यो । बृहत्तरबाट सूक्ष्मतातिर बढिरहेको आजको युगले हरेक चिजमा कोणिकता खोजिरहेछ ।
नेपाली साहित्यमा पनि पछिल्लो कालमा यात्रा र नियात्रा लेखनले विशेष महत्त्व पाउन थालेको छ । साहित्यका पाठकहरू यात्रा साहित्यतिर क्रमशः आकर्षित भइरहेका छन् । आजको विश्व विज्ञान र प्रविधिका कारण जसरी साँगुरिँदै गएको छ, त्यसै गरी विश्वग्रामको नवसभ्यताले पनि मानिस अझ बढी विचरणको मनोकामना राख्दछ ।
व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी आदिका कारण एक देशबाट अर्को देश, एक महादेशबाट अर्को महादेश पुगिरहेको छ मानिस । तर कुनै पनि देशको कानून तथा भौतिक आकर्षणले मात्र मानिसलाई बाँध्न सकेको छैन । त्यही भएर ऊ एक ठाउँमा अडिन पनि सक्दैन । दुःखले मात्र मानिस बसाई हिंड्ने हैन । सुखले पनि उसलाई एकै ठाउँ बस्न दिँदैन । जब मानिस सम्पन्न हुन्छ उसलाई भौतिक सुविधाहरूले आकर्षित गर्न थाल्छ र ऊ गाउँबाट सहर, सहरबाट विदेशतिर लाग्दै जान्छ ।
नेपालबाट अधिकांशले गर्ने यात्रा भनेको बृहत्तर भारत, पाकिस्तान र बाङ्लादेश सम्मको थियो । त्योभन्दा टाडा भनेको बर्मा र भोटसम्म मात्र थियो । पहिलोपल्ट देशभन्दा धेरै टाडाको यात्रा गरेको भनेको जङ्गबहादुरको बेलायत यात्रालाई नै मानिन्छ । त्यही संस्मरणलाई नै पहिलो नेपाली यात्रासंस्मरण पनि भनिन्छ । अधिकाँश मानिसहरू जहाँ–जहाँ पुग्थे, त्यही–त्यही कुनै पेशा गरी थन्किन्थे ।
नेपाली साहित्यको इतिहास नै कति लामो छ र ! आधिकारिक रूपमा भानुभक्तलाई आदिकवि माने अनुसार नै हिसाब गरे पनि दुई सय वर्ष र केही बढी मात्र छ । यो छोटो साहित्यिक इतिहास बोकेको हाम्रो भाषाले धेरै परदेखि यात्रा साहित्यको कुरा गर्न पनि सक्दैन । फाट्टफुट्ट जेजस्ता लेखाईहरू आउँदै गरे पनि आधुनिक नेपाली साहित्यले ठूलो स्वरबाट चर्चा गरेको महत्त्वपूर्ण यात्रा साहित्यको कृति डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा’ नै हो । त्यो कृति मदन पुरस्कार पाएका कारणले मात्र होइन, अझै पनि उत्तिकै उत्कृष्ठ छ । यात्रा साहित्यमा हुनुपर्ने गुण र विशेषताका गरगहनाले झकिझकाउ भएकै कारणले त्यो कृतिले यस्तो सम्मान पाएको छ । २०२६ सालमा प्रकाशित भएर पनि त्यसले निकै वर्षसम्म अरू यात्रा कृतिहरूसँग खासै भेट गर्न पाएन । फाट्टफुट्ट केही साहित्यिक पत्रपत्रिकाहरूमा आन्तरिक पर्यटकीय निबन्धहरू प्रकाशित भए पनि धितमर्दो कृति पाउन निकै फर्किनु पर्यो ।
खासमा २०४६ सालभन्दा अघिसम्म नेपालीहरूलाई भीसा लिनुपर्ने मुलुकहरूमा जाने उस्तो सुविधा थिएन । हिँड्दै नहिँडेपछि के लेखिनु ? पचासको दशकदेखि नेपाली लेखनमा यात्रा साहित्यले एकाएक फड्को मा¥यो । प्रजातन्त्र आएपछि नागरिकले प्राप्त गरेका मौलिक हकहरूमा एक ठाउँ र अर्को ठाउँतिरको आवागमन पनि प्रमुख थियो र त्यसपछि खुलेको ढोकाबाट निस्केका मानिसहरू विश्वभरी विचरण गर्न थाले । आज नेपाली साहित्यमा गर्व गर्न लायकका यात्रा कृतिहरू पढ्न पाइन्छ । खास गरी वैदेशिक रोजगारी र अवसरको खोजीमा देशबाट बाहिरिनेहरूको दवाव जति बढ्दै गयो उति नै यात्रा अनुभवहरू सार्वजनिक हुँदै गएका छन् । आजको विश्वमा कुनै एउटा त्यस्तो देश छैन, जहाँ नेपाली नपुगेका हुन् । विदेश पुगेपछि खासै साहित्यमा रुचि नभएको मानिस पनि लेखक हुन थालेको छ । डायस्योरिक भावुकताले प्रायः हरेक मानिस देश सम्झिन वाध्य छ । पूर्वी मुलुकहरू जापान, कोरिया, इन्डोनेसिया, मलेसियादेखि चीन, अष्ट्रेलिया, अफ्रिका, युरोपिय मुलुकहरू र अमेरिका भरी छरिएका नेपालीहरूले गीत, गजल, कविता, कथा, उपन्यास संगसंगै राम्रा यात्रा संस्मरणहरू पनि प्रस्तुत गरिरहेका छन् ।
त्यही क्रममा केही वर्षअघि मेरो हातमा आइपुगेको थियो— साहित्यकार राजेन्द्र अर्यालको नियात्रा कृति “माल्भा”। यो कृतिका अधिकांश लेखहरू अमेरिकासँग सम्बन्धित छन् । असीको दशकदेखि फाट्टफुट्ट नेपालीहरू अमेरिका प्रवेश गर्न थालेको भेटिन्छ । त्यसबेला अमेरिका छिर्नेहरू खासमा नेपालका हुनेखाने परिवारका बिग्रिएका छोराहरू धेरै थिए । तिनीहरूले अमेरिकामा गएर पनि खासै तरक्की गर्न सकेनन् ।
तर नब्बेकोे दशकदेखि पढ्नका लागि गएका विद्यार्थीहरूले भने त्यहाँको शिक्षा प्राप्त गरी राम्रो आर्थिक तथा बौद्धिक प्रगति पनि गर्न सके । सन् १९९५ देखि सुरु भएको डिभी चिट्ठाबाट सन् २००० सम्म डीभी पर्नेहरू अमेरिका गइहाल्ने उच्च आकांक्षा नभए पनि त्यत्तिकै भरेको परिहाल्यो भन्दै गए । थोरै नेपालीहरूको समूदायमा वैदेशिक कष्टसंग स्थापित हुने संघर्षमा जुटे । सन् २००० पछि रहरले नै डीभी भर्ने र पर्नेहरू जान थाले । त्योभन्दा पछि देशभित्रको बेथिति, बेरोजगारी, उग्रराजनीतिक प्रदूषण, अराजकता आदिहरूबाट दिक्क हुनेहरू विभिन्न माध्यमले अमेरिका छिरिरहेका छन् ।
अमेरिका पुगिसकेपछि त्यहाँको वातावरणसँग मिल्न परिरहेका कठिनाई र संघर्षका कथाहरू उनीहरू विभिन्न माध्यमबाट भनिरहेका छन् । अब नेपालमा रहेकाहरूलाई पनि अमेरिका रहस्यको मुलुक रहेन । त्यस मुलुकसँग रहेका काल्पनिक आकर्षणहरू पनि विस्तारै सामान्य हुँदै गएका छन् । अमेरिकाभित्र पसेपछिका समस्या र संघर्षका कथाहरू धेरैले लेखेका छन् । त्यहाँका सरसुविधा र भोगविलासका कथाहरू पनि धेरैले लेखेका छन् । कसैले अमेरिकामाथि एकदम नै नकारात्मक कुराहरू ब्यक्त गरेका छन्, कसैले अत्यधिक सकारात्मक कुराहरू ।
राजेन्द्र अर्यालले भने “माल्भा” नियात्रा कृतिमा त्योभन्दा फरक कुराहरू लेखेका छन् । सामान्यतया अमेरिकाका साधन, सुविधा, विकासका झलकहरू सबैले लेख्ने उस्तै हो, तर अर्यालले तिनै कुराहरूभित्रको अमेरिकाको मर्मलाई खोतल्ने खुब प्रयत्न गरेका छन् । खासमा धेरैजसो अमेरिकाको यात्रा संस्मरणहरू त्यहाँका बाटाघाटा, सहर, समुद्र किनार, यातायात, प्राकृतिक वातावरण आदिका प्रशंसाहरूमा केन्द्रित भेटिन्छन् । अर्यालजीले भने तिनैभित्र पनि अमेरिकाको समाजको भित्री तत्त्वको खोजी गरेका छन् । त्यहाँको चाडपर्व, आदिवासी इतिहास, सामाजिक परम्परा, संस्कार, खाद्य संस्कृति, मानवीय सम्बन्ध, पशुप्रेम, सकारात्मक चेत, ब्यापारिक शैली, ऐतिहासिक गौरव, शिक्षा, राजनीति आदिको एकदम नै मिहिन पाराले चर्चा गरेको छन् ।
अल्छी नगरी र सक्ने हतार नबोकी लेखिएका यी संस्मरणहरू कयौं अमेरिकाबासीहरूलाई पनि जानकारी मुलक हुन सक्छन् । हरेक निबन्धभित्र पाइने पठन विशेषता भनेको त्यहाँसँग नेपालको तुलना हो । कयौं कुरा त्यहाँका भन्दा नेपालका राम्रा र कयौं कुरा नेपालका भन्दा त्यहाँका राम्रा भेटिन्छन् । खासमा त्यहाँका मानिसमा पाइने सकारात्मक शोच यी निबन्धहरूको वास्तविक पूँजी हो । तर उनले कुनै लेखमा पनि नेपाललाई बिर्सिएको छैन ।
लेख्दै गर्दा कतै पनि आफूलाई गाह्रो बनाएर नबिसाइएको हुँदा पाठकले राजेन्द्र अर्यालको अहंदेखि झर्किनु पर्दैन । अत्यन्त सरल र जिज्ञासु प्रस्तुति कृतिको सुन्दर पक्ष हो । सबैभन्दा मनपर्ने कुरा त के हो भने उनको लेखनमा पाइने तटस्थता हो । कहीँ पनि आफ्ना नीजि विश्वास र आस्थालाई थोपर्ने प्रयत्न गरेको भेटिदैन । कतै पनि कुनै आग्रह र पूर्वाग्रह नबोकेका यी यात्रा निबन्धहरू पाठकका निम्ति घर बसीबसी अमेरिका बुझ्न उपयोगी हुनेछन् । उसो त यसभित्र अमेरिका बाहिरका संस्मरणहरू पनि छन् । यूरोप भ्रमणका लेखकहरू भने बडो विवरणात्मक पाइन्छन् ।
अमेरिका एउटा त्यस्तो देश हो जो सबैको हो । त्यस देशभित्र बसेका संसारभरिका मानिसहरूको अन्तर सम्बन्धमाथि लेखकले मिहिन अध्ययन गरेको भेटिन्छ । मिसिएर पनि उत्तिकै पृथक देखिने त्यहाँको विशेषताबाट लेखक रमाएको देख्दा पाठक पनि संगसंगै रमाइरहेको हुन्छ ।
यात्रासँग जोडिएका यी निबन्धहरू आख्यानात्मक आकर्षण बोकेर आएका छन्, जसले पाठकलाई पढ्न थालेपछि लगिरहन्छन् । लेखकमा हुनुपर्ने मूल शक्ति नै त्यही हो । राजेन्द्र अर्याल यसमा सफल छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।